‘खेलको लय समात्न ५ महिनाभन्दा बढी लाग्छ’ « Khabarhub
Logo
१ बैशाख २०७८, बुधबार

‘खेलको लय समात्न ५ महिनाभन्दा बढी लाग्छ’



काठमाडौं- खेलाडीसँगै जोडिने अर्को शब्द हो खेलस्थल । तर, नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीले त्यसलाई नकारिदिएको छ । पछिल्लो ४ महिनादेखि खेलाडीहरु चौखटमा सीमित भए ।

सरकारले चैत ११ गतेदेखि कोभिड १९ को जोखिम कम गर्न भन्दै सामाजिक दूरी कायम गर्न लकडाउन लगाएको छ । जुन अन्तिम पटक बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ सम्म पुर्‍याएको छ ।

मैदानमा हुनु पर्ने खेलाडी घरमा सीमित हुँदा हुँदा अब बिस्तारै खेल्नै बिर्सने त होइनन् भन्ने चिन्ता खेल जगतमा सुरु हुन थालेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने बिस्तारै लकडाउन खुकुलो हुँदै जाँदा खेलाडी अभ्यासमा फर्किइसकेका छन् ।

तर, नेपालमा भने सरकारले आधिकारिक रुपमा अहिलेसम्म खेलाडीका लागि कुनै तयारी नै गर्न सकेको छैन । संघहरु पनि सरकारको निर्देशन पालना भन्दै कुनै काम गरेका छैनन् ।

अब लकडाउन बढ्दै जाँदा खेलाडीहरु आफै सचेत भएर आफूलाई पायक पर्ने ठाउँमा अभ्यासमा जान थालेका छन् । तीन महिना कोठाभित्रै बस्दा दिग्दार लागेपछि भारत्तोलनकी खेलाडी सञ्जु चौधरी पनि घर नजिकैको क्लबमा जीम गर्न थालेकी छन् ।

सञ्जुमात्रै होइन् धेरै खेलाडीहरु अहिले आफ्नो घर नजिक वा केही समय हिडेर पुगिने ठाउँसम्म भएपनि अभ्यासमा जान थालेका छन् ।

‘तीन महिना घरमा बस्दा निकै अफ्ठ्यारो भयो । सुरुमा त आराम गर्न पाइन्छ भन्ने थियो । तर, लकडाउन लम्बिइ रह्यो,’ सञ्जुले भनिन् । स्रोह्रखुट्टे बस्ने सञ्जुले सुरुमा आफ्नो घर छेउ रहेको जिम खुला छ भन्ने पनि जानकारी पाएकी थिइनन् ।

तर, एक दिन सामान किन्न बाहिर निस्किएको समयमा क्लब खुला देखेपछि उनी जीम जान सुरु गरेको बताउँछिन् ।

‘घरमा बस्दा बस्दा दिक्क लागिसकेको थियो । एक दिन सामान किन्न बजार निस्किएकी थिँए । त्यतिबेला जिम खुलेको थाहा पाएँ । अनि जिम जान थालेँ,’ उनले भनिन् ।

मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी सञ्जु अब जसरी भएपनि अभ्यास सुरु गर्नु पर्ने बताउँछिन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि अनौपचारिक रुपमा खेलाडीलाई अभ्यासमा फर्काउन संघलाई आग्रह गरिरहेको छ । तर, संघहरु आधिकारिक पत्र नआएको भन्दै लकडाउनलाई बाहना बनाएर बसिरहेको आरोप लाग्न थालेको छ ।

सञ्जु र कमला महर्जन भारत्तोलनबाट टोकियो ओलम्पिकका लागि वाइड कार्ड इन्ट्रिमा सिफारिसमा परेका खेलाडी हुन ।

ओलम्पिकमा राम्रो गर्ने लक्ष्य

कोरोना भाइरसकै कारण टोकियो ओलम्पिक एक वर्षपछि धकेलिएको छ । तर, भाइरसको जोखिम कम नहुँदा टोकियो ओलम्पिक हुने नहुने अन्योल नै छ । यद्यपी खेलाडीहरु ओलम्पिककै लागि भएपनि अभ्यास सुरु गर्नु पर्ने माग गरिरहेका छन ।

भारत्तोलनबाट ओलम्पिकको वाइल्ड कार्ड इन्ट्रिका लागि सञ्जु र कमलाको नाम सिफारिस भएको छ । ओलम्पिक लक्षित भए पनि अभ्यास सुरु गर्नु पर्ने सञ्जु बताउँछिन् ।

‘लकडाउन खुले पनि नखुले पनि हामी दुई जनालाई अभ्यास गराइ दिए हुन्थ्यो । ओलम्पिकमा नाम पठाइएको छ । हामी सुरक्षित साथ अभ्यास गथ्यौं,’ सञ्जुले भनिन् ।

सञ्जुले समय समयमा ओलम्पिकको तयारीमा रहेका भारत, दक्षिण कोरिया र चीनमा आफ्ना साथीहरुसँग कुरा पनि गर्छिन । उनीहरु लकडाउनपछि अभ्यासमा फर्किइसकेका छन् भने सञ्जुलाई पनि भाइरस जोखिमका सामग्रीको सहायतामा अभ्यासमा फर्किन सुझाइ रहेका हुन्छन् ।

‘विदेशी साथिहरुसँग कुरा भइरहेको हुन्छ । उनीहरु अहिले अभ्यास सुरु गरिसकेका छन् । मलाई पनि अभ्यास सुरु गर्न भनिरहेका हुन्छन्,’ सञ्जुले भनिन् ।

क्रिकेट छाडेर भारत्तोलनमा

स्कुल पढ्दा खेलकुदमा रुचि राख्ने सञ्जु एथलेटिक्स र क्रिकेट पनि खेल्थिन् । उनले एथलेटिक्समा २ सय मिटरको दौडमा पदक पनि जितेकी थिइन् । त्यस्तै, क्रिकेटको त चार–पाँच वटा राष्ट्रिय प्रतियोगिताहरु नै खेलेको उनी बताउँछिन् । महिला क्रिकेटको विकासको कुरा गर्दा नेपालगञ्ज सबैभन्दा पहिलो नम्बरमा आउँछ ।

त्यहिँ ठाउँमा क्रिकेट सिकेकी सञ्जु कुनै समय नेपाली राष्ट्रिय महिला क्रिकेट टीमबाट नेपालको प्रतिनिधित्व गर्ने सपना देखेकी थिइन । तर, राष्ट्रिय टोलीको अन्तिम १८ भन्दा माथि पर्न नसकेपछि सञ्जुले क्रिकेट खेल नै छाडेर भारत्तोलनलाई आत्मसाथ गरिन् ।

‘मलाई लाग्छ, म राम्रो क्रिकेट खेल्थे । तर, राष्ट्रिय टोलीको अन्तिम १८ भन्दा माथि पर्न नसकेपछि खै किन हो मलाई क्रिकेटमा फर्किन मन लागेन,’ क्रिकेट छाड्नुको कारण सुनाउँदै सञ्जुले भनिन्, ‘रंगशाला गइरहेका हुन्थ्यौं । क्रिकेट खेल्दा पनि हप्तामा एक दिन वेट टेनिङका लागि जान्थ्यौं । तर, एसएलसी पछि भने म भारत्तोलनमै लागे । सुरेन्द्र गुरु (सुरेन्द्र हमाल)ले भारत्तोलनमा लाग्न प्रेरित गर्नु भएको ।’

सञ्जुलाई खेल्न क्रिकेट कि भारत्तोलन सजिलो भन्दा उनी हाँस्दै भन्छिन्, ‘…सजिलो त क्रिकेट छ भनुम । तर, अहिले भारत्तोलन मन पर्छ ।’

सञ्जुले किन भारत्तोलन भन्दा क्रिकेट सजिलोलाई स्पष्ट पार्ने कोसिस गर्दै भनिन्, ‘टिम गेममा एक जनाले राम्रो गरेर हुँदैन । टिम इर्फोट चाहिन्छ । तर, भारत्तोलनमा आफुले राम्रो गर्न सकेपनि पुग्छ ।’

अहिलेसम्मको नतिजामा सन्तुष्ट

सञ्जुले भारत्तोलनको यात्रा सुरु गरेको धेरै समय भएको छैन । २०७२ सालपछि मात्रै भारत्तोलनमा लागेकी उनी अहिलेसम्मको आफ्नो खेल यात्रा सुखमय रहेको बताउँछिन् ।

अहिलेसम्म सञ्जुले नेपालका लागि जुनियर र सिनियर गरी ६ वटा प्रतियोगिता मात्रै खेलेकी छन । जसमा दुई पटक जुनियर च्याम्पियनसिप, कोरियामा भएको इन्टर क्लब एसियन गेम, चीनमा भएको ओलम्पिक छनोट र १३ औं दक्षिण एसियाली खेलकुद गरी ६ प्रतियोगिता खेलेकी छन् ।

१३ औं सागमा नेपाललाई भारत्तोलनमा स्वर्ण जिताउँदै कीर्तिमान बनाएकी छन । यसअघि भारत्तोलनमा कुनै पनि खेलाडीले स्वर्ण पदक हात पार्न सकेको थिएन ।

‘अहिलेसम्मको खेल यात्रामा सन्तुष्ट छु । मेहनत पनि गरिरहेकी छु । शरीरले साथ दिएसम्म राम्रो गर्ने लक्ष्य छ । अबको पहिलो लक्ष्य ओलम्पिकमा नेपाललाई राम्रो नतिजा दिलाउने हो,’ सञ्जुले भनिन् ।


भर्खर

0