सरकार र आम नागरिकलाई जनस्वास्थ्य विज्ञको सुझाब « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

सरकार र आम नागरिकलाई जनस्वास्थ्य विज्ञको सुझाब

आफू जोगिऔँ र अरूलाई जोगाऔँ, स्वास्थ्य मापदण्ड पालना गरौँ, परीक्षण बढाऔँ



प्रधानमन्त्रीले स्वास्थ्यविज्ञसँग गरेको छलफल । फाइल तस्वीर

काठमाडौँ- काठमाडौँ उपत्यकामा तीन सातासम्म लगाइएको निषेधाज्ञा बिहीबारदेखि खुकुलो भयो । कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि निषेधाज्ञा कडा भएको अवधिमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर घटेन ।

उपत्यकामा कडा निषेधाज्ञा भएको तीन सातामा ७ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भयो । निषेधाज्ञा गरिएको पहिलो दिन भदौ ३ गते काठमाडौँ उपत्यकामा १५९ जनामा कोरोना पुष्टि भएको थियो । निषेधाज्ञाको अन्तिम २४ घण्टामा काठमाडौँ उपत्याकामा ५७२ जनामा कोरोना पुष्टि भयो ।

यो तथ्यांकले काठमाडौँ उपत्यकामा निषेधाज्ञाले कोरोना संक्रमणको दर नघटेको देखाउँछ ।

कडा निषेधाज्ञामा पनि उपत्यकामा किन संक्रमण घटेन ? निषेधाज्ञा खुकुलो हुँदा वा निषेधाज्ञा नै नहुँदा उपत्यकामा कोरोना संक्रमणको अवस्था कस्तो होला ? कोरोना संक्रमणबाट बच्न कस्तो सावधानी अपनाउने ? निषेधाज्ञा वा लकडाउन विनानै कोरोना संक्रमण कम गर्न सरकारले के काम गर्नुपर्छ ?

यी प्रश्नहरूको सेरोफेरोमा जनस्वास्थ्य विज्ञ तथा चिकित्सकहरूको भनाइ यहाँ प्रस्तुत गरिएको छ ।

मापदण्ड पालना गरेर जनजीवन चलाउनु पर्छ
डा. समीरमणि दीक्षित (जनस्वास्थ्य विज्ञ)

नेपालमा के लकडाउन र निषेधाज्ञा भनेर कि पूर्णरूपमा कडाइ कि पूर्णरूपमा लचकता हुने गरेको छ । विशेषगरी काठमाडौँ उपत्यकामा कि अत्यन्तै कडा कि अत्यन्तै खुकुलो भयो । यो दुवैभन्दा बीचको हुनुपर्ने थियो । त्यस्तो भएको भए लकडाउन नै गर्नुपर्ने थिएन ।

तीन साता लकडाउन गरेपछि मानिसहरू फेरि बाहिर निस्किएका छन् । राज्यले मास्क अनिवार्य गर्नुपर्ने थियो । निषेधाज्ञाको समयमा सुरक्षाकर्मीहरू बाटोमा धेरै देखिन्थे तर निषेधाज्ञा खुकुलो भएपछि प्रहरीहरू छैनन् ।

निषेधाज्ञामा जसरी नै सुरक्षा नियकालाई निगरानीका लागि जताजतै खटाउने र मास्क नलगाउने व्यक्तिहरूलाई कारबाही गर्नुपथ्र्यो । राज्यलाई हामीले पहिला पनि यस्तो सुझाब दिएको हो, अहिले पनि भनिरहेको छु ।

निषेधाज्ञा खुकुलो हुने वित्तिकै मानिसहरू सडकमा मास्क नलगाई हिँड्न थालिसके । त्यसैले संक्रमण त अझै बढ्न सक्ने प्रबल सम्भावना छ । संक्रमण बढे पनि सरकारले लकडाउन गर्नु हुँदैन । संसारभरि कहीँ पनि कोरोना संक्रमण नियन्त्रणमा आएको छैन । कहिले कम र कहिले बढी भएको मात्रै हो । मास्क लगाएर हिँड्ने र जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर हाम्रा अन्य गतिविधि चालु राख्नुपर्छ ।

काठमाडौँ उपत्यकामा संक्रमण बढिरहेको छ । अब उपत्यकामा सजिलै संक्रमणको दर कम हुने स्थिति छैन । काठमाडौँ भित्रै संक्रमण छ । राज्यलाई के भन्नु ! शहरभित्र संक्रमण व्यापक भइसकेपछि उपत्यका प्रवेशमा रोक लगाएर के नै हुन्छ र ! बरु अब काठमाडौंमा भएका मानिसहरू बाहिर जिल्लामा जाँदा संक्रमण लिएर जान्छन् भन्ने डर छ ।

त्यसैले, अब काठमाडौँमा रहेकालाई बाहिर जान दिनु हुँदैन । चाडवाड आउँदैछ । काठमाडौँबाट मानिसहरू गाउँगाउँ पुगेपछि गाउँमा पनि संक्रमण फैलिने पुग्ने डर छ । देशभरको संक्रमणको ३० देखि ४० प्रतिशत संक्रमण काठमाडौँ उपत्यकामा छ । अब काठमाडौँमा बसेकाहरूले गाउँमा सुरक्षित रहेका आफ्ना परिवारलाई जोगाउनुपर्छ, गाउँ जानु हुँदैन ।

सरकारले अब उपत्यकाका टोलटोलमा परीक्षण गर्नुपर्छ । जहाँ धेरै संक्रमण देखिन्छ, त्यहाँ सिलिङ गर्ने र अन्य ठाउँमा सामान्य तरिकाले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गराउँदै जनजीवन चल्न दिनुपर्छ ।

आफू जोगिऔँ, अरूलाई जोगाऔँ, परीक्षण बढाऔँ
डा. अनुप सुवेदी (भाइरोलोजिष्ट)

हामीले पहिलादेखि नै भन्दै आएका छौँ । कोरोना संक्रमण कम गर्न र सर्नबाट रोक्ने उपाय एउटै हो मास्कको उचित प्रयोग । मास्कले धेरै किसिमको फाइदा हुन्छ । मास्क लगाउँदा आफूमा कोरोना भाइरस भएमा अरूलाई सार्दैनौँ, अर्कोलाई छ भने हामीलाई सर्दैन । लक्षणविहीन संक्रमित छ भने मास्कले अरूलाई कोरोना भाइरस सर्नबाट बचाउँछ ।

अर्को कुरा, अब इन्फ्लुएन्जा आउन लागेको छ । मौसम परिवर्तन हुँदा हाम्रोमा एन्फ्लुएन्जा देखिएन । यसको एउटा कारण मास्कको प्रयोग पनि हो । सबैले मास्क लगाउने, नियमित हात धुने लगायत सरसफाइमा ध्यान दिने गरेपछि इन्फ्लुएन्जा कम भयो । यस्तै सावधानीले कोरोना संक्रमण पनि कम गर्न सकिन्छ ।

कोरोनाबाट बच्न मास्क सबैले लगाउनुपर्छ । भौतिक दूरी कायम गर्नुपर्छ । भिडभाडमा जानु हुँदैन । खुला वातावरणमा बस्दा र कोठाभित्र पनि सुरक्षित भएर बस्नुपर्छ । निषेधाज्ञा खुकुलो भएपछि खुलेका कार्यालय र कलकारखानामा पनि स्वास्थ्य सुरक्षाको पर्याप्त व्यवस्था हुनुपर्छ ।

मानिसहरूको भिड धेरै हुने कार्यालयहरूमा भिड व्यवस्थापनको उपाय लागु गर्नुपर्छ । सकेसम्म फोन वा भर्चुअल माध्यमबाट कार्यालयको मिटिङ गर्ने उपायहरू गर्नुपर्छ । कर्मचारीहरू एकैपटक खाजा खान निस्कुन हुँदैन । खाजा खान जम्मा हुँदा खाजाघरमा धेरै भिड हुनसक्छ । सम्भव भएसम्म घरबाटै खाजा लैजाने र कार्यालयै खाने उपाय राम्रो हुन्छ ।

सामाजिक र आर्थिक बाध्यताले नै अहिले संक्रमणकै बीचमा निषेधाज्ञा खुकुलो बनाउनु परेको हो । बाहिर निस्किएर दैनिक काम गर्न नपाउँदा मानिसहरूलाई खानलाउन नै समस्या भएको छ । सधैँ निषेधाज्ञा गरेर हुँदैन ।

व्यक्ति आफैँले कोरोनाबाट जोगिने उपायहरू गर्नुपर्छ । काम पर्दामात्रै घरबाट बाहिर निस्किनुपर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ । यसमा एक जनामात्र सचेत भएर हुँदैन । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने सबैले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । संक्रमण नियन्त्रण गर्न सिङ्गो समाजको दायित्व हुन्छ ।

महामारी नियन्त्राणका लागि परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेशन र उपचारको व्यवस्थापन निकै महत्वपूर्ण हुन्छ । परीक्षणको दर फेरि घट्न थालेको छ । जुन अनुपातमा पोजेटिभ केसहरू देखिएको छ, त्यसले परीक्षणको दायरा अझै बढाउनुपर्ने प्रष्ट पारेको छ ।

अर्को कुरा, घरबाट बाहिर नगएको मानिसहरू कोरोना संक्रमण भएर, धेरै सिकिस्त भएर अस्पताल पुगेका छन् । यसले अझ प्रष्ट पारेको छ कि परीक्षणको दायरा बढाउनुपर्छ, पीसीआर परीक्षणको शुल्क सस्तो बनाउनुपर्छ । गुणस्तरमा कम नहुने गरी पीसीआर परीक्षण शुल्क सस्तो बनाउने विधिहरू छन् । पीसीआर परीक्षण सर्वसुलभ, सस्तो र छिटो रिपोर्ट आउने बनाउन सकिन्छ ।

कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाउन जरुरी छ । हाम्रोमा संक्रमण फैलिनुको कारण कम परीक्षण र कम ट्रेसिङ नै हो । कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्दामात्रै हामीले समुदायमा संक्रमित पत्ता लगाउनन सक्छौँ र उनीहरूलाई आइसोलेट गर्दा समुदायमा फैलिनसक्ने जोखिम कम हुन्छ ।

अहिले कोरोना पहिचान पनि कम भएको छ । पहिचान कम भएपछि कन्ट्याक्ट ट्रेसिङ पनि कम भएको छ । अनि त्यसको अनुगमन पनि कम भएको छ ।
त्यसबाहेक अन्य बिरामीहरू पनि हुन्छन् । अन्य स्वास्थ्य समस्या भएकालाई उपचार सेवा दिन पनि कम गर्नु हुँदैन ।

निषेधाज्ञाले गर्दा गरिबीले सताइएका र खान नपाउने अवस्थामा पुगेका मानिसहरूलाई राहत दिनु र उनीहरूको जीवन सजिलो बनाउनु पनि सरकारको हो । सरकारले उनीहरूलाई हेर्नुपर्छ ।

जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ गर्नुपर्छ
डा. रवीन्द्र पाण्डे (जनस्वास्थ्य विज्ञ)

अचानक महामारी आउँदा त्यसलाई थेग्ने तयारी छैन भने लकडाउन वा निषेधाज्ञा गर्नु उपयुक्त हुन्छ । चैतमा गरिएको लकडाउन स्वास्थ्य सेवाको तयारी पूरा गरेर तीन सातामै खोलेको भए हुन्थ्यो तर चार महिना लकडाउन भयो ।

दोस्रो चरणमा उपत्यकामा निषेधाज्ञा भयो । यो निषेधाज्ञा भदौ ३ गतेभन्दा तीन साताअघि भएको भए उपत्यकाको लागि प्रभावकारी हुन्थ्यो । त्यो समयमा उपत्यकामा संक्रमण खासै थिएन । समय घर्किसकेपछि निषेधाज्ञा भयो । निषेधाज्ञा दुई सातासम्म ठिकै हो, त्यो भन्दा बढी उपयुक्त होइन ।

निषेधाज्ञा जारी गरे पनि संक्रमण बढिरहनुका दुई वटा कारण छन् । राज्यले निषेधाज्ञा गर्‍यो तर त्यो ठूला ठूला सडकहरूमा मात्र भयो । मुख्य सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरियो तर बिर्सन नहुने कुरा के हो भने मानिसहरू बस्तीमा बस्छन् । त्यो भित्री बस्तीमा मानिसको जमघट हुन नदिन प्रहरी परिचालन गर्नुपथ्यो । बस्तीहरूमा जनचेतना अभियान चलाउनु पथ्र्यो तर त्यो भएन ।

तरकारी बजार, फोहोर व्यवस्थापन गर्ने समूह, भारतबाट आएका मजदुरहरू बसेका ठाउँ, सुकुम्बासी बस्तीहरूको समूहमा परीक्षण र सचेतना हुनुपर्ने थियो तर त्यो भएन । तीन करोड जनता भएको देशमा सरदरा दिनमा देखि ११ हजार जनाको परीक्षण भइरहको छ । यति परीक्षणले देशभरको अवस्था प्रतिनिधित्व गर्दैन ।

काठमाडौमा दिनको १ हजार देखि १५ सय जनाको परीक्षण गर्दा ४ सयदेखि ५ सयजनामा पोजेटिभ आएको छ । यो ३० देखि ४० प्रतिशतमा पोजेटिभ हो ।

झण्डै ६० लाख जनसंख्या भएको उपत्यकामा पुलिङ मेथडबाट दिनमा एक लाखको परीक्षण गरिएको भए संक्रमणको वास्तविक अवस्था थाहा हुने थियो ।

जति धेरै परीक्षण भयो उति नै संक्रमित भेटिन्छन् । उनीहरूलाई आइसोलेसनमा राख्दा संक्रमण फैलिन रोकिन्छ र संक्रमण दर बिस्तारै कम हुन्छ । मान्छेबाट मान्छेमा सर्ने रोग भएकाले हामी आफैँ सचेत नभएसम्म यो संक्रमण रोक्न सकिँदैन ।

सही तरिकाले मास्क लगाउने हो भने पनि उपत्यकामा संक्रमण दर कम हुँदै जान्छ । जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी भौतिक दूरी कायम गर्ने हो भने एक महिनामा संक्रमणको दर ८० प्रतिशतसम्म घट्छ ।

तर, आगामी दिनमा उपत्यकामा संक्रमणको जोखिम बढ्ने देखिएको छ । सरकारले स्थानीय तहका जनप्रतिनिधलाई प्रयोग गरेर जनस्वास्थ्यको मापदण्ड पालना गराउने र अनुगमन हुने हो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

मास्क किन्न नसक्ने गरिब परिवारहरूलाई प्रत्येक टोल र वडामा पुनः प्रयोग गर्न मिल्ने कपडाको मास्क निःशुल्क दिनुपर्छ । मास्क लगाउन सक्ने अवस्थाका व्यक्तिहरूले जानीजानी मास्क नलगाएको छ भने उसलाई कारबाही गर्नुपर्छ ।

कोरोना संक्रमण धेरै ठूलो महामारी होइन । यसको मृत्युदर निकै कम छ । ८५ प्रतिशतलाई रोग लागेको थाहै नभई वा सामान्य लक्षण देखिएर निको हुन सक्छ । १० प्रतिशत मानिसहरूलाई लक्षण देखिन्छ र उपचार चाहिन्छ, ५ प्रतिशतलाई आइसीयु आवश्यक पर्छ ।

आइसीयुमा रहेकामध्ये पनि आधाजसो निको हुन्छन् । नेपालमा मृत्युदर १ प्रतिशत पनि छैन । हामी धेरै डराउनु पर्दैन तर सचेत हुनै पर्छ, स्वास्थ्यका मापदण्ड पालना गर्नै पर्छ ।

सरकारले केही सकारात्मक काम गरेको छ । पहिलो स्वाब हङकङ पठाइएकोमा अहिले दिनमा १०-१२ हजार परीक्षण भइरहेको छ ।

अर्को कुरा, लकडाउन गर्नुको खास उद्देश्य हुन्छ । संक्रमण दर कति घटाउने भन्ने हुन्छ । लकडाउनले समस्यामा पर्ने जनताको लागि उचित प्रबन्ध गरेरमात्र लकडाउन गर्नुपर्छ भनेका थियौँ । तर, हरेकपटक भएको लकडाउनमा यी विषयमा सोचिएन । लकडाउनमा खान नपाउनेलाई सरकारले व्यवस्था सरकारले गरिदिनुपर्छ ।

हामीले विभिन्न समयमा प्रधानमन्त्री र मन्त्रीहरूलाई भेटेरै सल्लाह दिएका थियौँ तर हामीले दिएको सल्लाह कार्यान्वयन भने भएन । विज्ञहरूको सुझाव कार्यान्वय भएको भए अहिले यो अवस्था आउने थिएन ।

अझै पनि भारतसँगको सीमा पूर्णरूपमा बन्द गर्ने, संक्रमित जिल्लाबाट संक्रमण कम भएको जिल्लामा आवतजावत बन्द गर्ने, ठूलो जनसंख्या भएका शहरहरूमा आउनलाई पीसीआर परीक्षण अनिवार्य गर्ने हो भने संक्रमण कम हुन्छ ।

परीक्षण भएकामध्ये ३० प्रतिशत मानिसमा कोरोना संक्रमण देखिनु निकै ठूलो हो । सरकारले लकडाउन खोल्ने तर मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने आगामी दिन झन् बढी जोखिमपूर्ण हुनेछन् ।


भर्खर

0