नयाँ वर्ष ! यसपालि यस्तै भयो है ! | Khabarhub Khabarhub

नयाँ वर्ष ! यसपालि यस्तै भयो है !


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही दिनयता फेसबुकमा एउटा स्ट्याटस निकै चर्चित छ– यसपालिको नयाँ वर्षमा कहाँ घुम्न जाने ? आँगन, बरन्डा, छत कि भान्सा कोठा ?हेर्दा र सुन्दा रमाइलो लागे पनि यो स्ट्याटसमा हरेक नेपालीको मर्म लुकेको छ ।

नयाँ वर्ष वैशाख १, नेपालीहरूमा नयाँ उमङ्ग बोकेर आउने दिन हो । नयाँ वर्षको नयाँ पात्रोझैँ यस दिनले व्यक्तिको जीवनमा पनि नयाँ पात्रो लिएर आउँछ । अवस्था सामान्य हुन्थ्यो भने यतिबेला मानिसहरू नयाँ वर्षको रमाइलोमा झुमेका हुन्थे । नयाँ वर्षका दिनको विदा मनाउने तयारीमा हुन्थे ।

रूखका पुराना पात खसेर नयाँ पलाउने क्रम छ । चराचुरुङ्गी नयाँ गुँड बनाउँदैछन् । यातायातका साधन र उद्योगधन्दा बन्द छन् । मानिस सबै घरभित्र छन् । आकाश खुला छ । मौसम सुख्खा र सफा छ । तैपनि मानिसको मनमा उत्साह छैन, उमङ्ग छैन । मानिसहरू रहरले होइन, कोरोनाको कहरले घरभित्र छन् । वसन्त ऋतुको उमङ्ग बोकेर आउने यसपालिको नयाँ वर्षलाई स्वागत गर्न हामी घरबाहिर निस्कन पाउने छैनौँ । सधैँका नयाँ वर्षमा जस्तो उमङ्ग छाउने छैन ।

सिङ्गो विश्व यतिबेला अदृश्य तर भयानक शत्रु कारोना भाइरस (कोभिड–१९) सँग युद्ध लड्दै छ । विश्व आक्रन्त छ । नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन । नेपाल पनि त्यही नियति भोग्दैछ ।

यतिबेला नेपालका पर्यटकीय क्षेत्रहरू वाह्य र आन्तरिक पर्यटकको स्वागतका लागि आतुर र तयार हुन्थे । नयाँ वर्षको स्वागतका लागि होटल, रेष्टुरा तथा रिर्सोटहरू तम्तयार भएर बसेका हुन्थे । सबै कोठा बुक भएका हुन्थे । नेपालीका घरआँगमा एउटा चाड भएर आउँथ्यो नयाँ वर्ष ।

सिङ्गो विश्व यतिबेला अदृश्य तर भयानक शत्रु कारोना भाइरस (कोभिड–१९) सँग युद्ध लड्दै छ । विश्व आक्रन्त छ । नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन । नेपाल पनि त्यही नियति भोग्दैछ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । यसको मारमा परेको एउटा मुख्य क्षेत्र हो पर्यटन । देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने पर्यटन व्यवसाय यतिबेला शून्य छ । व्यवसाय नै तहसनहको अवस्थामा छ ।

भिजिट नेपाल २०२० को त कुरै नगरौँ । घरमा आउन लागेका पाहुनालाई पनि नआऊ भनेर रोक्नु परको छ । भिजिट नेपाल भनेर आएका विदशी पाहुनालाई पनि उनीहरूकै देशमा फर्काउन बाध्य भयो सरकार । भव्य तयारीका साथ सरकारले आयोजना गरेको भिजिट नेपाल २०२० बीचमै अलपत्र भयो । यसमा न सरकार दोषी छ न अरू कोही । परिस्थिति बाध्यात्मक बनिदियो । देशभर आवजावत बन्द छ ।

पर्यटकीय क्षेत्रहरू पोखरा, काठमाण्डु उपत्यका, नगरकोट, सौराहा, बर्दिया सबै सुनसान छन् । गुराँसका राता वन एकलै छन् । होटलहरू बन्द छन् ।

सफल पर्यटन व्यवसायी कुमार थापाका अनुसार परिवेश उमङ्गमय भएमात्र पर्यटन र पर्यटकीय गतिविधि फस्टाउँछ, पर्यटन क्षेत्रको उन्नतिको अपेक्षा गर्न सकिन्छ । अबको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन गतिविधि सुरु भएपछि पनि कम्तिमा एक वर्ष लाग्नेछ । अहिले चाँडै कोरोना भाइरसबाट मुक्ति पाउने अपेक्षा गर्नु र संयम कायम राख्नुको विकल्प छैन ।

वैशाख १ आगमन अगावै देशका पर्यटकीय क्षेत्रहरूको उत्साह नै फरक हुन्थ्यो । पर्यटन व्यवसायीहरू नयाँ वर्षका पाहुना व्यवस्थापनमा भ्याई नभ्याई लागेका हुन्थे । नयाँ वर्षारम्भमा आन्तरिक पर्यटकको जताततै घुइँचो नै लाग्थ्यो । कोभिड–१९ का कारण विश्व नै आक्रान्त भएका बेला त्यसको प्रत्यक्ष असर नेपाल पनि पर्‍यो ।

नेपालीजनले नयाँ वर्षलाई घरभित्रैबाट स्वागत गर्दै पुरानो वर्षले छाडेको कोरोना भाइरसको शीघ्र पराजयको कामना गर्नुपरेको छ ।

दैनिक हजारौँ पर्यटकको स्वागत गर्ने पर्यटकीय क्षेत्रहरूमा सन्नाटा छाएको छ । लकडाउनसँगै पर्यटन व्यवसायी आफ्ना व्यवसाय बन्द गरेर घरमा बसेका छन् । लकडाउनपछि त कतिपय पर्यटन व्यवसायी विस्थापित हुने अवस्था समेत आउन सक्छ ।

२०७२ को भुइँचालोले थिलोथिलो पारेको पर्यटन व्यवसाय बिस्तारै उठ्ने क्रममा थियो । फेरि यतिबेला घुँडा टेक्न बाध्य भएको छ । पर्यटन सिजन भनेर चिनिने समय उल्टो बनिदिएको छ । नयाँ वर्ष हामी आन्तरिक पर्यटकका लागि समेत निकै नरमाइलो भएको छ । लकडाउन सरकारले थोपरेको पनि होइन । यो अत्यन्तै संवेदनशील समय भएकाले जीवन रक्षाका लागि बाध्यात्मक भएको हो ।

नेपालीमा एउटा मान्यता छ, नयाँ वर्षको पहिलो दिन शुभ भए वर्षैभरि शुभ हुन्छ । यही मान्यताअनुसार हरेक नेपालीले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आपसमा शुभकामना आदान प्रदान गर्थे । रमाइलोका लागि परिवारका सदस्यहरू वा साथीसङ्गीका समूहहरू घुम्न निस्कन्थे । वनभोज जान्थे । यसपालिको नयाँ वर्ष घरघबाट मोबाइल म्यासेज र फेसबुकबाट दिने शुभकामनामा सीमित भएको छ ।

नेपालीजनले नयाँ वर्षलाई घरभित्रैबाट स्वागत गर्दै पुरानो वर्षले छाडेको कोरोना भाइरसको शीघ्र पराजयको कामना गर्नुपरेको छ ।

विश्वका मानवको साझा चिन्ता छ, कोरोनाको पराजय र मानवताको विजय । हे नयाँ वर्ष २०७७ ! तिमीलाई घरभित्रैबाट दुई हात जोडेर स्वागत छ । आशा गर्दछु, तिम्रो आगमनसँगै नेपाल र नेपालीमा नयाँ उमङ्ग छाउनेछ । देश संकटबाट पार पाउनेछ । यसपालि यस्तै भयो । तिम्रो स्वागत निरस भए पनि विदाइ उमङ्गमा गर्न पाऊँ ।

समस्त नेपालीमा नयाँ वर्ष २०७७ को शुभकामना !


(लेखक तिलोत्तमा एफएमकी प्रबन्ध निर्देशक हुन् ।)

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ५९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न