हफिज सईदलाई होला त कारवाही ? « Khabarhub
Logo
१५ जेष्ठ २०७७, बिहीबार

हफिज सईदलाई होला त कारवाही ?



पाकिस्तानको लाहौरमा रहेको प्रतिआतंकवाद अदालतले कट्टर इस्लामिक धर्मगुरु हफिज मोहम्मद सइदलाई जेल सजाय सुनाएको छ ।

सइदविरुद्ध आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै ११ वर्षको जेलसजाय सुनाइएको हो ।

उनीमाथि सन् २००८ मा भारतको मुम्बई शहरमा १६१ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको योजनाकार रहेको आरोप लाग्ने गरेको छ । उनीमाथि दुई फरक फरक अभियोगमा साढे ५/साढे ५ वर्ष गरी ११ वर्षको जेल सजाय सुनाइएको छ ।

उनलाई भारतले खोजीको सूचीमा राखेको छ भने संयुक्त राष्ट्रसंघसहित अमेरिकाले विश्वव्यापी आतंककारीको सूचीमा राख्दै १ करोड अमेरिकी डलर बराबरको इनाम समेत राखेको छ । उनी पाकिस्तानको सबैभन्दा ठूलो लडाकु समूह लस्कर ए तैएबाका संस्थापक समेत हुन् ।

त्यसोभए किन उनलाई जेल हाल्न यतिका समय लाग्यो र के उनी जेलमा रहलान् ? यसको जवाफ जटिल छन् । उनको पाकिस्तानको सेनासँग पनि पहुँच रहेको विश्वास गरिन्छ ।

उनलाई यतिबेलै कारवाही किन ?

सन् २००० को दशकको मध्यदेखि अन्तर्राष्ट्रिय रुपमा अलग हुँदै गर्दा पाकिस्तानमा उत्पन्न आर्थिक समस्या र हालै अन्तर्राष्ट्रिय आर्थिक संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ नामक संस्थानले पाकिस्तानलाई कालोसूचीमा राख्ने सम्भावना कुरामा यसको उत्तर रहेको हुनसक्छ ।

महत्वपूर्ण कुरा त के छ भने एफएटीएफले आतंककारी गतिविधिमा भइरहेको आर्थिक सहयोगलाई निरुत्साहन गर्न पाकिस्तानले गरिरहेको प्रयासबारे फ्रान्सको राजधानी पेरिसमा छलफल हुन लागेको एक साताअघिमात्र सइदलाई दोषी ठहर गरिएको छ ।

आफ्नो विदेश नीतिको उद्देश्य पूरा गर्न लडाकु समूहलाई सहयोग गर्ने गरेको भन्ने आरोप अस्वीकार लामो समयदेखि अस्वीकार गर्दै आएको पाकिस्तान अहिले ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ ।

सन् १९४७ मा स्वतन्त्रता प्राप्त गरेयता अधिकांश समय प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सैनिक शासन भोगेको पाकिस्तान लामो समयदेखि अमेरिकी एवं मध्यपूर्वी मुलुकको सहयोगमा निर्भर छ ।

एफएटीएफको कालोसूचीमा दर्ता भएको पाकिस्तानलाई आर्थिक एवं कूटनीतिक क्षेत्रमा ठूलो हानी हुने सम्भावना छ । त्यसबाहेक कालोसूचीमा दर्ता भएबाट अन्तर्राष्ट्रिय मुद्राकोषबाट प्राप्त सहयोगमा पनि यसको असर पर्नेछ ।

भारत र अमेरिकाले पाकिस्तानसँग सम्बन्धित पछिल्ला घटनाक्रमलाई नियाली रहेका छन् । अमेरिकाको विदेश मन्त्रालयले सइदलाई दोषी ठहर गर्ने पाकिस्तानको कदम अग्रगामी कदमको संज्ञा दिएको छ ।

पाकिस्तानले लडाकुलाई नियन्त्रण गर्न के गरिरहेको छ ?

एफएटीएफले आतंककारी गतिविधिमा भइरहेको आर्थिक सहयोग र सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्न सक्दो प्रयास नगरेको भन्दै पाकिस्तानलाई सन् २०१८ मा ‘ग्रे’ सूचीमा राखेको थियो ।

त्यसको केही महिनालगत्तै अन्तर्राष्ट्रिय नाकाबन्दीबाट जोगिन पाकिस्तानले धेरै संदिग्ध आतंककारीलाई गिरफ्तार गर्नुका साथै प्रतिबन्धित समूहका सम्पत्ति जफत गरेको थियो ।

तर, धेरैले यसलाई पाकिस्तानले देखाउनका लागि मात्रै चालेको कदमको रुपमा हेरेका छन् । दबाब बढ्दै गएपछि पाकिस्तानले सन् २०१९ को अप्रिल महिनामा जमात उद दवा र मर्कज दवा वाल इर्शाद नामक समूहसँग आबद्ध दर्जनौं संगठनमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

हफिज सइदलाई जमात उद दवा र मर्कज दवा वाल इर्शाद जस्ता प्रतिबन्धित समूहका सम्पत्तिको स्वामित्व लिएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

पाकिस्तानले कार्ययोजना अनुसार काम गरिरहेको वा नगरिरहेको विषयमा एफएटीएफले समीक्षा गर्नु तीन महिना अघि अर्थात् गत जुलाई महिनामामात्र सइदलाई गिरफ्तार गरिएको थियो ।

अक्टोबरमा गरिएको समीक्षामा पाकिस्तानले धेरै क्षेत्रमा प्रगति गर्न बाँकी रहेको भेटिएपनि कालोसूचीमा तत्काल राखिएको थिएन । अर्को साता हुने समीक्षामा पाकिस्तानलाई कालोसूचीमा राख्ने नराख्ने निर्णय हुनेछ ।

सइदलाई गत डिसेम्बर महिनामा दोषी ठहर गरिएको थियो । केबल दुई महिनामै सकिएको यो कानूनी प्रक्रिया पाकिस्तानमा सबैभन्दा छिटो टुङ्गिएको हुनुपर्छ ।

तर, पाकिस्तानी सुरक्षा संस्थापनसँग नजिकको सम्बन्ध रहेको अवस्थामा पाकिस्तानी संस्थापनले उनको साथ छाड्नेमा भने धेरैले प्रश्न गरेका छन् ।

उनी पहिलो पटक पक्राउ परेका हुन् ?

सेप्टेम्बर ११ को आक्रमणयता उनलाई पाकिस्तानले धेरैपटक पक्राउ गरिसकेको छ । तर यसअघि उनीमाथि कुनै प्रकारको अभियोग लगाइएको थिएन । उनलाई पक्राउ गर्दै त्यसै छाड्दै गरिएको थियो ।

भारतले उनी सन् २००१ मा भारतीय संसद्मा गराइएको आक्रमण र त्यसपछि सन् २००६ मा मुम्बईको रेलमा गराइएको बम विष्फोटनमा सइद प्रमुख योजनाकार रहेको आरोप लगाउने गरेको छ ।

लस्कर ए तैएबाले सन् २००८ मा मुम्बईमा आक्रमण गराएको आरोप लागेपछि उनलाई सन् २००८ र २००९ मा धेरै नजरबन्दमा पनि राखिएको थियो ।

नजरबन्दमा राखिएपनि उनीविरुद्ध कुनै कानूनी प्रक्रिया अघि बढाइएको थिएन । उनको नजरबन्दको म्याद थप्न अदालतसँग अनुमति लिइन्थ्यो । पछि अदालतले उनको नजरबन्दको म्याद थप्न अस्वीकार गरेपछि भने उनलाई त्यसै छाडिन्थ्यो ।

यसपटक पनि यस्तै हुने हो वा हफिज सइदलाई दोषी ठहर गरी सजाय दिएपछि एफएटीएफ पाकिस्तानी कदमबाट सन्तुष्ट हुने हो भन्ने कुरा चाहीँ हेर्न बाँकी छ ।

उनको पृष्ठभूमि के हो ?

उनले पाकिस्तानमा आधारित साउदी सालाफी नेता अब्दुल्लाह अज्जामसँग मिलेर सन् १९८७ मा मर्कज दवा वाल इर्शादको स्थापना गरेका थिए । त्यसबेला अफगानिस्तानमा सोभियत संघको उपस्थिति सकिन लागेको थियो ।

संदिग्ध रुपमा पाकिस्तानी गुप्तचर निकाय आइएसआईको सहयोगमा यस समूहले भारतसँग विवादमा रहेको कश्मीरमा अफगान लडाकुलाई ल्याएर लस्कर ए तैएबा नामक संस्थालाई जन्म दिएको थियो ।

लस्कर ए तैएबाले कश्मीरमा धर्मनिरपेक्षता र स्वतन्त्रताका लागि आवाज उठाउँदै आएका कश्मीरी नेतृत्वलाई सखाप पर्दै पाकिस्तान समर्थित इस्लामिक अभियानलाई प्रोत्साहन गरेको थियो ।

यसका सार्थ यसले सोभियत संघ पछिको अफगानिस्तानमा इस्लामिक लडाकुहरुलाई सामरिक र वैचारिक सहयोग गरी अस्थिरतातर्फ धकेलेको विश्लेषकहरु विश्वास गर्छन् ।

बीबीसीबाट – हिमाल कोइरालाद्वारा अनुवादित


भर्खर

0