मेरा लागि मैदान सधै सहज छ, बाहिर धेरै चुनौती : पारस खड्का (अन्तर्वार्ता) | Khabarhub Khabarhub

मेरा लागि मैदान सधै सहज छ, बाहिर धेरै चुनौती : पारस खड्का (अन्तर्वार्ता)

'आफ्नै नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गीत बज्दा आँशु आयो'



काठमाडौं –नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अहिले आईसीसी क्रिकेट वर्ल्ड लिग –२ को बन्द प्रशिक्षणमा छन् । पछिल्लो एक दशक नेपाली क्रिकेटले लिएको सफलतामा नेतृत्वकर्ता पारसले असोजको अन्तिम साता नेपाली टोलीको कप्तानबाट राजीनामा दिएसँगै अहिले उनी खेलाडीका रुपमा टोलीमा छन् ।

डिभिजन ५ मा रहेको नेपाली क्रिकेट टोलीलाई टि–२० विश्वकप २०१४ देखि अस्थायी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता सम्म दिलाएको जस उनैलाई जान्छ ।

उनले कप्तानीबाट राजनीनामा दिएपछि के गर्दैछन् भन्ने आम चासो छ । यसलाई मेटाउन हामीले नेपाली राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएपछिको पारसको दैनिकी, नेपाली क्रिकेटको अबको भविष्य, अहिलेको नेपाली क्रिकेटका चुनौति, क्रिकेट विकासमा क्यानको भूमिका, घरेलु लिगले खेलाडीको विकासमा कस्तो प्रभाव लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

राष्ट्रिय टोलीको कप्तानी छाडेपछि के गर्दै हुनुहुन्छ ? कप्तान भएर खेलेको मान्छे खेलाडीमात्र हुँदाको अनुभव कस्तो रह्यो ?

कप्तान भन्दा पनि पहिले खेलाडी प्रमाणित गर्नुपर्छ भनेर मैलै भन्दै आएको छु । त्यसैले म खेलाडी हो । जिम्मेवारीका रुपमा पछि कप्तान हो । मेरो राष्ट्रिय टोलीमा प्रवेश खेलाडीबाटै भएको हो ।

अर्को कुरा तपाईंले टीममा कस्तो प्रदर्शन गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ । आफ्नो टिमलाई कति योगदान दिन सक्नुहुन्छ यो ख्याल गर्नुपर्छ ।
मैले कप्तानी छोड्नु भनेको समयको कुरा हो । मैले १० वर्ष नेतृत्व सम्हाले । कप्तानी छाड्दापनि सबैको आ–आफ्नो धारणा हुन्छ । मेरो धारणा चाही यो समयको माग हो ।

नेपाली क्रिकेट अहिले जे जस्तो भएपनि ‘स्टेबल पोजिसन’मा छ । अहिले निलम्बन पछिको नेपाल क्रिकेट संघ (क्यान) आएको छ । त्यो भन्दा बाहिर पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) तीन बर्षसम्मको ‘क्रुसियल’ समय दिइएको छ ।

त्यसअघि डिभिजन लिगमा हुँदा एक खेल हार्दा, अर्को खेल जित्दा, प्रतियोगिता हार्दा टिम कता पुग्ने हो । नेपाल टिमको भविष्य के हुने हो भन्ने थियो । तर, अहिले म क्रिकेट खेल्दै छु । कप्तान भएपनि खेलाडी भएपनि क्रिकेटलाई मन पराएर लागिरहेको छु । नेपालका लागि खेल्ने सपना पनि थिएन । यहाँसम्म आइपुगेको छु ।

अहिले यो अवस्थासम्म आइपुग्दा आफुले आफुलाई भाग्यमानी ठान्छु । आशा गरौं कतिसम्म सक्छु । देशलाई जिताउन प्रयाससहित मैदान उत्रन्छु ।

कप्तानबाट राजीनामा दिइसकेपछिको खेलमा तपाईंलाई कुनै असजिलो भएन ?

होइन, भएन । मेरो जिम्मेवारी के हो भन्ने मैले बुझेको छु । मप्रति धेरैले यस्तो सोच्नु पनि भएको होला । हो, बाहिरबाट हेर्दा त्यस्तो लाग्न पनि सक्छ । टिममा खेल्दा र म कप्तान हुँदा पनि सबैको सहभागीता रहन्थ्यो । मैदानमै निर्णय गर्नुपर्ने अवस्था आउँथ्यो । के गर्ने कसो गर्ने अहिले पनि हाम्रो सल्लाह हुन्छ । मैले जानेको कुरा सल्लाह दिइनै रहेको हुन्छु ।

अनि अर्को कुरा कप्तानीका समयमा धेरै बोझ नै हुन्थ्यो । टीमलाई मिलाउ, खेल सक्ने बित्तिकै अन्तर्वार्ता, अरु व्यवस्थापन धेरै गाह्रो थियो । अहिले चाँही खेलमा मात्र केन्द्रित हुँदा मज्जा लागेको छ । आनन्दजस्तो महशुस भएको पाउँछु ।

क्यानमा नयाँ नेतृत्व, सर्तसहित क्यानमाथिको निलम्बन फुकुवा र तपाईंले कप्तानी छोड्नु, यो संयोग कि नियोजित ?

यसमा केहि सम्बन्ध छैन् । त्यो समय म कुरी रहेको थिए । कहिले निलम्बन फुकुवा हुन्छ भनेर । लगभग साढे ३ बर्ष नै भइसकेको थियो । त्यसले गर्दा क्यानको निलम्बन फुकुवा हुने बित्तिकै मैले निर्णय लिएको हो ।

क्यानमा नयाँ नेतृत्व आएर राजीनामा दिएको भन्ने गलत हो । यदी त्यस्तो भएको भए कप्तानीबाट मात्र होइन मैले खेलबाटै राजीनामा दिनुपथ्यो ।

मान्छेले जे सोचे पनि मलाई क्रिकेट खेल मेरा लागि एकदमै महत्वपूर्ण छ । क्रिकेट खेल्दा मज्जा आउँछ । जबसम्म त्यो मजा आउँछ, जबसम्म आफ्नो देशका लागि योगदान गर्न सकिन्छ तबसम्म खेल्ने हो ।

त्यसैले यसमा धेरै सोच्नु पर्ने कुनै कारण छैन । त्यो एउटा संयोग हो । हामी एक ठाउँमा अड्की सकेका थियौं । व्यवस्थापनका रुपमा पनि । आशा गरौं अब क्रिकेट संघ आइसकेपछि उहाँहरुले जिम्मेवारी लिनु हुनेछ ।

नेपाली क्रिकेट अगाडि बढाउने लक्ष्यसहित आउनु भएको छ । खेलाडीहरु सधै आफ्नो जिउ ज्यान लगाएर राष्ट्रका लागि खेलिरहेका हुन्छन् । संघ र खेलाडीसबै मिलेर अगाडि बढ्नु पर्छ । खेलाडीहरुले खेलेर मात्रै अगाडि बढ्न अब गाह्रो छ ।

क्यान आएपछि के परिवर्तन भए ? नयाँ नेतृत्वको कामलाई कसरी लिनुभएको छ ?

परिवर्तन भनेको बैठकहरुको योजना मैले पनि पत्रपत्रिकाबाट पढ्ने हो । आन्तरिक रुपमा के भइरहेको मलाई पनि धेरै जानकारी छैन । अहिले चाहीँ त्रिकोणात्मक शृङ्खलाको तयारी भइरहेको छ । त्यसको व्यवस्थापनको जिम्मावारी क्यानको हो । त्यसैमा लागिरहनु भएको होला ।

अहिले भर्खर ३ महिनामात्रै भएको छ । उहाँहरुले केही काम गरिरहनु भएको होला। यो प्रश्न उहाँहरुलाई नै सोध्दा अझ राम्रो जवाफ आउला ।

नेपाली राष्ट्रिय टोलीको नेतृत्व एक दशक सम्हाल्नु भयो, आफूले आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

मैले टाइमफ्रेम लिएर पनि सोचेको थिएन । मेरो लागि पहिलो प्राथमिकता भनेको जसरी हुन्छ राम्रो क्रिकेट खेल्ने नै हो ।

म यति बर्ष खेल्ने कप्तान बन्ने भन्ने मेरो कुनै मोटिभ थिएन । मेरो एक मात्र लक्ष्य जेमा काम गर्छु त्यसैलाई उत्कृष्ट गर्छु भनेर लाग्छु ।

यो एक दशकका दौरानमा पनि एकदमै मजा आयो । धेरै उतार चढाव थिए । कुनै समय यस्तो थियो कि क्रिकेट छाडिहालौं जस्तो । अगाडि नबढ्ने अवस्था थियो । डिभिजन ४–२ मा अड्किरहेका थियौं ।

२०१३ मा ट्वान्टी–२० क्वालिफायरबाट विश्वकपमा पुग्यौं। विश्वकपमा पुग्नु नेपाली क्रिकेटको ठूलो परिवर्तन थियो । विश्वकप पुग्नु नेपाली खेलकुदकै इतिहासमा ठूलो सफलता थियो । विश्वकप पछि न्युजिल्याण्डमा हाम्रो एकदमै राम्रो प्रदर्शन भएको छ ।

ओडिआई मान्यता पाउन त्यसले पनि धेरै सहयोग गर्यो । त्यो बेला पनि के गर्ने के नगर्नै भन्ने थियो । प्रशिक्षक पुवुदु दासानायके र म दुवै न्यूजिल्याण्डमा बसेर कुरा गर्दा नेपाली क्रिकेटमा परिवर्तन आएन भने हामी पदमा बस्नु कति ठीक भनेर पनि छलफल गरेका थियौं ।

त्यसपछि नेपाली क्रिकेटलाई अघि बढाउन हामी जुट्यौं । विश्वकप सम्म कुर्ने र त्यसपछि सोच्ने भन्ने योजना हाम्रो थियो ।

जब विश्वकप खेल्न गयौं । नेपाल क्रिकेटको परिभाषा नै परिवर्तन भयो । त्यसपछि नेपालमा क्रिकेटका मिम बनाउन थाले । सामाजिक सञ्जालमा हजारौं म्यासेजहरु पाएँ । चोक–चोक गल्ली गल्लीमा क्रिकेटको हेरिरहेका थिए । त्यसले छुट्टै जाँगर दियो । बंगलादेश जानु अगाडि १० जनामा ३ जनाले क्रिकेट हेर्थे भने त्यहाँबाट फर्केर आउँदा ७ जना अर्थात् चार गुणा बढी मान्छे क्रिकेट हेर्ने भए ।

नेपालमा खुसी हुने मौका कमै छ । त्यसले गर्दा पनि अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गीत बज्दा आँशु आयो । त्यो राष्ट्रियता, त्यो गर्व महसुस गर्न नेपाल क्रिकेटले दियो ।

त्यसले गर्दा पनि हामी निरन्तर क्रिकेटमा लागि रह्यौं । २०१८ मा हामीले ओडिआई मान्यता पायौं । मलाई लाग्छ नेपाली क्रिकेटका लागि त्यो एउटा ‘अल्टिमेटम’ थियो । त्यो सबै मैले कप्तानले गर्दा मात्रै भएको होइन । सबै टिम सदस्यहरुले गर्दा भयो । मलाई कुनै पनि बेला मैदानमा एक प्रतिशत पनि समस्या भएन । तर, मैदानबाहिर धेरै चुनौति रहे ।

त्यतिबेला जुन गतिमा संघ चल्नु पर्ने थियो चल्न सकेन भनेर हामीले विरोध गर्यौ । वार्ताका लागि उहाँहरु कहिल्यै तयार हुनुभएन । क्रिकेट संघ र खेलाडी एकै ठाउँमा बसौंभन्दा पनि सकिएन । पदाधिकारी एकठाउँमा बस्नै नसक्ने अवस्थामा आयो । हामी खेलाडी तयार भएपनि पदाधिकारीबीचको फुटले समस्या आएको भन्ने पछि थाहा भयो ।

जे भए पनि हामी लक्ष्यबाट बारिरिएनौ । लक्ष्य प्राप्तीका लागि मैदानको मेहनत जारी रह्यो । त्यो जोश जाँगर अफ दि फिल्ड देखेनौं । भौतिक संरचना हेर्ने हो भने, खेलाडीको सेवा सुविधा हुर्ने हो भने खासै केही पनि परिवर्तन देखिएन । जहिले पनि गफ ठूलो काम सानो भयो । त्यसैले हामीले केही राष्ट्रिय प्रतियोगिताहरु पनि बहिस्कार गरेका हौं । अहिले हामी अरु सबै कुरा बिर्सिदा ओडिआई स्टाटस पाइसकेका छौं ।

नेपालका लागि विश्वकप भन्दा पनि ओडिआई मान्यता ठूलो उपलब्धि हो । तर, मलाई लाग्दैन धेरै मान्छेले यसलाई बुझेका छौं ।

२०१८ मा त्यो उपलब्धी हात पार्दा अहिलेसम्म तीनवटा एकदिवसीय खेल खेल्यौं । अब ओडिआई स्टाटस २ बर्षमात्रै बाँकी छ । यो सबै क्यान निलम्बन भएका कारणले नै हो । आईसीसीसँग कतिपटक कुरा गर्दा पनि सबैकुरा हामीले भनेको जस्तो नहुने । आईसीसीले पनि सबै राष्ट्रलाई हेर्नु पर्ने नेपाललाई मात्रै प्राथमितामा राख्न नमिल्ने भएर पनि होला।

यसले धेरै असर गर्‍यो । मेरा लागि मैदानमा धेरै राम्रो रह्यो । सबै खेलाडीले साथ र सहयोग गरे । सबैको एउटै लक्ष्य थियो । सबै इमान्दार भएर लागेर नै हामी यहाँसम्म आइपुगेको हो ।

नेपाली क्रिकेटले पाएको सबैभन्दा ठूलो सफलता एकदिवसीय मान्यतालाई कायम राख्न कत्ति चुनौति छ ?

एकदम धेरै छ । अहिले अरु सबै टीम राम्रा भइसकेका छन् । ५० ओभरको विश्वकप छनोट जुन हुन्छ त्यसको आधारमा ओडिआईमान्यता पाउने हो । त्यसले गर्दा जति राम्रो पछिल्लो २ बर्षमा खेलेर सिधै छनोट हुने सम्भावना छैन ।

ओडिआई मान्यता छनोटबाटै पाउने हो । कि टेष्ट प्लेइङ कन्ट्री हुनु पर्‍यो । त्यसका लागि पनि सोच्नु पर्छ । यो सपना पूरा गर्न अहिलेदेखि नै गृहकार्य गर्नुपर्छ ।

ओडिआई मान्यतालाई कायम राख्न अहिलेदेखि टिमको क्षमता बढाउनुपर्छ । अब युवा टोली छ । धैर्यता पनि राख्नु पर्छ । फ्यानहरुलाई पनि म पटक–पटक भन्दै आइरहेको छु । नतिजा छिटो चाहियो, खेलाडीहरुको प्रदर्शनमा पनि धैर्यता कम । सबैले आफ्नो आफ्नो धारणा राख्नु राम्रो कुरा हो ।

त्यसले क्रिकेटमा रुचि राख्ने धेरै छन् भन्ने देखाउँछ । तर, आन्तरिक रुपमा नेपाल क्रिकेटको ‘मेकानिजम’ जुन फ्यानले हेर्दै आएका छन् त्यो ‘मेकानिजम’ एकदमै गाह्रो छ ।

त्यसैले आन्तरिक रुपमा हामी जसो तसो गरिरहेका छौं । यो सबै खेलाडीहरुले इमान्दार भएर खेलिरहेका छन् । खेलाडीका लागि पनि एक्सपोजर चाहिन्छ ।

अहिले हाम्रो पुस्ताले ५–६ बर्षदेखि त राम्रो एक्सपोजर पाएका छौं । सुविधादेखि सबै कुरा डिसेन्ट नै छ । तर, पनि जबसम्म खेलाडीलाई अझै राम्रो एक्सपोजर हुँदैन । तबसम्म हामीलाई अगाडि बढ्न गाह्रो हुन्छ । मुख्य कुरा हाम्रो ‘बेञ्च स्ट्रेन्थ’ देखि लिएर खेलाडीको क्षमता विकास गराउनेसम्मको हो ।

यो सबै कुरा अभ्यासमा गएर जोडिन्छ । जति राम्रो टोलीसँग खेल्छौं हामीसँग ट्यालेन्ट छ तर, एक्सपोज भएको छैन । त्यो ट्यालेन्ट एक्सपोज हुन पाउने हो भने आउँदो २–३ बर्षमा केही अगाडि बढ्छ ।

खेलाडीमा पोटेन्सियल छ । तर, अन्तर्राष्ट्रिय क्रिकेटमा पोटेन्सियलले मात्रै हुँदैन । मानसिक रुपमा संघले वातावरण सिर्जना गर्न सक्नुपर्छ । मलाई लाग्छ खेलाडीहरुले प्रर्दशन गर्न सक्छन् ।

माघदेखि शुरु हुने विश्व लिग च्याम्पियनसिप –२ मा नेपालको तयारी के हुनु पर्दछ ? र लक्ष्य के हुनु पर्छ ?

तयारी शुरु हुँदैछ । त्यो बाहेक खेलाडीहरुले आ–आफ्नो तरिकाले तयारी गरिरहनु भएको छ । कति खेलाडीले अस्ति भर्खर सकिएको पोखरा प्रिमिय लिग पनि खेल्नुभयो । कति अहिले एमएम कप खेल्दै हुनुहुन्छ ।

त्यसैमा क्याम्प लाग्दैछ । जति धेरै खेलाडीले खेल्न पाइरह्यो । त्यसले नै धेरै सहयोग गर्ने हो । क्याम्प २०–२५ दिन चल्छ । खेल नेपालमै हुँदैछ । नेपालमै खेल्दा जोश जागँर पनि छुट्टै हुन्छ । त्यसले गर्दा हेरौं, हामी आफ्नो राम्रो गर्ने लक्ष्यमा छौं । राम्रो तयारीले मात्रै राम्रो नतिजा दिन्छ भन्ने छैन । खेलमा यसै भन्न सकिन्न । कुनैबेला तालमेल मिल्दैन कुनै बेला विपक्षीले नसोचेको राम्रो खेल्छ । हामी उत्कृष्ट गर्नेमा चाहिँ विश्वस्त छौं ।

नेपालमा भइरहेकाले हामीलाई घरेलु मैदानको फाइदा छ । तर, यो अवस्था जसरी टिमहरु तयारी गरिरहेका छन् त्यसमा राम्रो क्रिकेट खेल्नै पर्छ । त्यसमा ब्याटिङ, बलिङ र फिल्डिङ तिनवटै डिपार्टमेन्ट सुधार्नै पर्छ ।

विकासशिल क्रिकेट राष्ट्रका रुपमा हामी अगाडि बढिरहेका छौं । आशा गरौं हामी क्रमैसँग अघि बढ्न सक्छौं ।

नेपाली क्रिकेट टोलीलाई ‘अन दि फिल्ड’ ओडिआई मान्यता कायम राख्ने चुनौति छ । तर, ‘अफ दि फिल्ड’ चाहीँ नेपाली क्रिकेटका लागि के छन् चुनौति ?

अफ दि फिल्ड अहिले नेपाल क्रिकेटलाई सपोर्ट गर्ने स्रोतहरु छन् । खेलाडीहरुको व्यवसायिकता हेर्ने हो । घरेलु तीनवटा लिग भइरहेका छन् । त्यसमा अब क्यानले पनि आफ्नो सेटअप बनाएर क्रिकेटसँग सम्बन्धित कोचेजहरु हुनसक्छ । ग्राउण्ड म्यान हुन सक्छ ।

अरु स्टेक होल्डर्सहरु छन् । उहाँहरुलाई पनि एउटा फ्रेमिङमा पे रोल जस्तो बनाएर सबैलाई अवाफदेही बनाउनु पर्‍यो । संघको मान्छेहरु आफैपनि काम गरेर देखाउनु पर्ने कुरा छ । भौतिक पूर्वाधार बनाउनु पर्यो ।

तर, यहाँ फण्ड कहिले आउँने, प्रदेशले जिल्लालाई कहिले पठाउने, प्रदेशले केन्द्रले कहिले पठाउँने भन्ने सोचका साथ हामी लागिरहेका छौ । पहिला हामीले जुन क्रिकेट खेल्यौं । त्यहिँ सोचमा छौं जस्तो मलाई लागिरहेको छ ।

सायद हामी अड्की रहेका छौं । हरेक जिल्लामा जो प्रतिनिधिहरुले जित्नु भएको छ उहाँहरुले प्रदेश प्रतिनिधिसँग बसेर हामीले हाम्रो जिल्लाको मेरो प्रदेशको योजना यो हो ।

यो बर्ष हामी यो यो गछौं भन्ने हुनुपर्यो । जुन प्रदश वा जिल्लाले राम्रो गर्छ त्यसलाई प्रमोट गर्नु पर्छ ।

अहिले फण्ड पनि बढेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल सरकार पनि अहिले नेपाल क्रिकेटका लागि भनेर बजेट छुट्याइरहेको छन् । बजेट छुट्याएर मात्रै भएन कार्यान्वयन पनि भएन ।

अर्को समस्या भनेको अफिसियल म्यानेजमेन्टको कुरा हो । पदाधिकारी पछि एक बोर्ड हुन्छ । जो सदस्य हुनुहुन्छ । उहाँहरुले अप्रेटिङ, जस्तै, सिईओ, फाइनान्स म्यानेजर, सेल्स म्यानेजर जस्ता टिम बनार्एर अगाडि बढनुपर्छ । किनकी क्रिकेट संघको अध्यक्ष, महासचिव, कोषाध्यक्ष उहाँहरुले नीति बनाउने हो ।

त्यसैले दैनिक काम कारबाही र योजना कार्यान्वयन गर्ने ग्रुप हुनु पर्यो । त्यो ग्रुपले छिटो भन्दा छिटो काम गर्यो भने हामीले बनाएको लक्ष्यमा पुग्न सहज हुन्छ । बोर्डले उनीहरुको कामबाट फिड्ब्याक लिने के गर्दा कस्तो होाल । त्यो मोडलमा जानु पर्छ जस्तो मलाई लाग्छ ।

अहिलेका प्रतियोगिता र खेलको विकासले खेलाडीलाई खेलमै रमाउने वातावरण बन्यो त ?

पछिल्लो दुई तीन बर्षमा व्यवसायिक सेट अप परिवर्तन भएको छ । तर, सबैको त्यस्तो भइसकेको छैन् । नेपाली टोलीमा पर्ने १५ जना २० जना वा ३० जना होला । टिममा आउ जाउ भइरहनेहरुको होला । त्यो बाहेक अन्यका लागि भने खासै केही छैन । अहिले घरेलु लिगमा पनि टिममा पर्न प्रतिस्पर्धा बढी रहेको छ । त्यो बाहेक हामीले बेस बनाउने भनेको जिल्ला र प्रदेशमा क्रिकेट गरेर हो ।

त्यहाँबाट व्यवसायिक सम्झौताको सुरुवात गर्नुपर्‍यो । त्यो सम्झौता भएपछि खेलाडी व्यवसायिक रुपमा अगाडि बढ्न सहज हुन्छ । अब कति पैसा पुग्छ वा कति पैसा पुग्दैन भनेर हो । त्यसमा पनि खेलाडीहरुले म्यानेज गर्नु पर्छ ।

अब अहिले चाँहि राष्ट्रिय टोलीमा पर्ने खेलाडीहरु जो नियमित छन् उनीहरुका लागि राम्रै छ । राम्रो भन्नाले ५ बर्ष अगाडि आफुले आफुलाई सस्टेन गर्न सक्ने माहोल थिएन । तर, अहिले त्यो बनेको छ । अहिले तपाईले कतै पनि राम्रो गर्न सक्नु भयो भने संसारको आँखा तपाईंमा परेको हुन्छ ।

अहिले बाटो बनिसकेको छ । तर, कसरी अवसरलाई सदुपयोग गर्ने भन्ने कुरा हो । कसैले एक खेल खेल्न पाउलान् कसैले १० खेल पाउलान् । अगाडि बढ्नु पर्छ । अहिलेको युवा खेलाडीका लागि चुनौति चाँहि के हो भने आफुलाई कसरी सस्टेन गर्ने भन्ने हो ।

अहिलेसम्म हामी अफ दि फिल्ड राम्रो नहुँदा पनि यहाँसम्म आइपुगेका छौं । तर, अब अफ दि फिल्ड राम्रो नभएर अगाडि बढ्न गाह्रो छ । संघ बलियो भइसकेपछि अन दि फिल्ड र अफ दि फिल्ड बलियो बनाएर अगाडि बढ्नु पर्यो ।

खेलाडीलाई चाँही प्रमुख प्राथकितामा राखेर अगाडि बढ्नुपर्छ । उनीहरुलाई व्यवस्थित बनाएर अगाडि बढ्ने योजना बनाउनु पर्छ । किनकी भोली मैदानमा राम्रो नतिजा आएपछि न स्रोत बढ्ने हो । नेपाली टिमले राम्रो गरेपछि मात्रै न कर्पोरेट क्षेत्रदेखि सबैको लगानी बढ्ने हो । त्यो कुरामा हामी अगाडि बढ्नु पर्छ ।

अहिले परिवर्तन भएको थियो । व्यवसायिक रुपमा राम्रो गर्न सक्ने सम्भावना भएको खेल क्रिकेट हो ।

अहिले भइरहेका लिगलाई व्यवस्थापन गर्दै नीजि र सरकारी लगानीलाई एकै ठाउँमा व्यवस्थापन गर्न सकिन्छ ?

अहिले जति पनि भइरहेका लिग छन्, पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग क्रिकेट संघ निलम्बनमा रहँदा यी तीनवटा लिगले खेलाडीलाई सस्टेन हुन सहयोग गरे ।

यसले क्रिकेटको माहोल बनायो । हामीले टिम मालिक, स्पोसर र सपोटर्सहरुलाई धन्यवाद दिनु पर्छ ।

अब सबैको सोच नेपाल प्रिमियर लिग हुनुपर्छ भन्ने हो । तर, नेपाल प्रिमियर लिग कुन अर्डरमा हुनेत । त्यसको मोडल कसले डिजाइन गर्छ । त्यसको आधिकारीकता कसले लिन्छ । अहिलेका प्रिमियर लिगहरुमा नकारात्मक भन्दा पनि सकारात्मक इम्पेक्ट धेरै छ ।

पक्कै पनि प्राइभेट इन्टिच्युसनले आफैले आयोजना गरेपनि । एउटा पीपीएलमा म आफैपनि इन्भल्भ छु । त्यसले खेलाडीलाई व्यवसायिक बनाउन सहयोग गरेको छ । अलिकति प्रोफाइल बढाइदिएको छ । हाम्रो जस्तो देशमा जति धेरै प्रतियोगिता त्यति धेरै राम्रो हो खेलाडीका लागि । नेपाल प्रिमियर लिग हुने हो भने अझ भव्य रुपमा कसरी अगाडि बढाउने भन्नेमा क्रिकेट संघका पदाधिकारी आफ्नै योजना बनाउँलान् ।

भएका लिगलाई हटाउने कि नहटाउने भन्ने बहस भइरहेको छ । यी लिग खेलाडीका लागि स्रोत बनेका छन् । नेपाली खेलाडीले विदेशी खेलाडीसँग खेल्न पाइरहेका छन् । घरेलु लिगहरुको चाम नै अर्कै छ । त्यो भइसकेपछि यी लिगहरुलाई कसरी व्यवस्थित गर्ने भन्नेकुराहरुमा हामी सबै संघसँगै मिलेर अगाडि बढ्नु पर्ने कुरा हो ।

त्यसबाहेक संघले आफ्नै योजनाका साथ लिग सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ । त्यसका लागि कसले के गर्ने भन्ने विषयमा सन्तुलन मिलाउन पर्छ । सबैकुरा अन्तिममा व्यवस्थापन मै गएर ठोकिन्छ । नेपाल प्रिमियर लिग हुने हो भने पनि अन्य लिगहरु संचालन हुन सक्छन् ।

इपीएलमा विदेशी खेलाडीको हकमा बनेको नयाँ नियमलाई कसरी लिनु भएको छ ?

एक नीजि प्रतियोगिताको नियम हो । हामी सबैले मान्नै पर्छ । मैले बारबार भनिरहेको छु । ईपीएल, डीपीएल र पीपीएल निजी लिग हो । यीनीहरुका आ आफ्नै नियम हुन्छन् । पक्कै पनि विदेशी खेलाडीका लागि नियम बनाइएको छ । त्यसमा मलाई लाग्छ आगामि दिनमा क्रिकेट संघले आफ््नो धारणा बनाउँला ।

एउटा लिगले यस्तो नियम बनाउला भोली अर्को लिगले पनि आफ्नो नियम बनाउँदा प्रश्न उठ्न सक्छ । भोली धनगढी प्रिमियर लिग होला । धनगढीले आफ्नोमा खेलेका खेलाडीले अन्य लिग खेल्न नपाउने भन्ला ।

पोखराले पोखरा बाहेक अन्य लिग खेल्न नपाउने भन्देला । त्यस्तो माहोल नहोस् । तीनवटै लिगको आफ्नै चार्म छ । कोही प्लस कोही माइनस होाल । यो एउटा लिगले बनाएको नियम हो । सहभागी हुनेले नियम पालना गर्नुपर्छ ।

सबै लिग संघ अन्तगत पर्छन् त्यसैले क्यानले पनि यसमा आफ्नो धारणा सार्वजनिक गर्छ होला । विदेशी खेलाडीका लागि उहाँहरुले पनि केही प्रावधान बनाउनु हुन्छ होला । क्रिकेट संघको अन्डरमा बसेर बनाइएको नियममान्नुको विकल्प पनि छैन् ।

यसलाई नकारात्मक तरिकाले बुझ्नुहुन्न । त्यस्तो भए हामी किचलोमा जान्छौं । त्यसमा जानु भन्दा क्रिकेटका लागि जे राम्रो हुन्छ त्यहिँ गर्दा ठीक । भोलीका दिनका प्रतियोगिता अनुसार नियम परिवर्तन होला । अन्तिममा क्रिकेटको विकास हुनु पर्छ भन्ने नै हो । क्रिकेट नेपाल र नेपाल बाहिरका खेलाडी हानी कसैलाई पनि नहोस् ।

पोखरा प्रिमियर लिगको बिजेता टोलीको कप्तान, अनुभव कस्तो रह्यो खेल र व्यवस्थापन दुवैको हिसावले ?

पक्कै पनि जित्दा रमाइलो लाग्छ नै । हामीले ६ मा ६ बटै खेल जित्दा सबै खेलाडीहरुले बराबरी योगदान गरे । ब्याटिङ, बलिङ र फिल्डिङ सबै कुरा राम्रो भयो । रनको तथ्याङक हेर्ने हो भने विकेटको संख्या हेर्ने हो । मज्जा आयो पोखरामा ।

त्यो मैदानको बेग्लै चाम छ । त्यो पिचको सबैभन्दा उतकृष्ट छ । यो सबैको अनुभव हो । आगामि दिनमा राष्ट्रिय टोलीको क्याम्प पनि त्यहाँ हुने भएको छ । त्यो पनि एक सफलता हो ।

२ बर्ष अगाडि जब हामीले क्विन्स इभेन्ट म्यानेजमेन्टको स्थापना गरेर हामी लागेको थियौं । हाम्रो पहिलो लक्ष्य भनेकै प्रभाव पार्नुहो । छुम्बी जी ज्ञानेन्द्र (राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल) म भएर लाग्दा खेरी नै पनि पोखरा प्रिमियर लिग गरेर नेपाली टोलीको क्याम्प त्यहाँ हुने भएको छ । त्यतिमात्रै नभएर त्यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल पनि हुने सम्भावना छ । हामीले गरेको अहिलेसम्मको मेहनत चाहिँँ पीपीएल भन्दा पनि अन्तर्राष्ट्रिय खेलका लागि भइरहेको क्याम्प हो । अझ त्यो पीच सोचेभन्दा एकदम धेरै राम्रो भइदियो ।

मुम्बईको क्युरेटर सन्तोष सेन भन्ने जो हुनुहुन्छ उहाँ र प्रदिप राउत स्थानीय क्युरेटरसहितले यो मैदानको पिच एकदमै राम्रो बनाउनु भएको छ । उहाँहरुलाई धेरै क्रेडिट दिनुपर्छ ।

मलाई लाग्छ त्यो मैदानलाई लिएर सबैको आँखा खुलेको छ । नेपाल सरकार, गण्डकी प्रदेश सरकार, राखेप र क्यानले त्यहाँ लगानी गर्नु पर्छ भन्ने भएको छ । अहिले हाम्रा लागि ठूलो सफलता हो । अब त्यसलाई अन्तर्राष्ट्रिय स्तरको कसरी बनाउने भन्ने पनि सोच्नु पर्छ ।

पोखरामा पहिले क्रिकेट थिएन । अहिले बेस बनिसकेको छ । अब यो बेसलाई अगाडि बढाउन अझ व्यवस्थापनमै आएर ठोकिन्छ । राखेप, नेपाल सरकारले मिलेर अगाडि बढ्यो भने पोखरा क्रिकेट मैदान संसारकै एउटा नमूना क्रिकेट मैदानका रुपमा विकास हुन सक्ने सम्भावना रहेको मैदान हो ।

व्यवस्थापन जहिले पनि चुनौति रहन्छ । एउटा काम गर्दा यो पनि हुनसक्छ त्यो पनि हुन सक्छ । तर, पनि हामीले जे जति स्रोत साधन थियो । त्यसको उपयोग गरेर लिग गर्ने कोसिस गरेको हो । नेपालमा प्रिमियर लिगहरुले खेलाडीलाई चलायमान बनाएको छ । त्यो चाँही लिगहरुको राम्रो सफलता हो । दोस्रो संस्करण सम्पन्न भइरहँदा राम्रो प्रतिक्रिया पाएका छौं । आशा गरौं आगामि दिनमा अझ यसलाई व्यवस्थित गर्न नेपाल सरकारले प्यारापिट बनाइदिनु भयो भने राम्रो हुनसक्छ ।

पोखरा फुटबल र भलिबलको क्रेज रहेको शहर, तपाईंहरुले क्रिकेट शुरु गर्नु भएको छ । दोस्रो संस्करण समापन भइरहँदा कस्तो माहोल पाउनु भयो ?

त्यो त मलाई थाहा छैन् । तथ्याङक नै हेर्नु पर्छ होला । सोचेभन्दा धेरै दर्शक आउनु भएको छ । पहिलो संस्करणमा त म अचम्मै परेको थिएँ । टिकट राख्ने कि नराख्ने भन्ने कुरा भएको थियो । पहिलो पटक पोखरामा क्रिकेट हुँदैछ । टिकट नराख्ने फ्रि इन्ट्री दिने भन्ने कुरा भएको थियो । यो बर्ष पनि हामीले फ्रि इन्ट्री दियौं ।

अहिले पोखरामात्रै होइन नेपाल भरी क्रिकेटले चाम लिएको छ । क्रिकेटले माहोल बनाएको छ । अहिले क्रिकेटलाई माया गर्ने मान्छेहरु धेरै हुनुहुन्छ । त्यसमा पनि व्यवसायिक क्रिकेट हुन्छ विदेशी खेलाडी आएर खेल्छन् भने मान्छेहरु आउनु स्वभावीकै हो । अहिले पोखरामा ‘डाइमेन्सन’ चाँही परिवर्तन भएको छ । यो कुनै खेल सँग प्रतिस्पर्धा होइन । फुबटल आफ्नै ठाउँमा छ भलिबल आफ्नै ठाउँमा छ ।

अबको १० बर्षमा हामीले पारस खड्कालाई कुन भूमिकामा कहाँ देख्न पाउँछौं ?

अहिले खेलिरहेको छु । जहिलेसम्म खेल्न सक्छु खेलिरहने छु । मैले खुलेरै भन्दै आइरहेको छु, मलाई व्यवस्थापनमा आउन मन छ भनेर । त्यसमा आउन पनि काम गरेर आउनु पर्यो । मैले एकादेशमा क्रिकेट खेलेको थिए । मलाई क्रिकेट संघमा आउनु पर्छ भनेर हुँदैन । काम गरेर देखाउनु पर्यो ।

काम गरिसकेपछि मलाई लाग्छ कामले नै भविष्य के कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । त्यहिँ अनुसार अनुमान लगाउन सकिन्छ । मेरा लागि पक्कै पनि चुनौति धेरै छन् । १० बर्ष पक्कै पनि लामो समय हो । क्रिकेट खेलाडी बन्छु भन्ने सोच पनि थिएन । क्रिकेट खेलियो ।

यहाँसम्म आइपुगियो । पक्कै पनि क्रिकेटमा लागिनेछ । क्रिकेटमा लागिसकेपछि जसरी होस् आफुले आफुलाई क्रिकेटको भलो र विकासका लागि जहाँ पनि आफुले आफुलाई त्यहाँ उभिन तयार छु ।

राम्रो खेलाडी राम्रो व्यवस्थापक बन्छ भन्ने कहीँ छैन् । राम्रो खेलाडी राम्रो प्रशिक्षक बन्छ र राम्रो खेलाडी उत्पादन गर्छ भन्ने पनि छैन् । यो टिम इफोर्ट हो । म आएर क्रिकेट संघ बलियो हुने पनि होइन । यो सबै टिमको कामले माथि पुग्ने हो ।

कुनै पनि व्यक्ति त्यो ठाउँमा राखेर त्यो काम गर्ने वातावरण दिन सक्नु भएन भने त्यो जति राम्रो भएपनि काम गर्न सक्दैन । त्यसैले म लगायत खेलाडीहरु हुनुहुन्छ जति पनि क्रिकेटलाई माया गर्ने मान्छेहरु हुनुहुन्छ । उहाँहरु सबै को एउटा टिम आउने हो भने मलाई लाग्छ धेरै कुरा परिवर्तन गर्न सकिन्छ । पोजिसन नै हुनु पर्छ भन्ने पनि छैन ।

म अध्यक्ष नै हुनुपर्छ भन्ने पनि छैन् । म कप्तानै हुनु पर्छ भन्ने पनि छैन् । म टिममा हुनु पर्छ भन्ने पनि छैन् । काम गर्ने हो भने अवसरहरु धेरै छन् । आशा गरौं म आफुले आफुलाई क्रिकेटका केही परिवर्तन गर्न सकिन्छ भने म त्यहाँ उपस्थित हुनेछु ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  १० : १८ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा