कोरोना अस्पतालमा १० दिन « Khabarhub
Logo
८ मंसिर २०७७, सोमबार

कोरोना अस्पतालमा १० दिन



कोरोना संक्रमण हुन नदिन सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्दा पनि धेरैलाई संक्रमण कसरी भयो भन्ने थाहा नहुने रहेछ । मेरी श्रीमतीलाई पनि यस्तै भयो ।

उनलाई ज्वरो आयो । खोकीले सतायो । शंका लागेर परीक्षण गरायौँ । असोज २ गते काठमाडौँमा पिसिआर परीक्षणका लागि स्वाब दिएकोमा ४ गते रिपोर्ट आयो । पोजेटिभ !

एकपटक त छाँगाबाट खसेजस्ता भयौँ ।

तनाव बढ्ने नै भयो । मलाई पनि पोजेटिभ हुने सम्भावना भयो । साथमा सात वर्ष उमेरको छोरो र नौ महिना उमेरकी छोरी छन् । जे भए पनि आफू सम्हालिनु र अरूलाई सर्न नदिनु नै मुख्य काम हुने भयो ।

छोराछोरीमा र ममा कुनै लक्षण देखिएन । श्रीमती संक्रमित भएको तनावमा थप मानसिक तनाव नहोस् भन्ने ठानेर हामी तीन जनाको परीक्षण नगर्ने निधो गरेँ । श्रीमतीलाई संक्रमण पुष्टि भएपछि काठमाडौँको डेरामा साना छोराछोरीका साथ आइसोलेशन नहुने भयो ।

सहजताका लागि हामी कोहलपुर गयौँ, घर । एम्बुलेन्समा झण्डै १३ घण्टा यात्रा गरेर कोहलपुर पुग्यौँ । म र छोरो घरमा बस्यौँ तर नौ महिना उमेरकी छोरी आमाबाट छुटाउन सकिएन । छोरी लिएरै उनी कोहलपुर अस्पतालमा १० दिन बसिन् र कोरोनालाई पराजित गरेर घर फर्किन् ।

अस्पताल पुग्दा उनलाई ज्वरो रोकिए पनि पाँच दिनजति खोकीले सतायो । श्वासप्रश्वासमा केही समस्या भएपछि अक्सिजन दिनुपर्ने भयो । छोरीका कारणले म पनि अस्पताल नै बस्नुपर्ने भयो । छोरालाई घरमा छोडेर अस्पताल गएँ ।

अस्पतालमा अरू पनि संक्रमितहरू थिए । दूरी कायम राखेर म उनीहरूसँगै रहेँ । मलाई कुनै लक्षण थिएन । आफ्नो परीक्षण गराइनँ । आफू संक्रमित भए नभएको थाहै भएन । हामी अस्पतालबाट डिस्चार्ज भएको चार दिनपछि सबैको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो । हामी तनावमुक्त भयौँ ।

श्रीमतीको हेरचाहका लागि सात दिन अस्पताल बस्दा पनि मैले आफ्नोबारे कोरोनाको त्रास लिइनँ । श्रीमतीलाई कहिले ठिक होला भन्ने तर्कनामात्रै भइरह्यो । अक्सिजन दिनुपर्दा भने मन आत्तियो तर आतेस लुकाएर मैले उनलाई हौसला दिएँ । अक्सिजन दिनु सामान्या हो, सजिलोका लागि हो भनेर सम्झाएँ ।

बेसार, अदुवा, गुर्जो, चिराइतो राखेको तातोपानी खुवाएँ । खान मन नलागे पनि खाना खुवाएरै छाडेँ । शरीरलाई शक्ति दिने खानेकुरा खुवाएँ । बिस्तारै स्वास्थ्यमा सुधार आयो । अहिले सबै राम्रो भएको छ । म पनि नियमित काममा फर्किसकेको छु ।

सहयोगी विपुल दाइ

मन बलियो बनाएरै कोरोना वार्डमा प्रवेश गरे पनि अनेक सोच आउने रहेछ । बाहिर हुँदा त अस्पतालभित्र कोराना संक्रमितमात्रै होलान् भन्ने ठानेको थिएँ । अस्पताल प्रवेश गरेपछि थाहा भयो, संक्रमितहरूको हेरचाह गर्ने पनि सँगै रहेछन् । केही संक्रमितका त दुई जना पनि थिए ।

अस्पताल गएकै दिन नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेललाई भेटेपछि मन केही हलुङ्गो भयो । उनी दाङमा बसोबास गर्ने बुबाआमालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल लिएर आएका रहेछन् ।

अस्पतालमा विपुल दाइ संक्रमितका लागि आएको खाना–खाजा वितरण गर्ने र हौसला दिने काम गरिरहेका थिए । म अस्पताल नजाँदासम्म मेरी श्रीमती र छोरीलाई पनि खाना पुर्‍याइदिने र सन्चो–बिसन्चो सोध्ने गरेका रहेछन् । उनको सहयोग थाहा पाएर म आभारी भएँ । फेरि भन्छु– धन्यवाद विपुल दाइ ।

म अस्पताल गएको दिनमै विपुल दाइका बुबा डिस्चार्ज हुनुभयो, तीन दिनपछि आमा पनि डिस्चार्ज । आफूले गर्दै आएको काम मलाई सुम्पिएर दाइ पनि दाङ फर्के ।

व्यवस्थित अस्पताल

काठमाडौँका अस्पतालमा कोरोना संक्रमण बढेर ‘बेड’ अभाव भइरहँदा नेपालगञ्ज मेडिकल कलेजको ‘कोभिड–१९ वार्ड’ व्यवस्थित नै पाएँ । चारतले भवनको पहिलो, दोस्रो र तेस्रो तलामा कोरोना संक्रमितका लागि उपचारको व्यवस्था रहेछ ।

भेन्टिलेटर र आइसियुमा राख्नुपर्ने बिरामीका लागि पहिलो र दोस्रो तला अनि तेस्रो तलामा सामान्य अवस्थाका संक्रमितहरू राखिएका रहेछन् । तेस्रो तलाको ‘वार्ड’ को छतबाट आइसियुमा राखिएका बिरामीहरू देखिन्थे ।

चिकित्सकहरूसँग जिज्ञासा राख्दा सहज तरिकाले जानकारी दिन्थे । चिकित्सक र अस्पतालका कर्मचारीहरूका लागि भने ‘क्याबिन’ मा व्यवस्था थियो । म अस्पताल रहँदा कोहोलपुरमा डाक्टर, नर्स र कर्मचारी गरी १५ जना संक्रमित थिए । कसैका साना छोराछोरी पनि संक्रमित थिए । संक्रमित हुनेमा धेरै नर्स थिए ।

संक्रमितहरूमा उति निराशा देखिँदैन थियो । उनीहरू निको भएर फर्किन्छु भन्ने विश्वासमा देखिन्थे । थोरै तनाव हुन्थ्यो त १४ दिन कसरी कटाउने भन्नेमात्र । उनीहरू औँला गन्दै बसेका हुन्थे ।

लक्षण नदेखिएका र निको हुँदै गएका बिरामीहरूलाई अस्पतालले अवस्था हेरेर सामान्यतया १४ दिनपछि घर पठाउँदो रहेछ । लक्षण नदेखिए दोहोर्‍याएर परीक्षण नगरिने रहेछ । घरमा केही दिन क्वारेन्टिनमा बस्न सुझाब दिँदै केही औषधि दिएर पठाउने रहेछन् ।

सुगरका बिरामीको साहस

सुगरको औषधिसमेत खाइरहेका एक जना पुरुष थिए ६५ वर्ष उमेरका । उनको साहस हाम्रा लागि ऊर्जा हुन्थ्यो । उनी सबैलाई हौसला दिइरहेका हुन्थे । दैनिक सुगरको औषधि खान्थे तर कोरोनाको त्रास थिएन । बैसाखी टेकेर हिँड्थे । निको भइहाल्छु भन्थे ।

‘जनयुद्धका बेला माओवादीले मारेर फाल्दा त बाँचियो, यो कोरोनाले केही गर्दैन’, एक दिन हाँस्दै बिरामीहरूसँग भने, ‘बैसाखीको साहारामा त म ढुक्क छु, कोरोना संक्रमण भयो भन्दैमा तनाव नलिनुस् । आत्मबल बलियो बनाउनुस् ।’

एक दिन उनले सुनाएअनुसार जनयुद्धमा माओवादीले हातखुट्टा भाँचेर मर्‍यो भन्दै उनलाई जङ्गलमा फालेका रहेछन् । काठमाडौँको महाराजगञ्ज शिक्षण अस्पतालमा अप्रेसन गरेर उपचार भयो तर हिँड्न बैसाखी चाहिने भयो । बुढो हुँदै गएपछि सुगर (मधेमेह) थपियो ।

उनले भने, ‘सुगरको औषधि खाने बिरामी भनेर बरु डाक्टरहरू आत्तिन्छन्, म त निको हुन्छु भनेर ढुक्क छु ।’

संक्रमित मुटुरोगी

एक जना मुटुरोगी भेटिए, उमेर ४० वर्ष । घर नेपालगन्ज । ‘क्यानुला’ रोपेको हात लिएर छतमा हावा खाँदै हलुका व्यायाम गरिरहेका थिए । अन्य केही संक्रमित उनीसँग गफिँदै थिए । म पनि मिसिएर संवाद सुरु गरेँ ।

‘वृद्धवृद्धा, मुटुरोगी र फोक्सोमा समस्या भएकालाई त कोरोनामा धेरै समस्या हुन्छ रे नि !’

‘म मुटु रोगी । अब निको भएँ । आइसियुमा तीनचार दिन अक्सिजन लिएर बाँचे । झण्डै आश मारेको थिएँ । अब केही हुँदैन ।’

‘सुरुमा कसरी थाहा भयो त ?’

‘सुरुमा ज्वरो आयो, खोकी लाग्यो । पीसीआर गराउँदा पोजेटिभ देखियो । मुटुको रोगी मान्छे, तनाव बढेर होला, मुटु पनि दुख्न थाल्यो । सात दिनदेखि निकै गाह्रो भयो तर हिम्मत हारिनँ । अहिले ठिक छु । अब पिसिआर नेगेटिभ नआएसम्म अस्पतालबाट जान्नँ । आज १४ दिन भयो ।’

‘मेरो अनुभवमा कोरोना लाग्नुअघि मानिसमा जुन किसिमको रोग छ, त्यही प्रकृतिको लक्षण देखिन्छ । पेटका बिरामीलाई पखाला लाग्छ, मुटुका बिरामीलाई मुटु दुख्छ । सुरुमा जे भए पनि अन्तिम असर फोक्सोमै देखिन्छ ।’

‘ल, तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना । अरूको हौसला बढाउँदै गर्नुहोला ।’

दैलेखबाट आएकी दमरोगी

दैलेखकी एक जना संक्रमित थिइन्, उमेर ६० वर्षमाथि अनि दमको रोगी । कोरोना वार्डको छतमा क्यानुला रोपिएको हातले काइयो समातेर कपाल कोर्दै गरेकी उनले केही दिन आइसियुमा बसेको र अहिले साधारण वार्डमा सरेको बताइन् ।

उनको खोकी निको भयो । चाँडै घर फर्किने आशामा छिन् । हामी डिस्चार्ज हुने दिनमा ती वृद्धा आएको १० दिन पुगेको थियो । उनले सोधिन्, ‘दम बढेपछि अस्पताल आएँ, कोरोना भयो भनेर यहाँ ल्याए, यो कस्तो रोग हो ?’

उनको हेरचाहका लागि बहिनी आएकी थिइन् । बहिनीको घर दाङको भालुवाङ रहेछ । अरू नभएर बहिनी आउनुपरेको रहेछ । उनले दिदीलाई दैनिक बाफ लिन लगाइन् । बेसार हालेर तातोपानी खुवाइन् । अस्पतालले दिएको औषधि पनि भनेअनुसार खुवाइन् ।

कैलालीका संक्रमितको कहर

अर्का एक जना संक्रमित थिए कैलालीका, उमेर ५० वर्ष । उनको व्यथा अलिक फरक थियो । संक्रमितलाई समाजले गर्ने व्यवहारबाट दिक्क थिए- उनी ।

उनले आग्रह गरे, ‘ढिलोचाँडो सबैलाई कोरोना हुन्छ, कोरोना भएकालाई दुर्व्यवहार नगर्नुहोला । भोलि तपाईंलाई यस्तो भए के गर्नुहुन्छ, सोच्नुहोस् ।’

आफूलाई कोरोना कसरी सर्‍यो भन्ने उनलाई थाहा छैन । सामान्य ज्वरो र खोकी देखिएपछि पीसीआर परीक्षण गराउँदा पोजेटिभ आयो । छरछिमेकले थाहा पाएपछि दुर्व्यवहार गरे । यसबाट उनी खिन्न देखिए ।

थेगो जस्तो ‘आत्मबल बढाउनुस्’

सेतोमा निलो रङको धर्का भएको पिपिइ लगाएका चिकित्सक औषधिको ‘ट्रे’ गुडाउँदै दिनमा दुई पटक, बिहान–बेलुका, औषधि दिन आउँथे ।

धेरै बोल्दैन थिए, बिरामीको अवस्था सोधेर कस्तो लक्षण छ सोहीअनुसारको औषधि दिएर जान्थे । चिन्ता नलिनू भन्न छुटाउँदैन थिए । खानपानमा विशेष ध्यानदिन आग्रह गर्थे । उनीहरू प्रायः आइसियुमा बढी ध्यान दिन्थे । जो आए पनि थेगोजस्तै गरी ‘आत्मबल बढाउनुस्’ भनेर जान्थे ।

कोरोना संक्रमितको उपचारमा लागेका डा. दीपेन्द्र खड्काले आफूहरू अहोरात्र खटेको र यही क्रममा आफ्ना धैरै साथीहरू संक्रमित भएको बताए । ‘चिन्ता लिनु हुँदैन, आत्मबल बढाएर नियमित खानपानमा विशेष ध्यान दिए कोरोना जितिन्छ’ भन्न उनले पनि छुटाएनन् ।

डा. खड्काका अनुसार कारोना जितिन्छ भन्दैमा हेलचेर्क्रायाइँ गर्नु गलत हुन्छ । दीर्घ रोग नभएकाहरू सजिलै निको हुन्छन् तर उनीहरूले वृद्ध तथा बालबालिका सारे भने जोखिम धेरै हुन्छ । कोरोना रोकथाम र नियन्त्रणमा पहिलो जिम्मेवारी व्यक्तिकै हुन्छ ।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीहरू धेरै समय क्याविनमै बसे पनि बिहान र बेलुका छतमा निस्किन्थे । गफको धेरै जसो विषय कोरोना नै हुन्थ्यो । अन्य संक्रमितहरूलाई चिन्ता नलिई आत्मबल बढाउन उनीहरू सुझाब दिइरहेका हुन्थे ।

अस्पतालकै एक जना कर्मचारी र एक जना नर्सका श्रीमानको मृत्यु भएको दिन भने उनीहरू सबै मलीन मुद्रामा थिए । नेपाली सेनाको शव व्यवस्थापन टोलीले शव प्लास्टिकमा बेरेर झोलामा राख्दा वातावरण मलिन थियो ।

शव व्यवस्थापनका लागि सेनाको टोलीको गतिविधि छतबाट प्रष्ट देखिन्थ्यो । म अस्पताल रहुन्जेलमा कोहलपुर अस्पतालमा मात्र ५ जना संक्रमितको मृत्यु भयो ।

(संक्रमितहरूको गोपनियता ध्यानमा राखेर नाम खुलाइएको छैन र टाढाबाट लिएका तस्वीरहरूमात्र प्रयोग गरिएको छ ।)


भर्खर

0