जनयुद्ध : प्रचण्ड, गिरिजा र गणतन्त्र « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

जनयुद्ध : प्रचण्ड, गिरिजा र गणतन्त्र

नेपाली क्रान्तिको विकासमा युगान्तकारी छलाङ !



तत्कालीन माओवादी लडाकू । फाइल तस्वीर

नेपाली क्रान्तिको विकास विभिन्न कालखण्डमा निरन्तरतामा क्रमभंग हुँदै आएको छ । नेपाली क्रान्तिको शुरुआतदेखि नै यसको चरित्र सामन्तवादको विरुद्धमा केन्द्रित भएर विकास भएको छ ।

२००७ सालको क्रान्तिको लक्ष्य पनि सामन्तवादकै विरुद्धमा विकास भएको थियो । यसको उदाहरणको लागि लप्टन राम प्रसाद राईले जनमुक्ति सेनाको गठनसँगै पूर्वका सम्पूर्ण जिल्लाहरु युद्ध गरेर तत्कालीन राणा शासनको केन्द्रिय हेडक्वार्टर सिंहदरवार कब्जा गरी सकेपछि अगाडीबाट नै थुनिएका डा. केआई सिंहलाई मुक्त गरी मोर्टार र तोप राजदरबारतर्फ निशाना तोकेर जन सेनालाई आदेश दिएका थिए ।

तत्कालीन लप्टन राम प्रसाद राईको गणतन्त्रको शुरूवाती क्रान्तिसँग तुलना गर्दै बुद्धिजीवि गणेश अधिकारी लेख्नु हुन्छ – ‘भागिसकेका राजालाई पुनः फर्काएर पुनःस्थापना गरियो तर त्यसको ५५ वर्षपछि अध्यक्ष प्रचण्डको नेत्तृत्वमा भएको महान् जनयुद्ध र गिरिजा प्रसाद कोइरालाको नेत्तृत्वमा भएको सनसनीपूर्ण जनआन्दोलनले स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको शुरुआत लप्टन रामप्रसाद राईले गरेको कुरा देखाउनु भएको छ ।’ (जननायक राम प्रसाद राई पेज नं. ३०१)

क्रान्तिको विकास विभिन्न समय, कालखण्डमा घटेका घटना, काण्ड, विद्रोह र जनक्रान्ति/ जनयुद्धबाट नै हुने हो । त्यसैगरी अध्यक्ष प्रचण्डले दशकौ देखि नै सामाजिक संरचना, त्यसभित्र निहीत अन्तरविरोध खोतल–खातल गरी बीसौं सदीमा उत्पादन भएका विचारहरु र त्यसपछिको प्रयोग–विश्लेषण र अन्तिमको संश्लेषण नै ‘प्रचण्डपथ’ अथवा ‘प्रचण्डका विचारश्रृंखला’ हो भन्ने बुझ्नु पर्छ ।

कमरेड प्रचण्डले वैज्ञानिक समाजवादी प्रक्रियाबाट नै मालेमावादी विचारलाई जनयुद्धको भट्टी भित्र खारेर सिद्धान्तको विकास गर्नु भएको हो । जनक्रान्तिमा प्रचण्डपथ, मालेमावाद/विचारकै संश्लेषण भएकोले यसको एउटा निर्देशक सिद्धान्त हुन्छ–फौजी संगठन हुन्छ र त्यसलाई सञ्चालन गर्ने शेर्पा नेत्तृत्व हुन्छ ।

यी तीनवटै पक्षमा जनयुद्धको तैयारी–महान् जनयुद्ध–शान्ति युद्धकाल र अहिलेसम्म कमरेड प्रचण्डले अन्तर्राष्ट्रिय रुपमा नै सनसनीपूर्ण युद्धको सर्वोच्च नेत्तृत्व गरेको र उक्त नेत्तृत्वले बोलेका, गरेका कुराहरु संयुक्त राष्ट्रसंघले स्वीकार गरेको कुरा हो । माक्र्सवादको प्रक्रिया र व्याख्या बमोजिम सुन्दर–कुरुप, असल–खराब अनि गरीब–धनीको बीचमा संघर्ष हुन्छ ।

तर अध्यक्ष प्रचण्डले जुनसुकै युद्ध भए पनि यदि त्यो साम्राज्यवाद, विस्तारवाद संलग्न तथा सामन्तवादको संरक्षण भईरहेको अवस्थामा मुलुकमा सार्वभौमिकता–अखण्डता अनि महिला–मुस्लिम–जनजाति तथा पिछडिएका अल्पसंख्यक जाति र वर्ग विकास समान संघीयतामा समावेशिताको आधारमा काम गर्ने नियत छ भने त्यसलाई नकारात्मक–सकारात्मक रुपमा दुवै कोणबाट गरे पनि हुन्छ भनेर भन्नु भएको छ ।

अध्यक्ष प्रचण्डले असल नियत छ भनेर दुवै कोण–कोणको प्रयोग गरी जनयुद्धको विजयलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको हो । यस्तै कुराहरुले गर्दा कमरेड प्रचण्डको नेत्तृत्व ‘शेर्पा नेत्तृत्व’ भएको हो ।

हिमाल चढ्ने मान्छे जतिसुकै भएपनि हिमाल सम्बन्धि ज्ञान शेर्पालाई मात्र थाहा हुन्छ र जंगलमा धेरै प्रकारका जनावर हुन्छन् तर गर्जने र नेत्तृत्व लिने त सिंह नै हुन्छ । त्यसैले नेपाली क्रान्तिको विकासमा आधुनिक नेत्तृत्व भनेको नेपाली जनवादी क्रान्तिको विकास युद्ध मैदानबाट खारिएर उत्पत्ति भएको हो ।

कमरेड प्रचण्डले सबभन्दा पहिला मुलुकका सामाजिक अन्तरविरोध खोतलखातल गरेर अध्ययन/विश्लेषण गरे । अनि त्यसबाट निस्केको संघर्ष र अन्तरविरोधहरु व्यवस्थित गर्न मालेमावाद/विचारलाई विश्वमै नयाँ मौलिक नेपाली शैलीको जनक्रान्तिको भट्टीभित्र खारेर नयाँ सिद्धान्तको रुपमा ‘प्रचण्डपथ’ अर्थात् ‘प्रचण्डको विचार श्रृंखला’ उत्पादन गर्नुभयो ।

सिद्धान्तको विकास क्रान्तिबाट, युद्धबाट र युद्धपछिको शान्ति प्रक्रियाबाट हुन्छ । प्रचण्डपथ अर्थात् प्रचण्डका विचार श्रृंखला मालेमावाद/विचारकै संश्लेषण हो । यसबारे अध्यक्ष प्रचण्ड भन्नु हुन्छ– ‘प्रचण्डपथ कम्युनिस्ट आन्दोलनका पूँजी भएको छ । यसबारेमा अरु वामपन्थी पार्टीहरुसँग बहस/छलफल गर्न तयार छौ ।’

कमरेड प्रचण्डले पुनः अगाडी भन्नुभएको छ – ‘जनयुद्धका राम्रा नराम्रा घटनाहरुको सम्पूर्ण जिम्मेवारी म लिन्छु ।’ उहाँ अझै भन्नुहुन्छ– ‘क्रान्तिको पुनरावृत्ति हुँदैन तर यसको विकास हुन्छ र सँगसँगै रुपान्तरण पनि हुन्छ ।’

यसरी यो भन्दै गर्दा पनि वामपन्थी पार्टीहरुमा देखिएको टुटफुट र प्रतिक्रान्तिकारी भावनालाई लिएर हामी के बुझ्न सक्छौ कि माछाका भुरा साना छउञ्जेल कुवामा र आहालभित्र पनि तिनीहरुको विकास हुन्छ । तर तिनीहरुको जब वृद्धि भई विकास हुन्छ–कोशी–गण्डकी–कर्णालीको खुला ठाउँमा तर्फ नै ती माछाहरु फैलन्छन् र साना कुवाहरुमा अरु भुरा माछाको विकास हुन्छ ।

कमरेड प्रचण्डले पनि यहि ढंगले आफ्नो संगठन र विचारको विकास गर्नुभयो । तर क्रान्तिको दौरानमा त्यस्ता प्रवृत्तिहरु जसले साम्राज्यवादीहरुको स्वार्थ पूर्ति गरे त्यस्ता प्रवृत्तिलाई हामीले बाबुराम प्रवृत्ति भन्छौ अनि सबैलाई त्यहि प्रवृत्ति देख्नेहरु सिद्धान्तको विकास क्रमलाई अनदेखा गर्नेहरु त्यही सानो कुवालाई संसार देख्ने र विकास प्रक्रियाको विरुद्ध रहँदा तिनीहरुलाई अल्पसंख्यामा जाने र अन्तमा समाप्तिको बाटोमा जान्छन् ।

कमरेड प्रचण्डले ३० कै दशकदेखि विचार र संगठनले समाजलाई प्रशिक्षण गर्दै आउनुभएको पुरानो विचार अनि पुरानो संस्कृतिले समाज विकासमा कति अवरोध गरेको हुन्छ भन्ने कुरा प्रष्ट पार्दै भन्नु भएको छ –“सबैभन्दा खट्केको विषय एकातिर, २१ औं शताब्दीमा जनवादको विकासका लागि विचार र अर्को तिर संरचना कार्यशैली र संस्कार बीचको अन्तरविरोध हो । विचार अनुसार संगठन र संस्कृति वा संगठन र संस्कृति अनुसार विचार ?”

यो प्रश्न यतिबेला आन्दोलनको महत्वपूर्ण प्रश्न बनेको छ । निश्चित रुपमा क्रान्तिकारीको प्रयत्न नयाँ विचार अनुसारको संगठन र संस्कृतिमा रुपान्तरणको लागि संघर्ष हुनु पर्छ अर्थात् पार्टीभित्रका उग्र वामपन्थी जसले पुष्पलाललाई गद्दार भनेर लेख्नेहरु र प्रचण्डलाई महापतन भनेर लेख्नेहरुलाई नै अहिले आएर कमरेड प्रचण्डले निरन्तर रुपमा एकताको प्रस्ताव गरिरहनु भएको छ ।

एकताको प्रस्ताव भनेको कम्युनिस्ट आन्दोलनको एकता गर्ने प्रस्ताव हो । यसबारेमा हालसालै कमरेड प्रचण्ड भन्नुहुन्छ –“समाजवादतिर जाने कुरामा कुनै विवाद नभएकोले देशको स्थिति, राजनीतिक स्थायित्व र समृद्धिका लागि सबै कम्युनिस्ट पार्टी एकै ठाउँ उभिनुको विकल्प छैन ।” कम्युनिस्ट आन्दोलनको सफलताको लागि कम्युनिस्ट पार्टीहरुमा एकताको प्रस्ताव गर्ने मध्येका नेताहरुमा सबैभन्दा अगाडि कमरेड प्रचण्ड नै हुनुहुन्छ ।

तर यहि बीचमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने दृष्टिकोण राखेर कम्युनिस्ट पार्टीभित्रैबाट बाबुराम प्रवृत्तिहरुको जन्म भयो । त्यही बाबुराम प्रवृत्तिले गर्दा खेरि नेपालको कम्युनिस्ट आन्दोलनभित्र कालो दिनको रुपमा धोबिघाट भेलालाई लिन सकिन्छ । जसले पार्टीलाई र कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित र कमजोर पारेको थियो ।

२०६० साल भन्दा अघि विभिन्न मोडमा क्रमभंग हुँदै विकास भएका नेपाली राष्ट्रिय क्रान्तिलाई ध्वस्त गर्न साम्राज्यवादका दुमछल्ला प्रवृत्तिले काम गरेको हो । उनीहरुले सोचेका थिए कि प्रचण्डलाई ध्वस्त गर्न सकियो भने आफ्नो इच्छा पूरा हुने सपना देखेका थिए । तर सपना साकार नभएपछि बाबुराम प्रवृत्तिहरु युद्ध मैदानबाट जसरी दक्ष प्रजापतिको पापपूर्ण स्वार्थले गरिएको यज्ञको रक्षार्थ गएको सुदर्शन चक्रधारी भएका विष्णु वीर भद्रसँग टिक्न नसकेर भागेका थिए ।

त्यसैगरि बाबुराम जी पनि कसैको स्वार्थ रक्षा र पूरा गर्न महान् जनयुद्धमा घुसेका थिए र जनयुद्धको विजयपछि तारकासुर भएर पेची ऋषिको सल्लाह बमोजिम शक्तिशाली पक्षको वरदानले मात्र बाबुरामजी अहिलेको यो पोजिशनमा पुग्नु भएको छ । त्यहाँ के के हुन्छ भविष्यले बताउने छ ।

त्यसले गर्दा खेरि हामी यो भन्न सक्छौ, कमरेड प्रचण्डले बाबुरामजीलाई भेट्नुभयो भने ‘तपाई को हो ?’ भनेर सोध्नुहुन्छ तर कमरेड किरण र विप्लवलाई भेट्नुभयो भने ‘तपाईलाई कस्तो छ ?’ भनेर सोध्नुहुन्छ । यसैगरि जनवादी क्रान्तिभरि नै बाबुराम प्रवृत्तिहरुले अध्यक्ष प्रचण्डलाई समस्यामा पार्दै अन्तिममा जनयुद्ध र जनवादी क्रान्तिले उत्पादन गरेका प्रचण्डका सहयोगी र समर्थकहरु पनि धेरै मात्रामा डाक्टर गोपीलाल न्यौपानेले भने जस्तै –“प्रचण्डले कुम हल्लाए भने सबै कार्यकर्ताहरुले कुम हल्लाउँछन् तर प्रचण्डले किन कुम हल्लाए भन्ने कुराहरु तिनीहरुले बुझेका हुँदैनन् ।”

यस्तो कुराहरुलाई हामीहरुले गम्भीर भएर सहज रुपमा लिनु पर्छ । यसैगरी तत्कालीन सर्वोच्च नेत्तृत्व कमरेड प्रचण्डको वैचारीक रणनीतिको व्याख्या गर्दै कमरेड शितलकुमारले लेख्नुभएको छ –“बन्दुक, कलम र टेबुलका तीनवटा मोर्चा बीच द्वन्दात्मक सम्बन्ध छ । युद्धका क्रममा बन्दुकको मोर्चा, कलम र टेबुलको मोर्चापूरक वा सहायक हुन्छ । त्यसैले कम्युनिस्टहरु राजनीतिक कमाण्ड अन्तर्गत बन्दुकको मोर्चाले विशेष जोड दिन्छन् । तर यसलाई यान्त्रिक अर्थमा बुझ्नु हुँदैन ।” (माक्र्सवादी दर्शन र जनयुद्ध, पेज १४६) यहाँनेर अध्यक्ष प्रचण्डले पनि तीनवटै मोर्चालाई खुला राखेर जुन मोर्चाको आवश्यक पर्छ त्यही मोर्चालाई अघि राखेर महान् जनयुद्धको विकास गरी जनवादी क्रान्तिलाई सफलतापूर्वक नेत्तृत्व दिएका हुन् ।

यसरी नै महान् जनयुद्धले स्थापित गरेको जनवादी क्रान्तिलाई व्यवस्थापन गर्न संक्रमणकालीन अवस्था हामीले पार गर्नु परेको छ । यो अवस्थामा आइपुग्नलाई र जनवादी क्रान्तिले सफलता प्राप्त गरेको सम्बन्धमा अध्यक्ष प्रचण्ड भन्नु हुन्छ –“जनयुद्ध गर्ने र जनआन्दोलन गर्नेहरुका बीचमा फ्युजन गरेर हामीले जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न गरेका हौ ।”

त्यसो भएको हुनाले जनयुद्ध र जनआन्दोलनको विजयमार्फत् स्थापित भएको जनवादी क्रान्तिको सफलता नै सबैभन्दा मुख्य सवाल हुन आएको छ ।

यी सबै उपर्युक्त विवरणहरुबाट के देखिन्छ भने जनवादी क्रान्तिको युगान्तकारी विजयले स्थापित गरेको नयाँ युगका संवाहकहरु अध्यक्ष प्रचण्ड र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुन् । गणतन्त्र स्थापना गर्नमा पनि अध्यक्ष प्रचण्ड र गिरिजाप्रसाद कोइराला नै हुन् । यसको संकेत नेपालमा ५५ वर्ष अगाडि लप्टन रामप्रसाद राईले गणतन्त्रको नयाँ परिभाषाको संकेत दिँदै –“सच्चा प्रजातन्त्र स्थापना गर्नेछु” भनेका थिए ।

त्यसैगरि युगान्तकारी नेता गिरिजाप्रसाद कोइरालाले पनि गणतन्त्रलाई नयाँ ढंगले परिभाषित गर्नु भएको छ । गिरिजाबाबुको यहि गणतन्त्रसम्बन्धि परिभाषाको हवाला दिँदै डा. शेखर कोइराला भन्नु हुन्छ–“गिरिजा बाबुले मलाई भन्नु भएको थियो के भने अहिले नै हामीले सिधै गणतन्त्र भन्यौ भने हामीलाई विदेशीहरुले, राजाले अर्को अर्थमा लिने कुरा हुन्छ ।

त्यसो भएको हुनाले हामीले ‘पूर्ण प्रजातन्त्र’ भनेर जानुपर्छ । यो कुरा प्रचण्डजीलाई पनि कन्भिन्स गराउनु भयो र आज हामी यो अवस्थामा आइपुगेका छौ ।” यसरी एउटा सांकेतिक रुपमा गणतन्त्रलाई पनि गिरिजाबाबु लगायतले जुन नेपालको मौलिक नयाँ बाटो निर्माण गर्नु भयो त्यो सँगसँगै हामी हिँडेका छौ भन्ने संकेत गरेको यहाँ देखिन्छ ।

यसले के पनि व्याख्या गर्छ भने नेपालको लागि नयाँ युगका निर्माणकर्ता भनेका प्रचण्ड र गिरिजाप्रसाद कोइराला नै हुन् । तत्कालीन एमालेहरुमा अध्यक्ष के.पी. ओलीले सिलिगुढी वार्ताबाट फर्केपछि त्यति बेलाको स्थितिमा पनि “माओवादी सेनाका लडाकुहरुलाई नेपाली सेना र प्रहरीमा राख्न सकिन्छ” भनेर अन्तर्वार्ता दिनुभएर जनमुक्ति सेनाको व्यवस्था गर्ने पक्षमा मत व्यक्त गर्नु भएको थियो । त्यही कुरा पछि गएर प्रमाणित भयो ।

नेकपा नेत्तृत्वका केहि कमरेडहरु यहाँसम्म आईपुग्दा पनि सनसनीपूर्ण र विश्वलाई नै चकित बनाउने जनयुद्धको विजयलाई अनदेखा गर्दै उनीहरुले नै गरेको जनआन्दोलनको परिणाम हो र इतिहासका सभ्यता र झुटहरुलाई पछार्दै नेत्तृत्व गरेर आएका वैचारीक रुपले नै स्थापित भएको जनयुद्धको नामै उच्चारण गर्दैनन् । उनीहरु जबजकै बाउन्स्ड चेक देखाएर जनतासँग भन्दैछन् कि तिमीहरु मलाई पैसा देउ, समाजवाद आईसकेपछि त्यहि चेकलाई क्यास गरी तिमीहरुको पैसा फिर्ता गर्नेछु ।

यसर्थ यहि विचार प्रयोग गरेर सिद्धान्त विकास नगर्ने हो भने नयाँ विचार अनुसारको संस्कृति र संगठनमा आफैलाई रुपान्तरण नगर्ने हो भने ती बाउन्स्ड चेक बोक्नेहरु ‘कुसिवा’ विचार बोक्नेहरुको स्तरमा पुग्छन् र समाप्त हुन्छन् ।

यस कारणले गर्दा गणतन्त्रको स्थापना गरि मुलुकलाई यो अवस्थामा पुर्‍याउनमा जनआन्दोलनको नेत्तृत्व गर्ने गिरिजाप्रसाद कोइराला र जनयुद्धको नेत्तृत्व गर्ने अध्यक्ष प्रचण्डहरुको बीचमा भएका कतिपय सम्झौताहरुलाई समयमै पालना गरिएन ।

सम्झौतामा ६ महिना भित्रमा सत्य निरुपण र बेपत्ता आयोग बनाएर शान्ति प्रक्रियालाई सफलिभूत बनाउने कोशिस भएको थियो । तर शान्ति प्रक्रियाका कार्यभारहरु पूरा नहुँदै गिरिजाप्रसाद कोइरालाको निधन भएकोले ती कार्यभारहरु अझै पूरा हुन सकेका छ्रैनन् ।

अध्यक्ष प्रचण्डको नेत्तृत्व र सर्वोच्च कमाण्डमा महान् जनयुद्धले विजय प्राप्त गरेपछि जब शान्ति प्रक्रिया शुरु भएपछि यसको अन्तर्राष्ट्रिय रुपमा प्रभाव पर्न शुरु भयो ।

चानचुन ५२ वर्षदेखि राज्य विरुद्ध युद्ध गर्दै आएको कोलम्बियाको ‘फार्क’ क्रान्तिकारीहरुले नेपाली जनयुद्धले प्राप्त गरेको विजयको प्रभाव, प्रचण्ड–गिरिजाले शान्ति प्रक्रिया शुरु गरेको र अब आएर नेपाल सफल भएको देखेर त्यही प्रकारले राज्य र विद्रोही बीचमा प्रक्रिया शुरु गरेर सफलता प्राप्त गरे ।

त्यसै गरी क्रान्तिकारी संगठन ‘नेशनल लिबरेसन आर्मी’ सँग पनि त्यही प्रकारले शान्ति प्रक्रिया शुरु गरे । यसरी नेपालसँग प्रभावित भएर गरिएको कार्यलाई कोलम्बियाको राज्यपक्ष र विद्रोही पक्षहरुलाई संयुक्त रुपमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार दिइएको थियो ।

यस बारेमा नेपाली कांग्रेसका युवा नेता १ नं. प्रदेश, मोरङ्गका समानुपातिक सांसद लोकप्रसाद संग्रौलाले छलफल गर्दा भन्नु हुन्छ –“कोलम्बियाको ‘फार्क’ क्रान्तिकारीहरुले युद्धबाट शान्ति प्रक्रियामा आउन जुन प्रकारको प्रक्रिया अपनाएका थिए, त्यो भन्दा अघि नै नेपालले प्रक्रिया सफल गरेको थियो ।

त्यसको कारण उनीहरुलाई सरकार प्रमुख राष्ट्रपति र विद्रोही नेतालाई अन्तर्राष्ट्रिय पिस प्राईजले जसरी विभूषित गरेको थियो । त्यसैगरी समयमै शान्ति प्रक्रियामा उल्लेख भएका प्रावधानहरु सम्पन्न भएको भए प्रचण्ड र गिरिजाबाबुलाई उक्त पिस प्राईजले विभूषित गर्ने थियो ।”

यसरी संग्रौला अगाडि भन्नु हुन्छ–“गिरिजाबाबुको निधन भएपनि प्रचण्ड जी त हुनुहुन्छ । गिरिजाबाबुको कन्सेप्टलाई शिरोपर गरि हिँड्ने डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला त हुनुहुन्छ । तर उहाँहरुले किन सक्रियता देखाउनु भएन ?”

त्यसले के देखाउँछ भने कम्युनिस्टहरु भित्र पनि र नेपाली कांग्रेस भित्र पनि जनयुद्ध र शान्ति प्रक्रियाको विरुद्धमा लागेका मान्छेहरु थिए भन्ने कुराहरु बुझ्नुपर्छ । अब नेपाली कांग्रेसले यो बुझ्नु पर्छ कि जनयुद्ध पनि नेपाली कांग्रेसको गणतन्त्र र लोकतन्त्र र संघीय व्यवस्था स्थापना गर्ने मूल बाटो हो भनेर सम्झनु पर्छ ।

“नयाँ विचारमा कांग्रेस पहिलो पार्टी भएकाले पहिले आफैलाई सांस्कृतिक रुपान्तरण गर्नुपर्छ” भनेर माननीय संग्रौला भन्नुहुन्छ । त्यस्तै –“धेरै कांग्रेसजनहरुले धर्मलाई संस्कारको रुपमा लिन्छन् र त्यही अनुसारको प्रचार गर्छन् । तर त्यो गलत हो । हामीले हिन्दु संस्कार मानेका छौ । तर हिन्दु धर्म होइन । धर्म भनेको मान्छेले गर्ने कर्म हो ।

त्यसो भएकोले जीवन विज्ञान अनुसार धर्म–अधर्म, धर्म–पाप भनेको कुरा मानवजातिको कर्तव्य हो, मात्र मानवीय कर्म । त्यसले गर्दाखेरि संस्कार आफ्नो–आफ्नो हुन्छ । तर धर्म भनेको एउटै हुन्छ । त्यसै भएको हुनाले नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले पनि संस्कार र धर्मलाई फरक–फरक रुपले हेरेर गलत प्रचारबाट बच्नुपर्ने हुन्छ ।”

यसरी युवा नेता संग्रौलाले धर्मलाई कर्म अथवा गर्नुपर्ने कामको आधारमा धर्म र विभिन्न जात विशेषको संस्कारलाई विविधिकरण गर्दै वैज्ञानिक परिभाषा दिनुभएको छ । संग्रौला अगाडि भन्नुहुन्छ –“बि.पी. कोइरालाले शुरु गरेको गणतन्त्रको आन्दोलन गिरिजाबाबुको नेत्तृत्वमा आएपछि सफल भएको हो । बि.पी. कोइरालाले राजासँग मेरो गर्धन जोडिएको छ भन्नु राजनैतिक रणनीति मात्रै हो । त्यस उसले सबैभन्दा ठूलो गणतन्त्रवादी नेता बि.पी. कोइराला हुन् ।

उनैले शुरु गरेको गणतन्त्रवादी आन्दोलन प्रचण्ड र गिरिजाबाबुले सफलतापूर्वक सम्पन्न गरेका हुन् । यस ढंगले अब जनयुद्धले प्राप्त गरेको विजय नेपाली कांग्रेसको पनि पूँजी हो र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिपक्षविहीन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय राज्य व्यवस्था देख्न सकिन्छ ।”

यसबाहेक संग्रौला अगाडी भन्नुहुन्छ –“अब नेपाली कांग्रेसका कार्यकर्ताहरुले बि.पी.को नाउँमा धेरै चुल्हो बालेर नहिँड्न सुझाव दिन्छु । नेपाली कांग्रेसको एक संगठन–एक नेत्तृत्व भए मात्र बी.पी. र जी.पी. को सपना साकार हुन्छ अनि मात्रै जनयुद्ध र जनआन्दोलनको विजयलाई अगाडि लान सकिन्छ । कम्युनिस्टहरुको जस्तो माधव नेपालले सार्वजनिक रुपमै ‘प्रचण्डलाई मैले जंगलबाट खोजेर ल्याएको’ भनेजस्तो कांग्रेसजनहरुले गर्न मिल्दैन किनभने यो युगका प्रवर्तक गिरिजाबाबु र प्रचण्ड नै हुन् ।”

उहाँले अगाडी भन्नु भएको भएको छ –“गिरिजाबाबुले आफ्नो अन्तिम समयमा प्रचण्डलाई ‘तपाई र मैले लडेर प्राप्त गरेको राष्ट्रिय गौरवलाई टुङ्गोमा पुर्‍याउने काम तपाईको काँधमा आएको छ’ ।”

उहाँ अझै भन्नुहुन्छ –“अब यो युग भनेको नयाँ युग हो । गिरिजाप्रसाद कोइराला र प्रचण्ड यो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवर्तक हुन् । अब नेपाली कांग्रेसजनहरुले पनि पुराना कुरामा अल्झिएर होइन यस नयाँ युगमा युगान्तकारी बाटोबाट अघि बढ्नु पर्ने हुन्छ ।” माननीय संग्रौलाले जे विश्लेषण गर्नुभएको छ त्यसको प्रष्ट रुपमा व्याख्या पनि गर्नुभएको छ ।

संग्रौला अगाडि भन्नु हुन्छ –“कतिपय हाम्रा नेता, कार्यकर्ता साथीहरु शान्ति प्रक्रियामा गिरिजाबाबु र प्रचण्ड बीचको सम्झौतालाई र नेपालको संविधानलाई उल्लंघन हुने गरी बोल्ने र लेख्ने गर्नु हुन्छ । अब त्यसो गर्दाखेरि नेपाली कांग्रेसलाई फाइदा हुँदैन । नेता भनेको एउटा मात्र हुन्छ जसले मुलुक र विश्वलाई सनसनीपूर्ण कार्यहरु गरेको हुन्छ ।
त्यसैगरी गिरिजाबाबु र प्रचण्ड विश्वभर सनसनीपूर्ण कार्य गरेर नेपालमा शान्ति स्थापना गरी एउटा युगकै अन्त गरी नयाँ युगको शुरुवात गर्ने नेताहरु हुन् । त्यसो हुनाले हामीले पनि अर्थात् जनआन्दोलन गर्नेले र जनयुद्धको नेत्तृत्व गर्नेले पनि यी दुवै युगान्तकारी नेताहरुको बाटो लिए मात्र हामी सफल हुनेछौ ।”

संग्रौला अगाडी भन्नुहुन्छ–“पूर्व एमाले नेत्तृत्व के.पी.शर्मा ओली लगायत नेताहरुले ऐतिहासिक जनयुद्धको उच्चारणसम्म पनि गरेको मैले सुनेको छैन । प्रचण्डको नेत्तृत्वमा जनयुद्ध शुरु भयो र गिरिजाबाबुको नेत्तृत्वमा शान्ति प्रक्रियाको विधिबाट जनआन्दोलनको अन्त्य भयो । त्यसो भएको हुनाले ऐतिहासिक जनयुद्ध नेपाली कांग्रेसको पनि पुख्र्यौली पूँजी भएको छ ।”

कमरेड प्रचण्डले शुरुको दशकदेखि नै कम्युनिस्टहरुको एकताको लागि निरन्तरतामा क्रमभंग गर्दै पार्टी र क्रान्तिलाई अघि बढाएका हुन् र उनले आफ्नो विचार अनुसार जनयुद्ध सञ्चालन गर्दै गर्दा २०५७ मा पार्टी र क्रान्तिको निर्देशक सिद्धान्त ‘प्रचण्डपथ’ भनेर पार्टीले पास गरेको कुरा हो । तत्कालीन रुपमा जुन ढंगले ‘प्रचण्डपथ’लाई प्रयोग गरिएको थियो अब त्यसको विकसित रुपमा जानुपर्ने बेला भएको छ ।

तर ‘प्रचण्डपथ’ स्थगित भयो, यो प्रचण्डपथको कुनै औचित्य छैन भनेर स्वयं कमरेड प्रचण्डले नै भनेपनि त्यो स्वीकार्य हुँदैन । किनभने अध्यक्ष प्रचण्डले भन्नु भएको छ –“प्रचण्डपथ अब नेपालको क्रान्तिको पूँजी भएको छ । जसरी लेनिनवाद लेनिनले घोषणा गरेको होइन, त्यसै गरी माओले माओवाद/विचार अनि प्रचण्डले प्रचण्डपथ/प्रचण्डका विचार श्रृंखला घोषणा गरेका होइनन्, त्यो त जनताको माझबाट उत्पादन भएका हो ।

नयाँ क्रान्तिकारी विश्व दृष्टिकोण अनुसार सिद्धान्तको पनि विकास हुन्छ । युद्धकलाको पनि विकास हुन्छ । वर्गीय दृष्टिकोणको पनि विकास हुन्छ । संस्कृति, सभ्यता र रणनीतिहरुको पनि विकास हुन्छ । त्यसैको आधारमा नेपालमा स्थापना भएको जुन संघीय व्यवस्था छ त्यो विश्वभरी नै भएका संघीय व्यवस्था र गणतन्त्रहरुभन्दा फरक छ ।

मौलिक रुपमै फरक र नौलो छ कि यसका अवयवहरु सबै राष्ट्रपतीय प्रणालीका छन् । यी सबै कुराहरु कमरेड प्रचण्डले ३० वर्ष लगाएर गरेको विश्लेषण र प्रयोगबाट उत्पादन भएको संश्लेषणले गर्दा नै भएको हो । कमरेड प्रचण्डको संश्लेषण भनेको नेपाली क्रान्तिको विकासमा युगान्तकारी छलांगको विकास नै हो ।

यो छलांग भनेको जनआन्दोलनको नेत्तृत्व गर्ने गिरिजाप्रसाद कोइराला र जनयुद्धको नेत्तृत्व गर्ने कमरेड प्रचण्डको संयुक्त नेत्तृत्व नै मान्नु पर्ने हुन्छ । यदि दुवैमा कुनै एकजना नभएको भए अथवा कमरेड प्रचण्डले शान्ति प्रक्रियामा जानुपर्छ भन्ने भावनालाई गिरिजाप्रसाद कोइरालाले अस्विकार गरि दिनु भएको भए नेपाली क्रान्तिमा जनवादी क्रान्तिले हार खाने थियो ।

त्यस्तो अवस्था परेको भए न प्रचण्ड रहन्थे, न गिरिजाप्रसाद कोइराला रहन्थे, न कांग्रेस रहन्थ्यो, न कम्युनिस्ट रहन्थ्यो । यो मुलुक अर्को तानाशाहको अन्तर्गत जकडिने हुन्थ्यो र क्रान्तिको लागि ५० वर्ष पर धकेलिने थियो । त्यसै कारणले त संग्रौला अगाडि भन्नु हुन्छ –“नेपालमा अब कांग्रेस र कम्युनिस्टले प्रतिपक्षमा बस्ने होइन, गिरिजाबाबु र प्रचण्ड जीको विरासतलाई अघि लिएर जाने हो । यो अहिलेको स्थिति भनेको युगान्तकारी नेताहरु गिरिजाबाबु र प्रचण्डजी कै हो र हामीपनि अब नेपाली मौलिकताको संघीय लोकतान्त्रिक गणतन्त्र एउटै आँगनमा बसेर आत्मसात् गरौ ।”

नेपालको वामपन्थी आन्दोलनसँगै नेपाली क्रान्तिको विकास सँगसँगै देशभक्त भावनाको पनि विकास भएको छ । नेकपामा पार्टीस्तर जे भए पनि सामाजिक भावना, देशभक्तिपूर्ण भावनाको विकास भएकै हुन्छ । उदाहरणको लागि कमरेड जगन्नाथ खतिवडा, कमरेड लेखनाथ न्यौपाने र कमरेड विराटहरुलाई लिन सकिन्छ ।

अध्यक्ष प्रचण्डले भन्नु भएको छ –“अब कम्युनिस्ट आन्दोलनलाई हामी मौलिक ढंगले अघि बढाउँछौ । यो अहिले पहाड खोपेर बाटो बनाउँदा ठूलो चुनौती बीचमा छ ।” अध्यक्ष प्रचण्डको हवाला दिँदै कमरेड मणि थापा भन्नु हुन्छ –“नेपालको कम्युनिस्ट आन्दोलन संसारको कुनैपनि किताबमा नभेटिन सक्छ किनभने हामी हाम्रो इतिहास लेख्ने क्रममा छौ । हाम्रो आन्दोलन नेपालको विशिष्ट परिवेश अनुसार मौलिक ढंगले अघि बढ्ने छ ।” कमरेड मणि थापा अगाडी भन्नुहुन्छ –“राष्ट्रिय एकताको भाव पैदा गर्दै पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउनु पर्छ ।” (नयाँ पत्रिका, ७ पौष २०७६)

कमरेड लीलामणी पोखरेल भन्नु हुन्छ –“विचारसँग राष्ट्रियता र देशको सार्वभौमिकता र देशभक्तिपूर्ण भावनाको सौदाबाज गर्न सकिदैन ।” नेपालको सुदूर पश्चिमको इतिहासमा राष्ट्रियता सम्बन्धी सवालमा अग्रिम रुपमा अघि बढेको क्षेत्र हो । यस्तो क्षेत्र जहाँ भीमदत्त पन्तले देशभक्तिपूर्ण भावनाले मुलुकलाई सामन्तवाद, साम्राज्यवादको हतकण्डाबाट जुन युद्ध लडे, त्यसलाई तत्कालीन सामन्तवादी शासकहरुले आफूले नसकेर भारतीय सेना बोलाएर हत्या गरेका थिए ।

कमरेड प्रचण्ड बंकरमा बसेर जनयुद्ध हाँकीरहेका विकसित क्षेत्र पनि पश्चिम नै हो । त्यहि क्षेत्रका नेकपाका कमाण्डर कमरेड भीम रावल भन्नु हुन्छ –“राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता भन्दा ठूलो विचार र संगठन हुँदैन ।” यो ढंगले पश्चिमका नेकपाका कमाण्डर कमरेड रावलले “कसैले ज्यानको धमास दिएपनि देशभक्त आत्मा नडराई आफ्नो कर्तव्यमा हिँड्छ” भन्नु भएको छ ।

यसै सन्दर्भमा कमरेड लेखनाथ न्यौपाने भन्नुहुन्छ–“वामपन्थीको देशभक्तिपूर्ण आन्दोलनसँग घनिष्ट सम्बन्ध हुन्छ भन्ने सत्य कोट्याईरहनुपर्ने विषय होइन । तर, यो विषयमा समेत नेपालका वाम विभाजित हुनु लज्जाको विषय हो । राष्ट्रियताको पक्षमा उभिने सबैभन्दा अग्रगामी व्यवस्था गणतन्त्र हो र आज नेपाल संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा छ ।

राष्ट्रियताबारे सबैभन्दा अग्रपंक्तिमा उभिने र लड्ने शक्ति कम्युनिस्ट हुन् र आज हाम्रो देशमा लोकप्रिय जनमतसहित कम्युनिस्ट नेत्तृत्वको सरकार छ । राष्ट्रियतासम्बन्धी जति पनि समस्या नेपालले भोग्दै आएको छ, ती सबै समस्याको सकारात्मक हल गर्ने उपयुक्त र अनुकूल समय आज हामीलाई प्राप्त छ । तर, विगतमा नेपाल पक्ष ठगिएका राष्ट्रियतासँग सम्बन्धित मुद्दाको हल गर्नेभन्दा थप जटिल र राष्ट्रियता कमजोर बनाउने गरी शक्ति राष्ट्रलाई भित्र्याउने प्रक्रियामा हामी जान्छौ भने न हामी कम्युनिस्ट रहन्छौ, न त हामी देशभक्तिपूर्ण आन्दोलनसँग सकारात्मक सम्बन्ध कायम गर्न लायक नै हुन्छौ ।” (नयाँ पत्रिका, बिहिबार १६ माघ, ०७६, पेज ७)

कमरेड प्रचण्डले क्रान्तिको दौरानमा देखा परेका समस्याहरु, विश्लेषणहरु र अन्तरविरोधहरुलाई कलात्मक तरिकाले व्यवस्थापन गरी क्रान्तिलाई अगाडि बढाउनु भयो । त्यसै उसमा अध्यक्ष कमरेड प्रचण्ड भन्नु हुन्छ –“एउटा व्यक्तिको जीवनमा यति धेरै राजनैतिक उतार चढाव र परिवर्तनको श्रृंखला कमैलाई मात्र भोग्ने र देख्ने अवसर मिल्छ ।”

त्यसो भएको हुनाले अध्यक्ष प्रचण्डले आफूलाई एक्लो बनाउने धोबिघाट भेलाका पार्टीभित्रका प्रतिक्रान्तिहरुसँग पैठोजोरी गर्दै, संघर्ष गर्दै प्रचण्डपथ अर्थात् प्रचण्डका विचार श्रृंखलाहरुलाई विकास गर्दै अघि बढाउनु भयो । एकपटक कमरेड प्रचण्डले भन्नु भएको थियो –“संघर्षमा एकता नदेख्ने र एकता भएपछि संघर्ष नदेख्ने द्वन्दवादी हुनै सक्दैन ।”

यसर्थ विचार भनेको प्रयोग भएर त्यसबाट निस्कने संश्लेषणको रुप नै हो । त्यसले गर्दा खेरि लेनिनको बेलाको लेनिनवाद र माओत्से तुङ्गको बेलाको माओवाद अथवा विचार र हिजो प्रचण्डको बेलाको प्रचण्डपथ अथवा प्रचण्डका विचार श्रृंखलाहरु पनि मालेमावाद/विचार कै रुप भएको हुनाले यो सिद्धान्तको विकास हुन्छ, अघि बढाउन सकिन्छ ।

कम्युनिस्ट आन्दोलनलाई एकताको पृष्ठभूमिबाट अघि बढाउन कमरेड प्रचण्डले निरन्तर कोशिस गरि रहनु भएको छ । २१ औं शताब्दीको नयाँ सन्दर्भमा र नेपालमा स्थापित भएको बिल्कुलै नौलो रुपको क्रान्ति तथा बाँकी रहेका जनवादी क्रान्तिका कार्यभारहरुलाई पूरा गर्दै वैज्ञानिक समाजवादी प्रक्रियाबाट एकीकृत कम्युनिस्ट आन्दोलन अघि बढाउन निरन्तर रुपमा प्रयत्नशील रहेका छन् ।

यसले गर्दा हामी यो निष्कर्षमा पुग्छौ कि जनयुद्धको परिणामलाई स्वीकार नगर्नेहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार नगर्ने हुन सक्छन् भन्ने कुरा नेपाली कांग्रेसका नेताहरुबाट पनि प्रष्ट भयो । त्यसकारणले हामी भन्छौ जनयुद्ध र जनआन्दोलन फ्युजन गरी प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन पद्धति पहिलो आवश्यकता हो ।


भर्खर

0