कपडाको 'प्याड' बनाउन सिकाएर महिलालाई स्वाबलम्बी बनाउँदै महर्जन | Khabarhub Khabarhub

कपडाको ‘प्याड’ बनाउन सिकाएर महिलालाई स्वाबलम्बी बनाउँदै महर्जन


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आमा ! महिनावारी हुँदा के प्रयोग गर्नुहुन्छ ? कपडाले महिनावारीबाट बग्ने रगत कसरी सोस्छ ? त्यो कपडा कसरी प्रयोग गर्नुहुन्छ ? कपडा प्रयोग गर्दा समस्या हुन्छ कि हुँदैन ?’

ललितपुरका ज्ञान महर्जनले केही वर्ष अगाडी आफ्नी आमालाई सोधेको प्रश्न हो यो ।

महिनावारीको विषयमा महिला-महिलाबीच समेत खुलेर कुरा नहुने नेपाली समाजमा एउटा जवान छोराले गरेको यो प्रश्नमा महर्जनकी आमा नाजवाफ बनिन् ।

यदी यो प्रश्न छोरीले सोधको भए, उत्तर दिनका लागि आमालाई सजिलो हुन्थ्यो होला । तर जवान छोराले गरेको प्रश्नको उत्तर उनीसँग भएर पनि जवाफ दिने सामथ्र्य थिएन ।

‘केके कुरा सोध्छौं तिमी ?’ महर्जनीका आमाले हाँसेर टारिन् ।

तर महर्जनलाई पनि थाहा थियो यसको उत्तर आमासँगै छ । त्यसैले उनले आमालाई सम्झाएर प्रश्नको जवाफ खोज्ने प्रयास गरे ।

त्यसपछि महर्जनक आमाले महिनावारी हुँदा आफुले भोग्ने गरेको कुरा सबै बताइन् ।

आमालाई मात्र होइन महर्जनले आफ्नै पत्निलाई पनि महिनावारीको विषयमा प्रश्नहरु सोधे ।

शुरुमा हाँसेर टारेकी महर्जनकी पत्निले पनि महिनावारी हुँदा प्रयोग हुने प्याड तथा कपडाको प्रयोगबारे राम्रोसँग जानकारी दिइन् ।

आमा र पत्निलाई मात्र सोधेर महर्जनले चित्त बुझाएनन् । उनले आफ्ना वरपर रहेका महिलाहरुलाई पनि महिनावारीबारे प्रश्न गरे ।

शुरुमा महर्जनको प्रश्न सुनेर महिलाहरु हाँस्थे । तर महर्जन उनीहरुलाई सम्झाउँदै प्रश्नको जवाफ खोज्ने प्रयासमा हुन्थें ।

महर्जनले काउन्सिलिङ गरेपछि ती महिलाहरुले महिनावारी बारे महर्जनसँग खुलेर बोल्थें ।

‘सबै महिलालाई महिनावारीमा प्रयोग गर्ने प्याड तथा कपडाबारे महर्जन किन सोध्दै हिडे ?’ सबैको मनमा यही प्रश्न होला ।

महर्जनले आमा, पत्नि र अन्य महिलाहरुलाई महिनावारीमा प्रयोग हुने प्याडबारे सोध्नुको एउटै उदेश्य थियो ‘नेपालमै पुनः प्रयोग गर्न सकिने कपडाको प्याडको उत्पादन गर्ने ।’

‘महिनावारी हुँदा महिलाले प्याड कसरी प्रयोग गर्छन्, पेन्टिमा प्याड कसरी राखिन्छ ? भन्नेबारे मैले आफ्नै पत्निसँग सोधे उनले राख्ने तरिकाबारे राम्ररी सिकाइन् ।’ महर्जनले भने, ‘आमा र पत्निलाई मात्र होइन मसँग काम गर्ने अन्य महिलाहरुलाई पनि मैले महिनावारीमा प्रयोग गर्ने प्याड र कपडाको प्रयोगबारे सोधेँ ।’

एक्सपोज नेपाल नामक संस्थामार्फत महिला हिंसाको विरुद्धका सचेतनात्मक कार्यक्रममा लागेका महर्जनले समाजमा महिनावारीको समयमा महिलामा हुने विभेदबारे देखेका थिए ।

त्यसैले महिलाहरुको महिनावारीको उचित व्यवस्थापनको क्षेत्रमा काम गर्ने सोचमा थिए महर्जन । उनले सन् २०१५ मा ललितपुर महानगरमा महिनावारी स्वच्छता सम्बन्धि सचेतनात्मक कार्यमा लागे ।

‘महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर हामीले महिनावारी स्वच्छताको विषयमा सचेतनाका कार्यक्रम गर्न थाल्यौ । त्यसका लागि अध्ययनहरु गरे,’ महर्जनले भने, ‘महिनावारी हुँदा कपडा राख्छ भन्ने सबैको जवाफ आयो । कपडा कसरी राख्छ ? भन्ने जानकारी लिएपछि त्यो कपडा नहल्लिने गरी महिलाले सहजै प्रयोग गर्न सक्ने कसरी बनाउने भन्नेबारे सोच्न थाले ।’

महिलाले महिनावारी हुँदा हुने रक्तश्रावलाई बाहिरी कपडामा लाग्न नदिन सुरक्षित र व्यवस्थित तरिकाले कस्तो प्याड प्रयोग गर्नु उपयुक्त होला ? भनेर आफ्नो संस्थामा रहेका महिलाहरुसँग पनि छलफल गरे ।

लामो समयको छलफल पछि महर्जनको समुहले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने योजना ल्याए ।

‘बजारमा सेनेटरी प्याड आएको थियो । तर सबै महिलाहरुले किन्न नसक्ने, कतिलाई प्रयोग गर्न नै नआउने । शहरी क्षेत्रमा प्याड भएपनि ग्रामिण क्षेत्रमा त प्याडबारे मानिसहरुलाई थाहै थिएन,’ महर्जनले भने, ‘ललितपुरमै पनि रिङरोगबाट माथि रहेको ग्रामिण क्षेत्रमा प्याडबारे थाहै थिएन, त्यसैले महिनावारी सचेतनाका लागि सुरक्षित प्याडबारे पनि जानकारी दिनुपर्छ र त्यसका लागि प्याड पनि चाहिन्छ भनेर प्याड बनाउने योजना बनायौं ।’

महर्जनले महिलाहरुकै सक्रियातामा कपडाको प्याड निर्माण गरी पहिलो चरणमा ९० जना महिलामा वितरण गरेर प्रभावकारीताबारे प्राक्टिकल गर्न लगाए ।

पहिलो पटक बनाएको प्याडको पछाडि भागमा पेन्टीमा टास्न मिल्ने (च्यारच्यारे) राखेका थिए । तर ९० जना महिलाले पहिलोपटक च्यारच्यारे रोखेर बनाएको प्याड धुन असजिलो भएको सुनाए । त्यसपछि उनले फेरी प्याडलाई अड्काउन बटम राखिएको प्याड बताए । बटम राखिएको प्याडको प्रभावकारीता भने राम्रो देखियो ।

‘महिनावारी हुँदा धेरैले कपडा प्रयोग गर्थें, तर त्यो व्यवस्थित नहुँदा महिलाहरुलाई महिनावारीको रगत कपडामा लाग्छ कि, खस्न सक्ने भन्ने मनोत्रास हुने गरेको देखियो,’ महर्जनले भने, ‘महिलाले महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याड नहल्लिने, नखस्ने र सुरक्षित हुने गरी कस्तो प्याड बनाउने भनेर मैले धेरै ड्राफ्ट योजना बनाए । पछि क्याप, बटम र दुईपिस कटन लिएर कपडाको पुनः प्रयोग गर्न मिल्लने प्याड बनायौं ।’

घरभाडाको पैसा प्याड बनाउन खर्च

महर्जनले एक्पोज नेपाल नामक उनको संस्थामार्फत एकल महिला, आर्थिक रुपमा विपन्न महिलाहरु र अन्य महिलाहरुलाई समेत पुनः प्रयोग गर्न मिल्ने प्याड तयार गर्ने तालिमहरु दिन थाले ।

संस्थाको नामबाट महिलाहरुलाई तालिम दिएका महर्जनले तालिम लिएका महिलाहरुलाई प्याड बनाउने काममा पनि सहभागी गराए । तर महिलाहरुले बनाएका प्याड बजार पठाउन सामाजिक संस्थाले मिल्दैन थियो । त्यसैले तालिम लिएर कपडाको प्याड बनाउने महिलाहरुको प्याड बजारीकरण गर्न महर्जनले ललितपुरको खोकनामा सन् २०१७ मा ‘च्यारीटी सप’ नामक पसल खोले ।

महर्जनले आफ्नो पसल मार्फत तालिम लिएका महिलाहरुले निर्माण गरेको पुनः प्रयोग गर्न मिल्ने प्याडलाई बजारीकरण समेत गर्दै आएका छन् ।

यसरी चिनिए नेपाली प्याड म्यान भनेर

सन् २०१७ मा च्यारीटी सप खोलेर कपडाको प्याडको व्यापार महर्जनका लागि सहज थिएन । बजारमा पाइने सेनेटरी प्याड प्रयोग गर्ने महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड धुनुपर्ने भएकाले शुरुमा बुझाउन अलि गाह्रो पथ्र्यो ।

महिलाहरुलाई कपडाको प्याडको फाइदाबारे काउन्सिलिङ गरे पनि त्यतिबेला महिनामा मुस्किलले ४० वटा मात्रै प्याड विक्री हुन्थ्यो । महिलाहरुलाई निशुल्क तालिम दिएर उनीहरुको प्याड खरिद गरेका महर्जन प्याड बिक्री नहुँदा शुरुमा चिन्तित थिए ।

तर जब सन् २०१८ मा भारतीय फिल्म क्षेत्रमा अक्षय कुमारको फिल्म प्याड म्यान आयो त्यसपछि महर्जन नेपाली रियल प्याडम्यान भनेर चिनिन थाले । उनले उत्पादन गरेको पुनः प्रयोग गर्ने प्याडले पनि राम्रो बजार पायो । महर्जनको समुहले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड अहिले मासिक ३ हजार पीस विक्री हुने महर्जनले बताए ।

‘पहिला-पहिला त पसलबाट महिनामा ४० वटा प्याड मात्र विक्री हुन्थ्यो, कहिलेकाही त दिक्क पनि लाग्थ्यो,’ महर्जनले भने, ‘यस्तो पुन प्रयोग गर्ने प्याडको विषयमा मानिसमा चासो बढेको चाँही सन् २०१८ बाट नै हो । भारतमा प्याड म्यान फिल्म आएपछि नेपाली मिडियामा मेरो विषयमा पनि समाचारहरु आयो, त्यसपछि म नेपाली प्याडम्यान भनेर चिनिए, प्याडले पनि राम्रो बजार पायो, अहिले मासिक ३ हजार पीस बिक्री हुन्छ ।’

५७ जनाले बनाउँछन् प्याड

महर्जनले पुनः प्रयोग गर्ने प्याड निर्माणका लागि आफ्नो संस्थामार्फत १९ सय भन्दा बढी महिलाहरुलाई कपडाको प्याड बनाउन सिकाइसकेका छन् ।

महर्जनले आफ्नो संस्थामार्फत तालिम लिएका महिलाहरुलाई प्याड उत्पादनमा सरिक गराउने र उनीहरुलाई प्याड निर्माण गरेअनुसार पारिश्रमिक दिने गर्छन् ।
महिलाहरुले बनाएको प्याडलाई महर्जनका च्यारीटी सप माफर्त बजारिकरण गर्ने गर्छन् । महर्जनले हाल ५७ जना महिलाहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड निर्माणका लागि कपडा, धागो समेत दिएर प्याड निर्माण गरेअनुसार पारिश्रमिक दिने गरेको बताउँछन् ।

‘हामीसँग तालिम लिएका महिलाहरुलाई प्याड बनाउने कपडा, धागो दिए, काम लगाउछौं र प्याड बनाएबापत ज्याला दिने गरेका छौं,’ महर्जनले भने, ‘एकजना महिलाले एउटा प्याड बनाएको २७ देखि ३० रुपैयाँसम्म ज्याला पाउनुहुन्छ, यसरी प्याड बनाएर महिलाहरुले मासिक ७ देखि १७ हजारसम्म कमाउने गर्नुभएको छ ।’

कपडाकै प्याड किन प्रभावकारी ?

नेपालमा वार्षिक रुपमा अर्वौ रकमको सेनिटरी प्याड आयात हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रका महिलाहरुले बजारमा पाइने सेनिटरी प्याड खरिद गर्ने गरेका छन् । बजारमा पाइने सेनिटरी प्याडमा केमिकल हुने भएकाले कतिपय महिलाहरुमा एलर्जी हुने समस्या समेत देखिन्छ । तर महिलाहरुले बाध्यताले पनि सेनिटरी प्याडको प्रयोग गर्दै आएका छन् ।

बजारमा पाइने सेनिटरी प्याड भन्दा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रभावकारी र सुरक्षित भएको महर्जनको दावी छ ।

‘बजारमा पाइने सेनिटरी प्याड ९० प्रतिशत प्लास्टिक तथा प्लास्टिकजन्य पदार्थ र केमिकलको प्रयोग गरिएको हुन्छ, त्यसले वातारण फोहोर गर्छ, हामीले सोध्दा धेरै महिलाले बजारको सेनिटरी प्याडले एलर्जी हुने समस्याहरु आउने गरेको बताएका छन् । बजारको सेनिटरी प्याड सहि तरिकाले प्रयोग गर्न नजान्दा प्याडको केमिकल र युरिनको रियाक्सनले महिलाको प्राइभेट पार्टमा नै असर पुर्‍याउँछ’ महर्जन भन्छन्, ‘हामीले बनाएको सेनिटरी प्याडले महिलाको स्वास्थ्यलाई पनि सुरक्षित राख्छ र हाम्रो वातावरण पनि स्वच्छ हुन्छ ।कटनको कपडा हुने भएकाले कपडाको प्याड स्वास्थ्यका लागि राम्रो छ ।’

कपडाको प्याड सेनिटरी प्याडभन्दा १३ गुणा सस्तो

महर्जनले बजार पठाउने कपडाको प्याडको मुल्य प्रति प्याड एक सय ५० देखि एक सय ६० सम्म पर्छ । यस्तै बजारमा पाइने ८ पीससम्म भएको सेनिटरी प्याडको मुख्य ७० रुपैयाँ देखि १ सय ५० रुपैयाँसम्म पर्छ ।

८ पीस प्याडलाई ७० रुपैयाँ पर्दा कपडाको प्याड १ सय ५० भएपनि सो प्याड सेनिटरी प्याडभन्दा १३ गुणा सस्तो हुने महर्जनको दावी छ ।

‘हामीले बजार पठाउने प्याड धोएर, घाममा सुकाएर, पुन प्रयोग गर्न मिल्छ, त्यसैले दुईवटा कपडाको प्याड लिएमा त्यसले दुईवर्षसम्म महिलाले पुन प्रयोग गर्न सक्छन्,’ महर्जन भन्छन्, ‘हामीले उत्पादन गर्ने कपडाको प्याड अन्य प्याडको तुलतनामा १३ गुणा सस्तो पर्छ ।’

स्कुलमा वितरण हुने निःशुल्क प्याडको माग धान्न सक्छौं

सरकारले हालैमात्र देशभरका सामुदायिक विद्यालयहरुमा सेनिटरी प्याड निशुल्क वितरणको कार्यक्रम लागु गरेको छ । सरकारले निशुल्क प्याड वितरणको कार्यविधिमा स्थानीय स्तरमा उत्पादन हुने प्याडलाई प्राथमिकता दिनुपर्ने पनि बताएको छ ।

नेपालमै बसेर पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड उत्पादन गर्दै आएका महर्जन सरकारले चाहेमा आफुहरुले स्कुलमा वितरण हुने निशुल्क प्याडको माग पुरा गर्न सक्ने बताउँछन् ।

‘विद्यालयमा छात्राहरुलाई सरकारले प्याड वितरणको कार्यक्रम ल्याएको छ, कार्यविधिमा स्थानीय स्तरको उत्पादनलाई प्राथमिकता दिनुपर्ने कुरा पनि उल्लेख छ,’ महर्जनले भने, ‘सरकारले संमन्वय गर्न चाहेमा स्कुलमा वितरण हुने प्याडको माग हामी धान्न सक्छौं, सरकारले चाहेमा विदेशबाट प्याड आयत गर्नुपर्दैन, प्लास्टिकजन्य प्याड प्रयोग गर्नुपर्ने अवस्था आउँदैन । वातावरण फोहोर पनि हुँदैन ।’

महर्जनले आफुहरुले कपडाको प्याड उत्पादनको तालिन समेत दिने भएकाले सरकारले चाहेमा सबै स्थानीय तहमा कपडाको प्याड उत्पादनको तालिम दिन सकिने बताए ।

‘हामीसँग अहिले २२ जनाजति त प्याड बनाउन ट्रेनिङ दिनसक्ने सक्षम महिलाहरु पनि हुनुहुन्छ,’ महर्जनले भने, ‘यदि सरकारले सहयोग गरेमा हाम्रो ट्रेनर दिदीबहिनीले देशभर पुगेर पुन प्रयोग गर्न मिल्ने कपडाको प्याड बनाउने तालिम दिन सक्छन् । सरकारले चाहेमा हामी भोलीदेखि नै नेपालमै प्याड बनाउन सिकाउन तयार छौं ।’

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १२ : ४७ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना