पत्रकारितासँगै पशुपालनमा जमेका पंगेनी, मासिक साढे २ लाख आम्दानी « Khabarhub
Logo
१९ चैत्र २०७६, बुधबार

पत्रकारितासँगै पशुपालनमा जमेका पंगेनी, मासिक साढे २ लाख आम्दानी



नवलपरासीका नारायण पंगेनीले एक विघा जमिनमा कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरेका छन् । अहिले उनको फार्ममा १३ वटा दुहुनो भैंसी छन् । फार्मभित्र लस्कारै बाधिएका भैंसी देख्दा पंगेनीलाई बिछट्टै खुसी मिल्छ ।

‘आफ्नै जन्मभूमिमा यसरी व्यावसाय गर्न पाउँदा मन नै प्रफुल्ल हुन्छ’ १७ वर्षदेखि पत्रकारिता गर्दै आइरहेका पंगेनी भन्छन्, ‘पत्रकारिता मेरो रुची हो भने व्यावसाय आय आर्जनको माध्यम ।’

उमेरले ४ दशक टेक्नै लागेका उनी अहिले पत्रकारितासँगै कृषि तथा पशुपन्छी फार्म खोलेर व्यावसायी बनेका छन् ।

उनले पालेका १३ भैँसीले दैनिक ९० लिटरसम्म दूध दिने गरेको बताउँदै पंगेनी भन्छन्, ‘पशुपालनबाट एकदमै सन्तुष्टी मिलेको छ ।’ उनले आफूले मात्र पशुपालन फार्मको सञ्चालन गरिरहेका छैनन् । गाउँघरमा रहेका अन्य युवाहरुलाई पनि कृषि तथा पशुपालन तर्फ आउन प्रेरित समेत गरिरहेका छन् ।

पंगेनी वि.स. २०३७ सालमा नवलपरासीमा जन्मिए । ५ दाजुभाइ र दुई दिदीबहिनी मध्येका कान्छा छोरा हुन् उनी । गाउँमा जन्मिएका पंगेनीले खेतीपाती बारे राम्रो ज्ञान लिने अवसर आफ्नै परिवारबाट पाए ।

गाउँमा सामान्य विद्यालयमा एसएलसी उतीर्ण गरेका पंगेनी ‘सिभिल सबओभरसियर’ पढ्न बुटवल पुगे । १८ महिने कोर्ष अध्ययनका क्रममा उनी त्यही केही काम पनि गर्न थाले । शुरुमा उनले तत्कालिन माओवादी निकटको पत्रिका ‘जनादेश’ मा रिपोर्टिङ गरे ।

असफताले सिकाएको पाठ

पंगेनीलाई ती दिन अझै पनि याद छ । गाउँघरमा रेडियो एकदमै लोकप्रिय थियो । त्यती बेला उनी रेडियो नेपाल सुन्ने गर्थे ।

‘मलाई रेडियो नेपाल एकदमै मन पर्थ्यो’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘वास्तवमा भन्नुपर्दा रेडियो नेपाल सुनेर नै पत्रकार बन्ने रुची बढेको हो ।’

उनको रुची साहित्यतर्फ पनि थियो । रेडियो नेपालमा बझ्ने कार्यक्रममध्ये नवराज लम्सालको ‘मधुवन’ सुन्न कहिल्यै छुटाउँदैन थिए ।

त्यस्तै रेडियो नेपालबाट प्रसारण हुने ‘पत्र–मित्र’ कार्यक्रम । जहाँबाट उनले पत्रमार्फत धेरै मित्र बनाउने अवसर पनि पाए । रेडियोप्रति उनी झनै आकर्षित बन्दै गए ।

विस्तारै एफएम रेडियो खुल्न थाले । उनलाई पनि पत्रकारिता गर्ने रहर बढ्दै गयो । पत्रकारिता कसरी गर्ने र कहाँ बाट गर्न पाइन्छ भन्न प्रश्न उनको मनमा हरेक दिन खेल्न थाल्यो ।

त्यसैबीच २०६० सालमा उनले बुटवलमा एक महिने उद्घोषण तालिम लिए । ‘पोखराको एउटा टीमले बुटवल आएर महिनादिनसम्म केही सिकाएका थिए’ उनले भने, ‘तालिम पछि तुरुन्त बुटवलकै एउटा एफएम काम गर्न प्रस्ताव राखेँ तर त्यो प्रस्ताव स्वीकृत भएन ।’

पहिलो पटक राखेको प्रस्ताव नै अस्वीकृत भएपछि उनलाई चिन्ता लाग्यो र पत्रकारितामा लाग्ने महत्वाकांक्षा पनि थपियो । प्रस्ताव अस्वीकृत हुनु नयाँ चुनौती समेत थियो ।

चुनौती यसकारण कि, त्यो असफतालाई सफलतामा ढाल्नका लागि पत्रकारितामै केही गर्नुपर्छ भन्ने दृढता उनमा जाग्यो ।

पंगेनीले सञ्चालन गरेको फार्ममा रहेका भैंसी

रहरले पत्रकारिता

बालकपनदेखिको रुचीलाई एउटा रेडियोले अस्वीकार गर्दैमा कहाँ टुगिन्थ्यो र ? बरु उनी दैनिक प्रकाशन हुने पत्रिकातिर आकर्षित हुन थाले ।

‘रेडियोमा कार्यक्रम सञ्चालन गर्ने इच्छा पूरा नभएपछि बुटवलका स्थानीय पत्रिकाहरुमा समाचार लेख्न थालेँ’ उनी भन्छन्, ‘त्यतिबेला ‘भावना दैनिक’, ‘बुटवल टुडे’, ‘दैनिक पत्र’ मा समाचार लेख्न थालेँ ।’

त्यससँगै उनले ‘जनादेश’ पत्रिकामा रिपोर्टिङ गरे । अध्ययनका लागि बुटवल पुगेका उनको पत्रकारिता त्यहीबाट शुरु भयो ।

बुटवलमा काम गर्दागर्दै कामको शिलशिलामा ०६३ सालमा पाल्पा पुगे उनी । पश्चिमञ्चल एफएममा समाचार सम्पादकको रुपमा ६ वर्ष बिताए । त्यतिबेला पनि उनी रेडियो नेपालको जिल्ला रिपोर्टरको रुपमा काम गर्थे ।

जतिबेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । त्यतिबेला उनी रेडियो नेपाल आइपुगे घटना बिचार कार्यक्रम सञ्चालन गर्नका लागि ।

‘रेडियो नेपालले नै पत्रकारिता गर्न आकर्षित बनायो’ खुसी साट्दै उनी भन्छन्, ‘त्यही रेडियोमा आएर कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसीको पनि सीमा रहेन् ।’

३ महिना रेडियो नेपालमा ‘घटना र विचार’ कार्यक्रम सञ्चालन गरेसँगै उनी रेडियो मिरमिरे पुगे । मिरमिरेमा करिब ५ वर्ष समाचार सम्पादकको भूमिकामा रहेका पंगेनी अनलाइन पत्रकारिता तिर लागे ।

अनलाइन पत्रकारिताको यात्राका क्रममा उनी अनलाइनखबर पुगे । पत्रिका र रेडियोमा काम गरेको अनुभव त थियो नै प्रविधिसँगै उनी अनलाइन न्यूज पोर्टलतिर प्रवेश गरे ।

उनको पत्रकारिता विस्तार हुँदै थियो । ज्ञानहरु थपिँदै थिए । त्यससँगै उनी मध्यान्ह दैनिक, खबरडबली, रातोपाटी हुँदै जनता टेलिभिजनसम्म पुगे ।

१७ वर्षको अवधिमा उनले झण्डै एक दर्जन मिडियामा काम गरे । समाचार सम्पादकको भूमिकामा लामो समय बाधिएका पंगेनीलाई समाचार लेखेर भन्दा पनि व्यवहारिक रुपमा केही व्यवसाय गर्ने सोच जाग्यो । पंगेनी राजनीतिमा पनि सक्रिय रुपमा क्रियाशिल थिए ।

वि.स. २०७४ साल मंसिरपछि उनको जीवनमा परिवर्तन आयो । व्यवसायीक पत्रकारिता गरिरहेका पंगेनी काठमाडौंमा गरिरहेको पत्रकारितालाई छोडेर राजनीतिमा होमिए । तर सफलता भने हात लागेन ।

त्यही असफलतापछि उनको दैनिकी फेरियो ।

दैनिक किबोर्ड र समाचारहरुमा सक्रिय हुने पंगेनी व्यवसायी बने ।

०७४ सालमा प्रतिनिधि सभा निर्वाचनले गाउँघरको माहोल तातेको थियो त्यसबेला उनलाई मोहन वैद्यले नेतृत्व गरेको पार्टी नेकपा– माओवादीका तर्फबाट उम्मेदवार बन्ने प्रस्ताव आयो । उनी त्यतिबेला क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय उपाध्यक्षसमेत थिए ।

चुनावमा होमिने भएपछि उनले राजधानीमा बसेर गरिरहेको पत्रकारिता छाडेर जिल्ला हानिए ।

‘निर्वाचनलाई नै लक्षित गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएँ’ उनी सुनउँछन्, ‘त्यतिबेला प्रतिनिधि सभामा उठें तर सफलता हात परेन ।’

जन्मभूमिमा व्यवसाय गर्न पुगे

चुनावमा पराजय व्यहोरेपछि पंगेनीको कर्म फेरियो । उनी गाउँमै बसेर केही गर्ने सोचमा पुगे । व्यवसाय गर्ने सोचतिर लागि परे । ०७४ चैत्रमा २ वटा भैसी किनेर उनले पशुपालन फार्म सञ्चालन गर्न शुरु गरे ।

‘कृषिमा सरकारले राम्रो छ भनिरहेको छ, समृद्धिका कुरा गरिरहेको छ’ उनी थप्छन्, ‘सरकारको लक्ष्य पूरा गर्नका लागि पनि कृषि क्षेत्र विस्तार हुन जरुरी छ । त्यसकारण पशुपालन व्यवसाय राम्रै छ भनेर यही शुरु गरेँ ।’

उनको फार्मको नाम हो –‘अनु कृषि तथा पशुपालन फार्म’ । पत्रकारितालाई केही समयको लागि थाती राखेर व्यवसायिक रुपमा पशुपालन तिर लम्किए उनी ।

करिब १२ लाख लगानीमा सञ्चालन गरेको कृषि तथा पशुपालन फार्ममा उनले हरेक महिना २ वटा भैसी थप्दै गए ।

अहिले उनको फार्ममा १३ वटा भैसी छन् । भैसीको लागि उनले १ विघा जमीनमा वर्षे घाँस लगाएका छन् । साथै बहु वर्षे घाँस पनि उत्पादन गर्ने गरेका छन् ।

‘२ वर्ष भयो पशुपालन व्यवसाय गरेको यसमा करिब २५ लाख लगानी हालिसकेँ’ उनी भन्छन्, ‘मासिक रुपमा साढे २ लाखसम्म आम्दानी पनि भइरहेको छ ।’

भैंसी दुहुँदै पंगेनी पत्नी संगीता

पशुपालनमा रमाएका पंगेनी दम्पती

केही वर्षअघि राजधानीमा पत्रकारिता गरिरहेका पंगेनी अहिले नवलपरासीमा भैंसीको फार्म स्याहारिरहेका छन् ।

बिहान सबेरै उठ्छन् उनी । घाम झुल्किन नपाउँदै फार्म पुगिसक्छन् । ती भैँसीका भकरा सोर्न अनि दूध दुहुन भ्याईनभ्याई हुन्छ उनलाई ।

त्यसो त उनकी जीवनसंगीनीले पनि उनलाई यस पेशामा सहयोग गरिरहेकी छिन् । श्रीमानसँग मिलेर पशुपालन व्यवसाय गर्न पाउँदा अत्यन्तै खुसी छिन् उनी पनि ।

दम्पतीको मेहनत र परिश्रमले घर व्यवहार चलाउन सजिलो भइरहेको पंगेनी बताउँछन् । ‘दुई छोरालाई पढाउन र घर परिवारलाई खर्च गर्न पुगेकै छ’ उनी मुस्कुराउँदै भन्छन्, ‘आफ्नो जन्मभूमिमा यसरी पैसा उब्जाउन पाउँदा गर्व महशुस हुन्छ ।’

४ फार्म गाभेर ठूलो फार्म सञ्चालन

उनीहरुले १३ वटा फार्म मिलेर एउटा डेरी खोलेका छन् । सहकारीको अवधारणामा डेरी सञ्चालन गरिरहेको बताउँछन् उनी ।

‘४ वटा फार्म मिलेर साझेदारीमा काम गरौं भनेर फागुन १ गतेबाट कम्पनीको अवधारणामा काम गरिरहेका छौं’ उनले भने, ‘ठूला र साना गरी २ सय ४० वटा भैसी छन् । ’

‘अहिले एउटै फार्ममा ४ परिवार संलग्न छन्’ प्रफुल्ल हुँदै उनी भन्छन्, ‘दैनिक ३ सय लिटर दूध उत्पादन भइरहेको छ ।’ यसले उनीहरुलाई स्वरोजगार मात्र बनाएको छैन ४ परिवारलाई गुजाराको माध्यम पनि बनाएको छ ।

उनकाअनुसार डेरीले दूध प्रति लिटर ८० रुपैयाँका दरले खरिद गर्ने गरेको छ । बजार राम्रो भएकाले दूधको पनि उत्पादन बढ्दै गएको महशुस गर्छन् पंगेनी ।

‘भैसीको दूध भनेपछि मानिसहरुले खोजि–खोजि किन्छन्’ उनले भने, ‘दूध बिक्दैन कि भन्ने डर बोक्न पर्दैन राम्रो छ बजार ।’

भैंसी दुहुँदै पंगेनी

व्यवसायले दिएको खुसी

‘मिडियामा काम गर्दा जागिरे मानसिकता हुन्थ्यो महिना मरेपछि तलव आउँछ भन्ने हिसाब हुन्थ्यो । त्यहीअनुसार गुजारा चलाउने मात्र सोचाइ हुन्थ्यो’ उनले भने, ‘तर अहिले व्यवसायिक सोच भएको छ । भैसी पाल्ने र उत्पादन भएको दूध पिउन पनि पाइएको छ ।’

पशुपालन व्यवसाय त छँदै छ । तर पंगेनीले केही महिनाअघिदेखि स्थानीय रेडियोमा पनि काम गरिरहेका छन् ।

घरबाट २ किलोमिटर टाढा रहेको एउटा स्थानीय एफएममा बेलुकी २ घण्टाको समाचार वाचन गर्ने गरेका छन् ।

गाउँघरमा व्यवसायसँगै एफएममा पनि संलग्न भएर जीवन बिताउन पाउँदा उनी अत्यन्तै खुसी छन् । ‘राजधानीमा बसेर धेरै वर्ष पत्रकारिता गरेँ । धेरै सिकें पनि’ खिस्स हाँस्दै भन्छन्, ‘अहिले परिवारसँग बस्न र मिलेर काम गर्न पाएको छु । यो नै सबैभन्दा ठूलो कुरा हो ।’

सरकारलाई अनुरोध : अनुदान होइन, उत्पादनमा जोड दिइयोस

सरकारले लिएको ‘सुखी नेपाल, समृद्ध नेपाल’ नारालाई सफल पार्नका लागि सरकारले कृषि क्षेत्रमा केही गर्न नसकेको उनी बताउँछन् ।

‘सरकारले समृद्धिका कुराहरु गरिरहेको हुन्छ । कृषिबाट मात्र मुलुकको समृद्धि सम्भव छ भनिरहेको छ’ उनी थप्छन्, ‘तर राज्यल जुन तरिकाले किसानलाई सहयोग गर्नुपर्ने हो त्यो छैन ।’

उनको माग सरकारले दिइने अनुदान उत्पादनमा दिनुपर्छ भन्ने छ । ‘सरकारले अनुदान दिँदा गोठ बनाइदिने, भैसी किन्दिने होइन’ अन्तमा उनी भन्छन्, ‘उत्पादनमा अनुदान दियो भने साना–ठूला सबै किसानले पाउँनेछन् ।’


भर्खर

0