तपस्वीको कुकुर, इन्द्रको स्वर्ग र हाम्रा नेता « Khabarhub
Logo
३ माघ २०७७, शनिबार

तपस्वीको कुकुर, इन्द्रको स्वर्ग र हाम्रा नेता



धेरै पहिलेको कुरा हो । एउटा बडेमानको ऊँट थियो, उसले ठूलो तप गर्‍यो । ब्रह्माजी खुशी भए उसको तपबाट र वर माग्न भने । ऊँट अल्छी भएकाले उसले बसीबसी खान पाऊँ भन्यो । लामो घाँटी भयो भने बसेर, सुतेर घाँस खान पाइन्छ भन्ने सोच्यो ! साँच्चै उसको इच्छा पूरा हुने गरी ब्रह्माले वरदान दिए ।

ऊँटको घाँटी एक योजन लामो भयो अर्थात् चार सय कोसको । लामो घाँटी पाएका कारण चार सय कोस वरिपरिका खानेकुरा खान उसलाई सहज भयो । रूखका डाली नुहाउँदै इच्छाअनुसार खान थाल्यो । बसीबसी खाने बानी भयो, परिश्रम गर्नु परेन । उसको जिउ पनि मोटाउँदै गयो, देख्दै भद्दा भयो ।

अरूले नगरेको काम पो गर्नु ! अरूले गरेकै गरेर त परिवर्तनकारी कसरी हुने ! चीनमा माओत्सेतुङले गरेकै काम गरेका भए देङ सियाओ पिङको नाम कसरी आउँथ्यो र ! देङको शासनकालपछि नै चीनले अमेरिकासँग टक्कर गर्न सकेको हो अर्थबजारमा ।

एक दिन त्यो ऊँट सुतिरहेको बाटो हुँदै एउटा स्याल आयो । ऊँटको मोटो घाँटी र डम्म परेको शरीर देखेर स्यालको जिब्रो रसायो । सुतेको ऊँटको घाँटीमाथि चढेर ताजा रगत चुस्न थाल्यो । जिउभन्दा धेरै ठूलो घाँटी ऊँटले यताउता चलाउनै सकेन । रक्तदान जीवनदान ! विचरो ऊँटको रगत स्यालले मनग्गे खाइहाल्यो । ऊँटले केही गर्न सकेन ।

देशका नेता र नेतृत्व अल्छी भएपछि त्यही ऊँटको हालत हुन्छ । सडक जामको डरले, धेरै काम एकैचोटी होस् भनेर होला हाम्रो नेतृत्व धेरैजसो बालुवाटार केन्द्रित हुन थालेको छ । हुन पनि धेरै तामझामका साथ निस्कनु पर्ने ! त्यसैले के सरकार, के पार्टी, के बैठक, सबैलाई हाम्रा नेताजी बालुवाटारमै बोलाउँछन् ।

अरूले नगरेको काम पो गर्नु ! अरूले गरेकै गरेर त परिवर्तनकारी कसरी हुने ! चीनमा माओत्सेतुङले गरेकै काम गरेका भए देङ सियाओ पिङको नाम कसरी आउँथ्यो र ! देङको शासनकालपछि नै चीनले अमेरिकासँग टक्कर गर्न सकेको हो अर्थबजारमा ।

हामी चाहिँ उही पुरानै सोचमा छौँ । भएभरको सरकारी संयन्त्र नभत्काई कहाँ हुन्छ ! भत्काउँदै अनि फेरि बनाउँदै, कस्तो मज्जा ! नत्र आफ्ना मान्छेलाई कसरी नियुक्ति दिनु ! कसरी विदेशीसँग मागेर यहाँ खोलाबाढी बगाउनु ! अनि १२ वर्षको द्वन्द्वमा भत्केटुटेका मन र भवनहरू कसरी बिर्साउनु !

दौरासुरुवाल लगाउने र टुप्पी देखाउने जमाना हो र अहिले ! तारे होटलमा सुटटाई ढल्केन भने पदको के गरिमा भयो ! उहिल्या कुरा खुइले ! साडी, चोली, टोपी । यो त पुरानो मान्यता भइहाल्यो । विदेशी स्टाइल पो चाहिन्छ ! सर्वहारा भनेको देखाउनलाई पो हो त, असली कम्युनिज्म कुनै देशमा छैन भने नेपालमा कसरी सम्भव छ र ! नेताजीहरू यस्तै कुरा गर्छन् । बालुवाटारको पछिल्लो तरङ्गसँग सबै परिचित छन् ।

नेता र नेतृत्वले शक्तिशालीसामु जोरी खोज्नु हुँदैन । उही पुरानो सोच राखेर पनि हुँदैन । वर्षाको भेलमा ठूला, अग्ला रूखहरू लडेर बगेर जान्छन् । नलच्कने रूखहरूको समस्या छ । भेल आउँछ, उडाएर लैजान्छ । लच्कने निगालो हेरौँ न ! हावा आए पनि हल्लिदिने मात्रै, भेल आए पनि मुन्टोले भेललाई ढोगी दिने मात्रै ! कहीँ पछारिनुको डर छैन । निगालो नरम छ, कमलो छ, पैरोमा परे पनि अलिकति तल पुग्छ, फेरि जस्तातस्तै । ठूलो रूख झैँ हेलिएर पल्लो सागरसम्म पुग्नै नपर्ने !

अहिले सम्पत्ति र नामको म्याराथन चलेको छ । स्कुल, कलेज, अस्पताल, पाटीपौवा, धारा, बाटाघाटामा आफू र आफन्तका नाम जोड्न होडबाजी चलेको छ । बुद्ध दरबार छाडेर महात्मा भए । मोतीराम भट्ट जम्मा ३० वर्ष बाँचे, नाम अमर छ । जगद्गुरु शंकराचार्य केवल ३२ वर्ष बाँचे, आज संसारभरि उनको नाम छ । रामकृष्ण परमहंस र विवेकानन्दको नाम अमर छ । सिङ्गापुरका प्रधानमन्त्री लि कुआनलाई हेरे पुग्छ । हाम्रा नेता र नेतृत्वमा किन यस्तो खिचातानी !

हाम्रा नेता र हाम्रो नेतृत्व पनि यस्तै छ । सुगौली सन्धिमा लचकदार, सन् १९५० को सन्धिमा नरम, त्यत्रो नाकाबन्दीमा सहनशील, विदेशीले मौलिक धर्म उडाउँदा चुप ! मौलिक संस्कृति र भाषामा आगो लगाउँदा ताली ! धार्मिक पर्वमा राजनीति मिसिँदा गौरव ! निहुरमुण्टी न नै हुनुपर्ने, कति नरम ! दिल्ली दौड प्रतियोगिताको पुरानै चलन मान्ने ! रअसँग गोप्य वार्ता ! सहनु बुद्धिमानी हो ।

एउटा कथा यस्तो छ

एक तपस्वी साधक थिए । उनको आश्रममा आउनेलाई जे चाहियो त्यही दिन सक्थे । उनीकहाँ जानु वरदान सावित हुन्थ्यो । ती साधकले पालेको कुकुरले धेरैको आवतजावत भएको थाहा पाएछ । हाम्रा मालिक त साँच्चै तपस्वी, मनको कुरो ठ्याक्कै बुझ्ने ! जे माग्यो सो पूरा गरिदिने ! मलाई पनि त डरबाट मुक्त गरिदिए हुन्थ्यो नि !

कुकुर मनमनै सोच्न थालेछ ।  भोगमा रोगको डर छ । कुलको इज्जतबाट खसिएला भन्ने डर छ । कुलीनलाई पनि डरै डर छ । धन कमायो, एकातिर राज्यको डर अर्कोतिर चोरी र आगलागीको । इज्जत कमायो, गुम्ला भन्ने डर । बलियो भयो, शत्रुको डर । रूप राम्रो भयो, बुढ्याइँले छाला चाउरी पार्ने डर छ । धुरन्धर विद्वान भयो, मुर्खको डर । नायक भयो खलनायकको डर ! कति जीवनको तपले मान्छे भई जन्म्यो मरिने डर छ । झन् ठूलो त हुनै नहुने भयो, धरहरा अग्लिएकै कारणले ढलेको त हो नि !

कुकुरले सोच्दै गयो यी कुराहरू । आफ्नो कुरा सुनाउँदा मालिक रिसाउने पो हुन् कि ! उसलाई डर लाग्यो । फेरि उसले सोच्यो, ठूलो बन्ने आशीर्वाद त पाइएला तर तँ यहाँ बस्न पर्दैन, जा स्वर्गतिर भनिदिए भने के गर्ने हो ! स्वर्गमा आफ्नो खानपिन मिल्दैन ।

विद्यार्थीमा अनुशासन छैन । बिरामीको उपचार गर्ने चिकित्सकको भरोसा छैन । पढाउने शिक्षकमा विश्वास छैन । सेवा गर्ने राष्ट्रसेवकमाथि भर छैन । व्यापारीको त कामै पैसा कमाउने हो । कम्युनिष्टको भर्‍याङ चढेर माथि गएकाहरूको भाषण ब्रह्मचारी जगद्गुरु, वेदान्तीहरूको प्रवचनभन्दा कम छैन । मैले आफ्नो कुरा राख्दा कतै मालिकले मलाई गलहत्याउने पो हुन् कि !

कुकुर भावुक चिन्तनमा थियो । उसले एक दिन मुख फोर्‍यो आफ्नो मालिकसँग, ‘हजुर मलाई डर छ चितुवाबाट ! कृपया चितुवा नै बनाइदिनुस् !’ आफ्नै कुकुर त हो । तपस्वीले फू मन्तर गरे । कुकुर चितुवामा परिणत भयो । अब बाघको डर हुने रहेछ । उसले बिन्ती गर्‍यो मालिकलाई । तपस्वीले ‘तँ अब बाघ भइस्, डराउनु पर्दैन’ भनिदिए ।

बाघले फेरि सोच्यो, हात्तीको डर त कहाँ कम हुन्छ र ! बाघको मलीन अनुहार देखेर तपस्वीले कुरा बुझे, बाघलाई तुरुन्तै हात्तीमा परिणत गरिदिए । फेरि हेरे, हात्तीको मुख अँध्यारै छ । तपस्वीले सोचे, यसलाई पक्कै सिंहको डर भयो, अब सिंह नै बनाइदिन्छु । हात्ती सिंह भयो ।

आफ्नो कुटीको सुरक्षामा राखिएको कुकुर त हेर्दाहेर्दै जगल्टे सिंह पो बनिसक्यो ! सिंहको मुख अँध्याराको अँध्यारै देखियो । तपस्वीले फेरि वरदान दिए— तँलाई तेरो शत्रु हुँडारको डर छ, अब तँ हुँडार नै भएस् । हुँडारले आफ्नो खाना खोज्यो । अब उसको खाना आफ्नै मालिक तपस्वी नै थिए, अरू केही थिएन त्यहाँ । तपस्वीलाई हुँडार आफूमाथि आइलाग्न आँटेको संकेत भयो । उनले तुरुन्तै फू मन्तर गरे— तँ कृतघ्न भइस्, अब तँ फेरि कुकुर नै भएस् ।

हुँडार कुकुर नै भयो ।

यो कथा हाम्रा नेताहरूलाई पनि थाहा छ । हामी यति ठूला भयौँ, कतिको वरदान र आशीर्वाद पाएर । झुक्न बिर्सियो भने फेरि हालत पुरानै हुने पो हो कि ! लज्जा हुन्छ के गर्ने !

मान्छेको, समूहको, राज्यको सम्पत्ति भनेको शील र स्वभाव नै हो । आफ्नो छुट्टै पहिचान पनि यसैमा निहित हुन्छ । शील भए स्वर्ग जित्न सजिलो हुन्छ ।

उहिलेको कुरा हो । दानव कुलमा जन्मे पनि गुरु नारदले प्रह्लादलाई माता कयाधुका गर्भमै अनुशासन र शीलस्वभाव सिकाएका थिए । आफ्नो आचरणकै भरमा प्रह्लादले स्वर्गको इन्द्रपुरी हात पारे । अहिलेजस्तो हजारौँ मान्छे मारेर होइन । महात्मा गान्धीले भारत छोडो आन्दोलनमा पनि अहिंसाकै बाटो लिएका थिए । पाण्डवहरूले पनि आखिर सत्ता पाए, भला धेरै वर्ष वनवासी हुनुपर्‍यो ।

स्वर्ग गुम्यो इन्द्रको । उनी गए गुरु वृहस्पतिसामु र भने, ‘स्वर्ग फिर्ता गर्नुपर्‍यो, दानवराज वलीका छोरा प्रह्लादले सर्वनाश गर्‍यो, स्वर्ग छिनेर लियो ।’

वृहस्पति एक्लैको प्रयासले इन्द्रको स्वर्ग फिर्ता हुने थिएन । अर्का गुरु शुक्राचार्यलाई भन्न अनुरोध गरे इन्द्रले । इन्द्र हस्याङफस्याङ गर्दै शुक्राचार्यकहाँ पुगे । आखिर उनका आफ्ना गुरु त उनी थिएनन् तर पनि अर्थ बताए । स्वर्ग लिने इच्छा भए उनै प्रह्लाद कहाँ जानु भने शुक्राचार्यले । ब्राह्मणको रूप लिएर इन्द्र प्रह्लादकहाँ पुगे । उनले प्रह्लादलाई भने, ‘होइन, यत्रो स्वर्ग तपाईंलाई कसरी मिल्यो हँ !’

प्रह्लादले जवाफ दिए, ‘हेर्नोस् बाहुनबाजे ! म कस्तो छु भन्ने तपाईं ख्याल गर्नुस्, गुरुको वचन भुइँमा पर्नै दिन्नँ । यो धनदौलत, स्वर्ग सबै मेरा गुरु शुक्राचार्यको कृपा हो ।’

ब्राह्मणरूपी इन्द्रले प्रह्लादको ठूलो गुणगान गरे । प्रह्लाद खुशी भए । अनि भने, ‘केही कुरा माग्नुस् बाजे ।’ इन्द्रलाई मौका मिल्यो । उनले मागे, ‘तपाईंको शील मलाई दिनूस् । माग भनिसकेका थिए । प्रह्लादले भने, ‘हुन्छ, लैजानुस् ।’ प्रह्लादमा भएको शील फुत्तै उफ्रेर इन्द्रसामु पुग्यो । प्रह्लादसँग शील बाँकी रहेन ।

शीलले भन्यो, ‘राजन ! तपाईंका आदेशले अब म इन्द्रसँग बस्छु । म त धर्मको पछि लाग्ने हो, तपाईंले धर्म छाडेर मलाई त्याग्नुभयो ।’

एकैछिनमा प्रह्लादको शरीरबाट तेज प्रकट भयो । तेजस्वरूप मूर्ति प्रकट भएर भन्न लाग्यो, ‘राजन्, सत्य भनेको म नै हुँ, तपाईंसँग बसेको थिएँ, मेरो धर्म शीलकै पछि लाग्ने हो, अब उतै जान्छु इन्द्रसँग !’

एकै छिनपछि प्रह्लादको शरीरबाट अर्को वस्तु बाहिर आएर भन्यो, ‘महाराज ! सदाचार भनेको मै हुँ, तपाईसँग बसेको थिएँ । तपाईंले धर्म छोड्नुभयो । शील र धर्मसँग म पनि पछि लाग्नु पर्छ ।’

सदाचार निस्किनासाथ प्रह्लादको शरीरबाट एउटा शक्ति उत्पन्न भयो । देवीको रूप थियो, धनकी प्रतीक लक्ष्मी, हेर्दैमा राम्री । यस्तो बत्तीसै लक्षणकी देवीलाई देखेर प्रह्लादले सोधे, ‘देवी तिमी को हौ ?’ उनले भनिन्, ‘लक्ष्मी भनेकी मै हुँ । जहाँ धर्म, शील, नैतिकता, इमानदारी, सच्चरित्र र सदाचार हुन्छ म त्यहीँ बस्ने गर्छु ।’ उनी इन्द्रकै पछि लागिन् ।

अब प्रह्लादलाई होस आयो र सोधे, ‘यी ब्राह्मण को हुन् नि ?’ लक्ष्मीले हाँस्दै भनिन्, ‘यिनी कोही होइनन्, उनै स्वर्गका राजा इन्द्र हुन् प्रह्लाद ! तिम्रो सर्वस्व यिनले लगिसके, तिमीले पत्तै पाएनौ । तिमीमा रहेका धर्म, सत्य, सदाचार, लक्ष्मी सबै भागिसके ।’

यसरी इन्द्र गुमेको श्रीसम्पत्ति फर्काउन सफल भएथे सत्ययुगमा । शील र सदाचारविना नै द्वापरयुगमा दुर्योधनले स्वर्ग र राज्य पाउन खोजे । अन्ततः उनी नराम्रोसँग पछारिनु पर्‍यो । त्यति मात्रै होइन धन मोहले दुर्योधनको वंश नै खत्तम भयो । सय भाइ कौरवको राज्य नष्ट भयो । भाँडभैलोमा परेर यदुवंशको विनाश भयो ।

हाम्रा नेता र नेतृत्वले बुझ्न जरुरी छ धर्म, मौलिक शील, स्वभाव, नैतिकता, इमानदारी, आचरण, त्याग, निष्ठा, तप छोड्दा भविष्यमा के होला भनेर ! पद र प्रतिष्ठाको उन्मादले स्थिरता दिन सक्दैन । जङ्गबहादुर, श्री ३ हरूले सिंहदरबारका इँटाहरूमा आफ्ना नाम लेखाएका थिए । राजा, बादशाहहरू ढलेको देखिएकै हो ।

अहिले सम्पत्ति र नामको म्याराथन चलेको छ । स्कुल, कलेज, अस्पताल, पाटीपौवा, धारा, बाटाघाटामा आफू र आफन्तका नाम जोड्न होडबाजी चलेको छ । बुद्ध दरबार छाडेर महात्मा भए । मोतीराम भट्ट जम्मा ३० वर्ष बाँचे, नाम अमर छ । जगद्गुरु शंकराचार्य केवल ३२ वर्ष बाँचे, आज संसारभरि उनको नाम छ । रामकृष्ण परमहंस र विवेकानन्दको नाम अमर छ । सिङ्गापुरका प्रधानमन्त्री लि कुआनलाई हेरे पुग्छ । हाम्रा नेता र नेतृत्वमा किन यस्तो खिचातानी !


भर्खर

0