कोरोनाभाइरसको उपचारमा प्रयोग भइरहेको औषधि नेपालमा उपलब्ध छ कि छैन ? | Khabarhub Khabarhub

कोरोनाभाइरसको उपचारमा प्रयोग भइरहेको औषधि नेपालमा उपलब्ध छ कि छैन ?


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमणको उपचारमा उपयोगी हुने भन्दै विश्वभरि नै अहिले औलो रोगको नियन्त्रणका लागि प्रयोग हुने एउटा औषधिको माग बढिरहेको छ। विभिन्न देशका सरकारहरूले यो औषधिको जोहो गर्न थालेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उक्त औषधिको निर्यात खुला गर्न आग्रह गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको बताएका थिए।

मङ्गलवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतले उक्त ‍औषधिको निर्यात नखोले उसले पनि नराम्रो परिणाम भोग्नुपर्ने हुन सक्ने बताए।

भारतको विदेश मन्त्रालयले चाहिँ औलोको सहित केही औषधिको निर्यातलाई आंशिक खुला गर्ने निर्णय गरिएको जनाएको छ। त्यसलगत्तै भारतमा विपक्षी नेताहरूसहित कतिपयले सरकारले आफ्नै देशलाई पर्याप्त औषधि भए नभएको निर्क्योल नगरी निर्यात खुलाएको भन्दै विरोध जनाएका छन्।

नेपाल कसकसले उत्पान गर्छन्?

औषधि उत्पादकहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित नेपालका तीनवटा उद्योगले औलो रोगका लागि प्रयोग हुने औषधि उत्पादन गरिरहेका छन्।

हाइड्रक्सीक्लोरक्वाईन वा एचसीओएस भनिने उक्त औषधि काठमाण्डूका देउराली जनता फार्मस्युटिकल प्रालि र क्यूमेड फर्मुलेशन प्राली तथा वीरगन्जस्थित मारुती फर्मा प्रालिले उत्पादन गर्दै आएको व्यवसायीहरूले बताए।

एसोशिएसन अफ फार्मस्युटिकल प्रोडक्टस् अफ नेपाल (एप्पोन) का अध्यक्ष नारायण क्षेत्रीले भने, “नेपालमा हाल तीन उद्योगहरूले यो ‍औषधि उत्पादन गरिरहेका छन्। उनीहरूसँग पाँचदेखि सात लाखवटा ट्याब्लेट बनाउने कच्चा पदार्थ मौज्दात रहेको छ। त्यो भनेको ५० हजारदेखि ६० हजार बिरामीका लागि पुग्ने मौज्दात हो।”

तर अहिले विश्वभरि नै कच्चा पदार्थको भाउ बढेकाले उद्योगीहरूले थप कच्चा पदार्थ नल्याएको उनले बताए।

उनले भने “भोलि बिरामी धेरै बढेर थप उत्पादन गर्नुपर्दा पनि उद्योगीहरू तयार छन् तर त्यसका लागि कच्चा पदार्थ ल्याउने वातावरण सरकारले तयार पारिदिनुपर्छ।”

कतिपय उद्योगीले केही मात्रामा उक्त औषधि कोभिड-१९ को उपचारका लागि सरकारलाई नि:शुल्क उपलब्ध गराउने घोषणा पनि गरेका छन्।

देउराली जनता फार्मस्युटिकलले चार लाखवटा उक्त औषधिको ट्याब्लेट सरकारलाई दिने घोषणा गरिसकेको छ।

कम्पनीका सञ्चालक हरिभक्त शर्माले सरकारलाई उक्त औषधि दिनका लागि पत्राचार पनि गरिसकेको जानकारी दिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार नेपालमा उत्पादन गर्ने तीन कम्पनीबाहेक अन्य दुई कम्पनीले विदेशबाट पनि उक्त औषधि आयात गरिरहेका छन्।

उत्पादक र आयातकर्ताहरूसँग भएको मौज्दात हेर्दा अहिले नेपालमा करिब नौ लाख ट्याब्लेट रहेको उनले जानकारी दिए।

नेपालमा कति माग छ?

उद्योगीहरूका अनुसार सामान्य अवस्थामा नेपालमा झन्डै २० लाखजति ट्याब्लेट प्रयोग हुने गरेको थियो।

यो औषधि औलोका साथै बाथ र छालाको रोगका लागि पनि प्रयोग हुने बताइन्छ।

उद्योगी शर्मा भन्छन्, “हाम्रो अभिलेखअनुसार सामान्य अवस्थामा वार्षिक १५ देखि २० लाख ट्याब्लेट मात्र खपत भइरहेको थियो। तर कोरोनाभाइरसको सङ्क्रमण बढेमा यसको माग धेरै बढ्न सक्छ।”

स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १,१८७ जनामा औलो रोग लागेको थियो।

विभागले गत वर्ष नेपालमा दुई लाख १६ हजारभन्दा बढी मानिसहरू औलोको उच्च जोखिममा रहेको जनाएको थियो।

त्यस्तै नौ लाख २७ हजार मानिसहरू औलोको मध्यम जोखिममा रहेको विभागले गत वर्ष बताएको थियो। नेपालमा २० वटा जिल्ला औलोको जोखिममा रहेका छन्।  नेपालले सन् २०२५ सम्ममा औलोमुक्त घोषणा गर्ने उद्देश्य राखेको छ।

कति समयलाई पुग्छ?

कोभिड-१९ को उपचारमा प्रयोग हुने सिटामोल, एजिथ्रोमाइसिनजस्ता अन्य औषधि भने नेपालको मौज्दातले तीन महिनालाई पुग्ने दाबी उत्पादकहरूको छ।

अध्यक्ष क्षेत्रीले भने, “करिब ८० प्रतिशत यस्ता औषधि नेपालमै बन्छन्। त्यसैले गर्दा यस्तामा समस्या हुँदैन। सामान्य अवस्थाको मागको हिसाबले हेर्दा हामीसँग अहिले पनि उत्पादित र कच्चा पदार्थ गरेर कम्तिमा तीन महिनाका लागि पुग्ने मौज्दात रहेको छ।”

नेपालमा हाल सञ्चालनमा रहेका ६२ वटा उद्योगले औषधि उत्पादन गरिरहेका छन्।

सरकारले पनि सिटामोल र एजिथ्रोमाइसिनजस्ता औषधि हरेक आर्थिक वर्षको सुरुमै खरिद गरेर राख्ने गरेकाले पनि त्यस्ता औषधिको अभाव नहुने उद्योगी शर्माको तर्क छ।

विभागका महानिर्देशक ढकालले पनि कोरोनाभाइरसका लागि प्रयोग हुने अन्य औषधिको मौज्दात पर्याप्त रहेको जानकारी दिए। सिटामोलको उत्पादन भने सरकारी स्वामित्त्वको नेपाल औषधि लिमिटेडले पनि नियमित रूपमा गरिरहेको जनाएको छ।

लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले भने, “हामीले अहिले दैनिक एकदेखि डेढ लाख ट्याब्लेट उत्पादन गरिरहेका छौँ। हामीसँग एक करोड ट्याब्लेट उत्पादन गर्न पुग्ने कच्चा पदार्थ बाँकी नै छ। सिटामोलको अभाव हुँदैन।”

कोभिड-१९ को उपचारका लागि सहयोगी हुने भन्दै औलोको औषधिको माग विश्वभरि बढेको हो। तर विश्व स्वास्थ्य सङ्गठनले यसले कोरोनाभाइरसको उपचारमा कति प्रभावकारी काम गर्छ भन्ने ठोस आधार नदेखिएको जनाएको छ।

हालसम्म विशेषज्ञहरूले पनि यसलाई पुष्टि गरिसकेका छैनन्। युरोपयन मेडिसिन एजेन्सीले कोरोनाभाइरसको उपचारमा यो ‍औषधि ‘क्लिनिकल ट्रायल’मा बाहेक अरू बेला उपयुक्त हुने जनाएको छ। बीबीसीबाट

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ३६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका