नेकपा स्थायी कमिटी बैठक आज, दाहाल-नेपाल अडानले अप्ठ्यारोमा ओली | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक आज, दाहाल-नेपाल अडानले अप्ठ्यारोमा ओली


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ—  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरूले बताएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

तर, उनले अझै पनि अर्का अध्यक्ष दाहाललाई फकाउने प्रयास जारी राखेका छन् । बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस जारी राखेका छन् । तर पनि सफल हुन सकिरहेका छैनन् ।

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का अध्यक्ष दाहाललाई भेटेका छन् । सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन ।

यद्यपि छलफलका एजेण्डामा सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको बुझिएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा ओली सहभागी हुने बताएका छन् ।

आफू निकट नेताहरूले पनि बैठकमा सहभागी भएर प्रतिवाद गर्न सुझाएपछि ओलीलाई बैठकमा सहभागी हुन, आफ्नो कुरा त्यहीँ भन्न र कमिटीको निर्णयअनुसार चल्न दबाब बढेको छ ।

उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

दाहालले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । दोस्रो तहका नेताहरूले दाहाललाई भदौ २६ को सहमति पूर्णरूपमा कार्यान्वयन हुने गरी सहमत हुन आग्रह गरेका छन् । तर, दाहालले त्यसलाई पनि अस्वीकार गरेका छन् । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको दाहालको आरोप छ ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

निकटस्थहरूले पार्टी बहुमत—अल्पमतको खेलमा पुगेको भए एकीकरण हुनुअघिका पूर्वसमूहको अनुपात मिलाउन पनि ओलीलाई सुझाएका छन् । यस्तो अवस्थामा पूर्वएमालेभित्रको पनि नेपाल समूह अहिले दाहालतिरै भएकाले त्यो विषय उठान गर्ने मुडमा ओली नरहेको बताइन्छ ।

दाहाल—नेपाल पक्षले भने बहुमत—अल्पमतको खेल भन्ने आरोप अस्वीकार गर्दै पार्टी अनिर्णयको बन्दी भए बहुमतका आधारमा निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

एकता महाधिवेशन हुने घोषित मितिको करिब चार महिनाअघि बहुमत र अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा परेको समयमा दाहाल—नेपाल पक्षले बहुमतबाट निर्णय गर्न चाहेको छ । यसमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहमत देखिएका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिँदैन ।

चवालीस सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा प्रष्ट खुलेका सदय ११ जनामात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै ओलीलाई प्रतिकूल हुने निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

दाहाल—नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक पुस ५ मा बोलाइएको छ ।

यता प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध बलजफ्ती अघि बढेमा ‘आफूले झन् ठूलो एक्सन लिने’ चेतावनी दिएका छन् । अन्य नेताहरूले उनले भनेको ठूलो एक्सन पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने, संकटकाल घोषणा गर्ने, प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने लगायतका हुनसक्ने अनुमान गरेका छन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीको आरोप छ । दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ५८ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय