वर्ष २०७६: यी सिनेमा जुन धेरै चर्चामा आए र हराए | Khabarhub Khabarhub

वर्ष २०७६: यी सिनेमा जुन धेरै चर्चामा आए र हराए


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष २०७६ मा ५४ वटा नेपाली सिनेमा हलमा प्रदर्शन भए । तीमध्ये केहीले मात्र नाफा कमाए । केही त्यस्ता सिनेमा प्रदर्शन भए, जसको वर्षभरि चर्चा चल्यो तर हलमा दर्शक पाएनन् ।

कतिपय सिनेमा स्टारडमका कारण चर्चामा रहे भने कतिपय मेकरका कारण । ती सिनेमा बढी चर्चामा रहेर पनि व्यापारमा भने असफल भए । केहीले मुस्किलले लगानी उठाए भने केहीले त्यो पनि सकेनन् ।

वीरविक्रम २

मिलन चाम्सको निर्देशनमा बनेको ‘वीर विक्रम २’ ले राम्रो चर्चा कमायो । सिनेमामा नाजिर हुसेन, वर्षा सिवाकोटी र पल शाहको शीर्ष भूमिका थियो । दुई मित्रको कथा बोल्ने यो सिनेमाले व्यावसायिक असफलता बेहोर्‍यो ।

सिनेमाको समीक्षामा निर्देशकले एक फेसबूक पेजका सदस्यमाथि उजुरी नै हाले । प्रनेश गौतम नामका कमेडियनलाई प्रहरीले पक्राउ गर्‍यो ।

‘वीर विक्रम २’ को मेकिङ नै दर्शकलाई राम्रो लागेन । यसअघि पनि मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ प्रदर्शन भएको थियो । यो सिनेमा पनि खासै सफल थिएन । सोही नाम लिएर मिलन चाम्सले नै ‘वीर विक्रम २’ बनाए । त्यो पनि असफल बन्यो ।

आप्पा

दयाहाङ राईको सिनेमाको धेरथोर चर्चा हुनु स्वाभाविक नै हो । अनमोल गुरुङको निर्देशनमा बनेको आप्पाको राम्रै चर्चा थियो । सिद्धार्थराज तामाङ, अलोना काबो लेप्चा लगायतका कलाकार शीर्ष भूमिकामा थिए ।

सिनेमाले औसत चर्चा कमायो तर बक्स अफिसमा असफल रह्यो ।

हजार जुनीसम्म

आर्यन सिग्देल र स्वस्तिमा खड्काको अभिनय रहेको ‘हजार जुनीसम्म’ वर्षमै धेरै चर्चामा आएको सिनेमामध्ये एक हो । यसमा सिक्किमकी एक युवतीको कथा समेटिएको छ ।

प्रियंका कार्की, सलोन बस्नेत, सञ्चिता लुइँटेललगायतको पनि अभिनय रहेको यो सिनेमाको प्रचार राम्रै गरिएको थियो, यद्यपि सिनेमाले दर्शकको मन जित्न सकेन ।

जाइरा

नायिका नम्रता श्रेष्ठको ‘जाइरा’ ले पनि दर्शकको साथ पाउन सकेन । सिनेमाकै लागि नम्रताले कपाल छोट्याकी थिइन् । उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको थियो ।

मार्सल आर्ट खेलाडीको कथा समेटिएको यो सिनेमा पनि वर्षका असफलमध्ये एक बन्न पुग्यो । सिनेमामा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी लगायतका कलाकारको अभिनय छ ।

निर्देशन आशुतोषराज श्रेष्ठको थियो ।

मारुनी

साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको शीर्ष भूमिका रहेको ‘मारुनी’ नबल नेपालले निर्देशन गरेका थिए । सिनेमाको चर्चा पनि ठीकै थियो । यो सिनेमापछि त पुष्पले पारिश्रमिक पनि ह्वात्तै बढाएको चर्चा चल्यो तर सिनेमा फ्लप भयो ।

पासवर्ड

सस्तो प्रचार पाएको अर्को सिनेमा हो पासवर्ड । यसको प्रचार यसरी गरियो कि, मानौँ सिनेमाले बक्स अफिसमा कमाल गर्छ । सिनेमाको एक गीतमा पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनीको नृत्य थियो । चर्चाको एउटा कारण यही थियो ।

ग्राण्ड प्रिमियरमा भारतबाट सनी लियोनीलाई पनि आमन्त्रण गरियो । भव्य प्रचार गरिए पनि सिनेमा भने नराम्रोसँग असफल भयो ।

रातो टीका निधारमा

अशोक शर्मा निर्देशित ‘रातो टीका निधारमा’ गत वर्षदेखि नै चर्चामा थियो किनकि यो सिनेमा दशैँमा रिलिज हुने भनिएको थियो । दीपकराज गिरीको ‘छ माया छपक्कै’ सँगै रिलिज हुने भनिएका कारण पनि चर्चा भएको थियो ।

सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, खुस्बु खड्का, बुद्धि तामाङ नीता ढुंगाना लगायतका कलाकारको अभिनय छ । यो सिनेमा पनि चर्चामा मात्र सीमित भयो । निर्माताले भने सिनेमाले लगानी उठाएको दाबी गरे ।

अंकित खड्काको यो डेब्यु सिनेमाको चर्चा त धेरै भयो तर सिनेमा चलेन ।

घामड शेरे

निश्चल बस्नेत र स्वस्तिमा खड्का साली—भेनाको भूमिकामा रहेको ‘घामड शेरे’ को पनि धेरै चर्चा भयो । पहिलोपटक यो जोडी पर्दामा देखिँदै थियो ।

हेमराज बिसी निर्देशित यो सिनेमाले रिलिजपछि राम्रो प्रतिक्रिया पाउन सकेन । कात्तिक ८ मा रिलिज गर्ने भनिएको थियो तर सिनेमा दुई हप्ता पर सारियो ।

भारतीय अभिनेता अक्षय कुमारको सिनेमा ‘हाउसफूल ४’ ले धेरै हल पाएपछि पर्याप्त शो नपाएको भन्दै दुई हप्ता पर धकेलिएको यो सिनेमाले पछि शो त पायो तर दर्शक पाएन ।

चच हुई

आर्यन सिग्देल, भोलाराज सापकोटा र मिरुना मगर शीर्ष भूमिकामा रहेको यो सिनेमाले पनि रिलिजअघि चर्चा बटुल्यो । आशा गरिएको यो सिनेमाले दर्शकको साथ भने पाएन । साम्तेन भुटियाले निर्देशन रहेकाले सिनेमा स्तरीय बनेको धेरैको अनुमान थियो । उनले यसअघि केही आशलाग्दा सिनेमा निर्देशन गरेका थिए ।

कमेडी सिनेमा भनेर प्रचार गरिएको ‘चचहुई’ न कमेडी थियो, न दर्शकले रुचाए । दर्शकले सोचेजस्तो व्यापार भएन, हल्लामात्र भयो ।

सेल्फी किङ

‘सेल्फी किङ’ बाट अभिनेता विपिन कार्की पनि आशावादी थिए तर लेखक तथा निर्देशक कथामा चुक्दा सिनेमा सोचेजति बलियो बन्न सकेन । सिनेमाले समीक्षा पनि चित्तबुझ्दो पाएन । लामो समय चर्चा भए पनि बक्स अफिसमा राम्रो गर्न सकेन ।

यसलाई प्रतीक्षित सिनेमामध्ये एक मानिएको थियो । अभय बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत अभिनय रहेको

यो सिनेमा विशाल सापकोटाको निर्देशन गरेका हुन् ।

साङ्लो

यो वर्ष अभिनेता विराज भट्ट ‘साङ्लो’ का कारण चर्चामा रहे । यो सिनेमाबाट विराज पनि आशावादी थिए । रिलिजपछि सिङ्गल थिएटरमा दर्शक केही दिन भरिभराउ नै भए तर सिनेमा चलेन ।

विराज आफैँले निर्देशन गरेको ‘साङ्लो’ पुरानै शैलीको थियो । अहिलेका दर्शक नयाँ शैलीमा पनि अझ नयाँपन र शक्तिशाली सिनेमा चाहन्छन् ।

विराजले सिनेमा त मेहनतका साथ नै बनाए तर प्रस्तुतीकरणमा नयाँपन दिन सकेनन् । फलस्वरूप सम्भावना भएर सिनेमा सफल हुन सकेन ।

सेन्टीभाइरस

वर्षको प्रतीक्षित भनिएको ‘सेन्टीभाइरस’ को प्रचार यति गरियो कि ‘मेरी बास्सै’ र ‘सक्किगो नि’ जस्ता टेलिफिल्ममा त सिनेमाको प्रचार कोरोना भाइरससँग जोडेर गरियो ।

चलचित्र ‘सेन्टीभाइरस’ मा दयाहाङ राई ।

दयाहाङ राई, सीताराम कट्टेल, सन्दीप क्षेत्री, कुञ्जना घिमिरे, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको यो सिनेमा राजनीतिक कथामा आधारित थियो । क्रेज पनि राम्रै बनाएको थियो ।

रामबाबु गुरुङ निर्देशित यो सिनेमा स्तरीय नबने पनि जेनतेन लगानी भने सुरक्षित ग¥यो । जति आशा गरिएको थियो, त्यति कमाइ भने भएन ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : ०१ बजे

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ