म केन्द्रीय सभापतिमा उम्मेदवार बन्न तयार छु « Khabarhub
Logo
२१ मंसिर २०७७, आइतबार

म केन्द्रीय सभापतिमा उम्मेदवार बन्न तयार छु



नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा कांग्रेसभित्र मात्रै होइन, गैरकांग्रेसमा समेत आशा गरिएका नेता हुन् । काठमाडौँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थापा संसदमा कांग्रेसका तर्फबाट बोल्ने क्रममा सरकारलाई जवाफदेही बनाउन सक्रिय छन् ।

थापा कोरोना भाइरसले ल्याएको संकट समाधानका विषयमा सरकारमाथि निरन्तर खबरदारीमा छन् । कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थापा आगामी १४औँ महाधिवेशनमा कुन पदमा उम्मेदवार बन्लान् भन्ने विषय पनि अहिले चर्चामा छ । कांग्रेसको आगामी महाधिवेशन, युवा पुस्ताको तयारी र कोरोना भाइरस नियन्त्रणमा सरकारको काममा केन्द्रित रहेर थापासँग खबरहबका लागि अमृतराज काफ्लेसँग कुराकानी गरेका छन् ।

आगामी फागुनमा महाधिवेशन हुने अवस्था त अब रहेन जस्तो छ, कोरोनाका कारणले मात्रै हो कि अरू कारण पनि छ ?

अब फागुनमा महाधिवेशन सम्भव नै छैन । जतिबेला हामीले फागुनका लागि महाधिवेशनको मिति तय गरेका थियौँ, त्यति बेला नै पनि सम्भावना थिएन । त्यति बेलै फागुनमा महाधिवेशन हुँदैन भन्दा काम नै सुरु नहोला कि भन्ने केही साथीहरूको राय रहेका कारणले मिति तय भएको हो ।

महाधिवेशनको मिति तय भइसकेर पनि सजिलो अवस्था हुँदा काम हुन सकेन । करिब एक दर्जन जिल्लाको समायोजनको काम हुन सकेको छैन । सय प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भनिएको थियो तर सदस्यता वितरण र नवीकरणको काम समेत हुन सकेन । संक्रमणको जोखिम बढेपछि त झन् तोकिएको मितिमा महाधिवेशन हुने अवस्था रहेन ।

फागुनमा पनि नहुने महाधिवेशनको राप नेताहरूलाई किन यति छिटो लागेको त ?

फागुनमा हुने भनिएको महाधिवेशनको कार्यतालिका हेर्ने हो भने क्रियाशील सदस्यता वितरणको काम सक्ने चरण हो । यस्तो बेलामा यसअघि पनि नेतृत्वका विषयमा छलफल र बहस हुने गथ्र्यो । यसपालि महाधिवेशनको व्यवस्थापकीय पक्षमा ठूलो समस्या छ ।

अर्को, महाधिवेशन गराउने पक्ष (सभापतिजी) ले महाधिवेशनको विश्वसनियताका विषयमा बहस भइरहेका बेला त्यसलाई हल गर्न कुनै अग्रसरता लिएको देखिएको छैन । कोरोना संक्रणका कारणले महाधिवेशन कसरी गर्ने भन्ने हो । एकछिनलाई मानौँ, जेठमा महाधिवेशन गर्नुपर्ने भयो भने पनि बिसौँ हजार मानिस जम्मा हुने सम्भावना पटक्कै देख्दिनँ । हाम्रो महाधिवेशनमा त ५० हजार मानिस एकै ठाउँमा जम्मा हुनुपर्छ ।

विकल्पहरू के के हुन्छन् भन्नेमा हाम्रो कुनै तयारी छैन । अहिलेको बहस हेर्दा को सभापति हुने वा को कुन पदमा पुग्ने भन्ने विषयले चाँहि अलिक नमिलेको जस्तो देखिन्छ । महाधिवेशनको बहस हुनु त राम्रै हो ।

महाधिवेशन फागुनमा त नहुने नै भयो, अझ अर्को वर्षको जेठमा पनि नभएर भदौमा मात्र हुन्छ भनेर कांग्रेसकै कतिपय नेताहरूले भनेको सुनिन्छ, तपाईं चाहिँ के भन्नुहुन्छ ?

समयमा महाधिवेशन भएन भने त्यो जिम्मेवारी पार्टी सभापतिकै हुन्छ । त्यसको भारी उहाँले बोक्नुपर्छ । अरू सबै सहायक हुन् । यो बेलामा उहाँले गरिरहेका कामले महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा पनि प्रश्न उठेको छ । अविश्वासको अवस्था देखिएको छ । यसलाई हल गर्ने सभापतिले नै हो । जबसम्म विश्वासको संकट रहन्छ तबसम्म महाधिवेशनका विषयमा समस्या आइरहन्छ ।

अर्को, महाधिवेशनको कार्यतालिकाअनुसार काम हुन सकेको छैन । दर्जनौँ काम थाती राखेका छौँ । तेस्रो र सबैभन्दा महत्वपूर्ण विषय भनेको आगामी जेठमा महाधिवेशन गर्न पनि फागुनमा क्षेत्रीय अधिवेशन र चैतमा जिल्ला अधिवेशन हुनुपर्छ ।

हाम्रो नयाँ विधानअनुसार एउटा जिल्ला अधिवेशनमा हजारौँ मानिस जम्मा हुनुपर्छ । आउने फागुनमा ३ हजार मानिस एक ठाउँमा जम्मा हुने अवस्था आउँछ ? मलाई त आउला जस्तो लाग्दैन । फागुनमा पनि मास्क लगाउनुस्, भिडभाड नगर्नुस् भन्ने अहिलेकै अवस्था रहने हो । अनि त्यो बेलामा जिल्ला सदरमुकाम र क्षेत्रहरूमा अधिवेशन र काठमाडौँमा महाधिवेशन कसरी गर्नसक्छौँ र !

यसपालिको अधिवेशन हामीले विकेन्द्रित गर्नुपर्छ । जिल्ला अधिवेशनका लागि सम्बन्धित व्यक्तिले वडामै मत हाल्ने व्यवस्था गर्नुपर्छ । काठमाडौँमा महाधिवेशन गर्ने होइन, १६५ निर्वाचन क्षेत्रमा गर्ने हो अब । निर्वाचन क्षेत्रमा २५ जना मानिस जम्मा भएर त्यहीँ महाधिवेशन गर्ने हो । यो कसरी गर्ने भनेर छलफल गर्ने बेलामा हामीले हावादारी कुरा गरिरहेका छौँ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने, पुरानो महाधिवेशन प्रतिनिधिबाट गर्नेजस्ता हावादारी कुरा हामीले गरिरहेका छौँ । पुरानो महाधिवेशन प्रतिनिधिबाट गर्ने भए महाधिवेशनको परिणाम पनि पुरानै मानौँ, किन नयाँ परिणाम खोज्ने ! महाधिवेशन प्रतिनिधि चाहिँ पुरानो राखेर नयाँ चुनाव किन चाहियो ? सर्वसम्मत नेतृत्व गर्ने भए अहिलेकै सभापति र नेतृत्वलाई गरिदिए भयो ।

अहिले समस्या छ भन्ने हो भने पुरानो नेतृत्व सर्वसम्मत हुने भयो । पहिलाकै जिल्ला समिति, पहिलाकै महाधिवेशन प्रतिनिधि, पहिलाकै क्षेत्रीय समिति सबै पहिलाकै घोषणा गर्ने त ? यस्तो पनि हुन्छ ? कसैले सर्वसम्मत गरौँ भन्छ भने त त्यही भनेको हो ।

अहिले हामीले गर्ने भनेको त महाधिवेशनको कार्यतालिका संशोधन गर्ने, संशोधनपछिको कार्यतालिकाअनुसार समयभित्र सबै काम सम्पन्न गर्ने, विश्वासको अवस्था बनाउने । अर्को, महाधिवेशन यसपालि विकेन्द्रित गर्नुपर्छ । अब त्यसका लागि व्यवस्थापकीय तयारी गर्ने हो ।

तपाईंले विकेन्द्रित महाधिवेशनका विषयमा आवाज उठाइरहनु भएको छ तर सभापति शेरबहादुर देउवाले महाधिवेशन समयमा हुनुपर्छ भन्नुभएको छ, विकेन्द्रित हुने सम्भावना कति छ ?

कोरोना भाइरसका कारण अधिवेशन प्रभावित भएको हो । यस्तो अप्ठ्यारो बेलामा हामीले गर्नुपर्ने के हो भन्ने हुनुपर्‍यो । हामीले दिएको सुझाबअनुसार विकेन्द्रित तरिकाले गरौँ न । नभए त फागुनमा मात्रै होइन, आगामी भदौमा पनि अधिवेशन हुँदैन । कोरोनाका कारणले मात्रै अधिवेशन रोकिने हो भने भदौमा पनि हुँदैन ।

त्यस्तो अवस्थामा त संवैधानिक संकट आउला नि त ?

त्यस्तो संवैधानिक संकट आउन नदिनका लागि त इनोभेटिभ हुनुपर्‍यो । प्रधानमन्त्रीलाई चाहिँ कोरोनाको बहाना बनाएर यो गर्न पाउँदैनौ, ऊ गर्न पाउँदैनौ भनेर हामीले भनिरहेका छौँ । राज्य व्यवस्था चलाउने मान्छेलाई अहिले संकट छ तर संकटमा उपाय खोज्नुपर्छ भनेर भनेका छौँ । अनि पार्टी सञ्चालन गर्नेले चाहिँ केही गर्न नपर्ने ?

संकटमा पनि अधिवेशन गरेर देखाउनुपर्‍यो । संकट भनेर विधान उल्लंघन गरेर, विधान निलम्बन गरेर होइन । अहिलेकै विधान पालना गरेर सबै अधिवेशन गर्न सकिन्छ ।

अहिलेको हाम्रो विधानअनुसार सक्रिय सदस्यले प्रतिनिधि छान्न वडा इकाईमा गएर मतदान गर्नसक्छ । जस्तो, मेरो वडामा ५ सय क्रियाशील सदस्य छन्, जसले ४०-५० जना प्रतिनिधि छान्छन् । पाँच सय जनाको व्यवस्थापन वडामै गर्न सजिलो छ ।

एकै दिनमा फरक–फरक समयमा पनि गर्न सकिन्छ । विभिन्न स्थानमा पनि गर्न सकिन्छ । भिडभाड नगरेर अधिवेशन सम्पन्न गर्न सकिन्छ । पाँच सय मानिसले ४०-५० जना क्षेत्रीय प्रतिनिधि छान्ने हो । उनीहरूले पनि घरछेउमै बसेर महाधिवेशन प्रतिनिधि छान्छन् । नगर कमिटीलाई भोट हाल्छन्, जिल्ला कमिटीलाई भोट हाल्छन् ।

हाम्रो महाधिवेशनको ढाँचा भनेको मान्छेहरू एकठाउँमा जम्मा गर्ने अनि मत हाल्ने हो । अब हामीले विधानमा व्यवस्था गरेर जो जहाँ छ त्यहीँबाट मत हाल्ने व्यवस्था गर्नुपर्छ । यसो गर्न गर्दा किन र कसरी सम्भव हुँदैन ?

अहिले पनि क्षेत्रीय प्रतिनिधि छान्ने बेलामा निर्वाचन आयोगको प्रतिनिधि त पठाउँछौँ नि ! जब हामी देशभरका सबै वडामा निर्वाचन आयोगका प्रतिनिधि पठाएर १६५ गुना २५ महाधिवेशन प्रतिनिधि छान्छौँ भने त्यो महाधिवेशन प्रतिनिधि काठमाडौँ किन आउनुपर्‍यो र ! सबै एकै ठाउँमा किन जम्मा हुनपर्छ र !

नीति कार्यक्रमा पारित गर्ने भनेका छौँ, त्यसलाई भर्चुअल्ली पनि गर्न सकिन्छ । झन् व्यवस्थित ढङ्गले गर्न सकिन्छ । महाधिवेशनको पछिल्लो दिन सबै निर्वाचन क्षेत्रमा मतदान केन्द्र हुन्छ, त्यहाँ गएर मतदान हुन्छ, महाविधेशन सकियो ।

तपाईंहरूको यो प्रस्ताव मान्न तयार सभापतिजी हुनुहोला त ?

मैले त त्यसको विकल्प नै देखेको छैन । अहिलेदेखि नै आउने अवस्था यस्तो हुन्छ भनेर अनुमान लगाएर काम गर्न सकेनौँ भने पछि पनि गर्न सक्दैनौँ ।

अहिलेसम्म त हामीलाई फागुनमा नभए जेठ, भदौ भनेर सार्न सकिने अवस्था छ । त्यसो गर्न त हामीले सरकारको नियम मिच्नुपर्ने हुन्छ ।

हामीले अधिवेशन गर्न सकेनौँ भने पार्टीमा उत्साह, ऊर्जा नवीकरण केही पनि हुँदैन । अनि कांग्रेससँग नैतिक आधार पनि कसरी हुन्छ त ? सरकारसँग गुनासो गर्ने नैतिकता कसरी हुन्छ ? आफ्नो अधिवेशन गर्न नसक्ने अनि कोरोनाका कारण तिमीले विद्यालय चलाउन सकेनौँ कसरी भन्ने ? यस्ता कैयौँ विषयमा केका आधारमा प्रश्न गर्ने त ?

हामीले त गरेर देखाउने हो नि ।

तपाईं लगायतका नेताहरूको युवा समूह पनि सक्रिय छ, त्यसले के गर्दैछ ?

जुन युवा समूहको कुरा गर्नुभयो, अधिवेशनका हिसाबले यो बहस धेरै अगाडि हुन्छ । युवा साथीहरूको छलफलको केन्द्र पनि अधिवेशन संकटमा परेको विषय नै हो । अहिले हामीले आगामी महाधिवेशनमा कसको नेतृत्व हुने भन्ने विषयमा छलफल गरेका छैनौँ ।

बढी छलफल भएको विषय भनेकै महाधिवेशन कसरी गर्ने, कहिले गर्ने भन्ने नै हो । पहिला यो महाधिवेशनको विश्वसनियता र सुनिश्चितताका विषयमा छलफल गरौँ अनि अरू विषयमा पनि गरौँला भन्ने हिसाबमा बहस भइरहेको छ ।

त्यो युवा समूह महाधिवेशनसम्म रहन्छ कि बीचैमा भत्किन्छ ?

यो जुन समूह बनाएर हामीले काम गरिरहेका छौँ, अधिवेशनसम्म हामी झन् बढी हार्दिकताका साथ अघि बढ्छौँ । यो समूह कमजोर हुने होइन, जे विषयमा हामीले आवाज उठाउनुपर्छ, त्यसमा हामी झन् बढी बलियो भएर अघि बढ्छौँ ।

युवा समूहका तर्फबाट नयाँ नेतृत्वका लागि पनि समूह नै तयार हुन्छ कि आआफ्ना समूहहरू बन्छन् ?

हामी दुई खालको विकल्पमा छलफल गरिरहेका छौँ । अहिलेको अवस्थामा नेपाली कांग्रेस जनताबाट अलग रहेको जस्तो भएको छ । प्रतिपक्षी भूमिका निर्वाह गर्ने बेलामा पनि चुकेको भनेर आम जनताको बीचमा गुनासो रहेको छ । हामी आगामी महाधिवेशनबाट यो सबै गुनासोहरूबाट मुक्त भएको कांग्रेस बनाउन चाहन्छौँ ।

यसका निम्ति हामीले नेतृत्वको दाबी गरिरहेका नेताहरूसँग छलफल गरिरहेका छौँ । छलफलका क्रममा हामीले नेतृत्वको दाबी गरिरहेका नेताहरूको नाडी छामिरहेका छौँ । यस्तो छलफलका क्रममा अहिलेको कांग्रेसको संकट समाधानका लागि यो नेतृत्वले काम गर्नसक्छ भन्ने हामीलाई लाग्यो भने हामी युवा समूहका सबै नेताहरू सामान्य जिम्मेवारीमा बस्न पनि तयार हुनुपर्छ ।

हाम्रो निजी महत्वाकांक्षा ठूलो छैन । अहिलेसम्म हामीलाई चित्तबुझ्दो कुरा आएको छैन । फलानोलाई हराउनका लागि भनेर नेतृत्व दाबी गर्ने क्रम सुरु भएको छ । छलफल गर्दै जाँदा पार्टीभित्र एउटा रक्तसञ्चार गराउनुपर्छ भनेर लागेका छौँ । नागरिकलाई उत्साहित बनाउनुपर्छ भनेर लाग्दा हामी जोखिम उठाउन पनि तयार छौँ ।

तपाईंको कुरा गरौँ, गत महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो, यसपालि पनि कम्तीमा महामन्त्रीमै दाबेदारी होला । कि सभापतिमै सम्भावना छ ?

मैले युवा साथीहरूका बीचमा भएको छलफलको विषयमा भनिसकेँ । म कसरी प्रस्तुत हुने भन्ने पनि त्यही छलफलभित्रै जोडिएको छ । पार्टीलाई अहिलेको अलमलबाट निकाल्न सक्ने र देशलाई समेत अहिलेको अवस्थाबाट निकाल्न सक्ने कोही एउटा व्यक्ति एजेण्डा र योजनाका हिसाबले उत्साहित गरेर आए त्यो बेलामा महामन्त्री लड्ने । पर्‍यो भने केन्द्रीय सभापति लड्न पनि म तयार छु ।

अघि भनेको जस्तो हाम्रो विश्वास जित्न सक्ने कोही भएन भने, साथीहरूको बीचमा छलफल गरेर हामी युवाहरूकै बीचबाट सभापति लड्नुपर्‍यो भन्ने अवस्था आयो भने, अरू साथीहरूको के हुन्छ मलाई थाहा छैन, म चाहिँ साथीहरूको विश्वास लिएर सभापतिको उम्मेदवार बन्न तयार छु ।

त्यसैले, हामी युवाहरू सबै विकल्प खुला राखेर बसेका छौँ । त्यहाँभित्र म पनि सबै विकल्प खुला राखेर बसेको छु । म अहिले देशभरका साथीहरूसँग कुराकानी गरिरहेको छु । आखिरमा त तिनै साथीहरू हो नि निर्णायक । तिनका पनि कुरा सुन्नुपर्‍यो ।

तपाईं कृष्णप्रसाद सिटौला समूहमा हुनुहुन्छ । अब यो युवा समूह सिटौलातिर जाने कि तपाईं सिटौला छाडेर युवा समूहतिर लाग्ने ?

हाम्रो युवा समूहले गर्ने निर्णयमा सँगसँगै उभिने अवस्था बन्छ भन्नेमा मलाई विश्वास छ । यो स्थिति बनाउन हामी भूमिका खेल्न सक्छौँ भन्ने मलाई लाग्छ । अहिले गरिरहेको प्रयत्न पनि यही हो ।

अहिले हामीले भनेको जस्तो लिड गर्ने अवस्था बन्छ भने युवा साथीहरूको मात्रै होइन, समूहको हिसाबले पनि कृष्णप्रसाद सिटौलाको नेतृत्वमा हामी सामूहिकरूपमा निर्णयमा पुग्छौँ भन्ने मलाई लाग्छ । होइन लडेर जानुपर्छ भन्ने हुँदा पनि हामी सँगै रहन्छौँ । जे निर्णय गछौँ, पार्टीको हितलाई ध्यानमा राखेर गछौँ । निर्णयमा हामी सबै एक ठाउँमा रहने अवस्था बन्छ ।

अन्तिममा अर्को एउटा प्रश्न, कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरिरहेको कामका विषयमा तपाईंको टिप्पणी के छ ? तपाईं पूर्वस्वास्थ्यमन्त्री हुुनुहुन्छ र मन्त्रीभन्दा एक कदम अघि बढेर सक्रियता देखाउनुभएको छ नि !

कोभिड रेस्पोन्समा सरकार असफल भयो, ‘प्रोएक्टिभ’ भएन । कुन समयमा के होला भनेर त्यसको तयारी गर्ने काम सरकारले गर्न सकेन । तयारी गर्ने भनेको त विचारले मात्रै हुँदैन, विचारलाई व्यवहारमा अनुवाद गर्न स्रोतसाधन चाहियो । त्यो काम सरकारले सुरुदेखि नै पटक्कै गरेन । सरकार प्रतिक्रिया दिनमात्रै व्यस्त भयो ।

सरकारले सुरुदेखि गरेको गल्ती नै त्यही हो । अरू कुरा तपसिलका हुन् । ‘प्रोएक्टिभ’ भएको भए केही पनि हुँदैनथ्यो । सरकारको चरित्र अहिले पनि उस्तै छ । कोरोनाको रेस्पोन्सका विषयमा सरकार जिम्मेवार हुन सकेको छैन ।

दुई महिनापछि के होला, चार महिनापछि के होला र कतातिर जाला, कति मानिसमा फैलिएला भन्ने सोचले काम गर्नुपथ्र्यो । नेपालको कुरामात्रै होइन, विश्वमा खोपको काम कसरी भइरहेको छ, त्यो खोप तयार भएपछि नेपालमा कसरी ल्याउने भन्नेमा पनि सरकारको काम देखिएन ।

कोरोना फैलिँदै गर्दा ‘प्लान ए’, ‘प्लान बी’ के गर्ने, अलि परका लागि के सो हुने भन्ने कुनै पनि काममा सरकारको पहल देखिएको छैन । स्वास्थ्यमा केन्द्रित भएका काम गरिरहँदा गैरस्वास्थ्यमा के प्रभाव पार्छ भन्नेमा पनि सरकारले सोचेको देखिएको छैन ।


भर्खर

0