यी छोराछोरीलाई के भनेर सम्झाऊँ ! « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

यी छोराछोरीलाई के भनेर सम्झाऊँ !



अचेल मलाई छोराछोरीका प्रश्नसँग उति डर छैन । म कस्तो उत्तर दिन्छु र जवाफ दिन्छु र त्यसले दुरगामीरूपमा कस्तो असर पार्ला भन्ने कुराले चाहिँ पिरलो पार्छ । धर्म संस्कृति जोगाउन जस्तोसुकै जोखिम उठाउन सडकमा उत्रिने तपाईंहरूको पुस्ता कोरानाका नाममा भएका अत्याचार र ज्यादतिविरुद्ध किन मौन भनेर नयाँ पुस्ताले सोध्ने प्रश्नमा मैले के उत्तर दिने ?

मलाई अचेल यो र यस्तै केही प्रश्नको के जवाफ दिने भन्ने पीर छ । मेरो जवाफले पर्न सक्ने प्रभावको डर छ ।
प्रसङ्ग केही दिन अघिको हो । एउटा टेलिभिजनमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण हुने जानकारी आयो । कोरोना भाइरसको त्रासदिका वेला सरकार प्रमुखको अन्तर्वार्ता ! मन उत्साहित भयो ।

अन्तर्वार्ता हेर्न—सुन्न बसेँँ । अन्तर्वार्ता हेर्दै जाँदा मन त्यसै भक्कानिएजस्तो भयो । आफूलाई सह्माले । कोरोना भाइरस संक्रमण अर्थात कोभिड—१९ का सन्दर्भमा सोधिएका प्रश्नमा बेसार महिमा त हुने नै भयो । यो अन्तर्वार्तामा बेसारको प्रयोगले अरूको आँखा नलाग्नेसम्मको कुराले मस्तिष्क रन्थनियो ।

अन्तर्वार्ता प्रसारण भएको झण्डै १२ घण्टापछि अर्थात भोलिपल्ट बिहान मेरी किशोरीले छोरीले आफ्नै शैलीमा सोधिन् ‘प्रधानमन्त्रीको अन्तर्वार्ता कस्तो थियो त मामु ?, गभ्मेन्टले के गर्दै रहेछ कोरोना कन्ट्रोलका लागि ?’

मेरी छोरी पत्रकारकी छोरी, आमाबुबा दुवै पत्रकार । यसको केही प्रभाव पर्ने नै भयो । किशोरी छोरीको यो प्रश्नको सपाट उत्तर मसँग भएन । मैले प्रश्न सामान्य हो जस्तो गर्दै भनेँ— ठिकै थियो ।

छोरीले एउटा मात्रै प्रश्नको अति छोटो जवाफ पाइन् । त्यो पनि उनले अपेक्षा गरेअनुसार थिएन, बेवास्तापूर्ण थियो । ‘कन्ट्रोलका लागि के गर्दै रहेछ’ भन्ने प्रश्नमा त म प्रवेश नै गरिनँ ।

छोरीले सोधेको प्रश्नको जवाफ पूरै अन्तर्वार्तामा हेर्दा—सुन्दा म आफैँले पनि कतै पाएकी थिइनँ । अन्तर्वार्ताको इतिवृतान्त सुनाएर उसको कमलो मस्तिष्कमा अनावश्यक बोझ थोपर्ने मेरो चाहना भएन ।

छाराछोरीको यो किशोरावस्थामा नेता र शासकहरूको कुरा गरेर नकारात्मक भाव भर्नु हुँदैन भन्ने मेरो मान्यता छ । उमेरअनुसार सिक्दै र बुझ्दै जाँदा कति जिज्ञासाको जवाफ स्वतः पनि पाउँछन् । यो पनि सिकाइको एउटा प्रक्रिया हो । मैले प्रधानमन्त्रीको अन्तर्वार्ता र कोभिड—१९ नियन्त्रणमा सरकारले गरेका काममा बारेमा केही नभन्ने नै विचार गरेँ ।

औपचारिक समाचार लेख्नुमात्रै पत्रकारिता होइन । मैले लकडाउनको समयमा समाचारभित्रका समाचार, अनुभव र भोगाइ बुझ्न २० देशमा बसेका २० जना नेपालीसँग कुरा गरेकी थिएँ ।

देशको अवस्थाबारे थोरै उत्सुक र धेरै खिन्न छोरीले लकडाउनका बेला प्रायःजसो सोध्ने प्रश्न एकै प्रकृतिका हुन्छन्— टेम्पो र ट्याक्सी चलाउनले कसरी घर चलाउँछन् ? दैनिक कमाएर खाने भरिया र सडकमा मकै पोलेर बेच्नेहरूले कसरी गुजारा गर्दैछन् ?

एनआरएनएका पूर्वउपाध्यक्ष कुल आचार्य बेलायतमा ‘चेन’ रेष्टुराँ चलाउँछन् । बेलायत सरकारले आफैँ ग्यारेन्टी बसेर व्यवसायीलाई ऋण झिकिदिएको उनले सुनाए । व्यवसाय उकास्न र आफ्ना नागरिकलाई घरबाट बाहिर निस्कन प्रेरित गर्न साताको तीन दिन रेष्टुँरामा पचास प्रतिशत छुटको व्यवस्था सरकारले नै गरिदियो ।

लकडाउनका बेला बेलायत सरकारले यसरी आफ्ना नागरिक र व्यवसायीलाई गरेको सहयोग र सहुलियतबारे छोरीलाई सुनाएकी थिएँ । उता अमेरिकी सरकारले कानुनीरूपमा बस्दै आएका विदेशीलाई जीवन गुजाराका लागि बैंकमै रकम जम्मा गरिदिएको रहेछ ।

अमेरिकाको कोलोराडो बस्ने एनआरएनए, अमेरिकाका सल्लाहकार जगन्नाथ गौतमले कोभिड—१९ का सन्दर्भमा त्यहाँको सरकारले गरेको कामबारे बताएका थिए । राम्रा कुरा सुनाउन उत्सुक मैले सन्दर्भ पारेर छोरीलाई सुनाएकी थिएँ । यो सुनेर छोरीले नेपाल सरकार र अमेरिकी सरकारको तुलना गरिन् र नेपालबारे उदासीपूर्ण निष्कर्ष सुनाइन् ।

देशको अवस्थाबारे थोरै उत्सुक र धेरै खिन्न छोरीले लकडाउनका बेला प्रायःजसो सोध्ने प्रश्न एकै प्रकृतिका हुन्छन्— टेम्पो र ट्याक्सी चलाउनले कसरी घर चलाउँछन् ? दैनिक कमाएर खाने भरिया र सडकमा मकै पोलेर बेच्नेहरूले कसरी गुजारा गर्दैछन् ?

छोरीको साथी सर्कलमा पनि कुरा हुन्छ रे, साथीहरूले विदेशको कुरा गरेर निकै ‘एप्रिसिएट’ गर्छन् रे ! अनि, हाम्रो देशको सरकारले केही नगरेकोमा ‘क्या ! बोर’ भन्दै गफ हुन्छ रे !

केही वर्षअघि सपरिवार बेलायत पुगेका एक जना आफन्तले कोभिड—१९ का सन्दर्भमा निकै विरक्त भएर भाइबर कल गरे । त्यो दिन संघीय राजधानी काठमाडौँको वानेश्वरमा समाजमा आफूलाई जान्नेसुन्ने भन्नेहरूले छिमेको घरमा क्वारेन्टिनमा बसेका चिकित्साकर्मीविरुद्ध नाराबजी गरेका थिए ।

उनी त्यो नाराबाजीले निराश थिए । त्यस्तो घटनाले आफ्नै देशमा काम गर्नुपर्छ भनेर लागेको उच्चस्तरको जनशक्तिलाई निराश बनाउँछ र पलायन बढ्छ भन्ने उनको चिन्ता थियो । उनको बोलीमा नेपाल सरकारको निरीहताप्रति निराशा थियो । जननिर्वाचित सरकार दुःखको सहारा बन्न नसकेकोमा उनी चिन्तित सुनिन्थे ।

सात समुद्र पारीका यी देश आर्थि रूपले सम्पन्न छन् । नागरिकप्रति राज्य जिम्मेवार छ ।

छिमेकी मुलुक भारतकै कुरा गरौँ, त्यहाँको सरकारले पनि कोरोना परीक्षण र राहतमा कम काम गरेको छैन । नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले झण्डै एक महिनाअघि भएको कुराकानीमा रासन कार्डको आधारमा भारत सरकारले आफ्ना नागरिकलाई खाद्य सामग्री उपलब्ध गराएको सुनाए ।

अर्को छिमेकी मित्रराष्ट्र चीन, जहाँबाट कोरोना उत्पति भएको थियो, त्यहाँ अहिले अवस्था सामान्य भइसकेको छ । सहयोगी जनता र प्रभावकारी संयन्त्रका कारण त्यहाँ कोरोना नियन्त्रण सम्भव भयो ।

यता नेपालमा सहयोगी मनका नागरिहरूले स्वस्फूर्तरूपमा चलाएको फुड बैंक बन्द गर्न सरकारले निर्देशन दियो । फुडबैंकमा चामल लिन आएकी एक महिला रित्तै फर्किनु परेपछिको दृश्य कम्ती हृदयविदारक थिएन । मान्छेहरू सरकारले फुड बैंकलाई राजनीतिक पूर्वाग्रहले हेर्‍यो भन्छन् ।

महावीर पुन विदेशमा रहेका नेपालीसँग सहयोग मागेर कोरोना संक्रमणसँग लड्न आवश्यक सामग्री तयार पारिरहेका छन् । कोरोनाको नाममा अर्बौं खर्च गर्ने सरकार महावीरको कुरा सुन्दैन, कानमा तेल हाल्छ ।

हाइटीमा बस्दै आएका शान्तिराज पौडेलसँग नेपालमा पहिलो चरणको लकडाउनका बेला कुरा भएको थियो । हाइटीका राष्ट्रपतिको सञ्चार सल्लाहकार समितिका सदस्य रहेका पौडेलको कुरा सुन्दा हाम्रा नेताहरूको ‘स्वास्थ्य विज्ञता’ सम्झेर जिल्ल परेँ । त्यहाँ त आफ्नो क्षेत्रबाहिरको कुरा गर्नु पर्दा सम्बद्ध विज्ञमार्फत गर्नुपर्दो रहेछ ।

हुन त विश्वका अधिकांश मुलुकमा सम्बद्ध विज्ञमार्फत नै कुरा गर्ने चलन छ । हामीले कहिले यस्तो राजनीतिक ‘कल्चर’ कहिले सिक्ने ! हामी पत्रकारितामा प्रयोग हुने ‘ज्याकट अफ अल, मास्टर अफ नन’ हुन कहिलेसम्म खोजिरहने । नेताहरूले आफूले नजानेको प्राविधिक विषयमा विज्ञहरूमार्फत बोल्न कहिले सिक्ने ! यो विषयमा मेरो विज्ञता छैन भनेर कहिले भन्ने !

महावीर पुन विदेशमा रहेका नेपालीसँग सहयोग मागेर कोरोना संक्रमणसँग लड्न आवश्यक सामग्री तयार पारिरहेका छन् । कोरोनाको नाममा अर्बौं खर्च गर्ने सरकार महावीरको कुरा सुन्दैन, कानमा तेल हाल्छ ।
सरकार एउटा व्यक्तिको नाममा खोलिएको प्रतिष्ठानलाई करोडौँ रुपैयाँ अनुदान गर्छ, महावीरलाई एक रुपैयाँ पनि दिँदैन ।

मेरी छोरी सोध्छिन्, ‘मामु महावीर पुनलाई सरकारले किन आर्थिक सहयोग नदिएको ?’

मसँग छोरीको चित्त बुझ्ने जवाफ छैन, म अर्को जवाफ दिन चाहन्नँ ।

हालै डा. गोविन्द केसीको एउटा अन्तर्वार्ता एउटा टेलिजिभन च्यानलमा हेदै थिएँ । ‘चियानास्तैमा २० अर्ब खर्च’ शीर्षकको समाचार अचानक सम्झेँ । अन्तर्वार्तामा डा. केसी रोएका थिए, मेरो मन पनि रोयो । राज्यकोषबाट पछिल्ला तीन वर्षमा खाजामा बीस अर्ब रुपैयाँ खर्च भएको भन्ने समाचार रहेछ ।

उता अन्तर्वार्तामा डा. केसी ‘तीन वर्ष भयो लुगा नकिनेको, बैंक खातामा त्यस्तै अलिअलि पैसा होला, त्यो पनि प्राकृतिक प्रकोपमा उद्धार गर्न जाँदा खर्च गर्नुपर्छ’ भन्दै थिए ।

छोरीले सोधिन्— सरकारले डा. गोविन्द केसीलाई जुम्लामा बिरामी हेर्न किन नदिएको ?

मेरो समस्या उही हो, जे भएको हो त्यो म भन्न चाहन्न, मैले भनेको उनलाई पत्यार लाग्दैन ।

देशमा व्याप्त अराजकता, भ्रष्टाचार र अन्यायबारे आजको स्कूले पुस्तामा अनौठो समाधान फुरेको देखेर म हैरान छु । जिभै्रमा झुन्निएको छ— यो देशमा सधैँ यस्तै हो, यहाँ बसेर हुँदैन ।

म किशोर उमेरका र युवावयमा प्रवेश गर्न थालेका यी छोराछोरीलाई के भनेर सम्झाऊँ !

त्यसैले आजकाल मलाई मेरा छोराछोरी र छोराछोरी पुस्ताले सोध्ने प्रश्नमा के जवाफ दिऊँ भन्ने डरले सताउँछ ।


भर्खर

0