आरजुको महत्वाकांक्षा देउवाका लागि साधक कि घातक ! « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

आरजुको महत्वाकांक्षा देउवाका लागि साधक कि घातक !



काठमाडौं- यही साउन १४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञसभाको गठन गरे । सभामा समावेश गरिएका करिब साढे चार सयमध्ये आधाजतिलाई सभापति देउवाकी पत्नी आरजु राणाले टेलिफोन गरी बधाई दिइन् ।

बधाई दिने क्रममा आरजुले ‘तपाईंको नाम ज्येष्ठ राजनीतिक सभामा मैले समावेश गरेको हुँ’ भन्ने सन्देश समेत दिइन् । ओझलमा परेका कतिपय पाका नेता तथा कार्यकर्ताहरूले यो सम्मान दिलाई दिएकोमा देउवा पत्नीप्रति आभार प्रकट गरे ।

ज्येष्ठ राजनीतिक सभाको गठनका क्रममा मात्रै होइन नेपाली कांग्रेसका प्रायःजसो सबै निर्णयमा आरजु हावी हुने गरेको कुरा ‘ओपन सेक्रेट’ जस्तै छ । खासगरी नेता तथा कार्यकर्तालाई पदीय जिम्मेवारी दिने क्रममा उनको भूमिका निर्णायक हुने गरेको छ ।

पदका आकांक्षीहरूको भीड सभापति देउवाकहाँ भन्दा आरजुकहाँ ठूलो हुने गरेको छ । यतिबेला सभापति देउवा पार्टीका विभाग तथा प्रदेश समिति गठन गर्दैछन् । सबै गरेर करिब चार हजार नेता, कार्यकर्ताले विभाग तथा प्रदेश समितिमा भूमिका पाउँछन् । यी ठाउँमा भूमिका पाउन पनि सभापति देउवाकहाँ भन्दा आरजुकहाँ नै भीड लाग्ने गरेको छ ।

सभापतिपत्नी आरजु किन निर्णायक बन्दै छिन् त ? कांग्रेस वृत्तमा यस्तो प्रश्न उठ्ने गरेको छ । कतिपय कार्यकर्ताहरूलाई श्रीमती आरजुको यो सक्रियता मन परेको छैन । नेताभन्दा पनि नेताका श्रीमती वा परिवारका सदस्यहरू बढी निर्णायक हुने प्रवृत्ति नेपालको राजनीतिमा नयाँ होइन, नेपाली कांग्रेसको राजनीतिमा त झन पुरानो हो । देउवा पत्नी आरजुले नयाँ नजिर बनाएकी होइनन् ।

विगतमा राजनीतिक नियुक्ति तथा टिकट बाँडफाँडमा सर्वमान्य नेता गणेशमान सिंहभन्दा श्रीमती मंगलादेवी सिंह निर्णायक हुने गरेको कुरामा अग्रज नेता तथा कार्यकर्ता अनभिज्ञ छैनन् । यसैगरी गिरिजाप्रसाद कोइराला शक्तिमा आउनासाथ सुरुमा भाउजु नोना कोइराला र त्यसपछि छोरी सुजाता कोइराला निर्णायक बनेका थिए । यति बेला आरजु निर्णायक बन्नु नौलो घटना होइन ।

कांग्रेसका केही पुराना कार्यकर्ताहरू भने आरजुको तुलना मङ्गलादेवी, नोना र सुजातासँग गर्न हच्किन्छन् । उनीहरूको विचारमा मङ्गलादेवी, नोना र सुजाता नेपाली कांग्रेसमा आबद्ध भएर लामो संघर्षमा खारिएका नेतृहरू हुन् । लोकतन्त्र र कांग्रेसको हितका लागि उनीहरूले ज्यान हत्केलामा राखेर संघर्ष गरेका थिए । लोकतन्त्र र कांग्रेसका लागि आरजुको योगदान खासै छैन । सभापति देउवाकी पत्नी हुनुबाहेक नेपाली कांग्रेसमा उनको विशेष योग्यता छैन ।

अब आरजुका लागि परिस्थिति कता मोडिन्छ, यसै भन्न सकिने अवस्था छैन । जसरी सुजातालाई उपप्रधानमन्त्री बनाउँदै सभापतिका लागि गिरिजाप्रसाद कोइरालाले प्रयास गरेपछि सुशील कोइराला लगायत केही नेताहरूले विद्रोह गरे, त्यसरी नै आरजुको महत्वाकांक्षाले देउवा समूहबाट विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई विद्रोहका लागि बाध्य पार्ने सम्भावना पनि त्यतिकै छ ।

महत्वाकांक्षको मामिलामा भने आरजुले नोना, मंगलादेवी र सुजातालाई पछि पारिदिएकी छन् । उदाहरणका लागि, धेरै ठूलो पावर इक्सरसाइज गरेकी नोना आफूले चाहेको भए जति बेला पनि मन्त्री तथा सांसद बन्न सक्ने थिइन्, आफ्ना छोरा डा. शेखर कोइरालालाई मन्त्री तथा सांसद बनाउन सक्ने थिइन् तर उनले यस्तो स्वार्थ राखिनन् ।

यसैगरी मङ्गलादेवी सिंहले एकपटक टिकट लिइन्, पराजित भएपछि पदीय महत्वाकांक्षा राखिनन् ।

आजभन्दा ७३ वर्षअघि स्थापना भएको नेपाल महिला संघकी संस्थापक अध्यक्ष हुन् मङ्गलादेवी सिंह । राणाकालमै महिला संघले संघर्ष गरेर धेरै उपलव्धि हासिल गरेको इतिहास छ । त्यसैले सांसद बन्ने इच्छालाई मङ्गलादेवीको महत्वाकांक्षा भन्न मिल्दैन । सुजातालाई भने गिरिजाप्रसादले उपप्रधानमन्त्रीसम्ममा पुर्‍याए । छोरीलाई प्रधानमन्त्री बनाउने आफ्नो इच्छा अधुरो रहेको कोइरालाले जीवनका अन्तिम क्षणतिर बताएका थिए ।

सुजाताको जे महत्वाकांक्षा हो, देउवापत्नी आरजु पनि त्यही हो भन्नेमा दुई मत छैन । आरजुको महत्वाकांक्षा कति पूरा हुँदै जाला भन्ने चासो कांग्रेसजनमा देखिएको छ र आरजुका लागि धेरै तगाराहरू छन् ।

दुई कार्यकाल सांसद भइसकेकी आरजु गत आमनिर्वाचनमा आफैँले रोजेको कैलाली क्षेत्र नं ५ बाट चुनाव लडिन् र निकै ठूलो मतान्तरले पराजित भइन् । आफूलाई टुरिष्ट उम्मेदवार भनेपछि उनले तीन करोड रुपैयाँ खर्चेर तुरुन्तै धनगढीमा एउटा घर किनिन् ।

त्यसपछि अर्को प्रश्न खडा भयो–यति धेरै पैसा कहाँबाट आयो ?

कैलालीकै अरू क्षेत्रबाट कांग्रेसका उम्मेदवार बनेकाहरू प्रचार प्रसारका लागि पैसा नपाएर छटपटिँदै थिए । आरजुले सबै निर्वाचन क्षेत्रका कार्यकर्तालाई आफ्नो पछि लगाएर घरदैलो गरेकी थिइन् । सिङ्गो सुदूर पश्चिममा कांग्रेसले एक सीट मात्रै जित्यो । देउवाबाहेक सबैले चुनाव हारे । यो नतिजा निस्कनमा आरजुकै बेढङ्गे शैली कारक हो भन्ने विश्लेषण सुदूर पश्चिमका कांग्रेस कार्यकर्ताहरूको सुनिन्छ ।

त्यति बेला सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले धनगढी पुगेर सभापतिपत्नी आरजुलाई भावी प्रधानमन्त्री घोषणा गरेका थिए ।

चुनाव नहारेको भए आरजु संसदीय दलको नेता निर्वाचित हुने र १४औँ महाधिवेशनका लागि पार्टी सभापति पदमा उम्मेदवार बन्ने तयारी गर्ने निश्चितजस्तै थियो ।

आरजुले परिस्थिति आफ्नो अनुकूल बनाउन सकिनन् । उनका लागि १४औँ महाधिवेशनमा पनि देउवालाई नै अघि बढाउनुपर्ने परिस्थिति उत्पन्न भयो ।

कमीकमजोरी सच्याउँदै उनी अघि बढिन् र १४औँ महाधिवेशनमा देउवाले सभापति पदमा चुनाव जिते भने १५औँ महाधिवेशनमा आरजु सभापति पदका लागि तयारी गर्नेछिन् ।

Image may contain: 4 people, people smiling, people standing

आरजु आफ्नो विषयमा विज्ञ मानिन्छिन् तर राजनीतिमा विषयवस्तुको विज्ञताले मात्रै पुग्दो रहेनछ । निरन्तरता एवं पारिवारिक पृष्ठभूमि पनि खोजिँदो रहेछ ।

१४औँ महाधिवेशनमै सभापति बन्ने आरजुको महत्वाकांक्षा ओझेलमा पर्नुको मुख्य कारण नेपाली कांग्रेसमा निरन्तरताको कमी तथा लोकतन्त्रविरोधी पारिवारिक पृष्ठभूमि नै मुख्य हो ।

देउवासँग २०५१ सालमा आरजुको बिहे भएको हो । त्यसअघि उनको गतिविधि लोकतन्त्रविरोधी कित्ताका लागि थियो । २०५० सालमा दशरथ रङ्गशालामा भएको राप्रपाको महाधिवेशनमा सहभागी अतिथिहरूलाई व्याच लगाइदिन दुई महिलाको नाम उद्घोषकले लिएका थिए ।

ती महिला थिए प्रतिभा राणा र आरजु राणा । झट्ट हेर्दा एकै उमेरका युवतीजस्ता देखिने उनीहरू आमाछोरी हुन् भन्ने थाह पाएपछि मिडियाले चासो लिए ।

राप्रपाको महाधिवेशनमा शुभकामना दिन आएका विदेशी अतिथिहरूको स्वागत–सत्कार तथा उनीहरू आवास अनुमगनको जिम्मेवारी पाएकी आरजु राप्रपामै स्थापित हुनसक्ने युवा थिइन् ।

तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकको विशेष पहलमा उनको बिहे कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवासँग भयो । बिहेको एक वर्ष पुग्दा नपुग्दै आरजु प्रधानमन्त्रीपत्नी भइन् । आरजुको राजनीतिक सक्रियता भने कसैले महसुस गरेन । आफ्ना पतिको पदीय पावर आरजुले प्रयोग गरेको पनि कसैले चाल पाएन ।

आरजुको राजनीतिक सक्रियता बढेको २०५९ सालपछि हो । अचानक प्रतिनिधिसभा विघटन गरेपछि पार्टी सभापति कोइरालाले तत्कालीन प्रधानमन्त्री देउवालाई पार्टीबाट निस्काशन गरिदिए । देउवाले नयाँ पार्टी खोले । त्यसको केही दिनमै तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई पदमुक्त गरिदिए ।

भ्रष्टाचारको आरोप लगाएर जेलमा थुनिदिए । अनि, आरजु राजनीतिमा सक्रिय भइन् । छोटो अवधिमै उनी सांसद बनिन् ।

अब आरजुका लागि परिस्थिति कता मोडिन्छ, यसै भन्न सकिने अवस्था छैन । जसरी सुजातालाई उपप्रधानमन्त्री बनाउँदै सभापतिका लागि गिरिजाप्रसाद कोइरालाले प्रयास गरेपछि सुशील कोइराला लगायत केही नेताहरूले विद्रोह गरे, त्यसरी नै आरजुको महत्वाकांक्षाले देउवा समूहबाट विमलेन्द्र निधि, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई विद्रोहका लागि बाध्य पार्ने सम्भावना पनि त्यतिकै छ ।


भर्खर

0