आठ महिनापछि खुल्यो चिडियाखाना (फोटो फिचर) | Khabarhub Khabarhub

आठ महिनापछि खुल्यो चिडियाखाना (फोटो फिचर)



काठमाडौँ- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई खुला गरिएको छ  ।

कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द  थियो ।  खुला भए पनि अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिए।

सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क लगाउनु पर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाउने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।

भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ ।

यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८  जीवजनावर रहेको छ । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क  देशका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिइएको छ ।

वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि रु १६ करोडसम्मको कारोवार हुने गरेको छ ।

टिकट लिन लाम बस्नु नपर्ने

प्रवेशका लागि पहिलेजस्तो टिकट लिन  लाम बस्न नपर्ने व्यवस्था गरिएको छ ।  चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए ।

विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १ : ३८ बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।