आज पनि देशभर वर्षा, कर्णाली र सेती नदीमा बहाव उच्च | Khabarhub Khabarhub

आज पनि देशभर वर्षा, कर्णाली र सेती नदीमा बहाव उच्च


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सबैजसो प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

तीन दिनको पूर्वानुमान गर्दै महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान वुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशका सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का  एकदुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरू भएको छ ।

कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार कर्णालीमा बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर रहेको थियो ।

कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उनले बताइन् ।

पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

‘नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ’, गेजरिडर गुरुङले भनिन्, ‘मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ ।’

नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

सेती नदीमा पनि पानीको बहाव उच्च

लगातारको वर्षाले डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ ।

नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ ।

डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ ।

सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक रहेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ ।

सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन यहाँको प्रहरी प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।

सेती नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

डोटीमा भारी वर्षा शुरु भएसँगै बाढीपहिरोको त्रास बढेको छ । वर्षाकै कारण विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।

वर्षा शुरु भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडकमा अहिले सवारी साधन गुड्न सकेका छैनन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ४५ बजे

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको