कोरोना भाइरस : नेपालमा जोखिम कम गर्न अब के गर्ने ? « Khabarhub

कोरोना भाइरस : नेपालमा जोखिम कम गर्न अब के गर्ने ?



कोरोना भाइरसको संक्रमण भएपछि लक्षण नदेखिने, सामान्य लक्षण देखिनेदेखि अत्यन्तै गम्भीर श्वासप्रश्वास सम्बन्धि लक्षण देखिएर मृत्युसम्म हुनसक्छ।

तर सबै संक्रमितमा लक्षण उही हुँदैन र सबैको मृत्यु हुदैन । औसतमा भन्नु पर्दा कोरोना संक्रमण पश्चात २ देखि ५ प्रतिशत व्यक्तिको मात्र मृत्यु हुने गरेको पाइन्छ। तर केवल संख्या मात्र हेरेर सही विश्लेषण नगर्ने हो भने वास्तविक अवस्था के हो र तयारी कसरी गर्ने भन्ने कुरा नबुझेर भोलिको निम्ति सुरक्षित हुन सकिँदैन।

कोरोना भाइरसले सबैलाई एकैखाले असर गर्दैन । यो भाइरसको संक्रमण पश्चात केहि निश्चित व्यक्तिलाई धेरै असर गर्छ भने केहिलाई कम। अहिले विश्वव्यापी भएका केहि ठूला अनुसन्धान र विश्लेषणको आधारमा नेपाल को अवस्थालाई हेरौ।

नेपालमा कोरोनाको संक्रमणबाट हुने रोग नदेखिएको हो ?

कोरोना संक्रमण पश्चात लक्षण देखिने र नदेखिनेमा संक्रमितको उमेर कति हो र पहिले नै स्वास्थ्य अवस्था कस्तो थियो भन्ने कुराले प्रमूख भूमिका खेल्छ।

विशेषत उमेरको मुख्य भूमिका देखिएको छ। गम्भीर लक्षण देखिएर अस्पताल भर्ना हुनु पर्ने बिरामीको तथ्यांक अनुसार अमेरिकामा गरिएको एक अध्ययनले कोरोना भाइरस संक्रमणको सुरुवाती चरणमा फैलिने क्रममा गम्भीर बिरामी भएर अस्पताल भर्ना हुने स्थितिका बिरामीको अनुपात हेर्दा ६५ वर्षभन्दा धेरै उमेरका व्यक्ति ४३ प्रतिशत थिए ।

५० देखि ६५ वर्ष उमेरका ३१ प्रतिशत थिए । १९ देखि ५० वर्षका २५ प्रतिशत थिए भने १८ वर्ष भन्दा कम उमेर समूहका व्यक्ति केवल १ प्रतिशतभन्दा कम मात्रै थिए। अर्थात अस्पताल भर्ना गर्न पर्ने तीन चौथाईभन्दा बढी बिरामीको उमेर ५० वर्षभन्दा माथि थियो। यो तथ्यांकको अनुसार कोरोना संक्रमितको उमेर समूह अनुसार गम्भीर लक्षण देखिने/नदेखिने र अस्पताल भर्ना हुन पर्ने नपर्ने धेरै कुरा निर्धारण हुने निर्क्योल गर्न सकिन्छ ।

देश, जनसंख्याको बनोट , स्वास्थ्य सेवा को उपलब्धता इत्यादी ले यो अंक तल माथि पार्ने भए पनि समग्रमा उमेर अनुसार को यो अनुपात संसारका अन्य ठाउँमा पनि देखिएको छ।

नेपालमा अहिलेसम्मको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै संक्रमण १८- ५० वर्ष उमेर समूहका अझ वैदेशिक रोजगारीबाट फर्केकाहरूमा देखिएको छ। यो समूहमा निकै कम प्रतिशतमा मात्र गम्भीर रोगको लक्षण देखिने हुनाले अहिलेसम्म सिकिस्त बिरामी निकै थोरै देखिएका हुन्।

सबैभन्दा धेरै जोखिममा रहेको ५० वर्षभन्दा माथिको संक्रमित संख्या नेपालमा अहिलेसम्म केवल ४ प्रतिशत मात्रै छ। अब यो समूहमा संक्रमण फैलिदै गर्दा गम्भीर लक्षण पनि ब्याप्त हुने देखिन्छ।

किन देखिएन लक्षण ?

भाइरस कमजोर भएर लक्षण नदेखिएको आँकलन पनि गर्न थालिएको छ । यस विषयमा धेरै अड्कलबाजी पनि हुने गरेका छन् । भाइरस कमजोर भएको छैन । न त हाम्रो प्रतिरक्षा प्रणाली नै अन्यत्र भन्दा धेरै शक्तिशाली भएको हो । अहिलेसम्म प्राय: सबै केशहरू बाहिर संक्रमण भएर नेपाल आएका छन् । यस्तो अवस्थामा संक्रमणको उद्गम स्थलमा त्यही भाइरस कमजोर नहुने तर फ्याट्ट नेपाल छिर्नासाथ् कमजोर हुने भन्ने हुदैन।

अर्को एउटा कारण भने यो भाइरस संक्रमण र लक्षण देखिने समयको अन्तराल हो । औसतमा संक्रमण भएको ५-६ दिन पश्चातमात्र संक्रमितमा लक्ष्यण देखिन सुरु भए पनि केहि संक्रमितमा संक्रमण भएको २ देखि १४ दिन पछि लक्ष्यण देखिने हुन्छ । त्यसैले संक्रमितको केहि हिस्सा प्रारम्भिक चरणमा भएको हुँदा लक्षण अझै नदेखिएको हुन सक्छ।

नेपालमा मृत्युदर कम हो ?

सरसर्ती हेर्दा नेपालमा मृतकको संख्या थोरै जस्तो देखिन्छ र हिसाब गर्दा औसत मृत्यु डर ० दशमलव ४ प्रतिशतको हाराहारीमा आउछ । तर त्यो पूर्ण सत्य हैन । अहिले हाम्रोमा संक्रमितको उमेर समूह अनुसार त्यस्तो देखिएको हो ।

अहिले अधिकांस संक्रमित ५० वर्षभन्दा कम उमेरका छन्। येही उमेर समूहमा विश्वव्यापी मृत्यु दर तुलना गर्दा उल्टो नेपालमा केहि धेरै देखिन्छ। अर्थात् उमेर समूह छुट्याएर सो उमेर समूह अनुसार मृत्युदर हिसाब गरेर संख्यात्मक रुपमा हेर्दा त अहिलेको अवस्थामा हाम्रोमा न्युनतम ३ देखि अधिकतम ११ व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु हुनु पर्ने १४ जनाको भै सकेको छ । केहि सम्भाभित संक्रमितको मृत्यु भै सके पनि संक्रमण भएको पुस्टि गर्ने ल्याब नतिजा आइ पुगेको छैन।

अहिले जम्मा मृतकको संख्या थोरै हुँदा अहिले नै ठोस तथ्यांक निकाल्न त मिल्दैन तैपनि प्रारम्भिक हिसाबले हेर्दा मृत्युदर उच्च्च बिन्दु तिरै हुने संकेत पाइन्छ। अब यो संक्रमण दर वृद्धवृद्धा र पूर्ववत स्वास्थ्य समस्या भएका व्यक्ति तर्फ फैलिदै गर्दा मृत्युदर पनि सोहि अनुरुप बढ्ने प्रक्षेपण गर्न सकिन्छ।

कोरोनाले होइन अन्य रोगका कारण मृत्यु कति सत्य ?

यो तर्कमा पनि म त्यति दम देख्दिन। एस्तो हुन नसक्ने भने होइन। अप्रेसन गर्दा, दुर्घटनामा परेर, अन्य जघन्य संक्रमण भएर, अत्यावस्यक अंग चल्न छोडेर, हृदयघात, मस्तिस्कघात इत्यादी भयर मृत्युबरण गर्ने अवस्थामा पुगेका व्यक्तिलाइ अन्तिम अवस्थामा संक्रमण पनि हुन सक्छ।

तर हामी कहाँ त क्वारेन्टिनमा बस्नु भन्दा अगाडी , वा मृत्यु हुन भन्दा अगाडी मृत्यु हुने खालको गम्भीर रोग नलागेका मानिसको मृत्यु भएको छ । उनीहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

उदाहरणको लागि नेपालको पहिलो केशमा कोरोना हैन सुत्केरी व्यथा बिग्रेर मृत्यु भएको पनि भानिन्छ। तर यो केशमा हेर्ने हो भने सुबिधासम्पन्न अस्पतालमा प्रसुति भएको हो । अस्पतालले सबै जाँचेर डिस्चार्ज गरेको हो । अन्य कुनै मृत्यु भै हाल्ने खालको रोग थिएन।

अर्थात् कोरोना बाहेक अरु कुनै कारणले मृत्यु भै हाल्छ भन्ने स्थिति थिएन। अनि एस्तो अवस्थामा कोरोनाका कारण मृत्यु भएको नमानेर के मान्ने ? कोरोना बाघ हैन । यसले संक्रमितलाइ खाँदैन । यो संक्रमण पछि देखिने गरि अंगभंग हुने, घाउ देखिने जस्तो हुदैन। संसारभरको आकडा केलाउने हो भने ९० प्रतिशत भन्दा बढी कोरोनाका गम्भीर बिरामी वा मृतकमा अरु पनि एक वा एक भन्दा बढी रोग पहिले नै भएको पाइन्छ।

अर्को रुपमा हेर्नु पर्दा पहिले नै केहि अन्य रोग लागेका व्यक्ति हरूलाई कोरोना संक्रमित र असंक्रमित छुट्याएर हेर्ने हो भने कोरोना संक्रमितमा मृत्युदर धेरै देखिन्छ।

अहिले नेपालमा कोरोना संक्रमितको छाती सिटि स्क्यान वा एक्सरे गरेर हेरिएको छैन। अन्य मुलुकमा येसरी परीक्षण गर्दा मृतकमा प्रष्टसँग फोक्सोमा संक्रमण भएको देखिएको थियो।

येस्तै वैज्ञानिक आधारलाई मानेर नै रोग समूह र ती समूहमा कोरोना लागेमा हुने खतराको जोखिम पत्ता लागेको हो।

घर अगाडी उभिएर हेर्दा पछाडीको भित्तो देखिएन भन्नुको मतलब पछाडीको भित्तो नै छैन भन्ने होइन । देख्नलाइ त पूर्ण रुपमा घुमेर नियाल्न पर्यो।

प्रमाण नै नखोजी प्रमाण छैन भनेर सत्यलाइ मिथ्या ठान्नु उचित हुदैन। कोरोना संक्रमणका कारण मृत्यु हुन्छ र यो जोखिम उमेर अनि पूर्ववर्ति रोगहरूले बढाऊछ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाटै निर्क्योल गरिएका विषयवस्तु हुन्।

कस्ता बिरामीमा कोरोनाको डर धेरै हुन्छ

उमेर धेरै र अन्य रोग छ भने गम्भीर लक्षण देखा पर्ने र मृत्युसम्म हुने सम्भावना अधिक हुन्छ। उमेर अनुसार निम्न उल्लेखित कुनै रोग छन् भने जोखिम बढ्ने हुन्छ।

अनुसन्धानका अनुसार सबैभन्दा ठूलो डर उच्च रक्तचाप भएका बिरामीलाई देखिएको छ। त्यस्का साथै अत्यधिक मोटोपना, मधुमेह, मुटु को रोग र मृगौलाको रोग भएका मानिसमा रोग जटिल बन्ने सम्भावना धेरै हुन्छ। एकभन्दा धेरै समस्या भएका व्यक्तिमा स्वत: जोखिम पनि बढेर जान्छ।

सुनिएको जस्तो दमका बिरामीलाई केहि जोखिम भए पनि अत्यधिक जोखिम भने हुँदैन। अर्थात दमका बिरामीलाई संक्रमण हुँदैमा मृत्यु हुने वा गम्भीर लक्षण हुने भए थोरैमात्र बढ्ने हो।

तर पनि उमेर वा यी अरु रोग हुँदैमा मृत्यु भइहाल्छ भन्ने होइन जोखिम मात्र बढ्ने हो। अधिकांश संक्रमित , ८० प्रतिशतसम्म त अन्य कुनै रोग छैन भने अस्पताल भर्ना नै नभइकन पनि निको हुन्छन। संक्रमित मध्ये पनि केवल २-५ प्रतिशत मात्रको मृत्यु हुन्छ।

नेपालमा कोरोनाको जोखिम अब केमा छ ?

नेपालमा सबै भन्दा जोखिममा रहेका ५० वर्षभन्दा माथि उमेर समूहका संक्रमितको अनुपात केवल ४ प्रतिशत मात्र छ । यो समुहमा अहिले संक्रमण फैलिएको छैन । अब समुदाय स्तरमा फैलिदै गर्दा अनि पहिचान हुन नसकेका संक्रमित घर फर्किने क्रम बढेसँगै रैथाने वृद्धवृद्धामा यो संक्रमण फैलिने खतरा छ। यो उमेर समूह फेरि आफ्नो आचरण र बानी परिबर्तन गर्न केहि गार्हो हुने समूह पनि हो।

अशिक्षा, प्रबिधिसँगको दूरी, सरसफाईमा ध्यान नदिने, परम्परागत सोच, पूराना रोगले यो समूहमा जोखिम धेरै छ । यी सबै कारणले अबका दिनमा सबैभन्दा खतरामा यो उमेर समूह हुन्छ। यो समूहलाई जोगाउन विशेष पहल गर्नुपर्छ । यो पहल आजैदेखि सुरु नगरे धेरै ढिला हुनेछ ।

अहिलेको आकडा अनुसार नेपालमा ६५ वर्ष उमेर काटेको जनसंख्या करिब १६ लाख छ। २ प्रतिशत मात्रै यो समूहका सदस्यलाइ संक्रमण भएको खण्डमा पनि ३२ हजार संक्रमित हुन्छन। यो उमेर समूहका कोरोना संक्रमितमा देखिएको ५ प्रतिशतदेखि २० प्रतिशतको मृत्युदर हेर्ने हो भने पनि १६०० देखि ६४०० व्यक्तिको मृत्यु हुने देखिन्छ। तसर्थ सचेतता अपनाएर पूर्व तयारी गर्नु आवश्यक छ ।

पहिलो त स्वास्थ्य सेवा सुचारु गरेर नियमित स्वास्थ्य सेवा उपलब्ध हुनु जरुरी छ । सहि सूचना, व्यक्तिगत सरसफाई र सामाजिक दूरी कायम गर्ने बिधिहरू राम्रो सँग बुझ्न जरुरी छ। वृद्धवृद्धा घरमा भएका मानिसले कसरी संक्रमणको जोखिम कम गर्ने भनेर बुझ्न पनि उत्तिकै जरुरी छ। स्मरण रहोस राम्रो स्वास्थ्यस्थिति भएका युवा अवस्थाका व्यक्तिलाई कोरोना संक्रमणका कारण जोखिम थोरै भए पनि वृद्धावृद्धालाई संक्रमण सर्ने सम्भाना भने हुन्छ। अति जोखिममा रहेका हाम्रा समाजका अग्रजलाई सुरक्षित राख्न सरकारले पनि बिशेष पहल गर्न जरुरी छ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ९ : ५६ बजे

अमेरिकी उपविदेशमन्त्रीले भेटिन् मुस्कान खातुन र भूमिकालाई

काठमाडौं– नेपालमा भ्रमणका क्रममा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भूमिका

हेटौँडा उपमहानगरमा नेकपा (एस) की मीनाकुमारी लामा निर्वाचित

काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजय भएको छ

राप्ती नगरपालिकाको मेयरमा समाजवादीका लामा विजयी

चितवन– नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विषेश जिम्मेवारी प्रदान

कोलम्बो- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता