साग सकिएको ५ महिना पुग्नै लाग्दा पनि पदक जित्ने खेलाडीहरुले पाएनन् पुरस्कार | Khabarhub Khabarhub

साग सकिएको ५ महिना पुग्नै लाग्दा पनि पदक जित्ने खेलाडीहरुले पाएनन् पुरस्कार


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष २०७६ सकिन अब २ दिन मात्रै बाँकी छन् । तर, १३औं दक्षिण एसियाली खेलकुद (साग) (मंसिर १५–२४) सम्पन्न भएको चार महिना पुरा हुँदा पनि खेलाडीहरुले पाउनु पर्ने पुरस्कार रकम पाउन सकेका छैनन् ।

काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्णसहित २०७ पदक हात पारेको थियो । घरेलु भूमिमा भएको सागमा नेपालले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो ।

यसअघि आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो । ऐतिहासिक उपलब्धी हात पार्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र संघहरुले भने यसमार्फत् पाउनु पर्ने पुरस्कार रकम पाउन सकेका छैनन् ।

पुरस्कार रकममा ढिला गर्न कहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सुस्त भयो भने कहिले युवा तथा खेलकुद मन्त्रालयले ढिलाइ गर्‍यो । सागका खेलाडीको पुरस्कार रकम अर्थ मन्त्रालले युवा तथा खेलकुद मन्त्रालयमा पठाएको पनि एक महिना भन्दा बढी समय भइसकेको छ ।

तर, राखेप र मन्त्रालयले चासो नदिँदा ढिला भइरहेको छ । खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षकर संघको सम्मान तथा पुरस्कारका लागि भन्दै २३ करोड ७० लाख यसअघि नै निकासा भइसकेको छ । त्यसमध्ये पुरस्कारमा २३ करोड २० लाख हाराहारी लाग्ने अनुमान गरिएको छ । बाँकी रहेको ५० लाखले पछि सागलाई सफल पार्न सहयोग गर्ने सबैलाई सम्मान गर्ने ग्रान्ड कार्यक्रम आयोजना गर्ने तयारी मन्त्रालयले गरेको छ ।

सागमा व्यक्तिगततर्फ स्वर्ण जित्ने खेलाडीले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य पदक जित्नेले ३ लाख पाउने भनिएको थियो भने दुईभन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पुरस्कार पाउने गरी घोषणा गरिएको थियो ।

यस्तै, समुहगततर्फ स्वर्ण जित्नेले ६ लाख, रजतले ४ लाख र कास्य पदक जित्नेले २ लाख पाउनेछन् । मन्त्रालय र राखेप सदस्य सचिव रमेश कुमार सिलवालले अबको सातदिनभित्र खेलाडीले पुरस्कार पाउँछन् भनेको पनि झण्डै १ महिना हुन थालिसकेको छ । तर, खेलाडीले पुरस्कार पाउने विषय अझै पनि यकिन हुन सकेको छैन ।

खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलिया यो महिनाभित्रै खेलाडीको खातामा पैसा जम्मा गर्ने प्रक्रिया अगाडि बढी सक्ने बताउँछन् ।

पछिल्लो समय पुरस्कार रकम ढिला हुनुका पछाडि ‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि–२०७२’ का दुई बुँदा बाधक बनेका छन् ।

कार्यविधिको दफा ५ मा उल्लेख भएको ‘पुुरस्कार तथा सम्मानका लागि निवेदन तथा सिफारिस सम्बन्धी व्यवस्था’ अन्तर्गत उपदफा (१) को (घ) र (ङ) ले असहज बनाएको राखेप सदस्य सचिव सिलवालले बताएका छन् ।

देहाय (घ) मा सम्मान तथा पुरस्कार पाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक तथा फिजियोको नाममा राखेपमा पेश्की फर्छ्यौट गर्न बाँकी तथा बेरुजु नभएको परिषद्ले सिफारिस गर्नु पर्ने र देहाय (ङ) मा सम्मान तथा पुरस्कार पाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक तथा फिजियोको नाममा नेपाल सरकारलाई तिर्न बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी नरहेको भन्ने स्वः घोषणा हुनु पर्ने भन्ने व्यवस्था रहेको छ ।

पेश्की फर्छ्यौट खेलाडीहरुको बाँकी नरहेको राखेप सदस्य सचिव सिलवालले बताएका छन् । तर, केही प्रशिक्षक र संघको पेश्की र फर्छ्यौट र बेरुजु रहेकाले कही समय लिएको उनले बताएका छन् ।

‘खेलाडीको पेश्की फर्छ्यौट र बेरुजु केही पनि बाँकी छैन्,’ सिलवालले भने, ‘खेलाडीको पुरस्कार पठाउन कुनै समस्या छैन् । तर, केही प्रशिक्षक र संघको बाँकी देखिएको छ । त्यसले केही समय लिएको हो ।’

सदस्य सचिव सिलवालले पेश्की रकम बाँकी रहेका संघ र प्रशिक्षकहरुलाई पत्र पठाइसकिएको र त्यसको हल छिट्टै खोज्ने तर, खेलाडीको पुरस्कार यो महिनाभित्रै उनीहरुको बैंक खातामा पठाइसक्ने बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रशाद थपलिया पनि लकडाउनले केही समस्या पारेको बताउँदै राखेपले खेलाडी, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुको विवरण पठाउने वित्तिकै मन्त्रालयले पुरस्कार पठाउने बताएका छन् ।

देश लकडाउन भएको आज १८ दिन पूरा भएको छ । खेलाडीको पुरस्कार दिन ढिला भएको भन्दै आलोचना हुन थालेपछि राखेपका सदस्य सचिवसहितको टोली लकडाउनमा पनि त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा उपस्थित भइ काम गरिरहको मन्त्रालयका सचिव थपलियाले बताएका छन् ।

‘राखेपका आवश्यक पर्ने कर्मचारीहरुका लागि हामीले पासको व्यवस्था मिलाइ सकेका छौं । अहिले सदस्य सचिवसहितको टोली कार्यालयमै बसेर काम गरिरहनु भएको छ,’ थपलियाले थपे, ‘मलाई लाग्छ, कुन खेलाडीको कति पैसासहित सबै विवरण आज भोलिमा आयो भने आइतबारदेखि खेलाडीको पुरस्कार वितरण सुरु हुनेछ ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ५ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन