२०७६ मा नेपाली खेलकुद : आठौँ राष्ट्रिय खेलकुद र साग मुख्य सफलता | Khabarhub Khabarhub

२०७६ मा नेपाली खेलकुद : आठौँ राष्ट्रिय खेलकुद र साग मुख्य सफलता


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको त्रासले नेपाल खेलकुदमा क्षेत्रमा वर्ष २०७६ को विदाइ निरस भएको छ । नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुदबाट सुरु भएको वर्षको विदाइ सबै खेल गतिविधि बन्दबाट भएको छ ।

कोरोना संक्रमणको त्रासलाई बाहेक गरेर हेर्दा यस वर्ष खेल नतिजामा नेपाल निकै सफल भएको छ । नेपालले यसै वर्ष दक्षिण एशियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न गर्‍यो अनि लक्ष्य अनुसार नतिजा पनि हात पार्दै दोस्रो स्थान बनायो ।

यही वर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा रमेशकुमार सिलवाल कार्यकारी पदमा नियुक्त भए । उनकै नेतृत्वमा नेपालले साग आयोजना गर्‍यो । यसको खर्चबारे भने अहिलेसम्म पनि राखेप नेतृत्व मौन छ ।

खेल गतिविधिमा नेपालमा यो वर्ष क्रिकेट अलि बढी चर्चामा रह्यो । नेपाली फूटबल टोलीले फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तर्गतका खेल खेल्यो । महिला भलिबल टोलीले ऐतिहासिक स्वर्ण पदक भित्र्यायो । खेलकुदमा यो वर्ष नेपाल निकै व्यस्त रह्यो ।

नेपाल ओलम्पिक कमिटीको वार्षिक साधारणसभा भयो जसबाट जीवनराम श्रेष्ठ अध्यक्षमा दोहोरिए ।

राखेप नेतृत्व परिवर्तन र साग

वैशाखमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समापन गर्दै तत्कालीन सदस्यसचिव केशवकुमार बिष्ट विदा भए । त्यसको झण्डै दुई हप्तापछि असार २३ गते नेतृत्वको जिम्मेवारीमा आए सिलवाल ।

कार्यभार सुरु गर्दा उद्घोष गरेको मुख्य काम उनले पुरा गरेका छन् । साग मंसिरमा हुन्छ कि हुँदैन भन्ने अन्योलका बीच नेतृत्व सम्हाल्न आएका सिलवालले सरकार र विभागीय मन्त्रीको राम्रो साथ पाए । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने सिलवालले बलियो आत्मविश्वासका साथ काम अघि बढाए ।

सिलवाल नेतृत्वमा आउँदा सागमा खेल स्थलको भौतिक पूर्वाधारमै अन्योल थियो । उद्घाटन स्थल दशरथ रंगशाला, सातदोबाटोस्थित हिटिङ सिस्टमसहितको पौडी पोखरी र पोखरा रंगशालाको काम चलिहरको थियो । सरकारको साथ र सदस्य सचिव सिलवालको प्रतिबद्धताले मंसिरमै साग आयोजना भयो ।

ऐतिहासिक सफलता

वर्ष २०७६ मा नेपाली खेलकुदमा सबैभन्दा ठूलो लगानी भएको प्रतियोगिता हो १३औँ दक्षिण एसियाली खेलकुद (साग) । काठमाडौं, पोखरा र जनकपुर तीन ठाउँमा मंसिर १५–२४ मा आयोजित सागमा करिब ५ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । खर्चअनुसार सागमा नेपालले अहिलेसम्मकै उच्च सफलता पनि पायो ।

सागमा कम्तीमा ५० स्वर्ण पदक हात पार्ने लक्ष्य थियो । लक्ष्यअनुसार नेपालले ५१ स्वर्णसहित पदक तालिकामा दोस्रो स्थान बनायो । यसैगरी नेपालले ६० रजत र ९६ कास्यसहित कुल २०७ पदक हात पार्‍यो । नेपालले विभिन्न १३ खेलबाट ५१ स्वर्ण हात पारेको थियो । नेपाल सहभागी २८ खेलमा सुटिङ खेलबाहेक सबैमा पदक प्राप्त भयो ।

सागमा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपालको व्यवस्थापनमा भने अनेक त्रुटि भेटियो । खेलस्थलदेखि खेलाडीको यातायातसम्म त्रुटि भयो । सुटिङ खेलाडीले त आफ्ना पाहुना प्रतिद्वन्द्वीकै बन्दुकले प्रतिस्पर्धा गर्नु पर्‍यो । सुटिङबाट पदकको आशा सफल हुन सकेन ।

राखेप सदस्य सचिव सिलवालले साग सम्पन्न भएको ९० दिनभित्र खर्च विवरण सार्वजनिक गर्ने भनेका थिए । चार महिना पूरा भइसक्दा पनि आर्थिक प्रतिवेदन सार्वजनिक गर्न सकेका छैनन् ।

क्यानको पुनर्जन्म र कप्तानको राजीनामा !

यो वर्ष नेपाली क्रिकेट नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा, एक दशक टोलीको नेतृत्व गरेका कप्तान पारस खड्काको राजीनामा, ज्ञानेन्द्र मल्लको कप्तानी र प्रशिक्षक उमेश पटवालको राजीनामा लगायतले चर्चामा रह्यो ।

असोज ११ गते चतुरबहादुर चन्दको नेतृवमा क्यानले पुनर्जन्म पायो । तदर्थ समितिको समन्वयमा क्यानको निर्वाचन भएको थियो । नयाँ नेतृत्व आएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले असोज २७ गते क्यानमाथिको प्रतिबन्ध सशर्त फुकुवा गर्‍यो ।

आईसीसीले क्यान फुकुवा गरेको भोलिपल्ट, असोज २८ गते, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अप्रत्यासितरूपमा कप्तानीबाट राजीनामा घोषणा गरे ।

सन् २००९ देखि राष्ट्रिय टोलीको नेतृत्व गरेका पारसको राजीनामासँग जोडेर नेपाली क्रिकेटको भविष्यको चर्चा पनि भयो । पारसको स्थानमा उपकप्तान ज्ञानेन्द्र बढुवा भए ।

ज्ञानेन्द्रको नेतृत्वमा नेपालले सागमा र आईसीसी विश्वकप लिग २ खेल्यो । दुवै खेलमा नेपालको प्रदर्शन मिश्रित रह्यो । लिग २ अन्तर्गत ओमान र अमेरिकासहितको त्रिकोणात्मक शृंखलामा अमेरिकामाथि जित हात पारे पनि ओमानसँग पराजित भयो ।

यो वर्ष क्रिकेट प्रशिक्षक पटवालको राजीनामासँगै सकिएको छ । क्यान नयाँ प्रशिक्षक खोजिमा छ । यही वर्ष नेपालले महत्वपूर्ण दुई वटा टि–२० प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्‍यो ।

टि–२० विश्वकप छनोटको एसिया फाइनलबाटै विश्वकपको दौडबाट बाहिरियो । एसीसी इस्टर्न रिजन क्रिकेट कपमा नेपाल दोस्रो चरण पुग्न सकेन । प्रशासनिकरूपमा क्रिकेटमा सफल भए पनि मैदानमा भने फिक्का भयो ।

खेलाडी प्रतिबन्ध र एन्फाको किचलो

नेपाली फूटबल यो वर्ष कुनै न कुनै चर्चामै रह्यो । पदाधिकारीबीचको किचलो, खेलाडीमाथि प्रतिबन्ध, सागमा स्वर्णपदक र उमेरसमूहमा कमजोर प्रदर्शनजस्ता विषयले नेपाली फूटबल चर्चामा रह्यो । अन्तर्राष्ट्रिय मैदानमा निराशाजनक नतिजाले पनि नमिठो बनायो ।

वर्षको मध्यतिर नेपालले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत संयुक्त छनोट खेलेको थियो । त्यसमध्ये पहिलो खेलमा कुवेतसँग ७–० गोलको फराकिलो हार ब्यहोर्‍यो । लगत्तै चाइनिज ताइपेइविरुद्धको खेलमा २–० गोल अन्तरको जित हात पार्दै नेपाली फूटबलप्रेमीलाई केही आशा दिलायो । नेपालभन्दा बलिया अस्ट्रेलिया (५–०) र जोर्डनसँग (३–०) को नतिजा हात पारेको थियो ।

दशरथ रंगशाला तयार नभएपछि नेपालले कुवेतसँगको होम गेम अन्तर्गतको खेल भुटानमा खेल्नु पर्‍यो । फिफा र एएफसीले होम ग्राउण्डका रूपमा भुटान छानेको थियो । भुटान जानु अघिल्लो रात ४ जना खेलाडी नाइट डिस्को गएपछि उनीहरूमाथि प्रतिबन्ध लगाएको विषयले खुबै चर्चा पायो ।

विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिनको तथा अञ्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिनको प्रतिबन्धसहित चारै जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय एन्फाको अनुशासन समितिले गर्‍यो ।

यसै वर्ष काठमाडौंमा आयोजना भएको यु १८ साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग पराजित भएपछि नेपाल उमेरसमूहमा कमजोर बन्दै गएको भनेर आलोचना भयो ।

यस वर्ष एन्फाभित्रको राजनीतिले पनि खुबै चर्चा पायो । अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यशैलीप्रति रुष्ट समूहले लगातार विरोध गरिरह्यो । विदेश विभाग प्रमुख नवीन पाँडे एन्फाबाट बाहिरिए भने वरिष्ठ उपाध्यक्षले नोट अफ डिसेन्ट लेखेर विरोध जनाए ।

महिला भलिबलमा ऐतिहासिक स्वर्ण

यस वर्ष राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक सफलता हात पार्‍यो । पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन बन्दै टोलीले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हासिल गर्‍यो ।

महिला टोलीले सागमा रजतपदक जितेर इतिहास बनायो । नेपाल भलिबल संघले गत साउनमा सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो, एभिसी सेन्ट्रल जोन पुरुष भलिबल । यसमा नेपाली टोलीले अपेक्षित नतिजा हासिल गर्न नसके पनि संघले यति ठूलो प्रतियोगिता आयोजना गर्नु सकारात्मक मानियो

व्यक्तिगत स्पर्धा

यो वर्ष केही खेलाडीहरूको प्रदर्शनले उनीहरू बढी चर्चा रहे । सागमा ४ स्वर्ण जितेकी पौडिकी गौरिका सिंह र तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ सागमा दुई—दुई स्वर्ण जितेर चर्चामा रहे ।

गौरिकाले सागमा नेपालका लागि ४ स्वर्ण, २ रजत र ३ कास्यसहित ९ पदक हासिल गरिन् । सागमा एकै जनाको यो जित यसअघि कसैको थिएन । शाक्य, श्रेष्ठ र तामाङ दुई–दुई स्वर्ण जित्दै चर्चामा रहे ।

यस वर्ष ब्याडमिन्टनका प्रिन्स दाहाल पनि चर्चाको शिखरमा रहे । उनले दुवै इन्टरनेशनल सिरिजमा लगातार दोस्रो पटक स्वर्ण जिते । त्यसयता जुनियरतर्फको विश्व बरियतामा उनी शीर्ष १० भित्र पर्न सफल भएका छन् । यसअघि नेपालबाट कुनै पनि खेलाडी शीर्ष १० मा पुग्न सकेका थिएनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : १५ बजे

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ– तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ ।

अध्यादेश ल्याएर भए पनि सहकारीकाे पैसा फिर्ता गर्छु : गृहमन्त्री

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको