कोरोना तत्वोपदेश | Khabarhub Khabarhub

कोरोना तत्वोपदेश



केही केही कुरा त लेखाडीलाई पनि आउँदो रहेनछ भन्ने जस्तो पारिदिऊँ न त भनेर यो कोरोनाका विषयमा चाहिँ हात–कलम बन्द राखौँ भनेको, नलेखी हुँदै भएन । नआउने भनेको होइन, नआएको जस्तोमात्रै गर्न खोजेको थियो, भएन । सूर्जेनारानलाई नाथे बादलले कति नै बेर छेक्ला र ! बादलमै थुनिने रहर गर्दा पनि सुर्जेको लेखान्त नै त्यस्तै, देखिनै पर्ने । आफूले चाहेरमात्रै कहाँ हुँदो रहेछ र !

अब कुरो सोझ्याऊँ ‘कोरोना भाइरस’ तिर । यो कोरोना तत्वोपदेश पढेर जाने’सी कोरोनाको प्रकोपले आफूलाई नपोल्ने र अरूलाई पनि पोल्न नदिने मोक्षदायी ज्ञान उपलब्ध हुनेछ । शास्त्र पल्टाएर हेर्नु’भो भने हरेक शास्त्रमा सर्त (कन्डिसन) हुन्छ । जस्तो : भगवान देख्नलाई रिसराग, वर्ण, लिङ्ग इत्यादि सबै छाड्दा बल्ल भगवानको भन्को मिल्छ, नछाड्नेलाई मिल्दैन भनेर सर्तनामा हायलकायल गराएर राखेको हुन्छ ।

पढ्ने अथवा तीनधर्के प्रवचन सुन्ने मान्छे सर्त सुनेरै गल्छ । यो तत्वोपदेश शास्त्रीय भए पनि निःसर्त (अन्कन्डिसनल) भएको हुनाले यो तत्वको ज्ञानबाट सबै पढकहरू लाभान्वित हुने छन् ।

अहिलेको जमानामा उहिलेको जस्तो पाठ गर्ने चलन छैन । त्यै भएर पाठकको जमाना सकियो । सहस्रनाम, स्तोत्र इत्यादि पाठ गर्नेलाई पाठक भनिन्थ्यो ।

पाठकले पाठ कण्ठस्थ पार्नु पथ्र्यो । अहिले बाटामा उभिएर ढुकम्मलीले अर्काले तानेको चुरोट ‘खै खै सर एक सर्को तानुम्’ भनेर ताने जस्तो एकसर्को सरर पढ्ने चलन छ । यसरी पढ्दा पढे पढे झैँ राम्रो हुन्छ, बुझेबुझे झैँ झमझम हुन्छ तर झ्याप्पै बुझिँदैन । बुझिहाल्नु पर्ने त्यत्रो लेठा पनि केही नहुने खालको पढाइ पढ्ने हुँदा पाठक सकिए, पढक उम्रिए ।

शिक्षा नै त्यस्तै छ, सय पूर्णाङ्क तेत्तीसमा पास ! तीन भागको एक भागले मात्रै काम चलि हाल्छ, मिन सबै पढ्नु र पाठ गर्नु पर्‍यो र ! उस्तै पर्दा अब पास गर्न सजिलो हुने गरी दुना (मल्टिप्लिकेसन टेबल) घोक्न छोट्याउन बेर लाउँदैनन् तीन एकान् एक, तीन दुना दुई ! त्यत्ति जान्दा होइजान्छ नि ! आवश्यकता भन्दा बढी विष हो भनेर भगवान बुद्धले भनेको भएर चाहिने भन्दा बढी पढ्नु हुँदैन भन्ने शिक्षा छ । हो पनि ।

भगवान सबैभन्दा जेठो हुनुहुन्छ । ज्येष्ठाय नमः, श्रेष्ठाय नमः इत्यादि नमस्कार मन्त्रले नै त्यति कुरो त प्रमाणित भैहाल्छ अरू कुरो तन्काउँनै परेन ।

अहिलेसम्मको रहस्यमयी दुनियाँमा भगवान र भगवानका सन्तानको मात्रै चर्चा गरिएको छ । भगवानका बाउआमा छैनन् । शास्त्रले त्यसै भन्छ । लेखेका कुरा त खासै अचम्म मानि रहनुपर्ने कारण हुँदैन तर कुनाकानी हेर्दा भेउ नपाएर हो कि पछि म जस्ता लेखाडीले लेखून् भनेर हो, भगवानलाई जेठो भनेर शास्त्र अधुरै छाडेछन् ! भगवानका भाइहरू खोइ ! भगवान त्यत्तिकै उत्तिकै जन्मिए पनि भगवान उपरान्त सबै थोक ‘रस’ बाट उत्पन्न भएको भन्ने प्रमाण शास्त्रमा छ ।

यसरी भगवानका भाइ रसबाट उत्पन्न भएको प्रमाण शास्त्रमा फेला पर्छ र भगवान स्वयं पनि रासमा रस राख्ने कुरो ‘रसो वै सः’ भनिएको हुनाले भाइरस जति भगवानका भाइ हुन् भन्ने बलियो प्रमाण फेला पर्छ ।

‘करुणा’ लाई अंग्रेजी जिब्रोले लट्याङ पट्याङ पार्दा ‘कोरोना’ सुनिन्छ । ऊ बेला मध्यपूर्वेले सिन्धु भन्दा ‘हिन्दू’ सुनिएको जस्तो । भाषा त संस्कृतजस्तो सबै मात्रा पूरा भएको होस् र पो सजिलो पनि हुन्छ । अंग्रेजी बोल्न त सजिलै हो, मात्रा नपुगेर बुझ्न चाहिँ असाध्यै गाह्रो हुने ।

एउटा मान्छेबाट अर्को मान्छेमा छेउछाउ जाँदा, छुँदा, जुठो खाँदा फ्याट्फ्याटी सर्ने र सरेपछि पनि जाँचपड्ताल गर्दा अटेरी भएर भित्रै छ कि छैनजस्तो गरेर जुम्सो पाराले बसिराख्ने यी दुई गुणलाई फ्याटीय र बोसीय तत्व भनेको हो । यस्तो गहिरो कुरो प्रधानमन्त्रीले भन्दा पनि सबै हाँस्ने ! अब चेत खुल्छ होला नि यो तत्व दीपनी पढे’सी त !

‘ट, ठ’ र ‘त, थ’ छुट्याउन असाध्यै कठिन हुन्छ । ‘क’ र ‘ख’ मा नै पनि अंग्रेजलाई हम्मेहम्मे पर्छ हामीलाई ए बी मा परे जस्तो । बल्ल बल्ल ए बी सिक्यो अनि पढ्दै लगेर कत्ति न पढेँ भनेर बुर्कुसी मार्दै हजुरबालाई सुनाएको ‘मोराले सप्पै उल्टो पढेछ, कमसे कम ए बी भनेर सुल्टो त पढ्न सक्थिस नि, उल्टो बी ए पढेँ भन्छ, कपाली तमसुक र भरपाई लेख्न जानिस्’ भनेर हपार्नु हुन्थ्यो !

यस्तै आपत् पर्दो हो विचरा अंग्रेजलाई पनि । मात्रा पूरा नहुने हुनाले भाषिक त्रुटीले गर्दा ‘करुणा’ नै ‘कोरोना’ हुन गएको हो । यसरी शाब्दिक व्युत्पत्ति र आणविक उत्पत्ति दुवै प्रमाण मिसाउँदा कोरोना भाइरस भगवानकै साखै सहोदर भाइ भएको प्रमाणित हुन आउँछ । अब भाइरस जति सबै भाइ भएका हुनाले यी कोरोना चाहिँ कुन भाइ हुन्, त्यो अलिक अस्पष्ट छ ।

इतिहास राम्ररी राखेको भए थाहा लाग्थ्यो तर इतिहास प्रष्ट छैन । प्लेग, बिफर, एड्स, सार्स इत्यादि धेरै भाइरस क्रमैले आए । ठ्याक्कै को कुन भाइ हो त्यो चाहिँ खुट्याउन सकिएन । लेख्दा प्रमाण पुर्‍याएर मात्रै लेख्ने गरेका हुनाले जे पायो त्यही लेखेर लेखाडीको इज्जत फाल्ने कुरो पनि आएन । वंशावली र अंशावली पल्टाउँदा कतै कुनै प्रमाण फेला परेछ भने अर्को पटक लेखूँला ।

संसदमा प्रधानमन्त्रीले फ्याटीय र बोसीय तत्वका कारणले कोरोना भाइरस बाँच्छ भन्दा त्यत्तिकै हाँसेर हिल्लिएछन् सबै । प्रधानमन्त्रीले भनेका कुरा नपत्याएर त्यत्तिकै अरकच्च परेर ठुँस्किएर बसेछन् डाक्टर भनाउँदाहरु ! अलिकति सरम पनि लाग्नुपर्ने प्रधानमन्त्रीसँग मुखमुखै लाग्न ! मेरा हजुरबा त ए बी साँचो हो कि बी ए साँचो हो, झुक्किनु भयो भने त्यस्तै त्यस्तै उमेर भा’छ प्रधानमन्त्रीको । बिरामी जाँच्ने खाले डाक्टर हुन् कि किताब जाँचेर डाक्टर भएका हुन् भन्ने कुरामा प्रधानमन्त्रीजस्तो मान्छे झुक्किनु पर्छ कि पर्दैन त ! प्रधानमन्त्रीले भनेको कोरोना भाइरसको फ्याटीय र बोसीय तत्व नबुझी त्यत्तिकै हिल्लिएर हाँस्न पाइन्छ !

एउटा मान्छेबाट अर्को मान्छेमा छेउछाउ जाँदा, छुँदा, जुठो खाँदा फ्याट्फ्याटी सर्ने र सरेपछि पनि जाँचपड्ताल गर्दा अटेरी भएर भित्रै छ कि छैनजस्तो गरेर जुम्सो पाराले बसिराख्ने यी दुई गुणलाई फ्याटीय र बोसीय तत्व भनेको हो । यस्तो गहिरो कुरो प्रधानमन्त्रीले भन्दा पनि सबै हाँस्ने ! अब चेत खुल्छ होला नि यो तत्व दीपनी पढे’सी त !

कबिरले भनेको जस्तो, ‘कर्ता था तो क्यूँ रहा, अब करी क्यूँ पछताये’, अस्ति हाँस्ने बेलामा हाँस्दा पछुतो भएन अब अहिले पछुतो मानेर के होला त ! अब अर्को पालादेखि प्रधानमन्त्रीका कुरामा नहाँस्नू !

फ्रेडरिक नित्से भन्ने मान्छेले उहिल्यै भगवानलाई मारेको इतिहास छ । भगवानलाई लछारपछार पार्दै लघारेर लगेर हुर्‍याएको कुरो एकदुई सर्का पढेको जस्तो सम्झन्छु । नित्सेले भगवान मारेर भगवानको कामकाजी जिम्मा आफैँले लिए । एक दिन घोडा कुदाएको हेर्न बसेका नित्से मान्छेले घोडा कुदाउँदा घोडालाई हानेको कोर्रा खप्न नसकेर चेत खुस्काए अनि उसैउसै नबहुरीकन परमधाम हिँडे । नित्सेले भगवान मारेपछि भगवानका भाइ सबै मिलेर मान्छेसँग बदला लिने निधो गरेको हुनुपर्छ । नत्र, यी भाइरस अहिले किन यसरी जम्जमाउनु पर्ने थ्यो र !

जङ्गबहादुरका भाइले दाइ मार्दै श्री ३ पड्काउँदै गरेको जस्तो आफैँले मारेको भए भाइरस भगवान भएर बस्थे होलान् तर मान्छेले मारिदिए । मान्छेले भगवानलाई मारेर आफैँ भगवान हुने चक्कर चलाएपछि भाइरस बिच्किँदैनन् ! नेपालको कालापानीदेखि लिपुलेकसम्मको भूभागमा हामीले यत्रो जुलुम गर्दै छौँ, भगवानको त नामोनिशान नै मेटिने गरी मान्छेले कदम चालेपछि त्यसको विरोध भाइरसले गर्नु पर्दैन ! त्यत्ति कुरा त मै पनि बुझिदिन सक्छु नि, तपाईंहरुले त अझै कति हो कति बुझ्नुपर्ने !

अहिले कोरोना भाइरसले गर्दा फेरि पनि संसारभर एकपटक एकले अर्कालाई छुन नपाइने कानून बन्दै छन् । यहाँ नेपाल र भारतमा सदियौँदेखि रहेको छुवाछुतको चलनलाई अहिले राज्यपक्षले नै संसारभर संस्थागत गर्दै छन् । यसमा भगवान मिलेका छन् भन्ने प्रमाण पुग्छ । भगवानले आफ्ना भाइ खटाएर छुवाछुत र दूरी कायम राख्न कोरोना भाइलाई पठाएको कुरो प्रष्ट छ । अब यो छुवाछुत विरुद्धको मुद्दा जाति र राज्यसँग मात्रै नभएर भगवानसँग समेत लड्नु पर्ने पो देखिन्छ ।

अब फेरि अर्को जमात् मरिसकेका भगवान मन्दिरमा जिउँदै छन् भनेर ‘भगवान् मलाई कोरोना भाइरसबाट बचाऊ, बरु म तीन दिन भोकै बस्दिऊँला’ भनेर भाकल गर्दै गरेको सुन्नमा आएको छ । पहिले मार्ने, अनि फेरि गएर लास सुम्सुम्याउने ! कस्तो होला ! लु, नित्सेले मारे होलान् भनेको मरेका रैनरछन् रे, अब भगवानले मान्छेलाई केका खाँचाले बचाउने ! तङ्ग्य्राएर फेरि आफैँसँग लाप्पा खेल्न जोगाउने ! यो त युधिश्ठीरले कौरवलाई जोगाएको जस्तो भएन र !

त्यति वेलै चेतेको हो नि सत्रु जोगाउनु हुन्न भनेर भगवानले, अहिले आएर भगवान मलाई कोरोनासँग जोगाऊ अनि म तिमीलाई मारूँला भनेको भएन र ! यदि भगवान जिउँदै छन् भने अब त झन् जो जो मन्दिर जान्छन् ती सबैलाई कोरोना सारेर पठाइदिन के बेर ! मै भगवान भएको भए पनि त्यसै गर्थें, साँच्चैका भगवानको त कुरै छाडौँ ।

अब फेरि एक पटक दलितका पक्षमा लेखौँ । लेखमा सबै बिषय समेटिएको हुनुपर्छ । अहिले कोरोना भाइरसले गर्दा फेरि पनि संसारभर एकपटक एकले अर्कालाई छुन नपाइने कानून बन्दै छन् । यहाँ नेपाल र भारतमा सदियौँदेखि रहेको छुवाछुतको चलनलाई अहिले राज्यपक्षले नै संसारभर संस्थागत गर्दै छन् । यसमा भगवान मिलेका छन् भन्ने प्रमाण पुग्छ । भगवानले आफ्ना भाइ खटाएर छुवाछुत र दूरी कायम राख्न कोरोना भाइलाई पठाएको कुरो प्रष्ट छ । अब यो छुवाछुत विरुद्धको मुद्दा जाति र राज्यसँग मात्रै नभएर भगवानसँग समेत लड्नु पर्ने पो देखिन्छ ।

र, अन्त्यमा, यो कोरोना तत्वोपदेशको सार त्रिखण्डी शिक्षालाई आधार मानेर तेत्तीसमा पास पार्न तीनवटा बुँदामा बुँदागत हिसाबले भन्दा :

१. छुवाछुतमा आधारित समाज निर्माणमा जोड दिऔँ । आवश्यक नपरुञ्जेल आफ्नै परिवारको सदस्यसँग समेत टाढा बसौँ, सबै स्वयंपाक्के खाऊँ !

२. भगवानको कार्यालयतिर झुक्किएर पनि नजाऊँ !

३) फ्याट्टै जानैपर्ने काम पर्‍यो, कसैलाई फ्याट्टै छोइयो भने फ्याटीय तत्व विकास भएर कोरोना सरेको हुन सक्छ । यस्तो अवस्थामा बोसीय तत्व पग्लिएर भाइरस जम्जमाउने अवधि झन्डै १५–२० दिन क्वारक्वार नगरी क्वारेण्टिनमा बसूँ ।

इति कोरोना तत्वोपदेश सम्पूर्णम् !
(अष्ट्रेलियाबाट)

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १० : २४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन