कोरोना परीक्षणमा भरपर्दो विधि र क्षमता विकास | Khabarhub Khabarhub

कोरोना परीक्षणमा भरपर्दो विधि र क्षमता विकास


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला संसार नयाँ कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । कोभिड–१९ भनिएको यो भाइरस वास्तवमा ‘सार्स–कोरोना भाइरस (२)’ हो । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट विश्वभरमा मृत्यु हुनेको संख्या तीन लाख छुनै लागेको छ । संक्रमितको संख्या साढे ४३ लाख पुग्नै लागेको छ, यी मध्ये निको हुनेको संख्या झण्डै साढे १५ लाख छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा संक्रमितको संख्या २५० पुगेको छ । यीमध्ये ३५ जना निको भएर घर फर्केका छन् ।

यसको निश्चित प्रभावकारी औषधि र खोपको विकास भइसकेको छैन । विश्वभरिका स्वास्थ्य निकायहरू महामारी व्यवस्थापनको निम्ति संक्रमितको पहिचानमा अति महत्व दिएर परीक्षणको दायरा बढाउँदै छन् । नेपालमा पनि परीक्षण थोरै बढेको छ । यसकै परिणाम हो, केही दिनयता संक्रमितको संख्या बढेको देखिएको ।

क्वारेन्टाइनमा रहेका र कन्ट्याक ट्रेसिङबाट पहिचान गरिएका धेरैजसो व्यक्तिको आरडीटी विधिबाट र केहीको पीसीआर विधिबाट परीक्षण गरिएको पाइन्छ ।

आरडीटीमा पोजेटिभ देखिएकोमा पीसीआर परीक्षणमा नेगेटिभ देखिने (फल्स पोजेटिभ) र आरडीटीमा नेगेटिभ देखिएको भनेर घर पठाइएका व्यक्तिको पीसीआर परीक्षणमा पोजेटिभ (फल्स नेगेटिभ) देखिएसँगै आरडीटी विधिको गुणस्तरीयता र विश्वसनीयतामा प्रश्न खडा भएको छ ।

आरडीटी परीक्षण सस्तो र छोटो समय (१५ मिनेट) मा नै नतिजा दिने हुन्छ । यो विधि नमुना संकलन गरिएको व्यक्ति भएकै ठाउँमा परीक्षण गर्न सकिने गुणात्मक विधि हो । यस विधिले मानिसको रगतमा संक्रमणीय जीव वा तत्वको विरुद्धमा शरीरले बनाएको एन्टिबडी वा संक्रमणीय जीव वा तत्वको एन्टिजिन भए नभएको परीक्षण गर्छ ।

अहिले कोरोना भाइरस परीक्षणको लागि प्रयोग भइरहेको आरटी पीसीआर विधिले थर्मोसाइक्लर मिसिनमा पीसीआर हुँदै गर्दा नतिजा देखाउन सक्छ, जुन कन्भेस्नल पीसीआरको तुलनामा छिटो र कम झन्झटिलो हुन्छ ।

हाल नेपालमा प्रयोग भइरहेको कोरोना भाइरस संक्रमण परीक्षण गर्ने किटले भने मानिसको रगतमा भाइरस विरुद्धको एन्टिबडी भए नभएको परीक्षण गर्छ ।

भाइरस संक्रमणपछि मानिसको शरीरमा दुई प्रकारका एन्टिबडी बन्छन् । संक्रमण भएको एक हप्तापछि मानिसको रगतमा इम्युनोग्लोबुलिन एम (आइजीएम) बन्छ । दुईदेखि तीन हप्तासम्म रगतमा रहन्छ । संक्रमण भएको दुई हप्तापछि इम्येनोग्लोबुलिन जी (आइजीजी) बन्छ र महिनौँसम्म रहन्छ ।

आरडीटी विधिमा संकलित रगतको नमुना वा त्यसबाट छुट्याइएको प्लाज्मा किटमा राखिन्छ र किटमा रहेको इम्युनोक्रोमाटोग्राफिक पेपरमा बिस्तारै बग्दै गएपछि निश्चित विन्दुमा रहेको एन्टिजिनसँग प्रतिक्रिया गरी रङ्गिन धर्सा देखाउँछ ।

आरडीटी विधिबाट एन्टिबडी परीक्षणको नतिजा विश्लेषण अति महत्वपूर्ण हुन्छ । कन्ट्रोल विन्दुसँगै आइजीएम र आइजीजी दुबै विन्दु वा आइजीएम विन्दुमा मात्रै धर्सा देखिए भर्खरै संक्रमण भएको मान्नुपर्छ । आइजीजी र कन्ट्रोलमा विन्दुमा मात्रै देखिए पहिले नै संक्रमण भएको मान्नुपर्छ । कन्ट्रोल विन्दुमा मात्रै देखिए संक्रमण नभएको मान्नुपर्छ ।

एन्टिबडी परीक्षणको लागि आरडीटीको अतिरिक्त इन्जाइम लिङ्ड इम्युनो सोर्बेन्ट एस्से (एलाइजा) विधि पनि छ । यो विधि आरडीटीभन्दा विश्वसनीय हुन्छ यद्यपि यो विधिमा प्रयोगशालाभित्र दक्ष जनशक्तिले मात्र काम गर्न सक्छ । यसमा विशेष प्रविधि हुन्छ र समय पनि धेरै लाग्छ ।

पीसीआर परीक्षण विश्वसनीय विधि हो । यसमा मानिसको शरीरबाट स्वाब लिइन्छ र उक्त स्वाबबाट भाइरसको जिन (आरएनए) छुट्याइन्छ । त्यसरी छुट्याइएको आरएनएलाई भाइरसको जिनको निश्चित खण्डको प्राइमर वा प्रोव र अन्य आवश्यक रिएजेन्टहरूसँग मिसाएर थर्मोसाइक्लर मिसिनमा राखेर पीसीआर गरिन्छ ।

कुनै पनि प्रयोगशाला परीक्षण आफैँमा पूर्ण हुँदैन । बिरामीको शारीरिक लक्षण संक्रमण हुन सम्भावित घटनाहरु आदिसँग दाँजेर नतिजाको विश्लेषण गर्नुपर्छ ।

यसरी पीसीआर गर्दा उक्त नमुनामा रहेको आरएनए डीएनएमा परिवर्तित हुन्छ र उक्त डीएनएको गुणात्मकरूपमा संख्या बढाउदै जान्छ । निश्चित विन्दुपछि पनि यसको संख्यामा वृद्धि भएको खण्डमा पहिला नै थाहा भएको पोजेटिभ कन्ट्रोलसँग दाँजेर परीक्षण पोजेटिभ भएको पुष्टि गरिन्छ ।

अहिले कोरोना भाइरस परीक्षणको लागि प्रयोग भइरहेको आरटी पीसीआर विधिले थर्मोसाइक्लर मिसिनमा पीसीआर हुँदै गर्दा नतिजा देखाउन सक्छ, जुन कन्भेस्नल पीसीआरको तुलनामा छिटो र कम झन्झटिलो हुन्छ ।

भाइरसको जिनको निश्चित खण्डमात्रै पहिचान गरी त्यसको संख्या वृद्धि गर्ने भएको हुँदा यस विधिले मानिसको शरीरमा भाइरस भए नभएको पत्ता लगाउँछ ।
यस विधिबाट परीक्षण गर्दा भाइरसको संक्रमण भएपछिको पहिलो र दोस्रो हप्तासम्म पोजेटिभ नतिजा देखाउँछ । यसको अर्थ नमुना संकलन गरिएको व्यक्तिमा संक्रमण रहेको र अन्य व्यक्तिलाई सार्न सक्ने क्षमता भएको मानिन्छ ।

कुन विधि भरपर्दो ?

कुनै पनि प्रयोगशाला परीक्षण आफैँमा पूर्ण हुँदैन । बिरामीको शारीरिक लक्षण संक्रमण हुन सम्भावित घटनाहरु आदिसँग दाँजेर नतिजाको विश्लेषण गर्नुपर्छ ।

त्यस्तै, परीक्षण विधिको गुणस्तरीयता र विश्वसनीयता सबैभन्दा महत्वपूर्ण विषय हो । परीक्षण विधिको गुणस्तरीयता नमुना संकलनको विधि र सजगता, प्रविधि सञ्चालनमा दक्षता, कार्यकौशल र प्रविधि स्वयंको महत्वपूर्ण भूमिका हुन्छ ।

परीक्षण विधिको विश्वसनीयता मापन दुई प्रकारले गरिन्छ । पहिलो, उक्त विधिको सेन्सिटिभिटी (संक्रमितको नमुनामा पोजेटिभ देखाउने क्षमता) र दोस्रो, उक्त विधिको स्पेऐफिसिटी (संक्रमण नभएको व्यक्तिको नमुनामा नेगेटिभ देखाउने क्षमता) ।

पीसीआर विधिमा जोड दिँदै उक्त प्रविधियुक्त प्रयोगशालाको संख्या र मेडिकल माइक्रोबायोलोजिष्ट तथा पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट जनशक्ति परीक्षण प्रणालीमा थप्नु अत्यावश्यक छ । भाइरस परीक्षणका लागि भविष्यका सम्भावनाहरू समेत ख्याल गरेर राज्यले प्रविधि र जनशक्ति विकासमा लगानी गर्नुपर्छ ।

परीक्षण विधि विश्वसनीय हुन उच्च सेन्सिटिभिटी र उच्च स्पेऐफिसिटी अर्थात न्युन फल्स पोजेटिभ र न्यून फल्स नेगेटिभ हुनुपर्छ । आरडीटीको तुलनामा पीसीआरको विश्वसनीयता बढी भएको विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् । कोरोना संक्रमण पुष्टिको लागि पीसीआर विधि नै भरपर्दो देखिन्छ ।

पीसीआर विधि महङ्गो र लामो समय लाग्ने हुन्छ । यसमा उच्च दक्षता भएको जनशक्ति र अत्याधुनिक प्रविधि युक्त प्रयोगशाला चाहिन्छ । ठूलो संख्यामा छिटो परीक्षण अभियान सञ्चालनको लागि यो अनुपयुक्त हुनसक्छ ।

यस्तै, आरडीटी परीक्षण गर्नै नहुने भन्ने होइन तर आरडीटी किटको विश्वसनीयता मुख्य हुन्छ । नेपालको सन्दर्भमा आरडीटी किटको सेन्सिटिभिटी र स्पेऐफिसिटी अनुसन्धान गरी निर्धारण गर्नुपर्छ र मास स्क्रिनिङ (सामुदायिक परीक्षण) को लागिमात्र प्रयोग गर्नुपर्छ ।

पीसीआर उपलब्ध नभएको अवस्थामा हप्ता दिनको अन्तरमा कम्तीमा तीनपटक आरडीटी परीक्षण गर्नुपर्छ । उक्त परीक्षणबाट पोजेटिभ देखिएको व्यक्तिको स्वाब लिई पीसीआर विधिबाट संक्रमण पुष्टि गर्नुपर्छ ।

कोरोना परीक्षणमा देखापरेको फल्स पोजेटिभ र फल्स नेगेटिभको समस्या निराकरण गर्न उच्च विश्वसनीयता भएको आरडीटी किट प्रयोग गरी सामुदायिक परीक्षण गर्नुपर्छ । त्यसलाई वैधता दिन पीसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

पीसीआर विधिमा जोड दिँदै उक्त प्रविधियुक्त प्रयोगशालाको संख्या र मेडिकल माइक्रोबायोलोजिष्ट तथा पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट जनशक्ति परीक्षण प्रणालीमा थप्नु अत्यावश्यक छ । भाइरस परीक्षणका लागि भविष्यका सम्भावनाहरू समेत ख्याल गरेर राज्यले प्रविधि र जनशक्ति विकासमा लगानी गर्नुपर्छ ।

(लेखक पब्लिक हेल्थ माइक्रोबायोलोजी विषयका विद्यार्थी हुन् ।)

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ५८ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५