एमभी दुगड समूहको मनपरी : सोलुखुम्बुबाट ४७ जना कोरोना संक्रमित मजदुर बर्दिया फर्काइए | Khabarhub Khabarhub

एमभी दुगड समूहको मनपरी : सोलुखुम्बुबाट ४७ जना कोरोना संक्रमित मजदुर बर्दिया फर्काइए



काठमाडौँ– नेपाल यतिबेला तीव्ररूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा छ । सरकारले संक्रमण नियन्त्रण र जोखिम न्युनीकरणका लागि मापदण्डहरू तोकेको छ । मापदण्ड नमान्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

रामेछाप र सोलुखुम्बुको सीमानास्थित लिखुखोलामा निर्माणाधीन एमभी दुगड समूहको जलविद्युत आयोजनाले भने मापदण्ड बेवास्ता गर्दै ४७ जना कामदारलाई टिपर र सार्वजनिक बसमा राखेर सोलुखुम्बुबाट बर्दिया पुर्‍याएको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित जलविद्युत आयोजनाको क्वारेन्टिनमा रहेका बर्दियाका ४७ जना कामदार कम्पनीमै रहेको समयमा कोरोना संक्रमण भएपछि टिपर र बसमा राखेर बर्दियाको मधुवन नगरपालिकामा पुर्‍याएका हुन् ।

मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीका अनुसार हाइड्रोपावर कम्पनीले गैरकानूनीरूपमा संक्रमितहरूलाई सोलुखुम्बुबाट गत २० गते बर्दिया पुर्‍याएको हो । मेयर क्षेत्रीले भने, ‘अहिले नेपालको कानून र संघीय सरकारको निर्देशनअनुसार जहाँ संक्रमण देखियो संक्रमितहरूलाई त्यहीँ आइसोलेशनको व्यवस्था गर्नुपर्छ । नियम तोडेर सोलुखुम्बु प्रशासन र जलविद्युत आयोजनाले संक्रमितहरूलाई यात्रा गराए ।’

क्षेत्रीका अनुसार सोलुखुम्बुस्थित जलविद्युत आयोजनाबाट ४७ जना कोरोना संक्रमित मजदुरहरू ल्याइँदैछन् भन्ने सूचना पाउनासाथ उनले बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए । उनीहरूलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाए ।

उनका अनुसार बर्दियामा गरिएको पीसीआर परीक्षणमा पनि सबैजनामा रिपोर्ट पोजेटिभ आएको छ । मेयर क्षेत्रीले संक्रमितको ओसारपसारमा संलग्नलाई कारबाहीको माग गरेका छन् । मधुवन नगरपालिकाले आइतबार बिहान सर्वदलीय बैठक बोलाएर सोलुखुम्बु प्रशासनको विरोध गरेको छ ।

जलविद्युत आयोजनाको क्वारेन्टिन रहेको स्थान लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले आफूलाई थाहै नदिई जलविद्युत कम्पनीले संक्रमित लिएर गएको बताए । बस्नेतले भने, ‘गाउँपालिकाले जारी गरेको परिपत्र समेत अटेर गर्दै कम्पनीले संक्रमितहरूलाई लिएर गएको जानकारी पाएका छौँ । कार्यपालिकाको बैठक पनि डाकिएको छ । कम्पनीका मजदुर सम्बन्धी ठेकेदारलाई पनि डाकिएको छ, कारबाही प्रक्रिया अघि बढ्छ ।’

संक्रमित कामदार भन्छन् : दुई दिनमा बर्दिया पुर्‍याए

बर्दियाको आइसोलेशनबाट खबरहबसँग सम्पर्कमा आएका एक कामदारले कोरोना पोजेटिभ भन्ने थाहा पाउनेबित्तिकै टिपर र सार्वजनिक बसमा राखेर बर्दिया फर्काएको बताए ।

ती कामदारले भने, ‘हामीलाई कम्पनीले कामका लागि भन्दै त्यहाँ लगेर पहिले नै संक्रमित रहेको क्वारेन्टिनमा राखेर १४ गते परीक्षण गरायो । तीन दिनपछि रिपोर्ट आउँदा ६७ जनामध्ये ४७ जनाको कोरोना पोजेटिभ देखियो भन्ने खबर आयो । फेरि हामीलाई एक्कासी असोज २० गते एउटा टिपर र एउटा गाडीमा राखेर फर्काइयो ।’

उनका अनुसार जलविद्युत आयोजना रहेको स्थान सोलुखुम्बुको लिखुपिके गाउँपालिकाबाट एउटा टिपर र एउटा बसमा राखेर सुरुमा रामेछापको गोकलुगङ्गा गाउँपालिकास्थित शिवालयसम्म पुर्‍याइयो । त्यहाँबाट दुई वटा बसमा राखेर बर्दिया पुर्‍याइएको हो ।

जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत दीपक पौडेल आफूहरूले नभई पेटी ठेकेदारले मजदुरहरूलाई बर्दिया लगेको बताए ।

उनका अनुसार पेटी ठेकेदार जनक निर्माण सेवाले बर्दियाबाट कामदार ल्याएको र उसैले फर्काएको हो । जो भए पनि पिसिआर ल्याबमा परीक्षण गरेर मात्रै काममा लाग्नुपर्ने कम्पनीको नियम छ । क्वारेन्टिनमा पनि राख्ने गरिएको छ ।

पौडेलले भने, ‘अन्तर जिल्ला यातायात सुरु भएपछि बर्दियाबाट आएका रहेछन् । परीक्षण गर्दा ४७ जनालाई कोरोना देखियो । हामीले फिर्ता पठाएको होइन ।’

पौडेलले यहीँ आइसोलेशनमा बस्नुपर्छ भन्दा नमानेर हामी आफ्नै घर गएर बस्छौँ भन्दै संक्रमित मजदुरहरू राति नै हिँडेको दाबी गरे । उनले भने ‘म लाप्चे भन्ने स्थानमा पुगेको थिएँ, २ वटा गाडी खोजिदिन भनेर उनीहरूले आग्रह गरेपछि हामीले खोजिदिएको हो । हामी काम गर्न आएको हो, मरे पनि आफ्नै गाउँमा जान्छौँ भनेपछि कसको के लाग्छ र ?’

जलविद्युत आयोजनाका पदाधिकारीले यस्तो जवाफ दिए पनि संक्रमित मजदुरहरूले भने आफूहरूलाई जबरजस्ती फर्काएको बताए ।

विज्ञ भन्छन् : सरासर गलत भयो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण जहाँ देखिन्छ, बिरामीलाई त्यहीँको आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने बताए । संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँ लैजाँदा संक्रमणको जोखिम बढ्ने र लामो यात्रा गर्दा संक्रमितको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले जहाँ छ त्यहीँ बस्नुपर्ने उनले बताए ।

डा. पाण्डेले भने, ‘कुनै व्यक्तिलाई संक्रमण पुष्टि भए जहाँ छ त्यही जिल्लाको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था छ । जिल्लामा उपचार सम्भव नभएमात्रै संक्रमितलाई अन्त लैजानुपर्छ । संक्रमितको इच्छाविपरीत जबरजस्ती लैजान पाइँदैन ।’

लक्षण देखिएका र लक्षण नभएका संक्रमितलाई एउटै सवारीसाधनमा यात्रा गराउन नहुने स्वास्थ्य मन्त्रालयको मापदण्ड छ ।

यस्तो छ कानून

कोरोना भाइसरको महामारीसँगै सरकारले संक्रामक रोग ऐन,२०२० सक्रिय बनाएको छ । उक्त ऐनमा मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद, ६ सय रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

जलविद्युत आयोजना दुगडको

रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सीमानामा मोतीलाल दुगड नेतृत्वको एमभी दुगड समूहले तीनवटा हाइड्रोपावर निर्माण गरिरहेको छ ।

अहिले दुगड समूहले सहायक कम्पनीमार्फत लिखु खोलामा १५७ मेगावाटको ३ वटा आयोजनाको काम भइरहेको छ । सो समूहले ७७ मेगावाटको लिखु–१ आयोजना पान हिमालय इनर्जी प्रालि, ५१ मेगावाटको लिखु–२ आयोजना ग्लोबल हाइड्रोपावर एसोसिएट्स प्रालि र २९ मेगावाट क्षमताको लिखु ए आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालिमार्फत निर्माण भइरहेको छ ।

यति ठूलो कम्पनीले मापदण्ड मिचेर कोरोना संक्रमित मजदुरलाई जबरजस्ती फर्काएकोमा चौतर्फी आलोचना भइरहेको छ ।

तस्वीर : राजनकुमार खत्रीको फेसबुकबाट

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : २९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ