पार्टी नेतृत्वले समाधान होइन समस्यामात्र सिर्जना गरिरहेको छ : गगन थापा (अन्तर्वार्ता) « Khabarhub
Logo
१९ चैत्र २०७६, बुधबार

पार्टी नेतृत्वले समाधान होइन समस्यामात्र सिर्जना गरिरहेको छ : गगन थापा (अन्तर्वार्ता)

कम्तीमा ६ महिना आराम गर्नुपर्ने प्रधानमन्त्रीको विकल्प नेकपाले किन दिन नसकेको ?



नेपाली कांग्रेसका युवा नेता हुन् गगन थापा । पछिल्लो पुस्ताका नेता थापा जे बोल्छन् वा लेख्छन् त्यो भाइरल हुन्छ ।

चाहे त्यो संसदमा होस् वा बाहिर नै बोलेको विषय । नेपाली कांग्रेस संसदको प्रमुख प्रतिपक्षी दल हो । संसदमा प्रतिक्षी दलको सशक्त उपस्थितिको लागि थापाको भूमिका निकै महत्वपूर्ण रहने गरेको छ । 

संसदमा रहेका अन्य सांसदहरुको तुलनामा नेता थापा प्रभावशाली सावित भएका छन् । प्रतिपक्षी दल कांग्रेसको एक्लो प्रतिनिधित्व जस्तो हुनेगरी उनले संसदमा उठाएका विषयले सरकारलाई समेत जवाफ दिन बाध्य पार्ने गरेको छ ।

संसदमा बोल्न वा कुनै पनि एजेण्डामा आफ्नो धारणा बनाउनुअघि आफ्नो टिमसँग छलफल र रिसर्च गर्ने नेता थापा पछिल्लो पुस्ताका नेताहरु मध्येका अध्ययनशिल र सिर्जनशिल समेत मानिन्छ ।

सांसदको कार्यालय नै स्थापना गरेर अध्ययन र अनुसन्धानका लागि टिम नै परिचालन गर्ने थापा व्यवस्थित नेताका रुपमा समेत चिनिन्छन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका नेता थापा कांग्रेसको १३ औं महाविधेशनमा महामन्त्रीको प्रत्यासी थिए । तर निर्वाचनमा उनी विजयी हुन सकेनन् ।

कांग्रेसको महाविधेशन सम्पन्न भएको ४ वर्षमा भए गरेका काम र उपलब्धि अनि आगामी वर्ष हुने कांग्रेसको अर्को महाविधेशनको तयारी र सरकारको कामका विषयमा केन्द्रीत रहेर नेता थापासँग हामीले कुराकानी गरेका छौं ।

प्रस्तुत छ, कांग्रेस युवा नेता तथा केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री थापासँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेसको महाविधेशन भएको ४ वर्ष पुगेको छ । एकवर्ष कार्यकाल नथपेको भए त अहिले महाविधेशन चलिरहेको हुन्थ्यो । यो ४ वर्षे कार्यकाललाई कसरी हेर्नुभएको छ ?

यो मिश्रित रह्यो । नेपाली कांग्रेसका निम्ति । महाविधेशन हुनेबेलामा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । संविधान जारी गरेर नाकाबन्दीको चरण सकिएको बेला थियो ।

त्यो बेलामा कांग्रेसको मुख्य जिम्मेवारी भनेको छिमेकीहरुसँगको सम्बन्ध समेत सुधार गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने थियो ।

शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले चुनाव सम्पन्न गर्‍यो । चुनाव नभएको भए देश ठुलो दुर्घटना फस्थ्यो ।

शेरबहादुर देउवाको कार्यकालको शुरुमा कांग्रेसले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने थियो । मधेशी दललाई संविधान स्वीकार्ने वातावरण बनाउने कुरा कांग्रेस नभएको भए सम्भव थिएन । त्यसलाई म सकारात्मक रुपले नै लिन्छु । कांग्रेस चुनावमा गयो । हामी प्रजातान्त्रिक पार्टीका लागि चुनाव भनेको सबैभन्दा महत्वपूर्ण विषय पनि हो । हामी निर्वाचनमा पनि गयौं ।

यहाँसम्म आइपुग्दा हामीले चुनाव हार्नुपर्ने एउटा कारण हो, सांगठनिक चुस्तता । त्यसमा हामी चुक्यौं ।

कांग्रेसको इतिहासमा सबैभन्दा कमजोर नतिजा २ वर्ष अघि भएको चुनावमा आयो । हामी त्यहाँ चुक्यौं । चितवनको चुनावमा माओवादीको उम्मेदवारलाई भोट हाल्ने निर्णय जुनबेला कांग्रेसले गर्‍यो । त्यही बेलादेखि हाम्रो पक्षका मतदातामा निराशा बढ्न थाल्यो ।

कांग्रेसको ठुलो मतदाता कस्तो थियो भने आफूले आफूलाई कांग्रेस नभन्ने तर मतदानका हिसाबले सँधै कांग्रेसलाई नै मतदान गर्ने जमात थियो ।

अब माओवादीलाई पनि भोट हाल्नुपर्ने भनेर ठुलो जमात हामीसँग रिसायो । हामीले त्यसको मूल्य पनि चुकाउनुपर्‍यो । यहाँसम्म आइपुग्दा हामीले चुनाव हार्नुपर्ने एउटा कारण हो, सांगठनिक चुस्तता । त्यसमा हामी चुक्यौं ।

प्रतिपक्षमा हुने कुरा भनेको कहिलेकाँही भइन्छ । यो ठुलो कुरा होइन । २ वर्षअघिको चुनाव सम्पन्न भएर हारेपनि अर्को चुनावमा हामी फेरि जित्छौं भन्ने आधार यो २ वर्षमा कांग्रेसले बनाउन सक्नुपर्‍थ्यो ।

सरकारले गरेका कामका आधारमा हरेक दिन हामीले यस्तो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेका छैनौं ।

यो चार वर्षको बीचमा तपाईंलगाएतका नेताहरुले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्नुपर्ने अबस्थाको किन सिर्जना भयो ?

शेरबहादुर देउवाले स्वर्गीय सुशील कोइराला सभापति हुँदा लगातार एउटा विषय उठाइरहनुभयो । पार्टी विधानसंगत तरिकाले चलेन । पार्टीभित्र नेतृत्वले विवेक पुर्‍याएन । आफ्नो गुटका नेताहरुलाई मात्रै बढी ध्यान दियो ।

म सभापति भएपछि यसलार्य पूर्ण रुपमा बदल्छु भन्दै त्यो बेला अहिलेका सभापतिले उठाएको विषयका कारण उहाँलाई नयाँ साथीहरुले पनि विश्वास गर्नुभयो । तर उहाँले कांग्रेसको परम्पराका रुपमा त्यसलार्य जोगाएर राख्नुभयो । त्यसलाई बदल्न चाहनुभएन ।

पहिलाभन्दा बढी विकृत भयो । सभापति देउवालाई कसले मत हाल्यो । कसले हालेन भन्ने कुरा उहाँले सभापति निर्वाचित भएपछि विर्सिनुपर्छ । पार्टी सभापति एउटा समूहबाट निर्वाचित हुने हो । तर सभापति निर्वाचित भएपछि त्यो गुटको पूर्वसदस्य हुनुपर्ने हो ।

पार्टीहरुमा समूहहरु बन्छ । तर तलदेखि माथिसम्म सभापति भनेको कुनै एउटा गुटको होइन । समग्र पक्षको नेतृत्व बन्नसक्नुपर्छ । केन्द्रको सभापति नै गुटको नेता बन्न खोजेपछि तलका सभापतिहरुको पनि अबस्था उस्तै हुने नै भयो ।

हाम्र भातृ संस्थाहरु, शुभेच्छुक संस्थाहरुको कतिपयको अधिवेशन सभापतिजीले सम्पन्न गराउनुभयो । जसलाई हामीले पनि स्वागत गर्‍यौं । तर अधिवेशन भएका संस्थाहरुको अबस्था पनि उस्तै छ । अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण काम भनेको समयमै अधिवेशन गर्ने कुरा हो ।

तर अहिले सभापतिजीले फेरि विभागहरु गठनको काम शुरु गरिरहनुभएको छ । नवलपरासीको सभापतिलाई हटाउने निर्णय, समायोजनमा भएको सुस्तता लगायतका सबै विषयले समयमा महाविधेशन हुन्छ कि हुँदैन भनेर शंका गर्ने ठाउँको शुरु भएको छ ।

भनेको महाविधेशन अर्को वर्षको फागुनमा नहुने भनेर तपाईंहरुलाई पनि शंका शुरु भएको हो ?

पार्टीमा काम गरेका साथीहरुलाई शंका लागेपछि तलसम्म जाने हो । मैले यो विषयमा बोल्न नपर्ने अबस्था हुनुपर्ने हो नि । तिथि मितिका विषयमा कुनै पनि हिसाबले तलमाथि नहुने विषय छलफलको विषय नै होइन भन्नुपर्ने हो । त्यो नहोस् भन्नका लागि हाम्रो प्रयत्न जारी रहन्छ । गर्ने पनि त्यसमै हो ।

महाविधेनको कार्यतालिका यस्तो दबाबमा परिरहेको छ । त्यसमाथि पार्टी नेतृत्वले समस्या मात्रै सिर्जना गरिरहेको छ । अरुले समस्या सिर्जना भयो भने समाधान गर्नुपर्नेले नै समस्या शुरु गरेपछि त शंका गर्ने ठाउँ भयो नि ।

यो विगतको कुरा भयो । अर्को वर्ष त महाविधेन हुने हो । महाविधेशन केन्द्रित गतिबिधि पनि नेताहरुले शुरु गरिसकेको जस्तो देखिन्छ । तपाईं पक्षका नेताका रुपमा चिनिने कृष्ण सिटौला सभापति निकट भएको भनिएको छ । तपाईंहरुको अबस्था के हो ?

पार्टीभित्र विभिन्न खालका डाइनामाइक्सहरु हुन्छ । त्यहाँभित्र विभिन्न खालका अनुमानहरु हुने कुराहरु अस्वभाविक मान्दिन । यो बेलामा कृष्ण सिटौला, मेरो लगायतका नेताहरुको चासो के हो भने तोकिएको समयमा महाविधेशन कसरी गर्ने भन्ने नै हो ।

हामीहरुले बुधबार मात्रै पनि छलफल गर्‍यौं । त्यो छलफलको विषय भनेको तोकिएको मितिमा महाविधेशन कसरी गराउने भन्नेमै केन्द्रित थियो । हेदैगर्दा र कतिपय गतिबिधिका कारण त अहिलेलाई मैले आशंका मात्रै गरेको हो ।

तर दुई साता यस्तै भयो भने त चैतको पहिलो सातासम्म गर्नुपर्ने काम सम्पन्न हुनसक्दैन । जसका कारण कार्यतालिका समेत प्रभावित हुन्छ । त्यो कार्यतालिका भत्किदा अर्कोलाई पनि प्रभावित पार्छ । त्यसैले अधिवेशनमा कसले के गर्ने ? को कहाँ हुने भन्ने विषयलाई पन्छाएर अधिवेशन हुनुपर्छ भन्ने हो ।

त्यसमाथि अहिले नयाँ समस्या आयो कोरोना भाइरसको । अहिले हामीले पार्टीका सबै सभा सम्मेलन रोकेका छौं । राष्ट्रले कोरोनाको महामारीबाट कसरी जोगिने भनेर सरकारलाई खै पूर्व तयारी भनिरहेका छौं ।

पार्टीले गर्नुपर्दैन ? पार्टीले यो जोखिमको यस्तै अबस्था रहिरहने हो भने हाम्रो अधिवेशन कसरी गर्ने भन्ने विषयमा के गर्ने ? अहिले प्रेस युनियन लगायतका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छ ।

प्रेस युनियनको चुनाव अलि फरक ढंगले गरेर देखाउनुपर्‍यो । देखाइसकेपछि हाम्रो अधिवेशनका बेला पनि समस्या भयो भने हामी सहि ढंगले गर्नसक्नेतर्फ जान्छौं । अधिवेशन लागेको भन्दा पनि चाहिनेभन्दा बढी कचिंगल बाहिर आएको तर चाहिने कुरा नभएको मैले देखेको छु ।

अहिले पनि फागुन १५ मा समायोजन गरेर केन्द्रमा पठाउनुपर्ने भनिएपनि ३० वटा भन्दा जिल्लामा मात्रै समायोजनको काम भएको छ ।

 

अधिवेशन हुने नहुने विषयको बहस एकातिर राख्दा अबको अधिवेशनमा तपाईंंको भूमिका के हुन्छ ? अर्को कुरा कांग्रेसभित्रको तेस्रो ध्रुवको अस्तित्व के हुन्छ ?

चार वर्ष अघिको महाविधेशनमा कृष्ण सिटौला सभापति र म महामन्त्रीको उम्मेदवार भएर चुनाव लडेका थियौं । त्यो बेलामा केही बुझाइहरुमा समानता भयो । त्यही हिसाबले हामी प्यानलका रुपमा चुनावमा सहभागी समेत भयौं ।

हामी अहिले पनि संगै बसेर छलफल गरेर हाम्रो प्राथमिकता भनेको पार्टीलाई अधिवेशनको ट्रयाकमा कसरी लैजाने भन्ने विषयमै केन्द्रित छ । यसमा काम गरेर अघि बढ्दै जाँदा नेतृत्व चयनका विषयमा के हुन्छ हेर्दै जाउँ ।

कसले आफूलाई कसरी प्रस्तुत गर्छ । यी सबै कुराले निर्धारण गर्ने कुरा भयो । अधिवेशन सम्पन्न गर्ने विषयमा दबाब दिने अहिलेको पहिलो प्राथमिकता हो । यसको जिम्मा सभापतिले लिनुभएको छ ।

हामीले दबाब सिर्जना गर्ने भनेको सभापतिमाथि नै हो । सभापतिले गर्नुभएको पछिल्लो कामहरु विधानसम्मत छैनन् । विधानसम्मत मात्रै होइन, अहिले सभापतिले गरेका कामले अधिवेशनको वातावरण बिथोल्छ ।

अरुले गर्दा सभापतिले रोक्नुपर्ने तर उहाँ आफैले यस्तो काम गरिरहनु भएको छ । त्यसले हामीलाई थप सतर्क हुनुपर्ने अबस्था सिर्जना भएको छ । यो बेलामा म कुन पदमा हुने वा नहुने भन्दा सबै कुरा गौण हुन् ।

यी सबै गदै जाँदा मेरो लागि अघिल्लोपटक नै महामन्त्रीको प्रत्यासी भएका कारण यो पटकको महाविधेशनमा महामन्त्रीको प्रत्यासी हुने कुरा स्वभाविक कुरा हो । तर सोचेको जस्तो पनि नहुन सक्ला । स्वभाविक रुपमा अधिवेशन हुने अबस्था रहने हो भने म जाने भनेको महामन्त्रीकै पदमा हो ।

सभापतिका लागि तपाईंको दाबी हुँदैन ?

हैन । मैले अघिल्लोपटक महामन्त्रीका लागि प्रयास गरेँ । तर पार्टीका साथीहरुले विश्वास गर्नुभएन । म फेरि एकपटक त्यसमा प्रयास गर्न चाहन्छु । म जे छ त्यसमा मात्रै रमाउने स्वभावको मानिस होइन । कहिले काँहि अस्वभाविक कदम पनि उठाएको हो । आवश्यकता पर्छ भने त्यस्ता कदम फेरि पनि उठाउन सकिन्छ । तर मेरो फेरि पनि भनाई के हो भने अधिवेशन गर्ने कुरालाई प्राथमिकतामा राखेर छलफल अगाडि बढाउँदै जाने हो ।

तेस्रो ध्रुव अलि बिथोलिएको जस्तो वा तपाईं अर्को समूहमा जाने कुरा वा नयाँ समुह बनाउने विषयमा तपाईंको धारणा के हो ?

हामीहरु जो सँगै थियौँ अहिले पनि सँगै छौ । हामीहरु जो जो छौं, सकारात्मक सोँच भएका मानिसहरु छौं । पार्टीलाई जहिले पनि बलियो बनाउने कोशिश हिजो, आज र भोलि पनि गरिरहनेछौं ।

अहिले जसरी बाहिर कुराहरु आएका छन् । फलानो यता वा उता लाग्यो भनेर भनिने सबै अनुमानहरु भए ।

तपाईं महामन्त्रीका लागि स्वभाविक दाबेदारी भन्नुभयो । तर अहिले जो पार्टीको महत्वपूर्ण पदमा रहेका छन् उनीहरुले समेत नछाड्ने जस्तो पनि देखिन्छ । यसलाई कसरी लिनुहुन्छ ?

हामी अधिवेशनको चरणमा प्रवेश गरेका छौं । मैले अघिल्लो महाविधेशनमै समेत अहिलेको नेतृत्व अझ भनौं पुरानो नेतृत्वबाट अब पार्टी चल्दैन भनेर उम्मेदवारी नै दिएको थिएँ ।

अहिले पनि मेरो धारणा त त्यही हो । आफ्नो पार्टीको अधिवेशनमा आफू किन उम्मेदवार हुने भन्ने विषय महत्वपूर्ण हुन्छ ।

पार्टी सभापति सहितका एक तहका नेताहरुले अभिभावक भएर बस्नुपर्छ भन्ने मलाई लाग्छ । तर उहाँहरुको आफ्नो पनि स्वतन्त्रता छ ।

सातभाइको अस्तित्व र त्यहीबाट आगामी अधिवेशनमा नेतृत्वको उम्मेदवारी आउने विषय सम्भव छ ?

सातभाइ अहिले १२/१३ जनामा पुगेका छौं । केन्द्रीय समिति, महासमिति बैठकमा हामीले संयुक्त रुपमा आफ्ना अवधारणाहरु पनि प्रस्तुत गरेका थियौं ।

अहिले पनि नियमित रुपमा छलफलमा छौं । नेतृत्व वा विचारका सम्बन्धमा छलफल भइरहेको छ । नेतृत्वमा आउने विषयमा अस्वभाविक छैन । पार्टी राजनीतिमा नसोचेको अबस्था पनि हुनसक्छ । सम्भव चाँहि छ ।

पहिला एकपटक शेरबहादुर र रामचन्द्र पौडेल चुनाव लडेका बेला प्रदीप गिरी, केशवकुमार बुढाथोकी, नरहरि आचार्यदेखि मसमेतको अर्को उम्मेदवार उठायौं तर हामीले गर्न सकेनौ ।

त्यो बेलाका सबै अहिले आफ्नो आफ्नो बाटोमा छौं । यस्तो हुन्छ । पार्टीको अधिवेशनपछि हामी अर्को हिसाबले अघि बढौं भनेर लागेका हौ । अबको अधिवेशनमा पनि यस्तो विषयले प्रवेश पाउन पनि सक्छ ।

यो सरकारबाट हामीले धेरै अपेक्षा गर्नुपनि स्वभाविक हो । तर सरकारले सामान्य गतिमा काम गरिरहेको छ ।

कोरोना संक्रमण रोक्न भन्दै तपाईं आफैले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत पेश गर्नुभएको थियो । जुन प्रस्तावमा छलफल समेत भइसकेको छ । सरकारको तयारी कस्तो रहेछ ?

राष्ट्रिय संकटको अबस्था हो यो । संसदमा सरकारलाई प्रश्न सोध्ने वा आलोचना मात्रै पनि हामीले गर्नसक्थ्यौं । तर राष्ट्रिय संकटका बेला हामी पनि सँगै उभिन्छौं भनेर भनेका हौं ।

काम गर्ने त सरकारले नै हो । सरकारलाई सहयोग पनि गर्ने हिसाबले प्रस्ताव समेत संसदम लगेका हौं । त्यसकै प्रभाव हो अस्तिको उपप्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकको विषय ।

अहिले सरकारले गरेको कामको म सराहना चाँहि गर्छु तर यतिले मात्रै पुग्दैन । अपर्याप्त छ । कहाँ कहाँ भनेर हामीले भनेका छौं । सरकारले पनि हामीले अपर्याप्त भनेको विषयलाई गम्भिरतापूर्वक लिएको बताएको छ ।

एकीकृत समुह बनाएर नेपालको राष्ट्रिय योजना चाहियो भनेका छौं । सबैले त्यसलाई पालना गर्नुपर्‍यो । हाम्रो देशमा विदेशबाट आउने सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने भनेका छौं ।

अहिले हामीकहाँ कोरोनाको संक्रमण त देखिएको छैन । तर देखियो भने के गर्ने । भनेर हामीले भनेका छौं । सरकारले त्यसको उचित व्यवस्थापन गर्छ भन्ने मलाई लागेको छ । आशा पनि छ ।

सरकारले त अब हामी राख्न सक्दैनौं, आफै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन भनेको जस्तो पनि सुनियो ।

त्यो भनेको स्वास्थ्यमन्त्रीजीले अलि खुलाएर नभनेका कारण यस्तो बुझिएको हो । वेलायतमा पनि त्यहाँको स्वास्थ्यमन्त्री आफै क्वारेन्टाइनमा बस्नुभएको छ ।

त्यस्तै हामीकहाँ पनि कोरियाबाट आउनेलाई सेल्फ क्वारेन्टाइनमा राख्ने भन्ने हो । जसका लागि प्रोटोकल समेत बनाइएको छ । तर आफै क्वारेन्टाइनमा बस्ने व्यक्तिले त्यस्तो प्रोटोकल पालना गरेको छ कि छैन भनेर हेर्ने संयन्त्र चाहिन्छ । तर त्यो छैन । हामीले भनेको विषय यो हो ।

कोरोना संक्रमण फैलिएका मुलुकबाट नेपाल आउनेहरु स्वस्थ भएको प्रमाणपत्र लिएर आए भनेपनि १४ दिनको क्वारेन्टाइनमा बस्ने भनेर हिजो चीनबाट ल्याइएको विद्यार्थीलाई राखेजसरी नराख्ने भनेर मन्त्रीजीले भन्नुभएको हो जस्तो लाग्छ । तर सरकारले भनेको जस्तो कहाँ भइरहेको छ भन्ने हो ।

सरकार गठनको दुई वर्षमा गरेका कामलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

नेपालको राजनीतिमा अहिलेको सरकारले धेरै अनुकुलता पाएको सरकार हो । यो सरकारबाट हामीले धेरै अपेक्षा गर्नुपनि स्वभाविक हो । तर सरकारले सामान्य गतिमा काम गरिरहेको छ ।

अहिलेको अबस्थामा सरकार अस्थिर थियो भनेर मान्ने हो भने त्यो बेला र अहिले के भयो । फेरि अहिले हाम्रा प्रधानमन्त्रीको डर हेर्नुस् त । संसदमा बहुमत हुन्छ तर पार्टीमा अल्पमतमा रहने अबस्था पनि हुन्छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार बनेका बेला २०४८ सालमा संसदमा बहुमत रहेको भएपनि पार्टीभित्रको कलहका कारण मध्यावधी चुनावमा जानुपर्ने अबस्था सिर्जना भएको थियो ।

अहिले सरकार बनेको २ वर्षमा भर्खर घरझगडा शुरु भएको छ । तर यो २ वर्षमा सरकारको नेतृत्वमात्रै होइन । पार्टीको समेत एकल नेतृत्वमा प्रधानमन्त्री हुनुहुन्थ्यो ।

कहिल्यै पनि माधवकुमार नेपाल वा प्रचण्डले सरकार वा प्रधानमन्त्रीको विरोध गर्नुभएको त थिएन ।

ओलीजीले एकछत्र रुपमा पार्टी सञ्चालन गर्नुभयो । संसदमा त झन कोही हल्लिने कुरा पनि भएन । यस्तो अनुकुलता मैले थाहा पाएसम्मका लागि कसैले पनि पाएको थिएन । यो क्षेत्रमा सरकारले २ वर्षमा काम गरेको कसैलाई देखाइदिन चुनौती दिन चाहन्छु ।

यति वलियो सरकारबाट धेरै अपेक्षा थियो तर यो २ वर्ष खेर गयो । अब ३ वर्ष बाँकी छ, यो तीन वर्षमा पनि नयाँ पार्टीले सरकार चलाउने त होइन ।

नेकपाभित्रको गुटहरुको झगडाको सिकार नेपाल सरकारले गर्ने निर्णयमा पर्नुहुँदैन । जुन अहिले परिरहेको छ

अहिले सम्मननीय प्रधानमन्त्री अस्पतालमा हुनुहुन्छ । उहाँको स्वास्थ्य लाभको कामना समेत गर्छु । तर प्रधानमन्त्रीजी स्वास्थ्यलाभ गरेर फर्केपछि नेकपा नेतृत्वले यसका बारेमा सोच्दा राम्रो हुन्छ ।

किन यतिधेरै प्रधानमन्त्रीलाई सकस दिएर, जोखिम दिएर प्रधानमन्त्रीलाई निरन्तरता दिनुपर्ने ? हामीले त प्रधानमन्त्रीलाई संसदमा आएर प्रश्नको जवाफ दिएको हेर्न चाहन्छौ, मन्त्रिपरिषद् बैठक पनि बस्नुपर्छ । तर कम्तिमा पनि ६ महिना आरामको आवश्यकता छ ।

प्रधानमन्त्री ओलीजीलाई किन निरन्तरता दिनुपर्ने ? के कारण हो ? किन भन्ने विषयमा नेकपाले छलफल गर्‍यो भने आगामी ३ वर्षमा केही होला कि भन्ने लाग्छ । हैन भने आगामी ३ वर्ष पो झन् बढी समय खेर जाने अबस्था बन्नसक्छ ।

फेरि प्रधानमन्त्री र उहाँका वरिपरिका व्यक्तित्वहरु काम नभएको विषयमा अपजस लिन तयार छैनन् । गत फागुनको ३ गते संसदमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका विषयमा २ वर्षमा सबै गजब भएको छ । यो नदेख्ने सञ्चारमाध्यम हो, प्रतिपक्ष हो ।

यी सबै गान्धारीको आँखामा पट्टी लगाएकाजस्ता हुन् भनेर भन्नुभयो । जानीजानी सरकारले गरेका कामको विषयमा नबोलेका हुन् सरकारले काम गरिरहेको छ भन्ने हिसाबले प्रधानमन्त्रीले भनेपछि त उहाँहरुका लागि अबको तीन वर्ष पनि यही गजबको निरन्तरता मात्रै हुने भयो । के छ नयाँ कुरा ?

नेकपाको घरझगडाको कुरा गर्नुभयो । राष्ट्रियसभामा कसलाई लैजाने वा नलैजाने विषयसँगै एमसीसीका विषयमा समेत झगडा चलिरहेको छ । यसलाई के भन्नुहुन्छ ?

नेकपाभित्रको घरझगडा उहाँहरुको कुरा भयो । तर उहाँहरुको घरझगडाले उहाँहरुको जिम्मेवारी प्रभावित हुनुहुन्न । राष्ट्रियसभामा कसलाई लैजाने भन्ने विषय उहाँहरुको हो । तर उहाँहरुको आन्तरिक समीकरण मिलाउन हाम्रो संविधानलाई यति सस्तो बनाइदिने ? उहाँहरुको घरभित्रको शक्तिसंघर्ष, नेकपाभित्रको गुटहरुको झगडाको सिकार नेपाल सरकारले गर्ने निर्णयमा पर्नुहुँदैन । जुन अहिले परिरहेको छ ।


भर्खर

0