पाइथागोरस, ज्यामिति र पूर्णतातिरको यात्रा « Khabarhub
Logo
१९ श्रावण २०७७, सोमबार

पाइथागोरस, ज्यामिति र पूर्णतातिरको यात्रा



हामी जहिल्यै पनि कपटपूर्ण (कन्स्पिरेसी) शिक्षाको सिकार भइरहेका छौँ । आध्यत्मिक अभ्यासमा पञ्चकपट भनेर अस्मिता, अविद्या, राग, द्वेष र अभिनिवेशलाई भनिएको छ । सबैका आआफ्नै आधारहरू छन् तर यहाँ विस्तार भयले सबैको व्याख्या गरिने छैन । अहिले हामी अविद्यालाई संक्षिप्तरूपमा बुझ्ने प्रयत्न गरौँ ।

अविद्या भन्नाले विद्या अथवा ज्ञानको अभाव नभएर कपटपूर्ण विद्या हो । नेपाली साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीका बारेमा पछिल्लो समयमा विभिन्न किसिमका बहसहरू चलिरहेका छन् । हामीले विद्यालयस्तरको पाठ्यक्रम अन्तर्गत देवकोटाको संक्षिप्त जीवनी पढ्दा झन्डैझन्डै भिख माग्दै हिँड्ने अवस्थाका असाध्यै गरीब महाकवि भनेर पढेका थियौँ ।

अहिले विद्वानहरूले समकालीन साहित्यकारमध्ये सबैभन्दा एलिट रहनसहन र शैली भएका साहित्यकार हुन् देवकोटा भन्छन् । भूतपूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देवकोटालाई चित्रण गरेको पाठ पढ्दा भने अहिलेका विद्वानको तर्क जायज ठहर्छ । त्यसो हुँदा हामीले पाठ्यक्रममा पढेको देवकोटाको वास्तविकता के हो त भन्ने प्रश्न उठ्न सक्छ । यो प्रश्नको उत्तर जे भए पनि शिक्षा चाहिँ कपटी (कन्स्पायर्ड) नै हो । अविद्याको व्यावहारिक उदाहरण हो ।

कपटपूर्ण शिक्षा भन्नाले आंशिकरूपमा ढाकिएको, आफ्नो स्वार्थ बमोजिम तोडमोड गरेर व्याख्या गरिएको, भ्रमपूर्ण अभिव्यक्ति, कुनै एउटा पक्षलाई मात्रै विशेष जोड दिइएको, ख्याति अथवा सहानुभूति प्राप्त गर्न अतिव्याख्या अथवा अल्पव्याख्या गरिएको र आफ्नो अभिष्ट सिद्ध गर्न तथ्यको भ्रमपूर्ण प्रयोग भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

यो नै अविद्या हो । अविद्या जतिसुकै तर्कपूर्ण ढंगले प्रस्तुत गरिए पनि यसले आध्यात्मिक विकास सम्भव हुँदैन । यसरी हेर्दा थोरै अर्थात अल्पचित्रण पनि अविद्या नै हुन आउँछ ।

हामीले ग्रीक ज्यामितिज्ञ पाइथागोरसको समकोणी त्रिभुजमा (राइट एङ्गल्ड ट्रेङ्गल) भुजाहरू (आम्र्स) को सम्बन्ध कर्ण (हाइपटेन्युज) को वर्गलम्ब (पर्पेन्डिकुलर) को वर्ग र आधार (बेस) को वर्गको योगफल बराबर हुन्छ (एच स्क्वायर बराबर पि स्क्वायर प्लस बि स्क्वायर) भनेर पढेका थियौँ, पढ्दै छौँ ।

आज म पाइथागोरस र उनको त्रिभुजीय ज्यामितीका बारेमा आध्यात्मिक अभ्यासका दृष्टिकोणले हाम्रो मानस (माइण्ड) व्याख्या गर्न प्रयोग गर्ने छु । पाइथागोरस छैठौँ ईशापूर्वदेखि पाँचौँ ईशापूर्वका एक ग्रीक ज्यामितिज्ञ थिए ।

विद्वानहरूका कुरालाई आधार मान्ने हो भने पाइथागोरसको जस्तो तार्किक क्षमता भएका व्यक्ति अहिलेसम्म जन्मिएका छैनन् । कोही पनि उनीसँग तर्क गर्न सक्दैनथ्यो । उनको जीवन र जगतप्रतिको दृष्टिकोण ‘तर्क नै ज्ञान हो र तर्कले प्रमाणित गर्न नसक्ने कुनै कुराको अस्तित्व सम्भव छैन’ भन्ने थियो ।

त्यसबेला ईश्वरको अस्तित्व तर्कले नै प्रमाणित गर्ने परम्परा थियो । त्यही समयमा अफ्रिकाको मिश्रराज्य (इजिप्ट) को ‘ईश्वरको अस्तित्व प्रमाणित गर्ने विषय नभएर अनुभूत गर्ने विषय हो र त्यसका लागि तर्क र ज्ञान नै सबैभन्दा ठूलो बाधा हो’ भन्ने कुराले युरोपभरका तर्कशास्त्रीहरूको मगज खल्बल्याउँदै थियो । पाइथागोरसलाई इजिप्ट गएर गाँठी कुराको रहस्य खोल्ने हुटहुगी जाग्यो ।

उनी इजिप्ट पुगे र त्यहाँको रहस्य (मिस्टिक) विद्यालयमा आफू आउनाको कारण जानकारी गराए । विद्यालयमा भर्ना भएर त्यो आध्यात्मिक रहस्य–विद्या सिक्ने उत्कट चाहना व्यक्त गरे । त्यहाँ उनलाई विद्यालयको भर्ना प्रक्रिया, न्यूनतम मापदण्ड र नियमित आचरणका बारेमा जानकारी गराइयो ।

पाइथागोरसलाई सबै कुरो चित्त बुझ्यो तर २१ दिनसम्म त्यहाँको मापदण्ड पूरा गरेर उपवास बस्नुपर्ने न्यूनतम मापदण्ड चाहिँ पटक्कै मन परेन । उनको तार्किक मानसले उपवास र ज्ञानका बीचमा कुनै सम्बन्ध स्थापित गर्नै सकेन ।

उनी त्यहाँ भएका सबैजसो गुरुहरूसँग बसेर तर्क गरे- म ज्ञानको खोजीमा त्यति टाढादेखि यहाँ आएँ । अहिले तपाईंहरू यो फाल्तुको उपवास भनेर मेरो समय बर्बाद गर्दै हुनुहुन्छ । मलाई हतार पनि छ, फर्केर जानु पर्छ । मलाई कृपया यो ज्ञान सिकाइदिनुहोस्, म तुरुन्तै सिकेर फर्किन चाहन्छु ।

सबै गुरुहरूले एउटै मुद्रामा एउटै जवाफ दिन्थे– २१ दिन उपवास, त्यसपछि विद्यारम्भ !

पाइथागोरस हरेक दिन जान्थे र एउटै तर्क गरिरहन्थे, गुरुहरू सधैँ उही जवाफ दिइरहन्थे । हुँदाहुँदा तीन महिना बित्यो । पाइथागोरस हतास हुँदै गए । उनी आफ्नो सामान पोको पारेर युरोप फर्किने लगभग पक्का गरेर भोलिपल्ट हिँड्ने तयारी गरे । आफू अपमानित भएको र आफ्नो त्यत्रो तार्किक क्षमताको कदर नभएको हिनताबोधले पिल्सिएर उनी त्यो रात सुत्न सकेनन् ।

बिहानीपख उनको मनमा एउटा प्रश्न आयो– मलाई ग्रीसमा तैँले इजिप्टबाट के सिकेर आइस् भनेर सोधे भने के जवाफ दिनु होला !

उनी सरासर स्कूल फर्के । उपवासको नियम बुझे । त्यही दिन उनले रहस्य–विद्याको अभ्यास सुरु गरे । जब उनको सिकाइ अन्तिम चरणमा पुग्यो, उनका सबै जिज्ञासा शान्त भए ।

अन्तिम दिन गुरुले सोधे– अब तिमी के सिक्न यहाँसम्म आएका थियौ, त्यो कुरो मलाई सोध, म सिकाउँछु ।

पाइथागोरस मुसुमुसु हाँसे र भने–गुरु ! म के सिक्न यहाँ आएको भन्ने कुरै बिर्सिएँ । अब मलाई केही सिक्नु छ जस्तो पनि लागेको छैन । हजुरलाई बरु मलाई केही चाहिन्छ जस्तो देख्नुएको भए कृपया त्यो सिकाइदिनूहोस् ।

गुरुले भने-अब तिम्रो अनुहारको आभा र कान्ति तिम्रो वशमा छैन, त्यसलाई तिमी लुकाउन सक्दैनौ । यो तिम्रो आभा देखेपछि तिमीलाई प्रश्न नसोध्ने कोही पनि हुँदैन । तिम्रो देश तर्कले सम्बन्ध स्थापित गर्ने परम्परा भएको देश हो । तर्कले भन्दा आकारले व्याख्या गर्दा कुरा बुझाउन सजिलो हुन्छ । तिमी ज्यामिति सिकेर जाऊ र त्यहाँ अध्यात्मको ज्ञान ज्यामिति प्रयोग गरेर सबैलाई बुझाऊ र त्यसै गरेर अभ्यास गराऊ ।

पाइथागोरस ग्रीस फर्के । उनले आध्यात्मिक शिक्षाका लागि एउटा स्कूल स्थापना गरे । त्यसउपरान्त उनले प्रयोग गरेका त्रिभुजीय ज्यामिति र सम्बन्धहरूको विस्तार पाइथागोरसको सिद्धान्त भनेर चिनिन्छन् तर पाइथागोरस आफैँले कहिल्यै पनि ती सिद्धान्तहरूको स्वामित्व आफ्नो हो भनेका छैनन् !

परा–प्राचीन समयदेखि अहिलेसम्म इजिप्टमा जस्तो अलौकिक र अद्भूत तरिकाले प्रयोग गरिएको ज्यामितिको भौतिक रूपान्तरण (फिजिकल ट्रान्स्फर्मेसन) को नमूना पिरामिड र वास्तुकला अन्यत्र कहीँ पनि पाइँदैन । आज हामी त्यो त्रिभुजीय ज्यामितिको केही अंश मानस अध्ययनमा प्रयोग गरौँ ।

समकोणी त्रिभुजलाई अंग्रेजीमा राईट एङ्गल ट्रेङ्गल भनिन्छ । यो त्रिभुजमा एउटा कोण नब्बे डिग्रीको र अरू दुई वटा कोणको योगफल नब्बे डिग्री हुन्छ ।

माध्यमिकस्तरमा पढ्दा सरले राइट एङ्गल ट्रेङ्गल भन्नुभयो । मैले ‘सर यो लेफ्ट एङ्गल ट्रेङ्गल चाहिँ हुन्छ कि हुँदैन’ भनेर सोधेँ ।

सर राम्रै पढाउनुहुन्थ्यो । रिसाएको थाहा थिएन तर राम्रै रिसाउनु पनि हुँदोरहेछ । रन्किएर भन्नुभयो, ‘अहिले तेरा नसे करङ्ग गनेपछि लेफ्ट एङ्गल ट्रेङ्गल पनि हुन्छ ।’

राइट एङ्गल किन हुन्छ भन्ने कुरा यहाँ बुझौँ । समन्वय ज्यामिति (कोअर्डिनेट जोमेट्री) मा एउटा तल (प्लेन) लाई चार (ठाडो दुई र तेर्सो दुई गरेर) भागमा विभाजन गरिन्छ । विभाजन गर्ने रेखालाई आधार र मेरुदण्ड (एक्सिस) भनिन्छ । यसमा ठाडो दुई भाग दायाँ र बायाँ क्रमशः ऋणात्मक र धनात्मक (नेगेटिभ र पोजेटिभ) हुन्छन् । तल र माथिका दुई भाग क्रमशः ऋणात्मक र धनात्मक (नेगेटिभ र पोजेटिभ) हुन्छन् ।

यहाँ चित्रमा यो कुरा सजिलै देख्न र बुझ्न सकिन्छ । अब हामीले त्यो समन्वय तलमा विभाजन गरिएका चार भागलाई दायाँ माथिबाट पछाडि अथवा देब्रेतिर घुमाउँदै लग्यौँ भने हामीले पूर्णरूपले धन भएको एउटा भाग, पूर्णरूपले ऋण भएको एउटा भाग र आधा धन, आधा ऋण भएका दुई भाग देख्न सक्छौँ ।

आधारभूत अभ्यास गर्दा हामी जहिल्यै पनि धनात्मक स्थानबाट सुरु गर्छौं । हामीले सुरुमै ऋणात्मक र धनात्मक मिश्रित अभ्यास गर्यौं भने बुझ्न सक्दैनौँ । अब हामीले समन्वय तलमा पूर्णरूपले धनात्मक मान भएको हिसाब गर्न समकोणी त्रिभुज बनाउनु पर्‍यो भने दायाँतर्फ माथितिर (थ एक्सिसबाट राइट र ह एक्सिसबाट माथि) बनाउनुपर्ने हुन्छ । यसलाई आधार बनाउँदा आधारभूत समकोणी त्रिभुज ‘राइट एङ्गल ट्रेङ्गल’ नै बन्नु पर्ने बाध्यता हुन्छ ।

त्यसैले सरले मेरा करङ्ग गन्दा पनि ‘लेफ्ट एङ्गल ट्रेङ्गल’ बन्दैन । यो आधारभूत अभिव्यक्ति कालान्तरमा सबैतिर फर्किएका र ऋणात्मक अथवा मिश्र तलमा बन्ने सबै समकोणी त्रिभुज ‘राइट एङ्गल ट्रेङ्गल’ भनिए ।

पाइथागोरसको सिद्धान्तले बन्ने वर्गको सन्तुलनलाई उनले पनि आध्यात्मिक अभ्यासको आधार नै भनेर व्याख्या गरेका थिए ।

त्यो कसरी ? अलिकति कोट्याउने प्रयत्न गरौँ ।

यो ग्राफमा प्रयोग गरिएको चार भाग सबैलाई हामी हाम्रो मानस अर्थात् माइण्ड बुझौँ । हाम्रो अध्यात्म विज्ञानले मनका जाग्रत, स्वप्न, सुसुप्ति र तुरीया भनेर चार अवस्था भन्छ । सामान्यतया राम्रो र नराम्रो गरेर दुई भागमा समग्र मानस चिन्तनलाई विभाजन गरिएको हुन्छ । राम्रो के हो र नराम्रो के हो, आआफ्नै मापदण्ड होलान्, अहिले त्यता नजाऔँ ।

यो ग्राफलाई हाम्रो मानस मान्ने हो भने यहाँ चारवटा कोठा छन् । मानौँ हाम्रो मानसमा पनि चारै वटा कोठा छन् । एउटा कोठा धनै धन अर्थात् राम्रो मात्रै (अब्सोलुट पोजेटिभिटी), अर्को आधा ऋण र आधा धन (हाफ नेगेटिभ, हाफ पोजेटिभ), अर्को पूर्ण ऋण (अब्सोलुट नेगेटिभ) र अर्को फेरि आधा ऋण र आधा धन (हाफ नेगेटिभ, हाफ पोजेटिभ) ले भरिएको हुन्छ । यो पूर्णता हाम्रो मानसको पूर्णता हो ।

जसरी एक बाल्टी पानीमा एक थोपा विष परेपछि त्यो सम्पूर्ण पानी विषालु हुन्छ, त्यसरी नै हाम्रो गणितमा अथवा मानसमा धेरै मात्रामा राम्रो हुँदा हुँदै पनि अलिकतिमात्रै नराम्रो मिसियो भने सबै राम्रोपना नराम्रो नै हुन आउँछ ।

यसका उदाहरण हाम्रो समाजमा प्रसस्त छन् । जीवनभर राम्रो गरेको व्यक्तिले एउटा मात्रै नराम्रो काम गर्‍यो भने त्यसका सबै राम्रा काम ओझेल पर्छन् र नराम्रोमात्रै टड्कारो देखिन्छ । यो तथ्यलाई यही ग्राफमा राखेर हेर्ने हो भने हाम्रो मानसमा तीन चौथाई भाग नराम्रो र एक भाग मात्रै राम्रो हुन्छ । यो प्राकृतिक कुरा हो । यो तथ्य स्वीकार गर्नुको विकल्प छैन ।

अहिले हाम्रो समाजमा चलेका विभिन्न किसिमका उत्प्रेरक प्रवचन, सकारात्मक सोच (पोजेटिभिटी) अर्थात् नैतिक शिक्षाको सम्भावना प्राकृतिक धरातलमा सम्भव देखिँदैन । रिसराग, क्रोध इत्यादि सहस्र शब्द खर्च गरेर निन्दा (कन्डेम) गरिएको नकारात्मकताको मात्रा हामीले आकलन गरेको भन्दा अलिक बढी नै हुँदोरहेछ ।

शास्त्रले मान्छे भगवानको पनि भगवान हो भन्छ । त्यो किनभने, देवता राम्रो भागको शक्ति हो । राक्षस अथवा डेभिल नराम्रो भागको शक्ति हो । त्यसैले देवताभन्दा दैत्य तीन गुणाले शक्तिशाली हुन्छ ।

भगवान पूर्ण राम्रो र पूर्ण नराम्रो भएकाले दैत्यभन्दा शक्तिशाली हुन्छ रे तर मान्छे चाहिँ नराम्रो भागको शक्तिलाई राम्रो काममा परिवर्तित गरेर पूर्णरूपले राम्रो र पूर्णरूपले नराम्रो दुवै शक्तिमाथि नियन्त्रण गर्न सक्ने सामथ्र्य राख्ने भएकाले भगवानभन्दा पनि श्रेष्ठ हुन्छ रे । यो त भयो ‘रे’ को कुरो । समन्वय तलमा यो कुरो फेरि चर्चा गरौँ न त ।

माथि हामीले पाइथागोरसको समकोणी त्रिभुजको सिद्धान्तलाई ग्राफमा हालेर हेर्दा राम्रो भाग आफैँमा एक्लै उभिन असमर्थ छ । यसलाई लम्ब र आधारमा नकारात्मकता (नेगेटिभ) को सहारा चाहिन्छ । जब आधार र लम्बको वर्ग विस्तार भयो त्यो ऋणात्मक भागमा प्रसारित भयो । यसले यही कुरो प्रमाणित गर्छ कि हाम्रो मानस पूर्णरूपले सकारात्मक हुनै सक्दैन, नकारात्मकताको सहारा बिना त उभिन पनि सक्दैन ।

अब यही सिद्धान्तलाई समन्वय तलमा नकारात्मक क्षेत्रबाट प्रस्तुत गर्दा नकारात्मकता आफैँ उभिन सक्छ । यसलाई सकारात्मकताको कुनै जरुरत पर्दैन । अझ भनौँ, सकारात्मकताभन्दा नकारात्मकता (यो सँगैको ग्राफमा देख्न सकिन्छ) तीन गुणा बढी शक्तिशाली छ ।

त्यसो भए हामीले अहिलेसम्म किन यो तथ्य बुझेनौँ त ?

यो आलेखको सुरु नै अविद्या अथवा कपटपूर्ण शिक्षाबाट सुरु गरिएको छ । हाम्रो समाज अभ्यासमा भन्दा बढी प्रचारमा गएको छ । अभ्यास चाहिं रूपान्तरणकारी (ट्रान्स्फर्मेसनल) हो । शिक्षा चाहिँ राजनीतिक (पोलिटिकल) मुद्दा हो । समाज रूपान्तरणले भन्दा राजनीतिले चल्ने हुनाले शिक्षा पनि राजनीतिक नै हुने भयो ।

हुन त भगवानकै सिको गरेको हो हामीले पनि, प्रशंसा असाध्यै मन पर्ने ! ‘ए तँभित्र त नराम्रो पक्ष पनि पो हुन्छ त’ भनेर कसैले मलाई भन्यो भने म त्यसको कन्पारो एकपटक त सेकेरमात्रै छाड्छु ! अब कसैले नराम्रोको कुरो उक्कायो भन्ने ठान्नुस् त्यसले आफ्नै जरो उक्कायो !

तपईंले अहिलेसम्म भगवानको नराम्रो कुरो सुन्नु भएको छ ?

भगवानको त कुरै छाडौँ, व्यासमा बसेर प्रवचन गर्ने पण्डितले ‘म नराम्रो छु’ भनेको सुन्नु भएको छ र ! कदाचित् भनिहाले भने पनि श्रोतावृन्दबाट प्रशंसा कमाउन ‘होइन, गुरुदेव ! हजुरमा त नराम्रोको लेस समेत छैन नि’ भनाउने उद्देश्यले भनेको हुन्छ ।

मुख राम्राको कुरो गर्छ, मन नराम्रामा जरो गाड्छ । तालमेल कसरी मिलोस् ! त्यही भएर अधिकांश सन्यासी कालान्तरमा यौन काण्डमा उग्लिएर पखालिन्छन् । यौन प्राकृतिक हो, यो राम्रो अथवा नराम्रो दुवै होइन । विचरा सन्यासी निरन्तर ‘काम, क्रोध’ जप्दै सराप्दै गर्नुहुन्छ, त्यसैलाई तह लगाउन खोज्नुहुन्छ !

यसो भनौँ, झ्यालले घर नियन्त्रण गरेको कतै सुन्नु भएको छ र ! जसरी झ्याल घरको एउटा अंश मात्र हो, घरको शोभा मात्रै हो, त्यसरी नै राम्रोपना अथवा सकारात्मकता भनेको पनि मानसको दृश्यावली हेर्ने झ्याल मात्रै हो । मानसको बल अथवा शक्ति नकारात्मकता नै हो । यसलाई केही गर्नै पर्दैन । यो प्राकृतिक हो । न यो नकारात्मकता कुनै अरू थोक भएर फेरिन्छ न त दबिएर नै जान्छ । बरु जति दबायो त्यति नै शक्तिशाली हुँदै जान्छ । यो प्राकृतिक कुरा हो ।
अब के गर्ने त !

पहिलो कुरो, स्वीकारोक्ति (एक्सेप्टेन्स) हो । आफैँले आफूलाई पूर्णरूपले ‘अहिले म जस्तो छु त्यस्तै हुँ’ भनेर स्वीकार गर्नुपर्छ । ‘होइन म त नरिसाउने मान्छे, त्यो फलानाले गर्दा मेरो लाटो रिस जाग्यो’ भनेर दोष पन्छाउँन्जेल कुनै उपलब्धि हुँदैन । दोष पन्छाउने पात्र र अवसर कहिल्यै सकिने छैनन् ।

राम्रो र नराम्रो दुवै मेरै हो भनेर स्वीकार गर्दा मानसमा ठूलो विश्राम उत्पन्न हुन्छ । अर्को अचम्म के कुरो हो भने काम, क्रोध, लोभ, मोह इत्यादि सराप्नु पर्ने विषय नै होइनन् । यी कसैका शत्रु होइनन् । यिनै गुणले हामीलाई मान्छे बनाउँछन् । मान्छे हुन दुवै गुण चाहिन्छ । अर्को कुरा के पनि सत्य हो भने राम्रो र नराम्रो भनेका राजनीतिक मुद्दा हुन् आध्यात्मिक दृष्टिकोणबाट हेर्दा राम्रा र नराम्रा दुवै कुरा बराबर उपयोगी कुरा हुन् ।

हामी आफैँभित्र प्रवेश गर्नु अध्यात्म हो । भगवानतिर लाग्नु राजनीतिक मुद्दा हो । यसमा छुट्टै बहस हुन सक्छ तर सत्य यही हो । अब राम्रो र नराम्रो दुवै कुरालाई आत्मसात गरेपछि मानसमा पूर्णताको आभास सुरु हुन्छ । खण्डित मानस कहिल्यै पूर्ण हुँदैन । अध्यात्म भनेको अपूर्णबाट पूर्णतातिरको यात्रा भएकाले अविलम्ब आफूलाई आफ्नै नजरमा जस्ताको तस्तै स्वीकार गर्नु पहिलो काम हो ।

यसरी स्वीकार गर्नु भनेको आफूलाई जायजीकरण (जष्टिफाइ) गर्नु पनि होइन । ‘मैले गरेको क्रोध यो कारणले गर्दा ठिक हो’ भन्नु जायजीकरण गर्नु हो । ‘ए म त क्रोधमा पो रहेछु त, यो त मेरै क्रोध हो, र यो क्रोध हो’ यसो भन्नु चाहिँ स्वीकारोक्ति हो ।

सुरुसुरुमा यो कुरा पचाउन धेरै कठीन हुन्छ, किनभने हाम्रो जन्मजन्मान्तरको शिक्षा र संस्कारले ‘राम्रो म’ संस्कारित गरेको छ । अभ्यास गर्दै लैजाँदा केही समयमा आफूले आफूलाई जस्ताको तस्तै स्वीकार गर्न सकिन्छ । जसरी पाइथागोरसका प्रश्नहरू सेलाएर गएका थिए, त्यसरी नै हाम्रा जिज्ञासाहरू पनि शान्त भएर जानेछन् । अनि हामीले कुनै कुरालाई ‘यस’ र कुनै कुरालाई ‘नो’ भन्नुपर्ने जरुरत नै हुँदैन ।

यो नै पूर्णताको यात्रा हो ।

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
(अष्ट्रेलियाबाट)


भर्खर

0