‘सबै शीर्ष नेतालाई एकै ठाउँ बोलाएर व्यङ्ग्य गर्नु सजिलो छैन, गाली पनि खाइन्छ’ « Khabarhub
Logo
१८ चैत्र २०७६, मंगलबार

‘सबै शीर्ष नेतालाई एकै ठाउँ बोलाएर व्यङ्ग्य गर्नु सजिलो छैन, गाली पनि खाइन्छ’



काठमाडौं–यसपटक सिस्नुपानी नेपालले राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हास्यव्यङ्ग्यात्मक ‘सिस्नुपानी देउसी’ मात्र खेलेन । बुबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर ‘बा’ विशेष कविताहरू पनि प्रस्तुत गर्‍यो ।

यसवर्ष ‘बा’ र ‘सिस्नुपानी देउसी’ दुवैले लोकप्रियता कमाए ।

‘बा’ लाई सम्बोधन गरिएका कविताले धेरैलाई भावुक बनायो । देउसीले हँसायो ।

दुवै कार्यक्रममा नेताहरुको उल्लेख्य उपस्थिति थियो । ‘बा’ का कवितामा भावुक बनेका नेताहरू देउसीमा आफै व्यङ्ग्यको पात्र हुँदा पनि हाँसिरहेका थिए ।

हामीले अहिले भने सिस्नुपानी नेपालको व्यङ्ग्यात्मक देउसीबारे कुरा गर्दैछौं ।

के सिस्नुपानी नेपालको व्यङ्ग्यरुपी सिस्नुले नेताहरुलाई पोल्छ ?

हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे भन्छन् – अलिअलि त प्रभाव पर्छ होला नि !

एकै मञ्चमा शीर्ष नेताहरुलाई उपस्थित गराएर उनीहरुमाथि नै चोटिलो प्रहार गर्ने कारण सिस्नुपानी देउसी पछिल्लो समय थप चर्चामा छ ।

यसपटक मनोज गजुरेलले चिनियाँ राष्ट्रपति सी जिङ पिङको क्यारिकेचर गरेका थिए । यता देउसीमा महरा काण्डदेखि बहुमतको कम्युनिस्ट सरकारका पालामा घटित अन्य काण्डतर्फ व्यङ्ग्यको तीर सोझिएको थियो ।

देउसी हेर्न अघिल्लो पङ्गतिमा बसेका नेताहरु मुस्कुराइरहेका थिए । प्रधानमन्त्री केपी ओली भने गम्भीर मुद्रामा देखिन्थे ।

उनलाई त्यति बिसेक पनि थिएन ।

उपस्थित नेताहरुलाई त्यतिबेला पक्कै भेउ थियो, अब हामीमध्ये कोही त यहाँ व्यङ्ग्यको शिकार हुनुपर्ने नै छ ।

सिस्नुपानी नेपालको देउसी कार्यक्रममा धेरै शीर्ष नेताहरुको उपस्थिति हुन्छ । नेताहरुका सामुन्ने कलाकारले वर्षभरिका राजनीतिक विकृति र विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्छन् ।

केही वर्षयता त ‘सिस्नुपानी देउसी’ अझ विश्वभर रहेका नेपालीमाझ समेत पुगेको छ ।

‘सबै शीर्ष नेताहरुलाई एउटै स्टेजमा उभ्याएर उहाँहरुलाई नै व्यङ्ग्य गर्न सजिलो छैन, तर यही नै हाम्रो विशेषता भएको छ,’ गाम्नागे भन्छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हेर्न नपाएका दर्शकले युट्युब तथा अन्य माध्यमबाट देउसी हेर्न पाउँछन् । नेपालको राजनीति र विसङ्गतिबाट आजित भएका नेपालीहरु सिस्नुपानीको देउसीमार्फत गरिएको व्यङ्ग्यमा रमाउँछन् । सिस्नुपानी नेपालको देउसीमा हास्य र व्यङ्ग्य दुवै चेत हुन्छ ।

जब सिस्नुपानी नेपाल स्थापना भयो

त्यतिबेला पनि हास्यव्यङ्ग्यले समाजलाई प्रत्यक्ष प्रभाव पाथ्र्यो ।

लक्ष्मणसहित केही समकालीन हास्यव्यङ्ग्यमा रुचि भएका युवाहरुको जमात थियो । त्यतिबेला भैरव अर्यालको हास्यव्यङ्ग्यको पनि उत्तिकै चर्चा हुन्थ्यो ।

गाम्नागेका अनुसार वि.सं. २०५५ सालको नयाँ वर्षमा साथीहरु भेटघाटमा थिए । सधैजसो भेट भइरहने केही साथीहरुले सल्लाह गरे – हामी पनि कुनै संस्था खोलौं, फुर्सदको समय हास्यव्यङ्ग्य क्षेत्रलाई दिऔं ।

साथी समूहमा अर्जुन पराजुली, थरेन्द्र बराल, देवी घिमिरे, धिरेन्द्र प्रेमर्शी, टंक आचार्य लगायत थिए । सबैजना कुनै न कुनै जागीर या व्यवसायमा आबद्ध थिए ।

लक्ष्मण पनि नेपाल टेलिकममा जागीरे थिए ।

‘फुर्सदको समयमा साहित्यमा केही गर्ने गरी काम गरौँ न त भनेर साथीहरुबीच सल्लाह भयो । हाम्रो पहिलेदेखि नै भेटघाट भइरहन्थ्यो,’ लक्ष्मण सिुस्नुपानी नेपालको स्थापना हुनुअघिको समय स्मरण गर्छन्, ‘यही क्षेत्रको प्रवर्धन गर्ने गरी संस्था खोलौँ न त भन्ने सल्लाह भयो ।’

संस्था खोल्ने कुरा त भयो तर नाम के राख्ने भन्नेमा फेरि साथीहरु बीच छलफल भयो । केही नामहरु छलफलमा आए । ती नाम खासै सुहाउँदा लागेनन् ।

‘नामकै सिलसिलामा केही परम्परागत नाम पनि जुरे, हास्यव्यङ्ग्य समाज, हास्यव्यङ्ग्य क्लब लगायत केही नाम राख्ने कि भन्ने पनि छलफल भयो,’ लक्ष्मण सम्झन्छन् ।

छलफलकै क्रममा देवी घिमिरेले फ्याट्ट भने, ‘हाम्रो काम त सिस्नुपानी लगाउने हो नि, यस्तै खाले नाम राखौँ ।’

उनको यो प्रस्ताव सबैलाई ठीकै हो कि भन्ने लाग्यो । सिस्नुले मार्ने पनि होइन । झमझम पार्ने, सचेत बनाउने हो ।

त्यसपछि यही नाम पारित भयो ।

‘उहाँले नाम राख्नका लागि त यो शब्द भन्नुभएको थिएन, कुरैकुरामा यत्तिकै यो नाम निस्क्यो, सबैलाई ठीक लाग्यो,’ लक्ष्मण भन्छन् ।

हास्यव्यङ्ग्य साहित्यको प्रवर्धन गर्ने, पुस्तक निकाल्ने, आफूहरुले लेखेका रचना एकआपसमा सुनाउने, गोष्ठीहरु गर्ने, नयाँ पुस्तालाई प्रोस्ताहन गर्ने लक्ष्यसहित संस्था दर्ता उनीहरुको योजना थियो ।

वैशाख १९ गते दर्ता भएर औपचारिक संस्था बन्यो, सिस्नुपानी नेपाल ।

संस्थाले कैयन् गोष्ठी, पुस्तक प्रकाशन र कार्यक्रम गरेको छ । यद्यपि सिस्नुपानी नेपालले तिहार पारेर आयोजना गर्ने व्यङ्ग्यात्मक देउसीका कारण लोकप्रियता कमाएको छ ।

‘सिस्नुपानी नेपालले वर्षभरि कार्यक्रम त गर्दै आएको छ तर सबैभन्दा रुचाइएको र धेरै प्रतिक्रिया आउने कार्यक्रम यही देउसी हो,’ लक्ष्मण सुनाउँछन् ।

लक्ष्मण अगाडि भन्छन् – ‘शासकहरुलाई तिखो व्यङ्ग्य मन पर्दैन । तर, यही कुरा आम जनताले भने सबैभन्दा बढी मन पर्छ ।’

नेताहरुको कामबाट जनता आजित भएका हुन्छन् । ती नेताहरुमाथिको व्यङ्ग्यमा जनताहरु रमाउँछन् । यही कारणले सिस्नुपानीले तयार पारेको देउसीले विश्वभर रहेका नेपालीको मन जितेको छ ।

त्यसपछि शुरु भयो सिस्नुपानी देउसी

वि.सं. २०५५ सालको वैशाखमा भुँडीपुराण प्रकाशनको कार्यालबाट शुरु भएको संस्थाले पहिले व्यङ्ग्यात्मक देउसी गर्ने योजना बनाएको थिएन । वैशाखमा शुरु भएको संस्था कार्तिकसम्म आइपुग्दा फरक खालको देउसी विशेष कार्यक्रम गर्नेबारे छलफल भएको लक्ष्मण बताउँछन् ।

‘हामीले संस्थाका तर्फबाट केही न केही त गर्दै आएका थियौँ, परम्परागतभन्दा केही फरक हास्यव्यङ्ग्य देउसी पनि शुरु गरौँ न त भनेर स्थापनाकै वर्षदेखि देउसीको कार्यक्रम पनि गर्न थाल्यौँ,’ लक्ष्मण सुनाउँछन् ।

विस्तारै देउसीले थप चर्चा कमाउन थाल्यो । संस्थाका अन्य कार्यक्रमको भन्दा बढी चर्चा देउसीको हुन थाल्यो ।

लक्ष्मण सुनाउँछन्, ‘पहिले त हामीले शासकले सुन्छन् या सुन्दैनन् भन्ने पनि ख्याल नगरी प्रजातन्त्र र लोकतन्त्र चाहिन्छ भन्ने हिसाबले नै शुरुवात गरेका थियौँ । तर यो देउसी लोकप्रिय हुँदै गयो ।’

अहिले सिस्नुपानी देउसीले जनतालाई मात्र होइन, नेताहरुलाई पनि प्रभाव पारेको छ । कलाकारहरुले पनि दशैं सकिएलगत्तै सिस्नुपानी देउसीको तयारी गर्नुपर्ने अवस्था आयो ।

नेताको चरित्र जस्ताको तस्तै

लक्ष्मणको बुझाइमा अहिले राजनीतिक व्यवस्था फेरिएको छ । तर, नेताहरुको आचरणमा परिवर्तन आएको छैन । २१ वर्षअघि सिस्नुपानी देउसीमा जसरी नेताहरुको चरित्रलाई लिएर व्यङ्ग्य गर्नुपर्ने अवस्था थियो । अहिले पनि त्यस्तै छ ।

‘देशमा प्रजातन्त्र आइसकेपछि नेताहरुलाई पनि व्यङ्ग्य सुनाउनुपर्छ भन्ने लागेर हामीले उहाँहरुलाई पनि भेला गरेर कार्यक्रम गर्न थाल्यौँ,’ लक्ष्मण भन्छन्, ‘हाम्रो प्रस्तुतिमा पहिले र अहिले खासै फरक छैन । नेताहरुको प्रवृत्ति पनि उस्तै छ ।’

गाम्नागे सिस्नुपानीको व्यङ्ग्यको ‘तीर’ सधै सरकार पक्षतर्फ हुने बताउँछन् । सत्तामा काङ्ग्रेस हुँदा काङ्ग्रेसका विरुद्ध व्यङ्ग्य गरेजस्तो र सरकारमा कम्युनिस्ट हुँदा कम्युनिस्टका विरुद्ध व्यङ्ग्य गरेको उनको भनाइ छ ।

लक्ष्मण खबरहबसँगको कुराकानीमा भन्छन्, ‘हुन पनि २०४८ पछि उनै नेता त हुन्, चरित्र सबैको उस्तै छ, आजको मितिमा पनि कुनै नेताको चरित्रमा खासै फरक छैन ।’

पत्याउँदा पत्याउँदै

लक्ष्मण भन्छन्, ‘मेरो पत्याउँदा पत्याउँदै शीर्षकको एक व्यङ्ग्य कविता सङ्ग्रह प्रकाशन छ, यसमा के छ भने कसरी नेता सत्तामा पुग्छन् र केही गर्छौं भन्छन्, हामी पत्याउँछौं ।’

नेपाली जनताले सत्ताबाहिर रहेका नेतालाई पत्याउँछन् तर, सत्तामा पुगेपछि केही गर्दैनन् । लक्ष्मण सुनाउँछन्, ‘पत्याउँदा पत्याउँदै हाम्रो जुनी खेर जान लागिसक्यो, अब त केही गर्लान् कि भनेर पत्याउँछौं ।’

‘बीचमा अल्पमतको सरकार आयो, नेताले काम गर्न पाएनौँ भने, हामीले पत्यायौँ, फेरि अहिले गफमा सीमित भएको छ, हामीले पत्याइरहेका छौं,’ लक्ष्मण राजनीतिक प्रवृत्ति केलाउँदै भन्छन्, ‘अहिले चाहिँ काममा नभए पनि कुरामा परिवर्तन भएको छ, अझै पनि हामीले पत्याएका छौं, भोलि के हुन्छ, त्यो समयले बताउला, तर आजसम्म पनि अवस्था उस्तै छ ।’

देश झन् बिग्रिएको पो छ कि !

राजनीतिक रुपमा वि.सं. २०४७ पछि धेरै परिवर्तन आए । सत्तामा लगभग उनै अनुहार दोहोरिए । बीचमा केही समय राजाले निरङ्कुश शासन ल्याउन खोजे । तर, त्यो पनि लामो समय टिकेन ।

अहिले सुनिने हल्लाले पहिलेभन्दा अहिले बढी भ्रष्टाचार र बेथिति बढेको हो कि भन्ने लक्ष्मणको बुझाइ छ ।

‘शायद निरङ्कुश शासन हुँदा भित्रभित्रै भ्रष्टाचार हुन्थ्यो होला, अहिले सुन्दा यस्तो लाग्छ, चौतर्फी भ्रष्टाचार मात्र छ,’ लक्ष्मण भन्छन्, ‘कति प्रकरणले त राष्ट्रमा भ्रष्टाचार र बेथिति झनै बढेको छ भन्ने प्रष्ट पार्छ ।’

समाजमा विश्वव्यापी भइरहेका परिवर्तन नेपालमा भए पनि सत्तापक्षबाट हुनुपर्ने परिवर्तन हुन नसकेको लक्ष्मण बताउँछन् ।

उनको बुझाइमा नेपाली समाजमा परिवर्तन त भइरहेका छन् । कतिपय परिवर्तन त स्वभाविक रुपमा विश्वभरि नै हुने भए । तर, सरकारका तर्फबाट हुने परिवर्तन भने भएको छैन भन्दा पनि हुन्छ । ‘शासकीय परिवर्तन असाध्यै ढिलो छ,’ उनी भन्छन् ।

‘हामीले बोल्न पाएका छौँ । पढ्न पाएका छौँ । त्यो एउटा परिवर्तन छ । स्वभाविक रुपमा आफसेआफ हुँदै आएका परिवर्तन हाम्रो देशमा पनि भएको छ,’ लक्ष्मण केलाउँछन्, ‘मान्छेको जीवनस्तरका कुरादेखि समाज परिवर्तनको कुरा नभएको होइन तर सरकारले गर्नुपर्ने परिवर्तन अत्यन्तै ढिलो गतिमा भएको छ । तर, परिवर्तन हुन्छ भन्ने आशा चाहिँ लाग्छ ।’

नेताहरु भन्छन् – तपाईहरुंको व्यङ्ग्यलाई मनन गर्‍यौँ

‘सिस्नुपानी देउसी’ प्रहसनपछि नेताहरुले विभिन्न प्रतिक्रिया दिने लक्ष्मण बताउँछन् । खासगरी सत्तापक्षका नेताहरुले आफूहरुले अलि बढी नै व्यङ्ग्य गरेको भन्दै गुनासो गर्छन् ।

‘हामीलाई नेताहरुले पनि विभिन्न प्रतिक्रिया दिने गर्नुहुन्छ, कतिले भेटमा आफूहरु सुध्रेको र मनन गरेको बताउनुहुन्छ,’ लक्ष्मण अगाडि थप्छन्, ‘यसपटक भने हामीलाई बढी नै पेल्नुभयो भन्ने खालका प्रतिक्रिया आए ।’

यसपटकको सिस्नुपानी देउसीले कम्युनिस्ट सरकारलाई बढी कटाक्ष गरेको थियो । जबकि, सिस्नुपानी नेपाललाई वामपन्थी धारतर्फ ढल्केको पनि भन्ने गरिन्छ ।

गाम्नागे स्वयम् पनि धेरै सदस्यहरु वामपन्थी धारतर्फ ढल्केको स्वीकार्छन् । राजनैतिक विचारधारा जता भए पनि व्यङ्ग्य गर्ने कुरामा आफूहरुले पक्षपात नगरेको उनी दाबी गर्छन् ।

‘हामीले मुख्य रुपमा प्रस्तुति दिने भनेको देउसी नै हो, धेरैले प्रतिक्रिया जनाउने पनि यसैमा हो, कार्यक्रम हेर्दा पनि यसको अनुमान लगाउन सकिन्छ ।’

उनी कुरालाई अझ स्पष्ट पार्दै भन्छन्, ‘हाम्रो व्यङ्ग्य सधै प्रधानमन्त्री र मन्त्रीहरुमाथि हुन्छ, जो सत्ताको बागडोर सम्हालेको छ, उनीहरुप्रति व्यङ्ग्य हुन्छ ।’

सरकारलाई व्यङ्ग्य गर्दा धेरैपटक आफूहरुले नेताहरुबाट विरोधको सामना गर्नुपरेको तीतो यथार्थ लक्ष्मण सुनाउँछन् ।

देउवा कहिल्यै कार्यक्रममा आउँदैनन्

सिस्नुपानी नेपालको देउसी हेर्न कैयन् नेताहरुको उपस्थिति रहने गर्छ । सरकार र प्रशासनको शीर्ष तहमा रहेका शीर्षस्थ व्यक्तिहरु प्रायः कार्यक्रममा उपस्थित हुने गर्छन् । तर, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कहिल्यै कार्यक्रममा आएका छैनन् ।

‘हामीले हरेक वर्ष उहाँलाई निमन्त्रणा गर्छौं, तर कहिल्यै पनि उहाँ आउनुहुन्न, सधै आउँछु मात्र भन्नुहुन्छ,’ लक्ष्मण अगाडि थप्छन्, ‘कांग्रेसका अन्य नेताहरु आउनुहुन्छ तर उहाँलाई हामीले कहिल्यै पनि कार्यक्रममा उपस्थित गराउन सकेनौँ ।’

लक्ष्मण प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुलाई निमन्त्रणा गरे पनि राष्ट्रपतिलाई चाहिँ कार्यक्रममा नबोलाउने बताउँछन् । ‘पदीय सम्मानमा कहिल्यै हामीले राष्ट्रपतिलाई बोलाउँदैनौं,’ उनी भन्छन् ।

हँसाउन सजिलो छैन, दुःखी कथाहरु जति पनि छन्

लक्ष्मणको बुझाइमा नेपाली समाज नकारात्मकतातिर बढी आकर्षित छ । दर्शकलाई हँसाउन पनि उत्तिकै गाह्रो छ । यहाँ एकदमै ‘चिप’ भएर हँसाउनेहरु चर्चामा हुन्छन् । तर, व्यङ्ग्य चेतसहित हँसाउन त्यति सजिलो छैन ।

‘पीडामा परेका मान्छेलाई सकारात्मक बनाउँदै हँसाउनुको महत्त्व पनि छ, हामीले भूकम्प पीडितलाई मनोवैज्ञानिक खुशी र चेतना दिने उद्देश्यले कैयन् निशूल्क कार्यक्रमहरु गर्‍यौं,’ लक्ष्मण अगाडि थप्छन्, ‘नेपाली समाजमा पीडाका कथाहरु धेरै छन्, सामान्य कुराले पनि मान्छे दुःखी छ तर हँसाउन सजिलो छैन ।’

सिस्नुपानी नेपालले देशमा मात्र होइन, विदेशमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपालीलाई हँसाउनैका लागि आफूहरुले कार्यक्रम गर्दै आएको गाम्नागे बताउँछन् । ‘हामीले कार्यक्रमहरु निःशुल्क गर्छौं, विज्ञापनदाताले दिएको आर्थिक सहायताले कार्यक्रमको खर्च जुटाउँछौं,’ उनी थप्छन् ।

के नेताहरुले व्यङ्ग्यले प्रभाव पारेको छ?

लक्ष्मण भन्छन्, ‘केही न केही प्रभाव त पक्कै पारेको होला । बेलाबखतमा भेटेका बेला नेताहरुले हामीले आचरण सुधारेको पनि भन्ने गर्नुहुन्छ ।’

नेताहरुले खासगरी व्यक्तिगत किसिमका कमजोरीलाई सुधारेको बताउने गरेको लक्ष्मण सुनाउँछन् ।

एक्काइस वर्षसम्म आइपुग्दा सिस्नुपानीको देउसी थप लोकप्रिय हुँदै गएको छ । यसको व्यङ्ग्य चोटिलो बन्दै गएको छ ।

सामाजिक सञ्जाललाई लोकप्रियताको टुल भएको लक्ष्मणको बुझाइ हो । बौद्धिक वर्गले पनि सिस्नुपानी नेपालको उत्तिकै तारिफ गर्छ ।

‘जो सत्तामा छन्, जो विकृति र विसङ्गतिका बाहक छन् । उनीहरुलाई अगाडि प्रस्तुत गराएर व्यङ्ग्य गर्नु पक्कै पनि सजिलो छैन,’ लक्ष्मण भन्छन्, ‘मन्त्रीदेखि सचिवसम्मलाई हामीले बोलाउन सकेका छौं, किनकि दर्शक, मिडिया र सबैले हामीलाई साथ दिनुभएको छ ।’


भर्खर

0