उखु छाडेर केरा रोजे पनि गएन किसानको दुःख « Khabarhub
Logo
७ मंसिर २०७७, आइतबार

उखु छाडेर केरा रोजे पनि गएन किसानको दुःख



त्रिवेणी (नवलपरासी)- चिनी मिलबाट ठगिएका नवलपरासीका उखु किसानहरू केही वर्षयता केरा खेतीतर्फ लागेका छन् । चिनी उद्योगीहरू किसानको करोडौँ रुपैयाँ भुक्तानी नगरी बसेका छन् ।

आफूले बेचेको उखुको बक्यौता रकम भुक्तान गर्न माग गर्दै चिनी मिलदेखि सिंहदरबारको गेटसम्म पनि किसान नपुगेका होइनन् तर पैसा नपाएपछि उखुको विकल्पमा किसानहरूले केराखेती रोजेका हुन् । केही वर्षयता उखुखेती मासेर केरा केरा उत्पादन गर्न थालेका छन् तर किसानको दुःख उही छ ।

रूप फेरियो तर किसानको दुःख उस्तै रह्यो । यस्तैमा यस वर्ष किसानलाई कोरोना भाइरसको कहरले सताएको छ ।

गत चैतदेखि कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि लकडाउन गरिएपछि किसानले उत्पादन गरेको केरा सहजरूपमा बजार पुग्न नसक्दा बारीमै कुहिन थालेको छ । केरा कुहिएर किसानलाई नोक्सान भएको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।

भारतीय उत्पादसँग प्रतिपस्पर्धा

नेपालमा भारतीय केरा आयात हुने गरेको छ । भारतमा किसानले रासायनिक मल र बिउबिजन सुपथ मूल्यमा पाउँछन् । नेपालमा किसानले चर्को मूल्य तिरेर पनि सहजरूपमा बिउबिजन र रासायनिक मल पाउन सकेका छैनन् । यसले गर्दा नेपाली उत्पादन महँगो हुँदा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको छ ।

भन्सार नाकामा विषादी परीक्षणको उचित व्यवस्था नहुँदा भारतबाट निर्वाधरूपमा केरा आयात भइरहेको छ । भारतीय आयातमा नियन्त्रण गरेर नेपाली किसानको उत्पादन सहजरूपमा बजारमा पुग्ने व्यवस्था गर्नुपर्नेमा राज्य उदासीन रहेको यादवको भनाइ छ । नेपाली किसानले उत्पादन गरेको फलफूल र तरकारीको बजार राज्यले सुरक्षित गरिदिनुपर्ने उनको माग छ ।

उत्पादन बढ्दै, बजार घट्दै

पछिल्लो समय नेपालका केरा उत्पादन बढ्दो क्रममा छ । बजारका पहुँच भने सहज छैन । सहजरूपमा बजारसम्म पुर्‍याउँन नसक्दा किसानको उत्पादन बोटमै कुहिन थालेको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी, मध्यबिन्दुको प्रसौनी, कावासोतीको डण्डा क्षेत्र तथा पश्चिम नवलरासीको प्रतापपुर, सुस्ता, सरावल, रामग्राम क्षेत्र केरा खेतीको पकड क्षेत्र बनेको छ ।

गत वर्ष पश्चिम नवलपरासी क्षेत्रमा १२ सय बिघा क्षेत्रफलमा केराखेती भएको थियो । यस वर्ष २५ सय बिघामा खेती भएको छ । यहाँ जी–नाइन, रोबेस्टा, बिलियम, भीम लगायत जातका केरा रोपिएका छन् ।

अहिले बजारमा उपभोक्ताले एक दर्जनको एक सय रुपैयाँभन्दा बढी मूल्यमा केरा किन्ने गरेका छन् । किसानले भने मुश्किलले ३० रुपैयाँ पाउने गरेको संघका अध्यक्ष यादव बताउँछन । ‘लकडाउनले गाउँमा उत्पादित केरा सहजरूपमा बजार पुग्न सकेन’, यादवले भने, ‘लकडाउन खुकुलो पारिएपछि पनि अहिले गाउँगाउँमा गरिएको निषेधाज्ञाले झनै बढी समस्यामा पारेको छ ।’

केरा खेती गर्न सहकारीको ऋण

मध्यबिन्दु नगरपालिका-९ को भिउरानमा समयदेखि केराखेती हुँदै आएको छ । यो क्षेत्र केरा ब्लक क्षेत्र बन्न पुगेको केरा किसान तथा स्थानीय नव सूर्यकिरण कृषि सहकारी संस्थाका अध्यक्ष हरिचन्द्र ढकाल बताउँछन् ।

स्थानीय मालबोक जातको केरा खेती गर्दै आएका किसानका लागि प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत पनि अनुदान सहयोग प्राप्त भएको ढकाल बताउँछन् । केराखेती गर्न चाहने किसानका लागि सहकारीबाट ऋण उपलब्ध हुने पनि ढकालले बताए ।

भारतीय केराले बजार ढाकेकोले नेपाली उत्पादन खेर जाने गरेको उनको भनाइ छ । ‘भारतबाट आएको केरा गाउँगाउँमा बिक्री हुने गरेको छ,’ ढकालले भने, ‘सरकारले यसमा कडाइ गर्न नसक्दा स्थानीय केराले बजार पाउन सकेको छैन ।

चाडपर्वको भरोसा

चाडपर्वको समयमा केराको राम्रो ब्यापार हुने गर्छ । यसपालि कोरोना भाइरस संक्रमण जोखिमले लकडाउन गरिएपछि केराको राम्रो ब्यापार हुन सकेन ।

लकडाउनका कारण आमाको मुख हेर्ने दिन भनिने मातृऔँसी, बुबाको मुख हेर्ने दिन भनिने पितृऔँसी, तिज लगायतका चाडमा केराको ब्यापार राम्रो हुन सकेन । ‘केरा बिक्री हुने चाडवाडमा यसपालि राम्रो व्यापार भएन,’ केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष यावदले भने, ‘अब दशैँ, तिहार र छठपर्वमा पनि बन्द कायमै रहने हो भने सबै केरा बोटमै कुहिन्छ ।’

नवलपरासी क्षेत्रमा उत्पादित केरा स्थानीय बजारका साथै बुटवल, नारायणगढ, पोखरा, काठमाडौँसम्म पुग्ने गरेको छ । तर, लकडाउनले स्थानीय केरा बिक्री हुन नसक्दा किसानले करोडौँ ठूलो घाटा ब्यहोर्नु परेको छ ।

अनौठो कुरा के छ भने भारतीय केरा निर्बाधरूपमा नेपालका सबै शहर र गाउँगाउँमा पुगे पनि नेपाली उत्पादनलाई भने लकडाउन र निषेधाज्ञाको मार पर्ने गरेको छ । चिनी उद्योगबाट हैरान किसानहरू केराखेतीमा पनि भारतीय केरासँग प्रतिस्पर्धाको मारमा परेका छन् ।


भर्खर

0