चौतर्फी कोरोना भाइरसको धराप | Khabarhub Khabarhub

चौतर्फी कोरोना भाइरसको धराप



नवलपुर- नवलपरासीपूर्व देवचुली नगरपालिका-१७ स्थित पिप्रहर सामुदायिक होम स्टेका व्यवस्थापक सोमनाथ महतो जागिरको खोजीमा छन् ।

महतोले नारायणी नदीको छेउमा रहेको आफ्नै घरमा होम स्टे सञ्चालन गरेका थिए । होम स्टेबाटै उनी वार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्थे । कोरोना संक्रमण फैलिन थालेपछि होम स्टेमा पाहुना आउन छाडे । उनको आम्दानी गुम्यो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले ‘लकडाउन’ गरेपछि चार महिना पूरै व्यवसाय बन्द भयो । त्यसपछि स्थानीय तहले अझ कडिकडाउ गर्दै गाउँगाउँमा निषेधाज्ञा जारी गरे ।

लामो समयको बन्दले आम नागरिकको जीविकोपार्जनमा समस्या हुन थालेपछि निषेधाज्ञा केही खुकुलो त भयो तर संक्रमण झन फैलिँदै गयो । संक्रमण उच्च हुँदै गएकाले सिजनमै पाहुनाहरू राख्न नपाएपछि प्रिपहर सामुदायिक होम स्टेका व्यवस्थापक महतोको व्यवसाय नै धरापमा पर्‍यो ।

महतोजस्तै २२ घर परिवारले पिप्रहरमा होम स्टे सञ्चालन गरेका थिए । कोरोना संक्रमणपछि सबै होम स्टे बन्द भएका छन् । पाहुनाहरूलाई स्थानीय सांस्कृतिक भलकहरू देखाउँदै खानेबस्ने व्यवस्था गर्न स्थापना गरिएका प्रिपहर होम स्टेको सांस्कृतिक भवनमा ताला झुण्डिएको छ ।

गत वर्ष पिप्रहरको सांस्कृतिक भवनमा देशभरिका होम स्टे सञ्चालकहरू भेला भएका थिए । ग्रामीण पर्यटनप्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएका होम स्टेका सञ्चालकहरूले होम स्टेसँगै कृषि पर्यटन प्रवर्द्धन गर्ने निष्कर्ष निकालेका थिए ।

कृषि क्षेत्रमा सहुलियत व्याजमा ऋण प्रवाह हुने भएकाले कृषि पर्यटन अघि बढाउने योजना उनीहरूको थियो ।

संकटमा बोटेमाझीको होम स्टे

देवचुली नगरपालिका-१ बोटे टोलका बोटेमाझी समुदायले सञ्चालन गरेको होम स्टे पनि बन्द छ ।

माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटेमाझी समुदायले पछिल्लो समय खेतीकिसानी गर्दै आएका थिए ।

तीनै बोटेमाझी समुदायका १४ घर परिवारले २०७६ फुगुनदेखि सिसवार बोटेमाझी सामुदायिक होम स्टे सञ्चालन गरेका थिए ।

कुल ६५ घर परिवार बोटेमाझीको बसोबास रहेको टोलका बोटेमाझीहरू पर्यटन क्षेत्रबाट आर्थिक सुधार हुने विश्वासमा थिए । नारायणी नदीमा माछा मार्ने र डुङ्गा चलाउने काम गरेर जीविकोपार्जन गर्ने बोटेमाझीहरूले होम स्टे अगाडि बढाउने योजना बनाए । होम स्टे सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने तयारीमा लाग्दै गर्दा कोरोना भाइरसका कारण लकडाउन भएपछि होम स्टे बन्द भयो ।

बोटेमाझीहरूले होम स्टे सञ्चालन गरेपछि पहिलोपटक झापाबाट आएको ३० जनाको समूहलाई स्वागत गर्न पाएका थिए । यसलगत्तै प्यूठानबाट आएको ४८ जनाको समूह बोटेमाझीको होम स्टेमा बस्यो । यसपछि बन्द भयो । होम स्टेकी सचिव पूर्णमाया बोटेले भनिन्, ‘दाङबाट पाहुना आउने कुरा भइरहेको थियो, चैतमा कोरोनाका कारण लकडाउन भएपछि बन्द गर्नुपर्‍यो ।’

यो समुदायलाई स्थानीय दिव्य मध्यवर्ती सामुदायिक वनले होस्टेमा हैँसे गरेको छ । बोटेमाझीलाई दिव्य मध्यवर्ती सामुदायिक वनले १४ कठ्ठा जग्गा उपलब्ध गरायो । नारायणीमा माछा मार्ने पेशा अँगालेका उनीहरूले सोही जग्गामा अहिले व्यावसायिकरूपमा माछापालन गरेका छन् ।

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होम स्टे व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख, देवचुली नगरपालिकाबाट ६ लाख र सिसवार मध्यवर्ती सामुदायिक वनबाट ३ लाख रुपैयाँ सहयोग प्राप्त भएपछि सोही ठाउँमा सांस्कृतिक भवन निर्माण कार्य भइरहेको छ । होम स्टे पाहुनालाई स्थानीय कला संस्कृति देखाउने उनीहरूको योजना छ ।

उनीहरूलाई कोरोना संक्रमण सकिएपछि फेरि पनि होम स्टे माथि उठाउन सकिन्छ भन्ने विश्वास छ । तत्काल गुजारा चलाउन समस्या भएपछि उनीहरू दैनिक ज्यालादारीको काममा लागेका छन् । दैनिक ज्यालादारीको खोजीमा रहेका बोटे टोलका अधिकांश बासिन्दाहरू यति बेला धान भित्र्याउने काममा छन् ।

थला परेको पर्यटन व्यवसाय

पूर्वी नवलपरासी जिल्लाको दक्षिणतर्फ नारायणी नदी छ, नदी पारी चितवन राष्ट्रिय निकुञ्ज । निकुञ्ज छेउछाउको क्षेत्र मध्यवर्ती क्षेत्र हो । जल सफारीदेखि निकुञ्जका वन्यजन्तु हेर्न पाइने भएकाले पनि यो क्षेत्रमा पर्यटकहरूको आकर्षण धेरै छ ।

त्यसैले गैँडाकोटदेखि त्रिवेणीसम्मकै नदी किनारमा होटल र होम स्टेहरू सञ्चालन गरिएका हुन् । नवलपुरको कावासोती नगरपालिकामा पर्ने अमलटारी सामुदायिक होम स्टे, चिलाहा–रतौल सामुदायिक होम स्टे र मध्यबिन्दु नगरपालिकामा पर्ने नन्दपुर सामुदायिक होम स्टे पनि कोरोना संक्रमणपछि बन्दको अवस्थामा छन् ।

दशैँतिहार जस्ता चाडबाडका बेला निकै पर्यटक आउने यी होम स्टेका सञ्चालकहरू पाहुनाको स्वागत गर्न नपाएपछि वैकल्पिक व्यवसायको खोजीमा छन् ।

वैदेशिक रोजगारी पनि गुम्यो

कावासोती नगरपालिका–३ का एक युवा वैदेशिक रोजगारीका लागि घरबाट हिँडे । काठमाडौँ पुगेर हेम्स अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो ।

कोरोना संक्रमण नभएको प्रमाण भएमात्रै जान पाइने भएपछि उनी घर फर्किए । कोरोना पोजेटिभ देखिएपछि घर फर्किएको सूचना स्थानीयले स्वास्थ्य कार्यालयले दियो । स्वास्थ्य कार्यालयले रिपोर्ट झिकाएपछि मात्रै थाहा भयो, उनलाई कोरोना पोजेटिभ देखिएको कुरा ।

उनीजस्तै दैनिक थुप्रै युवाहरू त्यसरी दिनदिनै फर्किने गरे पनि वास्तविक रिपोर्ट आउन सकेको छैन । जसले गर्दा समुदायस्तरमा कोरोना संक्रमण कतिसम्म फैलिएको छ भन्ने यकिन छैन ।

पछिल्लो समय जिल्लाबाहिर गएर व्यक्तिगतरूपमा गरिएका परीक्षणका रिपोर्टहरू आउने गरेका छैनन् । थाहा पाएसम्म मात्रै आफूहरूले मगाउने गरेको र कतिपय रिपोर्ट माग्दासमेत पाउन नसकेको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाईंले बताए ।

घरभित्रै बन्धक हुँदाको पीडा

गैँडाकोट नगरपालिका–२ का बद्री सापकोटाका परिवारका ९ जना सदस्यलाई एकै पटक कोरोना संक्रमण देखियो । परिवारका दश जनामध्ये १४ वर्षकी एउटी छोरीबाहेक सबै संक्रमित भएपछि घर नै आइसोलेशन केन्द्र बन्न पुग्यो ।

परिवारका सदस्यहरू कोही जागिरमा त कोही आफ्नै व्यवसायमा थिए । परिवारलाई नै संक्रमण देखिएपछि धेरै दिन घरमै बसे । सामाजिक दायित्वका कारणले पनि उनीहरू घरबाट बाहिर निस्किएनन् । उनीहरूलाई नजरबन्धमा परेजस्तै अनुभूति भयो ।

उनीहरूलाई दैनिक उपभोगका वस्तु किन्न पनि निकै समस्या भयो । कुनै सामान चाहिएमा कसैलाई फोन गरेर बोलाउनुपर्ने बाध्यता थियो । सहयोग गर्ने व्यक्तिहरूलाई पनि उत्तिकै त्रास थियो । घरभित्रैको पट्यारलाग्दो बसाइले मानसिक तनाव पनि उत्तिकै भयो ।

सापकोटा परिवारले आफ्ना एक जना छिमेकीलाई सर्पले टोकेपछि उपचारका लागि भरतपुर अस्पताल लगेका थिए । उनलाई सहयोग गर्ने क्रममा सापकोटा परिवारका एक सदस्यलाई संक्रमण देखिएको थियो । त्यसपछि परिवारका ६ वर्षदेखि ६२ वर्ष उमेर समूहका सबैलाई संक्रमण भयो ।

सापकोटा परिवारमा पहिलोपटक संक्रमण देखिएका एक सदस्य देवचुली नगरपालिका–१६ स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा बसे । अन्य सदस्य सबै ‘होम आइसोलेशन’ मा बसे ।

संक्रमण पुष्टि भएका सबै जना तातोपानी र घरायसी औषधिका साथै आयुर्वेदिक औषधि प्रयोगबाट कोरोनामुक्त भए । उनीहरूले चिल्लो कम भएको साधारण खाना र फलफूल खाए । दूध नियमित खाए । कागतीपानी खाए । तुलसीको पात र गुर्जोजस्ता प्राकृतिक वनस्पतिको नियमित प्रयोग गरेको बद्री सापकोटाले बताए ।

नाम मात्रैको प्रधानमन्त्री रोजगार कार्यक्रम

कोरोना महामारीले विपन्नको जीविका चल्ने अवस्था छैन । आशा गरिएका सरकारी कार्यक्रम पनि प्रभावकारी छैनन् । रोजगारी दिने सरकारी कार्यक्रम क्षणिक भए पनि उत्पादनशिल उमेरका युवाहरू वैदेशिक रोजगारमै जान बाध्य छन् ।

कुल ६२ हजार ४२१ जनसंख्या रहेको पूर्वी नवलपरासी जिल्लाको सदरमुकाम कावासोती नगरपालिकाका झण्डै १० प्रतिशत युवाहरू वैदेशिक रोजगारीमा छन् ।

वैदेशिक रोजगारीमा रहेका मध्ये चैत ११ देखि साउन ९ गतेसम्मको रेकर्डमा नवलपरासीपूर्वका ६०५ जना स्वदेश फर्किएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटा बताउँछन् । तीमध्ये कतिपय रोजगारी गुमाएका र कामको खोजीमा रहेको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक सय दिनको रोजगारीका लागि साउन ७ गतेदेखि भदौ ८ गतेसम्म एक महिनामा कावासोती नगरपालिकाबाट ५३५ जनाले आवेदन दिएका छन्, जसमा २६० महिला छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम भने अन्यौलमा छ ।

बेरोजगारलाई रोजगारी दिने चुनावी एजेण्डा भएकाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको थियो । भूकम्प प्रभावित केही जिल्लामा रोजगारी दिए पनि अधिकांश जिल्लामा आवेदन बुझ्ने काम मात्रै भएको छ ।

कावासोती नगरपालिकामा क्षेत्री, पहाडी ब्राम्हण, मगर, थारु, तामाङ, नेवार, मुसलमान, कामी, दमाई, गुरुङ, डोली, ठकुरी, सार्की, तेली, सन्यासी, दशनामी, मुसहर, खट्बनियाँ, कुमाल, कानु, नुनिया, मारवाणी, दराई, भोटे, वादी, राई, लगायतको मिश्रित बसोबास छ ।

कोरोना संक्रमणका कारण लकडाउन गरिएपछि दैनिक ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएकाहरूलाई हातमुख जोर्न समस्या भएपछि स्थानीय तहबाट राहत वितरण पनि भएको थियो ।

संक्रमितका परिवारमाथि दुर्व्यवहार

साउन अन्तिमतिर नवलपरासीपूर्व कावासोती–२ का पत्रकार सागर पोखरेललाई कोरोना संक्रमण देखियो । उनलाई संक्रमण देखिएपछि जिल्लाभरि नै सनसनी फैलियो । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले एकसाता जिल्लामा निषेधाज्ञा लागु गरे ।

पत्रकारलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा अरू केही पत्रकार, व्यापारी, शिक्षक र राजनीतिक दलका नेताहरूलाई पनि संक्रमण भेटियो । संक्रमण समुदायस्तरमा फैलिएको भन्दै त्रास बढ्दै जाँदा संक्रमितका परिवारजनले समेत दुर्व्यवहार भोग्नु पर्‍यो ।

पोखरेलको कन्ट्याक्ट ट्रेसिङमा परेका अर्जुन लुइँटेललाई संक्रमण पुष्टि भएपछि उनका परिवारजन डेराबाट निकालिए । रेडियोमा कार्यरत अन्य पत्रकारहरूले पनि उस्तै दुर्व्यवहार भोग्नु पर्‍यो । संक्रमणमुक्त भएका पत्रकार पोखरेलकै सक्रियतामा कावासोती नगरपालिकाका होम आइसोलेशनमा रहेका संक्रमितहरूलाई परामर्श दिने काम पनि भयो ।

कर्मचारी र जनप्रतिनिधि पनि संक्रमित

संक्रमण बढ्ने क्रम रोकिएको छैन । स्थानीय तहका कर्मचारीहरू र जनप्रतिनिधिहरू पनि संक्रमित भइरहेका छन् । कोरोना संक्रमणको व्यवस्थापन गर्ने जिम्मेवारी सम्हालेको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरू नै संक्रमित छन् ।

कर्मचारी नै संक्रमित भएपछि पालिकाहरूको सेवामा समेत असर परेको छ । जिल्लाका चार वटा स्थानीय तहले सूचना निकालेर सेवा बन्द गरे ।

हालैमात्र गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे संक्रमित भए । प्रमुखहरू नै संक्रमित भएपछि यी तीनवटै स्थानीय तहले आकस्मिक बाहेकका सेवा बन्द गरे । विनयी त्रिवेणी गाउँपालिकाले पनि आकस्मिकबाहेका सेवा बन्द गर्‍यो ।

अलमलमा स्थानीय तह

कोरोना कहरले गर्दा स्थानीय तहका सबै संरचनाहरू समस्यामा परेका छन् । चार महिना लामो लकडाउनपछि जनजीवन चलायमान हुँदै जाँदा संक्रमण भने झनै फैलिएको छ । जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिले संक्रमितहरूको उचित व्यवस्थापन गर्न नसकेपछि स्थानीय तहको जिम्मामा छोडिएको छ ।

स्थानीय तह पनि केन्द्र र प्रदेश सरकारको मुख ताकेर बसेका छन् । ‘योजनाका कामहरू पनि राम्रोसँग गर्न सकिएको छैन’, देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठ भन्छन्, ‘योजनाहरू ठप्प हुने अवस्था छ । अरू योजनाको पैसा पनि कोरोनामा लगाउनुपरेको छ ।’

लकडाउन गरिएपछि राहतका लागि संघीय सरकारबाट १० लाख रुपैयाँबाहेक थप कुनै बजेट नआएको श्रेष्ठले गुनासो गरे । स्थानीय तहले मात्रै व्यवस्थापन गर्न नसक्ने पालिकाप्रमुखहरू बताउँछन् ।

स्थानीय तहरूले आफ्नो ध्यान कोरोना संक्रमणमै रहेको बताए पनि अझै पनि आइसोलेशन बनाउने कुरा छलफलमा मात्र सीमित छ । कोरोना संक्रमितकै व्यवस्थापन गर्न नसकिएकाले रोजगारीको विषयमा अहिले केही गर्न सक्ने अवस्था नरहेको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

संक्रमण बढ्दै गए पनि उद्योग व्यवसाय गर्न स्थानीय तहबाट थुनछेक नभएको श्रेष्ठको भनाइ छ । स्थानीय तहका प्रमुखहरू कोरोनाले निम्त्याएको दीर्घकालीन असरका बारेमा छलफल गर्न र योजना बनाउन पनि समय नपाएका बताउँछन् ।

यसरी कोरोना भाइरस चौतर्फी धराप भएर खडा भएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : ३० बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ