भिटामिन भन्दै भित्र्याइन्छ प्रतिबन्धित विषादी | Khabarhub Khabarhub

भिटामिन भन्दै भित्र्याइन्छ प्रतिबन्धित विषादी


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भन्सार विभागको तथ्यांकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा ८४ लाख ६८ हजार २ सय २८ केजी अर्थात ८ हजार ४ सय ६८ मेट्रिकटन विषादी आयात भएको देखिन्छ ।

जसमा ५३ लाख २३ हजार ८ सय १ केजी अर्थात ५ हजार ३ सय २३ मेट्रिकटन किटनासक विषादी, ४२ हजार २ सय २९ केजी अर्थात ४ सय २० मेट्रिकटन ढुसिनासक विषादी, २७ हजार २ सय ६२ केजी अर्थात २७ मेट्रिकटन झारपात नाशक विषादी नेपाल भित्रिएको छ ।

भन्सार विभागको तथ्यांकको अनुसार ११ लाख ६४ हजार २ सय ७८ केजी अर्थात १ हजार १ सय ६४ मेट्रिकटन अंकुरणरोधी र वनस्पती वृद्धि नियामक विषादी नेपाल आयात गरिएको छ ।

यस्तै ८ लाख २६ हजार ९ सय ५१ केजी अर्थात ८ सय २६ मेट्रिकटन विसंक्रामक विषादी र ७ लाख ५७ हजार ७ केजी अन्य विषादी नेपाल आयात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा आयात गरिएको ८ हजार ४ सय ६८ मेट्रिकटन विषादी खरिदमा वार्षिक ३ अर्व १ करोड ९७ लाख ८९ हजार रुपैयाँ विदेसिने गरेको छ ।

नेपाल भित्रिने यो विषादीमध्ये ८५ प्रतिशत तरकारीबालीमा प्रयोग हुने गरेको छ ।

नेपालमा विषादीको उत्पादन, निकासी, पैठारी, भण्डारण, विक्री वितरण तथा ओसारपसारका लागि जीवनाशक विषादी व्यवस्थापन ऐन बनेको छ । सो ऐनको अधिनमा रहेर मात्र नेपालमा विषादीको विक्री वितरण गर्न पाइन्छ ।

विषादीको आयात, वितरण, उपयोग र व्यवस्थापनको जिम्मेवारीका लागि स्थापना भएको सरकारी निकाय हो, प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द । केन्द्रले नेपालमा प्रयोग भइरहेका विषादीको बजार अनुगमन तथा प्रयोग गर्ने तरिकाबारे कृषकलाई जानकारी समेत दिनुपर्ने हुन्छ ।

केन्द्रले विषादीको सही प्रयोग र जीवनासक विषादीको प्रयोग न्यूनीकरणका लागि हरेक वर्ष साताव्यापी सचेतनाका कार्यक्रम समेत गर्दै आएको छ ।

‘घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराका साथ केन्द्रले बुधबारदेखि सप्ताहव्यापी विषादी प्रयोग मुक्त कार्यक्रम शुरु गरेको छ ।

केन्द्रले विषादी प्रयोग मुक्त अभियानको सप्ताह व्यापी कार्यक्रमका लागि मात्र ७ लाख बजेट विनियोजन गरेको छ ।

तर विषादीको प्रयोग न्युनिकरणका लागि सप्ताहव्यापी कार्यक्रम गरेपनि यो कार्यक्रम प्रभावकारी नभएको उपभोक्ता अधिकार कर्मीहरु बताउँछन् ।

‘विषादी नियन्त्रणको सम्बन्धमा सरकारले प्रत्येक वर्ष साताव्यापी कार्यक्रम गर्छ , तर त्यो कार्यक्रम कर्मकाण्डी मात्र देखिएको छ,’ उपभोक्ता अधिकार कर्मी माधव तिम्सिनाले भने, ‘होटलका सभाहलमा विषादीबारे जानेबुझेका मान्छे ल्याएर गरिने कार्यक्रमहरु दातृ निकायलाई खुसी पार्ने र बजेट सक्ने उपलब्धि मात्र भएको छ ।’

सरकारले आयोजना गर्ने सप्ताहव्यापी सचेतनाको कार्यक्रम विषादी प्रयोग गर्ने किसानसम्म नपुगेको तिम्सिना बताउँछन् ।

उनले भने, ‘सरकारले जहाँ तरकारी खेतीको पकेट क्षेत्र भनेर घोषणा गरेका जिल्लाहरु छन्, त्यहाका किसानहरुलाई विषादीको समुचित प्रयोग, विषादीले मानव स्वास्थ्यमा पार्ने असर बारेमा जानकारी नै छैन ।’

खुल्ला सीमा नाकाबाट सरकारले निषेध गरेका विषादीहरु आयात भइरहेको तर त्यसमा सरकारको ध्यान नगएको तिम्सिनाको आरोप छ ।

‘खुल्ला सिमानाको बाहानामा नेपालमा अहिलेपनि भिटामिनका नाममा सरकारले निषेध गरेका विषादीहरु नेपाल प्रवेश भइरहेको अवस्था छ, त्यसलाई नियमन गर्नुपर्ने, भिटामिनका नाममा प्रयोग भइरहेका विष नियन्त्रणका लागि सरकारका निकायहरुले काम गरेको पाइदैन,’ तिम्सिनाले भने, ‘ऐन विपरित विषादी आयात गर्ने विक्री गर्ने व्यवसायीलाई कारबाही भएको छैन, त्यसैले सरकारको विषादी सचेतना सप्ताह कर्मकाण्डी मात्र हो । विषादीबारे सचेतना किसान, आयातकर्ता सम्म पुगेको छैन ।’

१० हजार एग्रोभेट, वार्षिक ५ सयको मात्र अनुगमन

तरकारी तथा फलफुल बालीमा प्रयोग हुने विषादी बजारीकरण तथा विक्री वितरणका लागि देशभर झण्डै १० हजार एग्रोभेटहरु रहेको प्लाण्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमूख सहदेव प्रसाद हुमागाईले बताए । तर ती एग्रोभेटहरुको निरिक्षणमा देशभर ६५ जना मात्र बाली संरक्षण अधिकृत छन् ।

स्रोत र साधान तथा विज्ञहरुको अभावमा केन्द्रले अनुगमन र समेतनाको कार्यक्रम गर्न नसकेको केन्द्रका निमित्त प्रमूख हुमागाई स्वीकार गर्छन् ।

‘नेपालभर झण्डै १० हजार ५ सय एग्रोभेटहरु छन्, हामीले वार्षिक ५ सय एग्रोभेटहरुमा अनुगमन गर्ने गरेका छौं,’ केन्द्रका निमित्त प्रमूख हुमागाईले भने, ‘हामीले देशभरका एग्रोभेटमा कम्तिमा वर्षमा एक पटक अनुगमन गर्न सके उपलब्धिमुलक हुन्छ तर हाम्रो स्रोत साधन र विज्ञहरुको अभावले गर्दा सबै एग्रोभेटहरुमा अनुगमन गर्न सकेका छैनौं ।’

देशभरका एग्रोभेट अनुगमनका लागि बरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली संरक्षण अधिकृतहरु केन्द्रका ४, ५ सहित प्रदेश तथा स्थानीय तहमा सबै गरेर ६५ जना मात्र रहेको केन्द्रका निमित्त प्रमूख गुमागाईले बताए ।

प्रोटोकल खर्चिलो र किसानले प्रयोग गर्दैनन्

तरकारी तथा अन्नबालीमा विषादीको प्रयोग गर्दा विषेश सुरक्षा अपनाउनुपर्ने हुन्छ । प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार विषादी तयार गर्दा सहि मात्रामा र छर्कदा सहि समयमा छर्कनु पर्छ ।

यस्तै विषादी छर्किने व्यक्तिले विषादी छर्किने समयमा सुरक्षित पहिरन लगाउनु पर्छ । अर्थात विषादी छर्किदा गुणस्तरिय माक्स, हातमा पञ्जा, खुट्टामा बुट अथवा जुत्ता लगाउनुपर्ने हुन्छ ।

त्यतिमात्र होइन विषादी छर्किदा कुन दिशामा फर्किएर छर्किने भन्ने विषयमा पनि जानकारी राख्नुपर्ने हुन्छ । तर नेपालका अघिकांश कृषकलाई विषादी छर्किदा अपनाउनुपर्ने सावधानीको विषयमा जानकारी नभएको केन्द्रका निमित्त प्रमूख हुमागाई नै बताउँछन् ।

‘विषादी छर्किदा अपनाउनुपर्ने विधिबारे केही किसानहरुलाई जानकारी छ, हामीले अनुगमन गर्दा भेटाएका छौं, तर जसरी सुरक्षित उपाय तथा उपकरणहरु प्रयोग गर्नुपर्ने हो, त्यो हामीले सिफारिस गरेको विधि र सल्लाह अनुसार किसानले प्रयोग गरेको पाएका छैनौं,’ केन्द्रका निमित्त प्रमूख हुमागाई भन्छन्, ‘विषादी प्रयोग गर्ने किसानहरुले कतिपय अवस्थामा राम्रोसँग नबुझेको हुनसक्छ भने कतिपयले बुझेर पनि ती विधि तथा प्रविधिहरु खर्चिलो भएकाले पनि किसानहरुले प्रयोग नगरेको पाएका छौं ।’

केही व्यवायीक किसानले मात्र सुरक्षित विधी अपनाउने गरेको उनको भनाइ छ ।

विषादीको गलत प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर

विषादीको अत्याधिक प्रयोग गरिएको वा समुचित प्रयोग नभएको तरकारी तथा फलफूलको प्रयोगले मानव स्वास्थ्यलाई गम्भिर असर पुर्‍याउँछ । विषादी मिसाइएको तरकारी तथा फलफूल खाने व्यक्तिलाई मात्र होइन, सबैभन्दा बढी असर त विषादी छर्किने किसानलाई त्यसको पहिलो असर पर्छ ।

मानव शरीरमा विषादीको तत्कालिन र दीर्घकालिन असर पर्छ । तत्कालिन असर तीन तहको हुने विज्ञहरु बताउँछन् ।

विषादीको पहिलो तहको असर साधारण खालको हुन्छ । रिंगटा लाग्ने, थकित महशुस हुने, टाउको दुख्ने, खोकी लाग्ने, स्वाँ स्वाँ हुने, लाटो हुनु पहिलो अर्थात साधारण तहको असर हो ।

मध्यम खालको असरमा पेट वटारिने, मांसपेशी बटारिने, लड्खराएर हिड्ने, वाक वाक आउने, छाती दुख्ने, छाती गह्रौ हुने, वान्ता हुने, पखाला लाग्ने, छाला फुट्ने, छालामा फोका आउने, सेतो वा रातो हुने, शरीर कम्पन हुने लगायतको समस्या देखिन्छ ।

यस्तै तीन तहको लक्षण कडा खालको असर हो । तीन तहको असर देखिएमा पक्षघात हुने, मुर्छा पर्ने, होस हराउने समस्या देखिन्छ । यस्तो अवस्थामा मानिसको मृत्यु नै हुनसक्छ ।

यस्तै विषादीको दीर्घकालिन असरहरुमा पुरुषको शुक्राणुमा प्रत्यक्ष नकारात्मक असर गरी सन्तान उत्पादन क्षमतामा ह्रास आउने, शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर देखाउने, क्यान्सरको जोखिम हुने, वंशाणुगात परिवार्तन हुने, अपाङ्गता भएको शिशु जन्मने, ट्युमरको जोखिम हुने, कलेजो तथा मिर्गौला विग्रिने, गर्भ तुहिने, स्नायु सम्बन्धि समस्याहरु जस्तै पक्षघात, छारे रोग, मानसिक विकासमा वाधा हुने, दम तथा एलर्जीको समस्या देखिने, अन्धोपना तथा दृष्टि कमजोरको समस्या हुने गर्छ ।

नेपालमा विषादीले नै क्यान्सर भयो भनेर अध्ययन नभएपनि विषादीको प्रयोगले दीर्घकालिन रुपमा क्यान्सरको जोखिम उच्च हुने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पिया बताउँछन् ।

डा पिया भन्छन्, ‘नेपालमा विषादीकै प्रयोगले क्यान्सर भयो कि भनेर अध्ययन भएको छैन, तर विषादीको प्रयोगले क्यान्सर, दम लगायतको समस्याको जोखिम बढाएको छ ।’

गर्भवतीले विषाधी छर्किनु हुँदैन

प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमका अनुसार गर्भवती महिलाले तरकारी तथा फलफुलमा विषादी छर्कनै नहुने बताउँछन् ।

‘गर्भाअवस्थामा कतिपय औषधि नै प्रयोग गर्नुहुन्न, गर्भवतीलाई कतिपय औषधिले नै त असर पर्छ भने तरकारी तथा फलफुलको किरा मार्न प्रयोग गर्ने विषादीले त झनै असर पर्छ,’ डा गौतमले भने, ‘त्यसैले गर्भवती महिलाले तरकारी तथा फलफुलमा विषादी छर्कने काम गर्नै हुँदैन, विषादी मिसाइएको तरकारी पनि विषादी छर्किएको १५ दिन सम्म खानै हुँदैन ।’

विषादीले गर्भवति महिलाको गर्भमा रहेको शिशुको स्वास्थ्यमा गम्भिर असर पर्ने भएपनि ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुले विषादी प्रयोग गर्ने गरेको डा गौतम बताउँछन् ।

‘गर्भवती महिलामा औषधिले हुने असरबारे त अनुसन्धान भएको छ, तर विषादीले हुने असरबारे कुनै अनुसन्धान गरिएको पाइएको छैन,’ डा गौतमले भने, ‘विषादीले असर पर्ने भएपनि ग्रामिण क्षेत्रमा गर्भवति महिलाहरुले तरकारी तथा फलफुलमा विषादी छर्किने, विषादी मिसाइएको खाना खाने गरीरहेका छन् ।’

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ९ : २३ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने