बालुवाटारमा सारियो नेकपा स्थायी कमिटी बैठक, ओली पनि सहभागी हुने | Khabarhub Khabarhub

बालुवाटारमा सारियो नेकपा स्थायी कमिटी बैठक, ओली पनि सहभागी हुने


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ—  प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यवस्थालाई ध्यानमा राखेर नेकपाले स्थायी कमिटी बैठक बालुवाटारमा नै सारेको छ ।

भौतिक दूरीसहितको बैठकमा मात्र सहभागी हुन चिकित्सकले दिएको सुझाव र प्रधानमन्त्री ओली सहभागी हुने भएपछि धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एजेण्डामा सहमति जुटेपछि आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरूले बताएका छन् । सहमति नजुट्दा ओली मंसिर २१ को स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

ओलीबिनै बसेको मंसिर २१ को बैठक एक साताका लागि स्थगित भएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

तर, उनले अझै पनि अर्का अध्यक्ष दाहाललाई फकाउने प्रयास जारी राखेका छन् । बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस जारी राखेका छन् । तर पनि सफल हुन सकिरहेका छैनन् ।

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का अध्यक्ष दाहाललाई भेटेका छन् । सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन । यद्यपि छलफलका एजेण्डामा सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको बुझिएको छ ।

दुई अध्यक्षको  राजनीतिक प्रतिबेदनमा नभइ पार्टी विवाद हल गर्ने विषयमा छलफल गर्ने एजेण्डा तय भएपछि ओली आजको बैठकमा सहभागी हुन लागेको उनी निकटस्थ नेताहरूले जनाएका छन् ।

आफू निकट नेताहरूले पनि बैठकमा सहभागी भएर प्रतिवाद गर्न सुझाएपछि ओलीलाई बैठकमा सहभागी हुन, आफ्नो कुरा त्यहीँ भन्न र कमिटीको निर्णयअनुसार चल्न पनि उनलाई दबाब बढेको छ ।

उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

दाहालले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । दोस्रो तहका नेताहरूले दाहाललाई भदौ २६ को सहमति पूर्णरूपमा कार्यान्वयन हुने गरी सहमत हुन आग्रह गरेका छन् । तर, दाहालले त्यसलाई पनि अस्वीकार गरेका छन् । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको दाहालको आरोप छ ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

निकटस्थहरूले पार्टी बहुमत—अल्पमतको खेलमा पुगेको भए एकीकरण हुनुअघिका पूर्वसमूहको अनुपात मिलाउन पनि ओलीलाई सुझाएका छन् । यस्तो अवस्थामा पूर्वएमालेभित्रको पनि नेपाल समूह अहिले दाहालतिरै भएकाले त्यो विषय उठान गर्ने मुडमा ओली नरहेको बताइन्छ ।

दाहाल—नेपाल पक्षले भने बहुमत—अल्पमतको खेल भन्ने आरोप अस्वीकार गर्दै पार्टी अनिर्णयको बन्दी भए बहुमतका आधारमा निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

एकता महाधिवेशन हुने घोषित मितिको करिब चार महिनाअघि बहुमत र अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा परेको समयमा दाहाल—नेपाल पक्षले बहुमतबाट निर्णय गर्न चाहेको छ । यसमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहमत देखिएका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिँदैन ।

चवालीस सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा प्रष्ट खुलेका सदय ११ जनामात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै ओलीलाई प्रतिकूल हुने निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

दाहाल—नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक पुस ५ मा बोलाइएको छ ।

यता प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध बलजफ्ती अघि बढेमा ‘आफूले झन् ठूलो एक्सन लिने’ चेतावनी दिएका छन् । अन्य नेताहरूले उनले भनेको ठूलो एक्सन पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने, संकटकाल घोषणा गर्ने, प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने लगायतका हुनसक्ने अनुमान गरेका छन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीको आरोप छ । दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ४७ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा