बंगुर पालेर स्वावलम्बी नमिता « Khabarhub
Logo
१४ माघ २०७७, बुधबार

बंगुर पालेर स्वावलम्बी नमिता



चितवन– खासगरी ब्राम्हण समुदायमा बंगुर खाने त परै जाओस्, छुन पनि हुँदैन भन्ने विश्वास छ । त्यही ब्राम्हण समुदायकी नमिता अधिकारी भने बंगुरसँग रमाउन थालेको १५ वर्ष भयो ।

नमिता बिहानदेखि बेलुकासम्म नै बंगुर र त्यसका पाठापाठीसँग रमाउँछिन् । बिहान बंगुरलाई दाना दिन्छिन्, गोठ सरसफाइ गर्छिन अनि त्यहि बंगुर पाठापाठीसँगै रमाउँछिन् ।

चितवनको भरतपुर महानगरपालिका १६ हाम्रो चोकमा अधिकारीको ‘सिमरन बंगुर फर्म’ छ । लामो समययदेखि बंगुरपालन व्यवसायमा लागेकी नमिताले आफ्नो फर्ममा अरु दुई जनालाई रोजगार पनि दिएकी छन् । बंगुरपालनसँगै नमिता दम्पत्तिले माछापालन पनि गर्दै आएका छन् ।

जिल्लामै एउटा बंगुर पाल्ने सफल महिला उद्यमीका रुपमा परिचित नमितालाई अहिले सिमरन दिदी भनेर सबैले चिन्ने गरेका छन् ।

कुखुरापालनबाट असफलता

नमिता दम्पत्तिले यसअघि कुखुरापालन व्यवसाय शुरु गरेका थिए दवाडी सप्लायर्सका नामबाट । कुखुरापालन व्यवसायबाट उनीहरुलाई सफलता मिलेन । प्रारम्भिक लगानी सबै डुब्यो । कृषि विकास बैंकबाट २५ लाख ऋण लिएर उनीहरुले कुखुरापालन व्यवसाय थालेका थिए ।

कुखुरापालन व्यवसायबाट सफलता नमिले पनि कृषि क्षेत्रकै अरु व्यवसाय सञ्चालन गर्न बैंकले हौसला प्रदान गर्यो । तर बैंकमा अरु ऋण थप्न आँट गरेनन् उनीहरुले ।

ऋण गरेर सञ्चालन गरेको व्यवसाय टाट पल्टिएपछि अमिताका श्रीमान रोजगारीका लागि विदेशिए । तर विदेश गएर पनि उनका श्रीमानले सफलता पाउन सकेनन् । विदेशमा पनि पैसा कमाउन नसकेपछि श्रीमान निराश भएर स्वदेश फर्किए ।

परिवारको साथ र सहयोग

अतिवादी ब्राम्हण समुदायमा बंगुरपालन गर्नेलाई राम्रो दृष्टिले हेरिँदैन । तर नमिताले भने परिवारको राम्रै साथ र सहयोग पाएकी छन् ।

श्रीमान विदेशबाट फर्किएर पुनः कृषि कर्ममै लाग्ने अठोट गरेपछि यो व्यवसायमा जमेका हुन् उनीहरु । नमितालाई परिवारबाट राम्रो सद्भाव मिल्यो ।

नमिताले कुखुरापालन व्यवसायबाट असफल भए पनि कृषिकर्मबाट हरेश खाइनन् । कुखुरापालन व्यवसायबाट भएको घाटा बंगुरपालन व्यवसायले पूरा गर्यो ।

बंगुर पाल्ने उद्यमी महिला भनेर सबैतिर चिनिन पाउने भएकोमा उनी आमाको आर्शिवाद ठान्छिन् । आफ्नो बाख्रा बेचेको पेवा पैसा दिएर बंगुरपालन व्यवसाय सञ्चालन गर्न सासुआमाले उनलाई ठूलो गुन लगाएकी थिइन् ।

‘अरुका आमाबाबुले बंगुरपालन गरेर जात फालेको भन्छन्, तर मेरी आमाले आफ्नो पेवा पैसा दिएर काम गर्न प्रोत्साहन दिनुभयो,’ उनले भनिन् ।

एक करोड बढीको लगानी

नमिताले चार वटा बंगुर किनेर आफ्नो नयाँ व्यवसाय थालनी गरिन् । अहिले उनको फर्ममा ५ वटा भाले बंगुरसहित ७५ वटा माउ बंगुर छन् । ती सबै ड्यूरो र ल्याण्डेस प्रजातिका बंगुर हुन् ।

व्यवसायिक रुपमा बंगुरपालन गरेकी नमिताले योसँगसँगै माछापालन व्यवसाय पनि थालिन् । बंगुरपालन र माछापालन अन्तरसम्बधित हुने उनको बुझाइ छ । बंगुरफर्मबाट निस्किएका फोहर माछाका लागि उपयोगी हुने उनी बताउँछिन् ।

डेढ बिगाहा क्षेत्रफलमा बंगुर फर्म र ६ वटा माछा पोखरीहरु छन् । बंगुरपालन व्यवसाय विस्तार हुँदै जाँदा हालसालै उनले अर्को संरचना पनि तयार गरेकी छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बाग्मती प्रदेशबाट ५ लाख अनुदान र आफ्नो १० लाख गरी १५ लाख लगानीमा नयाँ संरचना बनाएकी छन् ।

कृषि विकास बैंकबाट सहुलियत दरको ऋण लिएर उनले आफ्नो कृषि व्यवसाय बढाउँदै लगेकी छन् । नमिताको व्यवसाय अहिले एक करोड भन्दा बढी पुगेको छ । बैंकको किस्ता र ब्याज तिरेर पनि बार्षिक १५ लाख बढी बचत हुने गरेको उनी बताउँछिन् ।

घरबाट पाएको १३ कठ्ठा पुर्खेउली जग्गामा व्यवसाय गरेकी उनले अरु जग्गा यहिँको कमाइबाट आर्जिएकी हुन् । बैंकले पनि उनलाई कृषि उद्यमी महिला भनेर पहिचान दिएको छ ।

बैंकबाट ६ प्रतिशत ब्याजमा लिएको ऋणमा लकडाउनले गर्दा अरु २ प्रतिशत सहुलियत मिलेको नमिताले बताइन् । सफल महिला उद्यमीका रुपमा दरिएकी नमितालाई अहिले ९० लाख कृषि विकास बैंकबाट ऋण स्वीकृति भएको छ ।

भर्खर जन्मिएको पाठापाठीको मूल्य ६१ सय

नमिताले आफ्ना फर्मका बंगुरको बच्चा उत्पादनमा नै बढी जोड दिदै आएकी छन् । एउटा माउले एक बेतमा १४/१५ वटा भन्दा बढी बच्चा जन्माउँछ ।

६ हजार एक सय रुपैयामा यो फर्मबाटै बंगुरको पाठापाठी बिक्री हुन्छ । भाले बनाएकोलाई उनले ६४ सय रुपैयाँमा बिक्री गर्छिन् । ‘भाले बनाउँदा प्राविधिकलाई शुल्क लिने भएकाले त्यो शुल्कसमेत जोडेर लिने गरेको छु,’ उनले भनिन् ।

उन्नत जातको बंगुर भएकाले यहाँबाट लगेको बंगुर ७ महिनामा ८० देखि ९० किलोको हुने गरेको नमिताले बताइन् ।

आफै ‘डाक्टर’ बीमा निःशुल्क

फर्मका सबै बंगुरहरुको बीमा गरिएका छन् । ‘बिमा गर्दा २५ प्रतिशत मात्रै बिमा शुल्क बुझाउनुपर्छ,’ उनले भनिन्, ‘२५ प्रतिशतको साढे १२ प्रतिशत महानगरपालिकाबाट फिर्ता आउने भएकाले विमा गर्न पनि शुल्क लाग्दैन भन्दा पनि हुन्छ ।’

लामो समय बंगुरपालन गरेकाले बंगुरको सामान्य उपचार आफै गर्छिन् नमिता । जटिल प्रकारको विरामी भएमा मात्रै उनी पशु प्राविधिक गुहार्छिन् । ‘बंगुरको दाँत काट्ने, आइरन भ्याक्सिन लगाउने काम म आफै गर्छु,’ उनले भनिन्, ‘लामो अनुभवले गर्दा आफै डाक्टर भएकी छु ।’

बाक्लो बस्ती भएको ठाउँमा बंगुरपालन व्यवसाय गर्नु उपयुक्त नहुने उनको सुझाव छ । एकान्त ठाउँमा र बस्तीभन्टा टाढा बंगुर फर्म खोल्नु उपयुक्त हुने उनले बताइन् ।


भर्खर

0