स्थायी कमिटी बैठक प्रधानमन्त्री ओली सच्चिने राम्रो अवसर हो | Khabarhub Khabarhub

स्थायी कमिटी बैठक प्रधानमन्त्री ओली सच्चिने राम्रो अवसर हो


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य हुन् हरिबोल गजुरेल । उनी सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी पूर्वमन्त्री पनि हुन र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र मानिन्छन् । गजुरेल प्रष्टवक्ता नेताका रूपमा समेत परिचित छन् ।

स्थायी कमिटी बैठक बोलाउन लिखित माग गर्ने २० जना सदस्यहरूमा गजुरेल पनि एक हुन् । बैठक आज बुधबार बोलाइएको छ । खबरहबका अमृतराज काफ्लेले स्थायी कमिटी बैठकको एजेण्डा र नेकपाभित्रको पछिल्लो विवादका विषयमा केन्द्रित रहेर गजुरेलसँग कुराकानी गरेका छन् । प्रस्तुत छ सम्पादनसहित कुराकानीको प्रमुख अंश ।

तपाईंहरूले सामूहिक हस्ताक्षर गरेर स्थायी कमिटी बैठक बोलाउन माग गर्नुभएको थियो । बैठक बस्दैछ, एजेण्डा के के छन् ?

बैठक बोलाउनु असाध्य महत्वपूर्ण थियो । एक चौथाइ सदस्यले माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था हाम्रो विधानमा छ । यहाँ त एक तिहाइ भन्दा बढी, २० जनाले बैठक बोलाउन माग गर्दा पनि नबोलाएका कारण ठूलो संकट पैदा भइसकेको थियो । यसले एउटा मुठभेडतिर लगिसकेको थियो तर दुई जना अध्यक्षले सल्लाह गरेर बैठक बोलाउनुभयो । उहाँहरूलाई धन्यवाद ! अन्यथा एउटा ठूलो अनिष्ट हुनेवाला थियो ।

बैठक बोलाउनुभएन भने ठूलो मुठभेडतिर जान्छ भनेर मैले प्रचण्डलाई पनि भनेको थिएँ । अब बैठक हुन्छ, व्यवस्थित ढंगले छलफल हुन्छ ।

एजेण्डा चाँहि के के हुन्छ ? तपाईंहरूले उठाएका विषयमा त प्रधानमन्त्रीको राजीनामा पनि भनिएको छ !

हामीले भनेको तीन वटा एजेण्डा हो । एउटा, कोरोना महामारीविरुद्धको संघर्षलाई प्रभावकारी बनाउनुपर्छ । अहिलसम्म गरेका कामको समीक्षा गरेर नयाँ ढंगले कसरी अगाडि बढ्ने भन्ने छलफल हुनुपर्छ ।

अर्को, अध्यादेश जारी भएपछि त्यसले पैदा गरेका तरङ्गहरूको स्पष्टता चाहियो । यो कमीकमजोरी भएको हो कि होइन, प्रधानमन्त्रीजीले त मन्त्रिपरिषद्मा फिर्ता लिने कुरा गर्दा पनि साथीहरूले कुरा बुझेनन् भन्नुभयो । हामीले कुरा नबुझेको भए बुझाउनुपर्‍यो । कमीकमजोरी भएको हो भने कहाँबाट भएको हो स्पष्ट चाहियो भन्ने हो ।

अहिले बजेटको कुरा, नीति कार्यक्रमको कुरा र खासगरी लिपुलेकको कुरा बढी आउँछ । त्यसमा सरकारको समीक्षा, पार्टीको कामको समीक्षा त अलि पछि नै होला । नीति कार्यक्रम, बजेट र लिपुलेकको कुरा अनि पार्टीभित्र उहाँहरूले जो आत्मालोचना गरेर विश्वासको वातावरण तयार गर्ने भन्नुभएको छ, त्यसलाई अलि स्पष्ट गर्ने कुरा हो ।

अर्का अध्यक्ष प्रचण्डले म मिलाउँछु भनेपछि मात्रै स्थायी कमिटी बैठक बोलाउन प्रधानमन्त्री सहमत हुनुभयो भन्ने पनि आइरहेको छ । तपाईंसँग प्रचण्डले के भन्नुभयो ?

मिलाउँछु भनेर होइन । उहाँले भनेको के हो भने अहिले त्यस्तो धेरै कुराहरू उठ्दैन । हामीसँग समय पनि छैन । नीति तथा कार्यक्रम र बजेट आउँदैछ । लकडाउनको बेला छ । निरन्तर बैठक बस्न सक्दैनौँ । छलफल पछि हुन्छ, अहिले धेरै विषयवस्तुमा प्रवेश गर्दैन, तपाईं धेरै आतंकित नहुनुहोला भनेर प्रधानमन्त्रीलाई भन्नुभएको हो ।

राजीनामाको माग लगायतका कुराहरू उठ्छन् कि भन्ने उहाँ (प्रधानमन्त्री) लाई छ नि त ! एकातिर बजेटको कुरा, नीति कार्यक्रमको कुरा, फेरि अर्कातिर राजीनामा मागियो भने त सरकारको प्रभावकारिताको कुरा आउँछ, विश्वसनियताको कुरा आउँछ । मनोविज्ञानको कुरा आउँछ ।

एकातिर नीति तथा कार्यक्रम पेश गर्ने, अर्कातिर सरकारको राजीनामा माग्दा त समस्या पैदा गर्छ । ती कुराहरू अहिले उठ्दैनन् भनेर अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीजीलाई विश्वस्त गराएको कुरा हो । त्यो विषय पछि उठ्नसक्छ ।

प्रधानमन्त्रीजीले चित्तबुझ्दो जवाफ दिनुभयो र विश्वासको वातावरण बनाउनुभयो भने राजीनामाको कुरा उठ्दैन तर विश्वासको वातावरण बनाउनुभएन भने फेरि पनि उठ्छ ।

त्यसो भए स्थायी कमिटि बैठकमा पार्टीको आन्तरिक विषय चाँहि उठाउनुहुन्न ?

अहिले हामी उठाउन्नौँ । अहिले सान्दर्भिक पनि हुन्न । मिडियामा गइहाल्छ, जसले जता फर्केर बोले पनि । अहिले नीति तथा कार्यक्रम र बजेटमा छलफल हुन्छ ।

हाम्रा कुरा आन्तरिक छलफल हुनुपर्‍यो । पार्टीको कामको र सरकारको कामको समीक्षाका बारेमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुभयो भने हामीले राजीनामा माग गर्दैनौँ ।

उहाँले पाँच वर्ष चलाए भयो । होइन, अहिलेकै तरिकाले, यही ढंगले, यही हिसाबले गर्नुभयो भने त्यो बेलामा फेरि राजीनामको कुरा उठ्नसक्छ ।

सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट पास नहुने अवस्था देखिएपछि प्रधानमन्त्री बैठक बोलाउन सहमत हुनुभयो भन्ने पनि सुनिन्छ । त्यस्तै हो ?

होइन, त्यो त मुठभेडतिर जान्थ्यो । अस्ति मात्रै प्रचण्डलाई संसदको उहाँकै कार्यकक्षमा नेकपाका नेताहरू देवेन्द्र पौडेल र ओनसरी घर्ती पनि भएका बेलामा मैले गम्भीररूपमा भनेको थिएँ, तपाईंले बैठक बोलाउनु भएन भने मुठभेडतिर जान्छ, २० जना स्थायी समिति सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन माग गर्दा विधानको व्यवस्था पालना गर्न नपर्ने ? १५ दिन कटिसक्यो ।

एकचौथाई सदस्यले माग गरेमा १५ दिन भित्र बोलाउनुपर्ने व्यवस्था छ । यहाँ त ३३ प्रतिशतभन्दा बढी सदस्यले स्थायी कमिटी बैठकको माग गरेका छौँ । बैठक बसेन भने त्यसले अप्रिय घटना पनि आउनसक्छ भनेँ ।

प्रचण्डको जवाफ के थियो, तपाईंको धारणामा ?

बैठक राख्ने कुरा भयो । प्रधानमन्त्रीजीले ३१ गते बैठक बोलाउने विषयमा म साथीहरूसँग सल्लाह गर्छु भन्नुभयो । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले स्थायी कमिटी बैठक आवश्यक छैन भन्नुभयो । त्यसले गर्दा के हो भन्ने अनिश्चित भयो । त्यही पनि म कोशिस गर्छु भन्नुभएको थियो ।

यसपछि मंगलबार बिहान दुई जना अध्यक्षका बीचमा छलफल भएपछि प्रधानमन्त्रीजी स्थायी कमिटी बैठक बोलाउन सहमत हुनुभयो । स्थायी कमिटी बैठक बोलाउनुभयो । उहाँको यो निर्णयको हामी स्वागत गर्छौं । उहाँप्रति हाम्रो कुनै पूर्वाग्रह छैन । अध्यक्ष प्रचण्डप्रति लोयल्टी प्रधानमन्त्रीप्रतिको पूर्वाग्रह होइन । हामीले जे देख्छौँ त्यही भन्ने हो । जहाँबाट कमीकमजोरी हुन्छ, हामी त्यहीँ कुरा राख्ने हो ।

पार्टीका सबै नेताले एउटा मात्रै पद लिने भन्ने विषयमा पनि तपाईंले आवाज उठाउनुभएको थियो । त्यो विषयमा बैठकमा छलफल हुँदैन ?

एक व्यक्ति एक पद त पहिलादेखि नै उठिरहेको विषय हो । यो अहिले उठेको नयाँ कुरा होइन । सबै ठाउँमा एक व्यक्ति एक पद गरिहाल्नुपर्छ भन्ने चाँहि मेरो कुरा छैन । यान्त्रिकरूपमा पनि त्यसले राम्रो गर्दैन । व्यावहारिकतामा मिलाउँदा फाइदा हुन्छ भने मिलाउँदा राम्रो हुन्छ ।

पार्टी एकीकरणको दुई वर्ष पुग्नै लाग्यो । केन्द्रीय समिति बैठक बोलाउन पनि केन्द्रीय सदस्यले आवाज उठाउनुपर्ने, स्थायी कमिटी बैठक बोलाउन हस्ताक्षर बुझाउनुपर्ने । किन यस्तो भएको ?

यहाँ आशंकाहरू छन् क्या ! एकअर्काप्रति आशंका छन् । विश्वासको वातावरण भइदिएको भए यस्तो हुने थिएन । कसैले मलाई सिध्याउन खोजेको हो कि भन्ने एकअर्कालाई लाग्ने भनौं न ।

कुनै नेतालाई मलाई नै खत्तम पार्न लाग्या हो कि, मलाई अपदस्थ गर्न खोज्या हो कि, मलाई कमजोर बनाउन खोज्या हो कि भन्ने आशंकाहरू छन् । त्यो आशंकाले गर्दा यस्तो भएको हो ।

आशंका जे भए पनि बैठकबाट नेतृत्व डराउनु हुन्न । कोही अल्पमतमा पर्नसक्छ, कोही बहुमतमा पर्नसक्छ । सधैँ एउटा मानिस बहुमतमा भइरहन सक्दैन, अल्पमतमा पनि हुनसक्छ । त्यो त नियम हो । प्रचण्ड पनि कैयौँ पटक अल्पमतमा पर्नुभयो । धोबीघाटमा त्यस्तै भयो, खरिपाटीमा पनि त्यस्तैमा पर्नुभयो । त्यो ‘फेस’ गर्ने हो नेतृत्वले । बैठकबाट भागेर कहाँ हुन्छ त ! फेस गर्ने हो, अल्पमतमा परियो भने संघर्ष गर्ने हो ।

बैठक बस्ने भयो । बैठकमा तपाईंहरूको मागका बारेमा छलफल नहुने र फेरि अर्को बैठक कहिले बस्ने भन्ने टुंगो पनि नहुने भयो भने के हुन्छ ?

हामीले अहिले जनतालाई केही दिन सकेनौँ भने अर्को चुनावमा हामी के लिएर जाने ? मेरो भनाइ के हो भने सरकारले निरन्तरताका हिसाबले काम गरेको छ ।

दुई तिहाइ नजिकको र कम्युनिष्ट नेतृत्वको सरकारसँग जनताको जुन अपेक्षा थियो, त्यो अनुसारको काम भएन भन्ने न हो हाम्रो भनाइ ! दुई तिहाइ नजिकको सरकार हो भन्ने अनुभूति दिन सक्नुपर्‍यो नि ! निरन्तरताको हिसाबले हेर्ने हो भने त हिजोका सरकारको तुलनामा अहिलेको सरकारले राम्रो काम गरिरहेको छ तर दुई तिहाई नजिकको कम्युनिष्टको सरकार हो नि त !

तीन जना पूर्वप्रधानमन्त्रीहरू अहिले कार्यकारी भूमिकामा हुनुहुन्छ । एक जना त अहिले प्रधानमन्त्री हुनुहुन्छ । यस्तो अवस्थामा यो सरकारले दिनुपर्ने इम्प्रेसन अर्कै हुनुपर्ने होइन ? तर सहकार्य छैन, सल्लाह छैन । प्रधानमन्त्री एकलौटी हिसाबले चल्नुहुन्छ । आफूलाई जे मन लाग्छ त्यही गर्नुहुन्छ । पार्टीमा भएका तीनजना पूर्वप्रधानमन्त्रीहरूको के औचित्य ? झलनाथ खनाल, माधव नेपाल र प्रचण्ड हुनुहुन्छ । पूर्वसभामुख छन् ।

यति राम्रो छ तर सल्लाह नलिने, मैले गरेको हो भनेर ओलीजीले देखाउन पर्ने । मैले एक्लै गरेको हो भनेर देखाउन पर्ने उहाँको समस्या हो । मेरो बुद्धिबाट भएको हो भनेर देखाउन परेको छ उहाँलाई । त्यसले बिगारेको हो । हामी सबै छौँ, यसको नेतृत्व मैले गरेको छु भन्दा त हुन्छ नि !

 त्यसो भए प्रधानमन्त्री सच्चिने विषयमा कतिको आशावादी हुनुहुन्छ त ?

सच्चिदै सच्चिनुहुन्न भनेर कसरी भन्नु ! मानिस सच्चिदै सच्चिन्न भनेर त कसरी भन्नु ! रत्नाकर डाकु रामायण लेख्ने वाल्मीकि भयो ।

तर, उहाँ (ओली) को शैली–तरिका हेर्दा गाह्रो छ । त्यही पनि हामीले अन्तिमसम्म कोशिस त गर्नुपर्‍यो तर सजिलो छैन । शैली, स्वभाव मैले त नजिकबाट हेरिरहेको छु तर पनि हामी आशा गरौँ कि रत्नाकरजस्तो मानिस पनि रामायण लेख्ने विद्वान भयो भन्ने कुराबाट हेर्ने हो भने सम्भव छ ।

कमजोरी त सबैका छन्, हाम्रा पनि छन् । अरू नेताका पनि कमजोरी छन् । उहाँ (ओली) अहिले आत्मालोचना गर्नुभएको छ । पार्टी र सरकार चलाउने विषयमा मेरो विवेक अलिक पुगेन भनेर प्रधानमन्त्रीजीले भन्नु नै सबैभन्दा राम्रो कुरा हो । प्रधानमन्त्रीबाट त्यो आउनु भनेको ठूलो कुरा हो ।

हामी धेरै आशावादी छौँ तर नानीदेखि लागेको बानी भन्ने पनि हुन्छ । त्यस्तो बानी सच्याउन त गाह्रो हुन्छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबै नेताहरू सच्चिनुपर्छ ।

हामीलाई सबै नेताहरूको कमजोरी र क्षमता थाहा छ नि ! क्षमताको सदुपयोग गरेर कमजोरी सच्याउने कुरा हो । त्यो दिशातिर प्रधानमन्त्रीले आफैँले पहल गर्नुभयो भने अहिले उहाँ पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, प्रधानमन्त्री पनि हुनुहुन्छ । यो एउटा ठूलो अवसर हो । यो अवसर कतिको सदुपयोग हुन्छ, त्यो अहिले भन्न सकिँदैन ।

सच्चिनुभएन भने स्थायी कमिटीको अर्को बैठकमा राजीनामाको विषय प्रवेश हुन्छ ?

सच्चिनुभएन भने त हामी अर्को चुनावमा केही त लिएर जानुपर्ने हुन्छ नि अढाई वर्षपछि । मेरोमात्रै वा प्रचण्डको मात्रै वा माधव नेपाल, झलनाथको मात्रै कुरा हुँदैन नि । अढाई वर्षपछि चुनाव हुँदैछ । जनताका बीचमा के लिएर जाने त ? स्थानीय तहको चुनाव त दुई वर्षभित्र हुँदैछ । हामीले चुनावमा लिएर जाने मसला पाएनौँ भने त धेरै गाह्रो हुन्छ नि !

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका