नक्कली नाता गाँस्दै गरिबको मिर्गौला बेच्दै « Khabarhub
Logo
१९ श्रावण २०७७, सोमबार

नक्कली नाता गाँस्दै गरिबको मिर्गौला बेच्दै

तस्करीमा वडाध्यक्षदेखि डाक्टर र प्रहरीसम्म



काठमाडौं– नक्कली कागजपत्रका आधरमा अवैधरूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले एकजना जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरेको मिर्गौला तस्करीको अर्को घटना सार्वजनिक भएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) का तीन जना चिकित्सकसहित १२ जनालाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहोराका अनुसार पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना जनप्रतिनिधि (वडाध्यक्ष) र एकजना कानुन व्यवसायीसमेत १२ जना रहेका छन् ।

ब्युरोको टोलीले आइतबार ललितपुरबाट नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरेको हो । आरोपित सबै जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं ३ का अध्यक्ष गोपाल महर्जन, भरतपुर मेडिकल कलेजका चिकित्सकहरू डा. राकेश कुमार बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बाल कृष्ण कालाखेती छन् । त्यसैगरी कानुन व्यवसायी अधिवक्ता रमेश काफ्ले पक्राउ परेका छन् ।

वडाध्यक्ष महर्जनमाथि अवैधरूपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको आरोप छ । उनले नक्कली नाता प्रमाणित गरिदिएकाले पक्राउ गरेको ब्युरोले जनाएको छ । ब्यूरोका एसएसपी बोहोराका अनुसार एक बहालवाल प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया पनि पक्राउ परेका छन् ।

२०७६ साउनमा काभ्रे बाङ्थलीका विष्णु खड्कालाई भारत लगेर मिर्गौला निकाल्न लागेको घटनामा थपलियाको संलग्नता भएको प्रहरीले बताएको छ । अन्य २ महिलासहित ५ जना पक्राउ परेका छन् ।

ब्यूरो प्रमुख एसएसपी बोहोराका अनुसार २०७६ साल जेठ २७ गते चितवनको भरतपुर मेडिकल कलेजमा गैरकानुनीरूपमा भएको मिर्गौला प्रत्यारोपणको घटनामा १२ जनाको संलग्नता देखिएको हो ।

गत वर्ष असोज २९ गते ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा पनि यस्तै घटना भएको थियो । आफ्नै भान्जा भनेर अर्कै व्यक्तिको मिर्गौला निकालिएपछि प्रहरीले चिकित्सकदेखि कानुन अधिकृतसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

करिब एक वर्षमा चितवन र ललितपुरमा भएका दुई घटना त प्रतिनिधिमूलक मात्र हुन् । प्रहरीका अनुसार नेपालमा २०५० सालमा मिर्गौलाको तस्करी सुरु भएको हो । यसअघिको तथ्यांक नभए पनि प्रहरी प्रधान कार्यालयका अनुसार २०६७÷६८ यता यसरी मिर्गौला तस्करीका १० वटा घटना सार्वजनिक भएका छन् ।

प्रहरी प्रवक्ता निरजबहादुर शाही भन्छन्, ‘प्रहरी सक्रियता बढाउँदा बढाउँदै पनि १० वटा घटना बाहिर आएका छन् । आधा बढी घटनामा नक्कली आफन्त बनाएर मिर्गौला निकालिएका छन् भने केही घटना ललाईफकाई गरेर झुक्याएर निकालिएका छन् ।’

कसरी हुन्छ तस्करी ?

मानव शरीरको अंग प्रत्यारोपण नियम तथा निषेध ऐन, २०५५ को परिच्छेद ३(क) को दफा १४ मा एउटा स्वस्थ व्यक्तिले बिरामी आफन्तलाई मिर्गौला दिन पाउने व्यवस्था छ ।

यही व्यवस्थाको दुरुपयोग गरेर तस्करले कर्मचारीको सहयोगमा नाताबाहिरका व्यक्तिलाई नक्कलीरूपमा नेतादार प्रमाणित गराए मिर्गौला तस्करी गर्ने गरेका छन् ।

जानकारहरूका अनुसार विशेष गरी नेपालीहरूको मिर्गौला तस्करी नेपालमा भन्दा भारतमा बढी हुन्छ । आर्थिक प्रलोभन देखाएर खुला सीमानको फाइदा उठाउँदै तस्करहरूले गरिब नेपालीहरूलाई फकाएर भारत पु¥याई मिर्गौंला बेच्ने गरेका छन् ।

पूर्वडीआइजी केशव अधिकारी भन्छन्, ‘सुरुमा भारतमा रहेका गिरोहले मिर्गौला आवश्यक परेको बिरामीका आफन्तसँग रकमको बार्गेनिङ गर्छन् । रकममा कुरा मिलेपछि चिकित्सकको सल्लाहमा ब्लड ग्रुपलगायत विवरण नेपालमा रहेका त्यही गिरोहका सदस्यलाई पठाउँछन् । सोही अनुरूप नेपालमा रहेका गिरोहका सदस्यले मिर्गौला खोजी गर्छन् ।’

तस्करहरू आँखामा मुख्य गरी गरिबीको समस्याले पिल्सिएका, अशिक्षित र सोझासाझा नेपालीहरू पर्ने गरेको पूर्वडीआइजी अधिकारी बताउँछन् । खोजेबमोजिम मिर्गौला दिने व्यक्ति भेटेपछि उसलाई पैसाको प्रलोभन देखाएर बिरामीको आफन्त बनाउने खेल सुरु हुन्छ । योजनाअनुरूप नक्कली विवरण तयार हुन्छ र गिरोहका सदस्यहरू प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालय पुग्छन् ।

जानकारहरूका अनुसार गिरोहका सदस्यले कर्मचारीसँग सेटिङ मिलाउँछन् र कागजपत्र तयार गर्छन् । सोही आधारमा भारतमा पुर्‍याएर मिर्गौला निकाल्छन् । यस्ता गिरोहहरूले गरिबबाट मिर्गौला खरिद गर्ने र धनीलाई १० गुणासम्म बढीमा बेच्ने गर्छन् ।

पूर्वडीआइजी हेमन्त मल्लका अनुसार मिर्गौला निकालिएका कतिपय पीडित व्यक्तिहरू नै कालान्तरमा तस्कर बन्ने गरेका छन् । गिरोहका सदस्यसँग चिनजान हुने हुँदा आफ्नो मिर्गौला बेचेका पीडितहरू नै पैसा कमाउने धन्दामा लाग्ने गर्छन् ।

कानूनी व्यवस्था

प्रहरीले अहिले पक्राउ परेका १२ जनालाई नै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ उपदफा(१ (ग) अनुसार अनुसन्धान अगाडि बढाएको छ । यो ऐनअनुसार, मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष सम्म कैद र २ देखि ५ लाखसम्म जरिवाना सजाय हुन्छ ।

नियन्त्रण कसरी ?

‘मानव अंग बेचबिखन तथा तस्करी गर्ने काम अपराध हो,’ ब्यूरोका प्रमुख एसएसपी डा. बोहोरा भन्छन्, ‘कसैले कानुनले बन्देज गरेको काम गर्छ भने त्यसले उन्मुक्ति पाउँदैन ।’

‘मिर्गौला तस्करी नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएका छौँ,’ उनले भने, ‘मान्छेलाई नै मृत्युको मुखमा पु¥याउने यस्तो गम्भीर विषयमा स्वयम व्यक्ति पनि सचेत हुनुपर्छ ।’

मानव अंग तस्करी रोक्न यससम्बन्धी बनेका कानून र यसको असरबारे जनचेतना फैलाउन आवश्यक रहेको पूर्वडीआइजी मल्लको भनाइ छ ।

यसअतिरिक्त प्रहरीले पनि आफ्नो संयन्त्रद्वारा विगतमा मिर्गौला तस्करीको कारोबारमा संलग्न रहेका ब्यक्ति को को हुन्, ती अहिले कहाँ छन् र के गर्दैछन् भन्नेमा निगरानी राख्नु पर्ने उने बताए ।

कानून कार्यान्वयनसँगै मानव अंग बेचविखन रोक्न सबैले आआफ्नो क्षेत्रबाट पहल गरे नियन्त्रण सम्भव हुने पूर्वडीआइजी मल्लको विश्वास छ ।


भर्खर

0