कोरोनाको सन्त्रास र सत्ताको भाष्य « Khabarhub
Logo
१८ जेठ २०७७, आइतबार

कोरोनाको सन्त्रास र सत्ताको भाष्य



केही दिनयता सामाजिक सञ्जालमा प्रधानमन्त्रीको एउटा पुरानो ट्वीट निकै शेयर भएको, जसमा लेखिएको छ- भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहनरूपमा ल्यायो भने भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद केही भन्ने छैन ।

पहिलेका धेरै काण्डमा बिस्तारै जाउँला तर भर्खरैमात्र कोरोनाको आवरणमा जुनस्तरको भ्रष्टाचारको तस्वीर सार्वजनिक भयो र जसलाई छोप्न स्वयं प्रधानमन्त्रीका आइटीविज्ञले मिडियामा धावा बोले, त्यसबारे प्रधानमन्त्री चुपचाप छन् । धेरै अगाडि गरिएको उक्त ट्वीट अहिले भाइरल गराइनुको उद्देश्य शायद ओलीजीलाई स्मरण होस् भनेर होला ।

द्वारेहरूको तर्क भने यसबारेमा बडो विचित्रको छ । प्रधानमन्त्रीले यसमा एक्सन लिई हाल्नुहुन्थ्यो रे तर डाक्टरले बेडरेस्ट भनेकाले कदम नचालेको रे ।

यतिबेला मुलुक कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ ।

सरकारको कार्यशैली हेर्दा घोर लापरबाही देखिन्छ, भ्रष्टाचारको गन्ध आउँछ । कोरोना भाइरस रोकथामको काम सुरु गर्ने बेलामा एक मन्त्रीले नेपाल ‘कोरोना फ्रि’ भने । अहिले उनै मन्त्री कोरोना विरुद्ध लड्नुपर्छ भन्दै ज्ञान बाँडिरहेका छन् । अझै पनि उनले आफ्नो गल्ती मानेका छैनन् बरु हामीले नै सम्झारहनुपरेको छ ।

अहिले कोरोनाको सकस बढिरहँदा सरकारको पारा पनि उस्तै छ, अटेरी र जिद्दी । विगतमा कुनै सरकारलाई अलच्छिना देख्ने वर्तमान प्रधानमन्त्री आफूलाई कस्तो देख्छन् होला ! उनी कहिले बालुवाटारमा बाँसुरी बजाउँदै रमाउँछन् त कहिले र जन्मदिनको भोज लगाउँदै आफैँ दङ्ग पर्छन् ।

संसदको संख्याले दुई तिहाईको बलशाली सरकार छ तर सरकार छ निरीहताले भरिएको । सरकारको स्वस्थ आलोचना गर्दा पनि बालुवाटारदेखि कहाँ कहाँसम्म भूकम्प गए जस्तो हुने । कता कताबाट एकै चोटि छोडिएका अरिङ्गालहरू आक्रमणमा उत्रिहाल्छन् ।

प्रधानमन्त्रीको वरिपरि यस्तो एउटा तह छ जसले उनलाई महाराज बनाउने प्रयास गरेको छ । यो घेराले प्रधानमन्त्रीलाई जनताबाट अलग गर्दै लगेको छ ।

सरकारलाई सचेत गराउने जमातसँग त्यो तप्का यति चिडिएको छ कि यसरी प्रश्न गर्नेलाई कहिले छौँडा भन्छ त कहिले सिनो हेरेको भन्छन् । कसैलाई डलर खाएर सरकारको विरोध गरेको आरोप लगाउँछ ।

सरकारसँग न निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनेर सोध्न पाइन्छ न द्वन्द्वपीडितको न्यायको सवाल उठाउन । जनताले तिरेको कर खाएर सल्लाहकार बनेकाहरू नागरिकलाई धम्की दिन खुला उत्रिन्छन् । पत्रकार महासंघका महासचिवलाई धम्क्याउनेले अरू कसलाई बाँकी राखेका होलान् र !

संकटको यो अवस्थामा सरकारलाई सजग गराउन र क्रियाशील हुन दबाब दिनुपर्नेमा सहमतिको सरकारको राग पो अलाप्न थालेका छन्, विपक्षी नेताहरू । कांग्रेसले पछिल्लो चुनावमा पाएको जानदेश रचनात्मक प्रतिपक्षको हो, सरकारमा टाँसिन वा छड्के किनाराको साँची बस्न होइन । यति आइक्यू पनि अरूले नै सम्झाइदिनु परेको छ ।

लोकतन्त्रमा स्वस्थ आलोचना नागरिकको अधिकार हो । यहाँ त प्रश्न नै बर्जित गरिएको छ । प्रधानमन्त्रीले भनेकै छन्, प्रश्नले लोकतन्त्र कमजोर हुन्छ भनेर । त्यसैले उनले सार्वजनिकरूपमा प्रश्नकर्ताहरूमाथि अरिङ्गाल झैँ आइलाग्न निर्देशन दिएको हुनुपर्छ । अहिले सबै कुरा लेख्नु पनि हुन्न, किनकि देशमा कोरोनाको कहर छ ।

देश कोरोना भाइरसबाट सिर्जित सकसमा रन्थनिएको छ । यस्तो बेलामा जब आलोचनात्मक चेत भएका केही नागरिक सरकारलाई सुझाब दिन अघि सर्छन्, तब बालुवाटारका भित्रीयाहरू धम्कीको भाषामा उत्रिन्छन् । प्रधानमन्त्रीका सल्लाहकारको भाषाशैलीको स्तरले जो पनि स्तब्ध बन्छ । हुन त प्रधानमन्त्रीकै कतिपय भनाइ पनि उस्तै तहका सुनिन्छन् । सामाजिक सञ्जालमा मन्त्रीदेखि सल्लाहकारसम्मका स्ट्याटस हेर्दा तिनमा न्यूनतम लोकतान्त्रिक आचरण पनि देखिँदैन ।

अरू त अरू, मन्त्रीहरूको झुन्ड पनि उस्तै छ । प्रश्न गर्नेलाई कोही सिनो खाने भन्छन्, जवाफदेहीतामा बिर्को लगाउँछन् । कोही भ्रष्टाचारलाई वैध ठहर्‍याउन समयको सिमिततालाई बहाना बनाउँछन् ।

हामीले जसलाई भोट दिएर हाम्रो संरक्षणको जिम्मा सुम्पियौँ, आज उसैलाई हामी प्रश्न गर्न सक्दैनौँ । प्रश्नमाथि बन्देज लगाउने प्रयास भएको छ । सुशासनको व्याकरण परिवर्तन गरिएको छ र सत्ताको भाषाको औजार चलाइएको छ । हाम्रो संविधानमा स्वास्थ्यलाई मौलिक हकमा राखिएको छ ।

अहिलेको यस विषम परिस्थितिमा हाम्रो स्वास्थ्यको जिम्मा श्री पशुपतिनाथको हातमा छ । ज्वरो त कोरोना भाइरसअघि पनि आउँथ्यो, खोकी पनि लाग्थ्यो, निमोनिया पनि हुन्थ्यो ।

आशावादी त बन्नैपर्छ । सरकारको विकास र समृद्धिको सपनाको जयकार पनि गर्नैपर्छ । नत्र विकासविरोधीको बिल्ला लाग्न सक्छ । वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन काण्ड, यति होल्डिङ्स प्रकरण, सेक्युरिटी प्रेस खरिद प्रकरण, स्वास्थ्य सामग्री घोटाला प्रकरण यीबारे सोध्ने चेष्टा गर्नु नै बेकार हुन थालेको छ । अहिले त परिस्थिति नै विषम छ ।

आफ्नो ख्याल आफैँ गरौँ । घरबाहिर नजाऔँ, सामाजिक दूरी कायम गरौँ । कोरोना भाइरसलाई परास्त गरौँ । सरकारको धेरै भर नगरौँ । महाकालीपारि रोइरहेका हाम्रा आफ्नै दाजुभाइलाई हेरे थाहा भइहाल्छ हाम्रो सरकारको क्षमता । उनीहरू सीमामा बसेर घर पुग्न सरकारलाई गुहारिरहेका छन् । सरकार लकडाउन भनेर कानमा तेल हालेर बसेको छ ।

हामी धेरै नेपाली भाग्यमा बढी नै विश्वास गर्छौं । त्यसैले आज राजनीतिक भाग्यको बारेमा पनि सोचौँ न । त्यसै पनि लकडाउनले हामीलाई धेरै सोच्न सुविधा दिएकै छ । राजनीतिक भाग्यअनुसार दुई तिहाईको सरकार त हामीले पाएकै थियौँ, प्रतिपक्ष पनि उस्तै मिलेको छ । सत्ता त सत्ता नै भइगयो, प्रमुख प्रतिपक्ष पनि बडो ठिट लाग्दो अवस्थामा छ ।

लोकतन्त्रमा प्रतिपक्षको भूमिका निकै रचनात्मक र खबरदारीको हुनुपर्ने मानिन्छ । हामीसँग भएको प्रतिपक्ष कुम्भकर्ण निद्रामा भएजस्तो छ । उसको आवाज कतै सुनिँदैन, कार्यक्रम केही छैन । सरकारका कामकारबाहीको निगरानीको साटो किनारमा साँची बसेको जस्तो देखिन्छ ।

संकटको यो अवस्थामा सरकारलाई सजग गराउन र क्रियाशील हुन दबाब दिनुपर्नेमा सहमतिको सरकारको राग पो अलाप्न थालेका छन्, विपक्षी नेताहरू । कांग्रेसले पछिल्लो चुनावमा पाएको जानदेश रचनात्मक प्रतिपक्षको हो, सरकारमा टाँसिन वा छड्के किनाराको साँची बस्न होइन । यति आइक्यू पनि अरूले नै सम्झाइदिनु परेको छ ।

लकडाउनको तीन हप्ता बित्न लाग्यो, कोरोनाको सन्त्रास उस्तै छ । सरकार बिमार छ, प्रतिपक्ष लथालिङ्ग छ । देशमा सरकार छ भनेर ढुक्क हुने अवस्था छैन ।

आफ्नो ख्याल आफैँ गरौँ । घरबाहिर नजाऔँ, सामाजिक दूरी कायम गरौँ । कोरोना भाइरसलाई परास्त गरौँ । सरकारको धेरै भर नगरौँ ।

महाकालीपारि रोइरहेका हाम्रा आफ्नै दाजुभाइलाई हेरे थाहा भइहाल्छ हाम्रो सरकारको क्षमता । उनीहरू सीमामा बसेर घर पुग्न सरकारलाई गुहारिरहेका छन् । सरकार लकडाउन भनेर कानमा तेल हालेर बसेको छ ।

विशद दाहालको यो कवितामा भनेजस्तै :
ए पटमुर्ख हो
किन झ्वाम्म फाल हानेको महाकालीमा ?
अहिले छिटा पर्छ अनि
ब्युँझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास देश डुबेकै छैन
किन उठाउँछौ खुन्खार पौडेबाजलाई यति छिटै ?


भर्खर

0