ओली सरकारको २ वर्षे कार्यकाल : आशाभन्दा गुनासा धेरै « Khabarhub
Logo
१२ मंसिर २०७७, शुक्रबार

ओली सरकारको २ वर्षे कार्यकाल : आशाभन्दा गुनासा धेरै



आज २०७६ फाल्गुन २ गते । आज केपी ओली नेतृत्वको सरकारले दुई वर्ष पुरा गरेर तेस्रो वर्षमा प्रवेश गर्दैछ ।

यस दुई वर्षको अवधिभर ओली नेतृत्वको वर्तमान सरकारले देश र जनताको लागि के के गर्‍यो ? यो सरकारले गरेका काम कार्वाहीहरु के कति सकारात्मक ? के कति नकारात्मक रहे ? यी विषयहरु आज ज्यदै चासोका विषय बन्न पुगेका छन् । कस्तो रहयो त ओली सरकारको दुई वर्षे कार्यकाल ?

ओली नेतृत्वको सरकारलाई झन्डै दुईतिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकार भन्ने गरिन्छ । अर्थात् यो ओली नेतृत्वको सरकारलाई नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दुई तिहाई बहुमत प्राप्त सरकार हो भनिएको छ ।

नेपालमा कम्युनिस्टहरू सरकारमा त धेरै पटक गए तर यो ओली सरकार मात्र दुई तिहाई बहुतमत प्राप्त गरेको नेपालको राजनीतिक इतिहासमा पहिलो कम्युनिस्ट सरकार हो भनिएको छ ।

ओली नेतृत्वको यो सरकार साँच्चिकै कम्युनिस्टहरूको सरकार हो त ? कस्तो हुन्छ र हुनुपर्छ कम्युनिस्टको सरकार ? के कस्ता कामहरू गर्नु पर्छ त कम्युनिस्टहरूको सरकारले ? र यो सरकारले यस दुई वर्षको बीचमा देश र जनताको लागि के के काम गर्‍यो त ? आज यो सर्वत्र चासो र आम जिज्ञासाको विषय बन्न पुगेको छ ।

के ओली नेतृत्वको सरकार कम्युनिस्ट सरकार हो त ?

केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकार कम्युनिस्टहरूको सरकार होइन । यस विषयमा कोही पनि भ्रममा अल्झिरहनु पर्दैन । यो कम्युनिस्ट पार्टीको सरकार होइन ।

यहाँ यो सरकारलाई कम्युनिस्टहरूको सरकार हो भनेर भनाइएको मात्रै हो । किनभने पहिलो नम्बरमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कम्युनिस्ट पार्टी नै होइन । यो दक्षिणपन्थी संशोधनवाद र नवसंशोधनवादको बाटो हुदै प्रतिक्रियावादमा परिवर्तन भइसकेको एक प्रकारको बुर्जुवा पार्टी हो ।

हामी कम्युनिस्टहरूले हरेक बस्तु र घटनाक्रमहरुलाई माक्र्सवादी ढंगले अर्थात् वैज्ञानिक ढंगले हेर्नुपर्ने हुन्छ किनभने हरेक घटना घटित हुनुको पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यामान रहेका हुन्छन् ।

आजको युग लेनिनले संश्लेषण गर्नु भएको साम्राज्यवाद र सर्वहारा वर्ग बिचको भीषण वर्गसंघर्षको युग हो । समाज परिवर्तनका लागि अर्थात् क्रान्तिकोो नेतृत्व सच्चा कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । यो मानव समाजको इतिहासमा पुष्टि भइसकेको कुरा हो ।

आजको युगमा साच्चिकै क्रान्तिकारी कम्युनिस्ट पार्टी हुनका लागि निश्चित माक्र्सवादी मापदण्ड छन् ।

पहिलो नम्बरमा उसले माक्र्सवाद – लेनिनवाद – माओवादलाई आफ्नो कामका लागि पथप्रदर्शक सिध्दान्त अर्थात् मार्गदर्शक सिध्दान्त बनाएको हुनु पर्दछ ।

दोस्रो नम्बरमा उसले तत्कालीन अवस्थामा देशको ठोस विश्लेषण गरेर अर्थात् मुलुकको वर्गविश्लेषण गरेर क्रान्तिको अर्थात् जनताको प्रमुख दुश्मन को हो, गौण दुश्मनहरु कुन कुन हुन र क्रान्तिका लागि मित्र शक्तिहरु कुन कुन हुन ? छुट्याउनु पर्दछ ।

त्यस पछि मात्र कम्युनिस्ट पार्टी , जसले क्रान्तिको नेतृत्व गर्ने भनेको हुन्छ । समाजको आमूल परिवर्तन गर्ने ऐतिहासिक जिम्मेवारी पुरा गर्ने लक्ष्य राखेको हुन्छ ।

उसले पहिलो नम्बरमा क्रान्तिको रणनीतिक लक्ष्य अर्थात आम कार्यक्रम निर्धारण गरेको हुनुपर्छ । दोस्रो नम्बरमा उसले तात्कालिन र दीर्घकालीन लक्ष्य निर्धारण गरेको हुनुपर्छ । र त्यस पछि मात्र उसले आफ्ना काम कार्वाहीहरुलाई अगाडि बढाउनु पर्छ ।

कम्युनिस्ट पार्टी सधैँ देश र जनताको सेवक बन्नु पर्दछ र उसले कहिल्यै पनि , कुनै पनि हालतमा देश र जनताप्रति घात गर्नु हुदैन । यदि कुनै पनि कम्युनिस्ट पार्टीले देश र जनता प्रति घात प्रतिघात गर्छ भने, यदि गरेको छ भने उसले आफूलाई जतिसुकै असल कम्युनिस्ट पार्टी हुँ भनाइएको भए पनि त्यो कम्युनिस्ट पार्टी हुन सक्दैन । त्यो प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी पार्टीमा परिणत भइसकेको हुन्छ ।

अब हामीले हेरौं ओली सरकारले माथि भने बमोजिम काम गर्‍यो कि गरेन त यो दुई वर्षको बिचमा ? राम्ररी केलाएर हेर्नुपर्ने हुन्छ ।

ओली सरकारले यो दुई वर्षको आफ्नो कार्यकालमा केही सुधारात्मक कार्यहरु अबश्यै गरेको छ । उसले बृध्द भत्ता थप गरेको छ । कर्मचारीहरुलाई तलब भत्ता बढाई दिएको छ ।

विगतमा भन्दा केही राष्ट्रिय गौरव विकासका योजनाहरु अगाडि सारेको छ । देशैभर हेर्दाखेरी बाटा घाटाहरुको अलि विकास गरेको देखिन्छ । बैंकिङ कारोबार केही सुधार ल्याएको देखिन्छ । यस्तै सामान्य काममा सुधार अवश्यै गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा चीनसँग पारवहन सन्धि सम्पन्न गर्न सफल भएको छ र चिनीयाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणमा ल्याउन सफल भएको छ ।

प्रधानमन्त्री ओलीकै शब्दमा भन्नुपर्दा वर्तमान सरकार गठन भएयता केही सकरात्मक सुधारका काम पक्कै पनि भएका छन् । ती सुधारका कामबाट केही आश गर्ने सकिने ठाउँ छ । तर, वर्तमान सरकारका काम देशको हितभन्दा पनि अहिततर्फ बढि उद्धत भएका धेरै उदाहरणहरु देख्न सकिन्छ ।

ओली सरकारले आफूलाई खुबै ठूलो स्वरले कम्युनिस्टहरूको दुई तिहाईको सरकार भनेर कांग्रेसलाई तर्साउन धेरै समय खर्चेको छ ।

कांग्रेसले पनि ओली सरकारलाई साच्चिकै कम्युनिस्टहरूकै सरकार ठानेर हामीमाथि दुई तिहाई बहुमतको ओली सरकारले हामीमाथि अधिनायकवाद लाद्यो भनेर अत्यन्तै ठूलो स्वरले कुर्लिदै हिडेको छ । यो वाइयात कुरा हो ।

किनभने साँच्चिकै कम्युनिस्टहरूको सरकार हुनलाई त सरकारमा सर्वहारा वर्गको अधिनायकत्व हुनु पर्दछ र उ क्रान्तिको माध्यमबाट पूर्णरूपमा कम्युनिस्टहरूले सत्ता आफ्नो हातमा ल्याएको हुनुपर्छ ।

राज्य संचालनको निम्ति संबैधानिक व्यवस्था गरिएको हुन्छ । नेपालमा पनि संसदीय बुर्जुवा संविधान बनाइएको छ । त्यो पनि कांग्रेस , संसदीय व्यवस्थामा विक्रि भइसकेका र विग्रिसकेका कम्युनिस्टहरू र पुराना पञ्चेहरु मिलेर बनेको खिचडी वाला संविधान अन्तर्गतको संसदीय चुनावबाट बहुमत प्राप्त गरेको सरकार हो ।

कुनै क्रान्तिको माध्यमबाट बनेको क्रान्तिकारी सरकार होइन । त्यसैले ओली सरकार दलालहरुको सरकार हो । साम्राज्यवादी तथा विस्तारवादीहरुको ग्राण्ड डिजाइन , योजना र निर्देशनमा चल्ने वैदेशिक शक्तिहरुको दलाल सरकार हो । त्यसैले ओली सरकारले जनपक्षीय कार्य भन्दा पनि जनघातका कार्यहरु बढी गर्न पुगेको छ ।

पहिलो नम्बरमा ओली सरकारले नेपालको राजनीतिक इतिहासमै सबैभन्दा बढी राष्ट्रघातका श्रृङखलाहरु बढाउन सफल भएको छ ।

जस्तै ओली सरकारले आफ्नो देशको भूभाग कालापानी , लिपुलेक र लिम्पियाधुरा भारत सरकारले आफ्नो नक्सामा गाभ्दासम्म भारत सरकारसंग आफ्नो मुलुकको गुमेको भूभाग फिर्ता लिन कुटनैतिक तथा राजनीतिक कार्यलाई अगाडि बढाउने र नभएमा लडाइँ लड्न तयार हुने आँट गर्नु त कहाँ हो कहाँ ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक कल फोन गर्ने हिम्मत पनि गर्न सकेका छैनन् ।

आफ्नो मुलुकको भूभाग अर्काको देशमा गाभिदा सम्म पनि टुलुटुलुटुलु हेरर भत्ता पचाउने र आफ्नो स्वास्थ्यको मात्रै ख्याल गरेर हप्तामा दुई तीन पटक स्वास्थ्य चेक गराउन अस्पतालतिर कुदी मात्रै रहने भारत सरकारसंग चूं पनि गर्न नसक्ने यस्तो नालायक सरकार नेपालको इतिहासमा पहिलो नै हो ।

दोस्रो नम्बरमा आफ्नो देशको ८३ स्थानमा भारत सरकारले सीमा अतिक्समन गर्दासमेत, देशको ६० हजार हेक्टर जमिन भारत सरकारले अतिक्रमन गरिसक्दााम्सम भारत सरकारसंग चूं सम्म पनि गर्न नसकेर उसकै सामु लम्पसार परिरहनु यो जत्तिको राष्ट्रिय गध्दारी अरु के हुन सक्छ र !

तेस्रो नम्बरमा विप्लव नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर जुन फासीवादी तरिकाले भीषण खमनचक्र चलाएको छ । यो ओली सरकारको राजनीतिक रुपमै सबैभन्दा ठूलो जनघात र राष्ट्रिय गध्दारी हो । किनभने ओली सरकारले विप्लव नेकपामाथि आफ्नै संविधान विपरित कार्य हो ।

चौथो नम्बरमा हत्या , बलत्कारका घटनाहरुलाई दण्डनीय सावित गरेर अपराधीहरुलाई कडा कडा दण्ड सजाए गर्नुपर्नेमा उल्टै ओली सरकारले हत्यारा र बलत्कारीहरुलाई संरक्षण दिएर त्यस प्रकारका अपराधीहरुलाई प्रोत्साहित गर्ने कार्य गरेर अनैतिक , अराजनीतिक , गैर कानुनी र घोर जनघाति कार्य गर्दै आएको छ ।

पाँचौ नम्बरमा आफूलाई कम्युनिस्टहरूको दुई तिहाईको बहुमतको सरकार भनाउने ओली सरकारले एकातिर समाजवाद उन्मुख सरकार पनि भन्ने गरेको छ अर्कोतिर शिक्षा , स्वास्थ र अन्य जनसरोकारका विषयहरुमा माफीयाकरण , दलालीकरण, बिचौलीयाकरणलाई हावी तुल्याइएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताको ढाड सेक्ने सिवाय अन्य जनसरोकारका विषयमा माँखोसम्म पनि मार्ने कार्य गरिएको छैन ।

छैटौं नम्बरमा कम्युनिस्टहरूको दुई तिहाईको सरकार भन्न लाज सरम नमान्ने ओली सरकारले बेरोजगारी समस्या प्रति कुनै चासो नराखेर लाखौं युवाहरुलाई विदेश पलायन हुन बाध्य तुल्याइरहेको छ ।

रमिटेन्सले देश चलिरहेको छ भनेर गफ दिन पनि लाज सरम छैन ओली सरकारलाई ।

सातौं नम्बरमा अर्को आफूलाई कम्युनिस्टहरू सरकार भन्ने ओली सरकारले प्याज, लसुन र आलुको भाऊ १ केजीको ५०० / ६०० रुपैयाँ सम्म पुग्दासम्म चुप्प बस्ने यो कहाँको कम्युनिस्ट सरकार रहे छ ?

आठौं नम्बरमा जनताको दिन दैन्यको हरक्षेत्रमा हरेक बस्ततुको मूल्य भाउ आकासिदासम्म कानमा आौला घुसाएर बस्ने कार्य ओली सरकारको दुई वर्षे कार्य कालको असली कार्य सावित भएको छ ।

नवौं नम्बरमा भ्रष्टाचारलाई मौलाउन दिनु ओली सरकारको मुख्य कार्य भएको छ । वाइडवडी भ्रष्टाचार काण्डलाई ढाकछोप गर्ने र अपराधी हरुलाई बचाउनु ओली सरकारको प्रसंसनीय कार्य बन्न पुगेको छ ।

दशौं नम्बरमा ललिता निबास र बालुवाटारका घोटाला काण्डमा डाक्टर बावुराम भट्टराई, माधवकुमार नेपाल , विष्णु पौडेल लगायतका महाभ्रष्टचारीहरुलाई बचाएर ओली सरकारले यो दुई वर्षे कार्य कालमा सबैभन्दा बढी बहादुरीपूर्ण कार्य गरेको छ ।

एघारौं नम्बरमा यो ओली सरकारले आफ्नो दुई वर्षे कार्य कालमा स्थानीय निकायहरु मार्फत र स्वयं सरकार कै तर्फबाट जनतालाई कर लगाएर व्यापक भ्रष्टाचार गर्नु, गर्न लगाउनु र भ्रष्टाचारीहरुलाई प्रोत्साहित तुल्याउने , तिनिहरुको संरक्षण गर्नु यो वर्षे कार्य कालमा ओली सरकारको ज्यादै प्रशंसनीय कार्य सावित हुन पुगेको छ ।

कस्तो रहयो ओली सरकारको दुई वर्षे कार्य काल भनेर समीक्षा गर्ने सन्दर्भमा सरसर्ति हेर्दा के देखिन्छ भने इतिहासमै भ्रष्टाचार , अनैतिकता , अराजकता , हत्या हिंसाको बढ्त्तोरी , दण्डहीनता , लुटतन्त्र, राजनीतिक प्रतिशोधिता , राष्ट्रघाति, जनघाति कार्यको बढ्त्तोरी , चोर ,हत्यारा , लुटेरा , कालाबजारिया, कमिशनखोर , तस्कर , माफीया आदि असामाजिक तत्वहरुको संरक्षण गर्ने सरकारको रुपमा नेपालको राजनीतिक इतिहासमा लेखाउन यो ओली सरकार आफ्नो दुई वर्षे कार्य कालमै सफल भएको छ ।

आशा भन्दा निराशा धेरै दिएको ओली सरकारका लागि यत्ति समीक्षा काफी होला ।


भर्खर

0