नेपाली कांग्रेसको भावी नेतृत्व « Khabarhub
Logo
३ बैशाख २०७८, शुक्रबार

नेपाली कांग्रेसको भावी नेतृत्व



देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको चौधौँ महाधिवेशन यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

पार्टीका अधिकांश नेता र कार्यकर्ताहरू पनि पार्टीलाई गतिशील र ऊर्जावान बनाउन पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन सुनिश्चित गर्न आग्रह गरिरहेका छन् ।

यता सभापति देउवाले भने यथास्थितिवादमै रहने मानसिकता बनाएर आफ्नो कार्यकाल सम्भव भए आगामी आमनिर्वाचनसम्म लम्बियोस् भने चाहना राखेको देखिन्छ ।

पार्टी विधानमा व्यवस्था भएको संक्रमणकालीन धारा तथा कोरोना माहामारीको संकट पनि उनको निम्ति सहयोगी सावित भएको छ । येनकेन प्रकारेण महाधिवेशन रोकेर उनले आफ्नो कार्यकाल बढाउन पनि सक्छन् तर यसबाट पार्टी सङ्गठन भने ऊर्जावान र जीवन्त हुन नसक्ने निश्चित छ । आगामी दुई वर्षभित्र तीनवटै तहको निर्वाचन हुनेछ । यथास्थितिमा पार्टीले निर्वाचनमा सफलता पाउने सम्भावना छैन ।

गत निर्वाचनमा पार्टीले भोगेको असफलताको सूक्ष्म एवं यथार्थपरक विश्लेषण गर्दै समयसापेक्ष नीति र कार्यक्रम लिएरमात्रै होइन कि नयाँ नेतृत्वमा चुनावमा जानु आवश्यक छ । महाधिवेशनले पार्टीका नेता र कार्यकर्तालाई उत्साही एवं ऊर्जावान बनाउनुका साथै पार्टी सङ्गठनमा पनि प्राणवायुको सञ्चार गर्ने गर्छ । यसर्थ महाधिवेशनबाट भाग्नुको अर्थ समस्या सामाधान र सफलताबाट पनि भाग्नु हो ।

आगामी महाधिवेशनमा नेपाली कांग्रेसले दलित, मधेशी, जनजाति, गरिब र मजदुर वर्गको भावनाको प्रतिनिधित्व गर्न सक्ने नेतृत्व चयन गर्नु पार्टीको निम्ति हितकर हुनेछ । त्याग, तपस्या र बलिदानको इतिहास तथा बिरासत (उत्तराधिकार)बोकेका स्वच्छ एवं इमानदार छविका प्रकाशमान सिंहले सम्भवतः वर्तमान अवस्थामा पार्टीलाई सही नेतृत्व गर्न सक्छन् । आगामी महाधिवेशनमा पार्टीले विगतका कमी कमजोरीको समीक्षा गर्नुका साथै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीसित र मधेशमा जनता समाजवादी पार्टीसित मुकाविला गर्न सक्ने प्रस्ट नीति र कार्यक्रम तय गर्नु आवश्यक हुन्छ ।

तीन वर्षअघि सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले पूर्णतः अराजनीतिक चरित्र देखायो । वामपन्थी गठबन्धनसित प्रतिस्पर्धा गर्ने कुनै ठोस चुनावी रणनीति र गठबन्धन ऊसित थिएन । विगत ३० वर्षको राजनीतिक घटनाक्रम नियाल्ने हो भने नेपाली कांग्रेसको सफलताको प्रतिशत पचासपचासको रहेको छ । २०४८ सालको आमनिर्वाचनमा पार्टीले एकमना सरकार बनाउने जनादेश हासिल गरेको थियो तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हठ र अहङ्कारका कारण पार्टीले मध्यावधि चुनावको सामना गर्नुपर्‍यो ।

चुनावमा भएको ठूलो पराजयका कारण पार्टी सभापतिले त्यसको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएर नैतिकताको आधारमा पदबाट राजीनामा गर्नुपर्थ्यो तर उल्टै चुनावमा ‘अन्तरघात’ गर्नेहरूको फेहरिस्त बनाउन लगाई कथित अनुशासनात्मक कारबाहीको तरबार चलाउन थालियो । पराजयलाई पार्टीको नियति ठान्ने काम भयो । कार्पेटमुनि धुलो लुकाएर घर सफा भएको मान्न सकिँदैन । पराजयको गहन समीक्षाविना पार्टी सङ्गठन ऊर्जावान भएको पनि मान्न सकिँदैन ।

२०५१ सालको मध्यावधि आमनिर्वाचनमा पार्टीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो । २०५६ सालको आमनिर्वाचनमा कांग्रेसले बहुमत हासिल गर्‍यो तर पनि राजनीतिक स्थिरता दिन सकेन । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ठूलो पराजय भोग्नुपर्‍यो ।

२०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले सबैभन्दा ठूलो दलको रूपमा सफलता हासिल गर्‍यो र दुई वर्ष सरकारको नेतृत्व पनि गर्‍यो । यही अवधिमा संविधानसभाबाट संविधान जारी भयो । २०७४ सालको संसदीय निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो । समानुपातिकको मतका कारणमात्रै कांग्रेस मुख्य प्रतिपक्षीको स्थानमा रहन सकेको हो । नेपाली कांग्रेसको मत प्रतिशतमा पनि क्रमिक ह्रास आइरहेको छ । तीन वर्षअघि भएको निर्वाचनमा पार्टीले किन र कसरी असफलता भोग्नुपर्‍यो  भन्ने कुराको समीक्षा भएन । चुनावमा भएको ठूलो पराजयका कारण पार्टी सभापतिले त्यसको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएर नैतिकताको आधारमा पदबाट राजीनामा गर्नुपर्थ्यो तर उल्टै चुनावमा ‘अन्तरघात’ गर्नेहरूको फेहरिस्त बनाउन लगाई कथित अनुशासनात्मक कारबाहीको तरबार चलाउन थालियो । पराजयलाई पार्टीको नियति ठान्ने काम भयो । कार्पेटमुनि धुलो लुकाएर घर सफा भएको मान्न सकिँदैन । पराजयको गहन समीक्षाविना पार्टी सङ्गठन ऊर्जावान भएको पनि मान्न सकिँदैन ।

राजनीतिक लडाइँ राजनीतिक तरिकाले नै लड्नु पर्छ । आगामी दिनमा अविश्वसनीय र खोक्रो नाराले जनतालाई भ्रमित पारेर चुनावी सफलता हासिल गर्न कठिन हुनेछ । जनतालाई नारा र बहाना होइन, धरातलमा काम चाहिन्छ । वर्तमान अवस्थामा ओली सरकार जनतामा अलोकप्रिय हुनुको प्रमुख कारण नै के हो भने ओलीले धेरै ठूला र आकर्षक नारा दिए तर त्यसलाई धरातलमा उतार्ने कुनै प्रयास नै गरेनन् ।

नेपाली कांग्रेस र यसको नेतृत्वमाथि जनताले किन विश्वास गर्ने ? यो प्रश्नको जवाफ पार्टी नेतृत्वसँग हुनुपर्छ । सिद्धान्तको कुरा गर्ने हो भने नेपाली कांग्रेस र देशका कम्युनिष्ट पार्टीहरूबीच खास ठूलो अन्तर देखिँदैन । संविधान निर्माणकै कतिपय विषयमा सानातिना असहमति देखिए पनि तीन वटै दलले मिलेर सहमतिमै संविधान जारी गरेका हुन् । संविधान निर्माणमा नेपाली कांग्रेसको भूमिका अग्रणी र महत्वपूर्ण थियो तर त्यसको यश भने नेकपालाई प्राप्त भयो । तराईमधेशका जनताको चाहनालाई महत्व नदिएको भन्ने असन्तुष्टिमा नेपाली कांग्रेसले तराईमा पनि पराजय भोग्नुपर्‍यो । नेपाली कांग्रेस आफ्नो उपलब्धि जनतामाझ प्रचार गर्न सकेन ।

एक्लो कोइराला परिवारको महिमा मण्डन गर्नमा मात्रै नेपाली कांग्रेस केन्द्रित रह्यो भने आगामी दिनमा नेपालमा पनि कुनै नयाँ सङ्गठन र नेताले महापुरुषहरूको नाम र योगदान आफ्नो स्वार्थमा उपयोग गर्न सक्नेछन् ।

२०६३ सालदेखि २०७४ सालसम्म देशमा भएका प्रायः सबैजसो महत्वपूर्ण राजनीतिक निर्णयहरू तीन वटै दलको सहमतिमा भएका हुन् । एकअर्काको नेतृत्वमा बनेका सरकारहरूमा सहभागी पनि भएका हुन् र भोलिका दिनमा पनि त्यस्तो समीकरण बन्न सक्छ । पार्टीको आन्तरिक विवादले हैरान प्रधानमन्त्री ओलीले कांग्रेससित मिलेर सरकार बनाउन सक्ने सङ्केत पनि गर्दै आएका छन् । नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको सङ्केतमा मौन सहमति जनाएको छ ।

लोकतन्त्रमा जब सत्तापक्ष र प्रतिपक्ष मिलेर एउटै भाषा बोल्न थाल्छन् अनि जनतामा भ्रम सिर्जना हुन जान्छ । विगत तीन वर्षमा नेपाली कांग्रेसले सशक्त प्रतिपक्षी दलको भूमिकाको निर्वाह पनि गर्न सकेन जबकि ओली सरकारमाथि अनेक आरोपहरू छन् । कांग्रेसले चाहेको भए आरोपहरूलाई मुद्दा बनाएर विरोध चर्काउन सक्थ्यो । यसतर्फ पार्टी नेतृत्वले कुनै वास्ता गरेको देखिएन । संसदीय लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दल यति बढी निष्क्रिय भएर बस्नु ठीक हुँदैन । नेपाली कांग्रेसभन्दा बढी सरकारको विरोध त सत्तारुढ दलकै नेताहरू गरेका छन् । सरकारले भ्रष्टाचार बढाएको भनेर लिखित दस्तावेज सत्तारुढ दलको बैठकमै पेश भएको छ ।

नेपाली कांग्रेसको सात दशक लामो राजनीतिक इतिहासमा लोकतन्त्र तथा देशको निम्ति धेरै नेता र परिवारले समर्पण, त्याग र बलिदान गरेका हुन् तर एक्लो कोइराला परिवारलाई मात्र देवत्व प्रदान गर्ने काम भएको छ । नेपाली कांग्रेसमा गणेशमान सिंह, सुवर्ण शमशेर राणा, सूर्यप्रसाद उपाध्यायहरूको योगदान कम छैन । यी नेताहरूका नाम र योगदान नेपाली कांग्रेसको निम्ति अथाह धोरोहर र अमूल्य निधि हुन् ।

अब समयको माग र चाहनाअनुसार नेपाली कांग्रेसको घोषणापत्रमा प्रष्ट दृष्टिकोण, देश विकासप्रतिको प्रतिबद्धता र विश्व राजनीतिमा बदलिँदै गएका घटनाक्रमहरूको परिप्रेक्षमा नवीन दृष्टिकोण र नयाँ नेतृत्वको पनि खाँचो छ ।

कांग्रेसले यी नेताहरूको सम्मान गर्न सकेन भने भोलिका दिनमा कुनै अर्को पार्टीले यिनै नेताहरूको नाम आफ्नो पक्षमा उपयोग गर्न सक्नेछ । एक्लो कोइराला परिवारको महिमा मण्डन गर्नमा मात्रै नेपाली कांग्रेस केन्द्रित रह्यो भने आगामी दिनमा नेपालमा पनि कुनै नयाँ सङ्गठन र नेताले महापुरुषहरूको नाम र योगदान आफ्नो स्वार्थमा उपयोग गर्न सक्नेछन् ।

नेपाली कांग्रेसको सबैभन्दा ठूलो समस्या भनेको नेतृत्वले समयको माग पहिचान गर्न नसक्नु हो । एकातिर राष्ट्रवादको सवालमा पार्टीले नेपाली जनताको मनोभाव बुझ्न सकेको छैन भने अर्कोतिर ओली सरकारको कमजोर पक्षको पहिचान पनि गर्न सकेको छैन । देशका युवा, किसान, मजदुर, दलित, मधेशी र जनजातिलाई आफ्नो पक्षमा पार्न प्रष्ट नीति र कार्यक्रमका साथ जनतामा जानु पर्छ । नेता र कार्यकर्ताहरू सभापति देउवा र कोइराला परिवारको सीमित घेराबाट बाहिर आउन आवश्यक छ ।

पटकपटक देशको प्रधानमन्त्री र पार्टी सभापति भइसकेका शेरबहादुर देउवाबाट अब कांग्रेसको पार्टीको कायाकल्प हुन सक्दैन । नेपाली राजनीतिका लौहपुरुष एवं ऐतिहासिक जनआन्दोलन २०४६ सालका कमाण्डर, त्याग, समर्पण एवं निष्ठापरक राजनीतिका पर्याय गणेशमान सिंहप्रति आदर र सम्मान व्यक्त गर्न पनि नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रकाशनमा सिंहलाई सभापति निर्वाचित गर्नु पार्टीको हितमा हुनेछ । एक किसिमले यो गणेशमान सिंहमात्रै होइन बीपी, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय जस्ता अनगन्ती योद्धाहरूप्रति श्रद्धाञ्जलि पनि हुनेछ ।

अब समयको माग र चाहनाअनुसार नेपाली कांग्रेसको घोषणापत्रमा प्रष्ट दृष्टिकोण, देश विकासप्रतिको प्रतिबद्धता र विश्व राजनीतिमा बदलिँदै गएका घटनाक्रमहरूको परिप्रेक्षमा नवीन दृष्टिकोण र नयाँ नेतृत्वको पनि खाँचो छ । वर्तमान अवस्थामा राष्ट्रनीति, राजनीति, परराष्ट्रनीति र कांग्रेसनीतिमा पनि व्यापक परिमार्जनको खाँचो छ । यथास्थितिवादमा समाधान खोज्ने हो भने नेपाली कांग्रेस पतनको बाटोमा जानेछ ।

  

 

 


भर्खर

0