शाही टोलीको अध्ययन प्रतिवेदनबारे नेपाल सरकार मौन | Khabarhub Khabarhub

शाही टोलीको अध्ययन प्रतिवेदनबारे नेपाल सरकार मौन

चीनको सरकारी मुखपत्र भन्छः नेपाली कांग्रेस भारतपरस्त भयो



काठमाडौँ  – उत्तरी छिमेकी चीनले हुम्लामा सीमा मिचेको भन्ने विषयमा स्थलगत अध्ययन गरेर कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आफ्नो प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले एउटा तरङ्ग फैलाएको छ ।

पूर्वमन्त्रीसमेत रहेका शाही कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता हुन् । हुम्लामा चीनले नेपाली भूमि मिचेर संरचना खडा गरेको भन्ने समाचार आएपछि शाही एउटा टोलीको नेतृत्व गर्दै स्थलगत भ्रमणमा गएका थिए ।

शाहीको टोलीले चीनले नेपाली भूमि मिचेको निष्कर्षसहित प्रतिवेदन र प्रमाणहरू सार्वजनिक गरेपछि चीनको सरकारी मुखपत्र ग्बोबल टाइम्सले नेपाली कांग्रेस ‘भारतपरस्त’ भएको आरोप लगाएको छ । सरकारी मिडियाले कुनै पार्टीलाई भारतपरस्त भन्ने आरोप लगाउनु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो भनेर पनि आलोचना भएको छ ।

कांग्रेस नेता शाहीले चीनले सीमा नमिचेको प्रमाण ल्याए आफू कारबाही भोग्न तयार रहेको समेत बताएका छन् । चीनको सरकारी सञ्चार माध्यमले भारतपरस्त भनेको विषयम शाहीले भने, ‘चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले लेखेको समाचारमा मेरो आपत्ति छ । चीनले चेतावनीको भाषा बोलेको छ । चीनले नेपालको सीमा नमिचिएको प्रमाण ल्याउन सके म सजाय भोग्न तयार छु । होइन भने चीनले संसारको सामु माफी माग्नुपर्छ ।’

नेपाली भूमि मिचेको कुरा ढाकछोप गर्न चीनले आफूलाई भारतपरस्त भनेको शाहीको आरोप छ । उनले भने, ‘अर्काको भूमि मिचेर धम्काउँदै मुखपत्रमा जे मन लाग्यो त्यो लेख्न पाइन्न । समाचारमा नेपाल पश्चिमाहरूको खेलमैदान भयो भनिएको छ । यसमा हाम्रो सरकारको समेत धारणा आउनुपर्छ ।’

नेपाल सरकारले हुम्लामा चीनले सीमा नमिचेको छैन भनेर दिएको अभिव्यक्तिमा पनि शाहीले आपत्ति प्रकट गरेका छन् । उनले भने, ‘कुनै अध्ययन नै नगरी काठमाडौँमा बसेर हुम्लामा सीमा मिचिएको छैन भन्नु गलत हो ।’

कांग्रेस सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले कांग्रेस प्रो–नेपाली भएको बताए । उनले नेपालको भूमि रक्षाका विषयमा आफ्नो पार्टी कुनै पनि विदेशी राष्ट्रसँग नझुक्ने पनि बताए । उनले भने, ‘नेपाली कांग्रेस सीमाका विषयमा भारत वा चीन दुवैसँग डटेर कुरा गर्छ, कसैसँग पनि झुक्दैन ।’

डा. महतले शाहीको नेतृत्वमा हुम्ला गएको टोलीले चीनले सीमा मिचेको प्रमाण दिँदासमेत नेपाल सरकार चुप लागेर बसेको आरोप लगाए । उनले भने, ‘हाम्रा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनबहादुर शाहीले स्थलगत अध्ययन गरेर प्रमाणसहित प्रतिवेदन दिएपछि सरकारले यो विषयमा छानविन गराउनु पर्थ्यो ।’

नेपाली कांग्रेस भारतपस्त हो भन्नु दुर्भाग्यपूर्ण कुरा भएको डा. महतको भनाइ छ । उनले भने, ‘भारतले कालापानीमा नेपाली भूमि कब्जा गरेको विषय होस् वा चीनले हुम्लामा मिचेको विषय होेस्, कांग्रेसले कडाइका साथ कुरा उठाएको छ । छानविनका लागि सरकारसँग माग गरेको हो ।’

सीमा मिचिएको विषयमा हाम्रो सरकारले कुरा उठाओस् भन्ने माग गर्दा कुनै अर्को देशमा पक्षमा नहुने डा. महतको भनाइ छ । उनले भने, ‘कुन देशको मिडियाले के लेख्यो भन्नेभन्दा पनि सीमा मिचिएको विषयमा नेपाल सरकारले कुरा गरेस् भन्ने कांग्रेसको माग हो ।’

पूर्वमन्त्री तथा कांग्रेस सांसद डा. नारायण खड्काले चिनियाँ सरकारी सञ्चार माध्यममा नेपाली कांग्रेप्रति आएको टिप्पणी कम्युनिष्ट चरित्र भएको बताए । उनले भने, ‘ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो । उनीहरूले यसरी आलोचना गर्नु कम्युनिष्टको चरित्र हो ।’

डा. खड्काले शाही नेतृत्वको टोलीले तयार गरेको प्रतिवेदनले नेपाली सीमा मिचिएको किटान गर्दा पनि नेपाल सरकार चुप लागेर बसेको आरोप लगाए । उनले भने, ‘चिनियाँ दूतवासले के भन्यो वा चीनको सरकारी मुखपत्रले के भन्यो भन्ने होइन, हाम्रो प्रश्न हाम्रो सरकारसँग हो ।

प्रतिपक्षी दलको नेताले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनका बारेमा सरकारको धारणा आउनुपर्ने हो ।’ उनले सीमा मिचिएको भनेर विपक्षी नेताले प्रतिवदेन दिँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

डा. खड्काले नेपालको अहिलेको सरकार चीनको सहयोगीका रूपमा देखिएको आरोप लगाए । उनले भने, ‘हुम्लामा नेपाली भूमि मिचिएको हो कि होइन भन्ने कांग्रेसको प्रश्न हो ।’ खड्काले कांग्रेसले सरकारलाई जवाफदेही बनाउन चाहेको बताए । उनले भने, ‘नेपालको एक इञ्च पनि भूमि भारत वा चीनले मिच्न हुँदैन । कांग्रेसले यस विषयमा सरकार जिम्मेवार होस् र विपक्षी दलले उठाएको कुरामा गम्भीर बनोस् भनेको हो ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मिडिया नियन्त्रण गर्ने देश चीनको मिडियाले गरेको टिप्पणीलाई चीनको आधिकारीक धारणाका रूपमा रहेको बुझ्नपर्ने बताए । उनले भने, ‘ग्लोबल टाइम्स भन्ने पत्रिकाले लखेको भए पनि चीनको मिडिया सरकार नियन्त्रित छ । सरकारको धारणा नै समाचारमा प्रकाशन हुने हो ।’

छिमेकी मित्रराष्ट्रको कुनै एउटा दलका विषयमा ग्लोबल टाइम्समा भारतपरस्त भन्ने धारणा आउनु नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा बुझ्नुपर्ने त्रिपाठीको भनाइ छ । उनले भने, ‘छिमेकी राष्ट्रको एउटा दललाई प्रो–इन्डिइन वा अरू केही भन्नु आन्तरिक मामिलामा हस्तक्षेप हो ।’

अधिकारकर्मी चरण प्रसाईंले पटकपटक सरकार सञ्चालन गरेको र अहिले प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसलाई कुनै देशको पक्ष वा विपक्षमा रहेको भनेर अर्को देशले भन्नु गलत हुने बताए । उनले भने, ‘मेरो विचारमा कांग्रेसको नीति सन्तुलित नै छ । धेरै पटक सरकार चलाएको र अहिले प्रतिपक्षीमा भएको कांग्रेसले कुनै देशको पक्ष वा विपक्षमा लाग्ने नीति लिन सक्दैन ।’

प्रसाईंका विचारमा कांग्रेस नेताले चीनले सीमा मिचेको भनेर प्रमाण सार्वजनिक गरेका कारण चिनियाँ सञ्चार माध्यमले कडा टिप्पणी गरेको हुन्छ । उनले भने, ‘चीनले कतै समस्या देखेको हुनसक्छ । सीमाना अतिक्रमणका विषयमा कांग्रेसले प्रमाण समेत देखाएको हुनाले चीन केही रक्षात्मक भएको हुनसक्छ ।’

प्रसाईंले प्रतिपक्षी दलले सीमा मिचिएको छ भनेर प्रमाण सार्वजनिक गर्दा पनि नेपाल सरकार चुप बसेको आरोप लगाए । उनले भने, ‘सीमा मिचिएको भनेर समाचार आउनासाथै नेपाल सरकारले मिचिएको छैन भन्यो । प्रतिपक्षी दलले सरकारले भनेको कुरा ठिक हो कि होइन भनेर हेर्नुपर्ने हुन्छ ।’

प्रसाईंका अनुसार कांग्रेसले आफ्ना नेता पठाएर अध्ययन गराई सीमा मिचिएको रहेछ, यसको प्रमाण छ भनेपछि सरकारले विज्ञहरूको टोली पठाएर अध्ययन गराउनुपर्ने थियो । नेपालमा प्रमुख प्रतिपक्षी दलले आवाज उठाएपछि चीन समेत गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

प्रसाईंले भने, ‘चीन सरकारले पनि सीमा अतिक्रमण गर्ने नीति छैन, हामी अध्ययन गर्छौं भन्नुपर्नेमा अर्को देशको दललाई आरोप लगाउनु उचित होइन ।’ सीमा मिचिएको भनेर कुरा उठेपछि शंका निवारण गर्न केन्द्रित हुनुपर्नेमा ढाकछोप गर्न चीनले मिडियाबाजी गरेको प्रसाईंको आशंका छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ४ : ३४ बजे

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल