चावहिल–साँखु सडक : लाखौं दशनार्थीहरुको प्रश्न ‘कहिले बन्छ यो सडक ?’ | Khabarhub Khabarhub

चावहिल–साँखु सडक : लाखौं दशनार्थीहरुको प्रश्न ‘कहिले बन्छ यो सडक ?’



काठमाडौं- हिन्दु नेपाली महिलाले मनाउने एक महिने ब्रत ‘श्री स्वीथानी’ आज (शुक्रबार)बाट शुरु भएको छ ।

यो ब्रतसँग र यससँग जोडिएको कथा काठमाडौंको साँखुस्थित शालीनदीसँग सम्बन्धित भएकाले सालीनदीमा एक महिने मेला लाग्छ ।

यही मेला भर्न नेपाल तथा भारतका हिन्दु धर्माबलम्बीहरु ब्रत तथा पूजाआराधनाका लागि शालीनदीमा आउने गर्छन् ।

एक महिना अवधीभर चल्ने मेलामा करिब ३० लाख भक्तजनहरुले सालीनदी अवलोकन गर्ने श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

कतिपय दर्शनार्थीहरु सिन्धुपाल्चोकको मेलम्चीहुँदै शालीनदी आउने गर्छन् भने अधिकांश दर्शनार्थीहरु राजधानीको रत्नपार्कबाट सार्वजनिक सवारी साधनमा गौशला–चावहिल–बौद्ध–जोरपाटी–थली हुँदै साँखु पुग्ने गर्छन् ।

रत्नपार्कबाट झण्डै १७ किलोमिटर सडक पार गरेपछि साँखु पुग्न सकिन्छ । तर, सडकको नाजुक अवस्थाका कारण यो सडकमा आवतजावत गर्दा दिन बित्ने दर्शनार्थीहरु बताउँछन् ।

रत्नपार्कबाट करिब ५ किलोमिटर दूरी पार गरेलगत्तै चावहिल पुगिन्छ । सडकको अवस्था राम्रो भएकाले चावहिल पुग्न १० मिनेट मात्रै लाग्छ । तर चावहिलबाट १२ किलोमिटर सडक पार गर्न साढे दुइ घण्टाभन्दा बढी लाग्ने गरेको सवारी चालकहरु बताउँछन् ।

सवारी चालक र दर्शनार्थीको सकस

निर्माणाधीन सडकका कारण यहाँका स्थानीयवासीले मात्र होइन् । विभिन्न जिल्लाबाट शालीनदी दर्शनका लागि आएका दर्शनार्थीहरुले समेत वर्षेनि यो समस्या झेल्दै आइरहेका छन् ।

त्यति मात्र होइन । पानी परेको समयमा पानीले सडकका अधिकांश खाल्डाखुल्डी भरिने र बस चिप्लिने समस्या भएको बाबा गोकर्णेश्वर यातायातका चालकले बताए ।

‘सिमसिम पानी पर्दा पनि बस चिप्लिन्छ’ उनले भने, ‘बेस्सरी पानी पर्दा खाल्डाखुल्डी भरिएर ड्राइभिङ गर्न असहज हुन्छ ।’

अन्य समयमा भन्दा शालीनदी मेलाका बेला दर्शनार्थीको घुँइचो हुने र अटाइनआई यात्रु बोक्नुपर्दा सडकले असहज बनाउने गरेको उनको अनुभव छ ।

‘सवारीसाधन जति थपे पनि एकमहिना त यहाँ यात्रुलाई ओसार्न सवारी साधन अपुग नै हुन्छ’ १२ वर्षदेखि सोही रुटमा चलाइरहेका उनले भने, ‘सडक मात्र राम्रो भएपनि हामीले यात्रुलाई सहज रुपमा यात्रा गराउथ्यौ ।’

त्यस्तै दर्शनार्थीको गुनासो पनि उस्तै छ । राजधानी बाहिरदेखि आउनेहरु समेत यो सडकको दूरावस्था कहिल्यै समाधान नभएको गुनासो गर्छन् ।

नुवाकोटदेखि स्वस्थानी व्रतका लागि शालीनदी आइपुगेकी बबिता खतिवडा भन्छिन्, ‘हामी हरेक वर्ष नुवाकोटबाट व्रत बसेरै शालीनदीमा नुहाउन आइरहन्छौं तर यो सडकको अवस्था सधै उस्तै छ ।’

‘बस पाउन मुस्किल, बसमा उभिएर यात्रा गर्नुपर्छ’ सडकलाई देखाउँदै उनले भनिन्, ‘बाटो सहज भइदिएको भए केही सहजता हुने थियो दर्शनार्थीहरुका लागि ।’

विरोध गर्दा–गर्दै थाकिसक्यौंः स्थानीयवासी

सडकको स्थलगत रिपोर्टिङ गर्ने क्रममा करिब ५ किलोमिटर अर्थात् ४० प्रतिशत सडक मात्रै कालोपत्रे गरिएको पाइएको छ ।

चावहिलदेखि साँखुसम्मको १२ किलोमिटर सडकमा ७ कलिोमिटर सडक अझै विस्तार हुन बाँकी रहेको छ ।

त्यति मात्र होइन । विस्तारका लागि कतै ढलका पाइप राखिएका छन् त कतै भौतिक संरचना भत्काउँदै । भत्काइरहेका भौतिक संरचना र दिउँसै डोजरले खनिरहेको यो सडकमा पानी परेको समय सवारीसाधन आवतजावत गर्न निकै मुस्किल हुने गरेको छ ।

विस्तार शुरु भएको ४ वर्ष बितिसक्दा पनि कहिले मुआब्जा विवाद त कहिले खानेपानी र बिजुलीका पोल सार्ने जस्ता समस्याका कारण समय लम्बिदै गइरहेको छ ।

समय लम्बिएसँगै स्थानीयवासी, यात्रु र दर्शनार्थीले यो सडकमा सास्ती खेप्नु परिरहेको छ ।

तर उपत्यका सडक विस्तार आयोजना भने ७० प्रतिशत काम सम्पन्न भइसकेको दावी गर्छ । वि.स. २०७२ सालबाट निर्माण थालिएको चावहिल–साँखु सडकमा पाँच तहमा विभाजन गरि विभिन्न ठेकेदार कम्पनीहरुले जिम्मा पाएका थिए ।

सुरुवातमा २ वर्षे म्यादसहित विस्तार गरिने भनिएपनि पटक–पटक म्याद थपिसक्दा पनि ४ वर्षमा आधा काम सम्पन्न हुन सकेको छैन । स्थानीयवासीले धेरैपटक विरोध पनि गरे । सडक अवरुद्ध समेत गरे ।

‘अवरुद्ध भएको समयमा तत्काल काम थाल्ने भनेर सम्बन्धित निकायसँग छलफल हुन्छ’ दक्षिणढोकाका स्थानीय भोजराज गुरुङले भने, ‘केही दिन काम गरेजस्तो पनि गर्छन् ठकेकदारहरुले तर उपलब्धी हुने कुनै काम भएको छैन ।’

यही वर्ष सकिन्छ : आयोजना

यो सडकमा कहिलेसम्म सकसपुर्ण यात्रा गर्ने यात्रुहरुले ? हरेक वर्ष शालीनदी मेला आउने दर्शनार्थीहरुको पनि एउटै प्रश्न आखिर कहिले बन्छ यो सडक ?
यस विषयमा आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ भन्छन्, ‘अहिले चिसो मौसम भएकाले कालोपत्रेको काम रोकिएको छ, यही वर्षभित्र सम्पुर्ण काम सक्ने हाम्रो लक्ष्य छ ।’

आयोजनाले यही वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेपनि सम्पन्न हुने संकेत भने देखिदैँन ।

चार वर्षभित्रको प्रगती हेर्दा पनि युनाइटेड विल्डर्स एण्ड इन्जिजियर्स प्रा.लिले चावहिलदेखि नारायणटार पुलसम्मको ३ दशमलव ६ किलोमिटर सडकमा ५५ प्रतिशत मात्र प्रगती गरेको छ ।

यो सडकमा केही महिनाअघि कालोपत्रे गरिएको थियो । बौद्ध पिपलबोट जोरपाटीचोकसम्म ग्राबेल मात्र बिछ्याइएको छ भने जोरपाटी ओरालोका व्यापारीक थलो भर्खरै भत्काइदै छन् ।

पुरै सडक विस्तारको काम सकिएसँगै यस खण्डमा अर्को पटक पनि कालोपत्रे गरिने भएको छ ।

त्यस्तै बज्रगुरु/च्याङमिला/खानी जेभीले नारायणटारपुलदेखि थलीसम्मको २ दशमलव ४ किलोमिटर सडकमा ६५ प्रतिशत प्रगती हासिल गरेको पाइन्छ ।

विस्तारका लागि खासै समस्या नभएको क्षेत्र भएपनि दक्षिणढोकामा विविध कारणले काम रोकिएको प्रवक्ता श्रेष्ठले बताए । यो सडक पनि कहि कतै कालोपत्रे गरिएको छ भने कतै भर्खरै डोजरले खनिहेको छ ।

बज्रगुरु/विरुवा/खानी जेभीले थलीदेखि इन्द्रयाणी खेलासम्मको ३ किलोमिटर सडकमा ४० प्रतिशत प्रगती गरेको श्रेष्ठ बताउँछन् । तर यो सडकको प्रगती भने देखिदैँन । थली बजारमै हेर्ने हो भने बिजुलीका पोलसमेत सारिएको देखिदैंन विस्तारका लागि भौतिक संरचना पनि भत्काइएका छैनन् ।

‘थली बजारमा स्थानीयकै अवरोधका कारण काम हुन सकेको छैन’ श्रेष्ठले भने, ‘त्यहाँकाम हुनासाथ हामीले कालोपत्रे थाल्नेछौं ।’

उनकाअनुसार चावहिलदेखी थली बजारसम्म दोहोरो कालोपत्रे गरिनेछ भने थलीबजारबाट साँखुसम्म एकपटक मात्र कालोपत्रे गरिनेछ ।

त्यसैगरी बीटी/सुनकोशी/वल्र्डवाईड जेभीले इन्द्रयाणीदेखि सलम्बुटारसम्मको २ दशमलव ४ किलोमिटर सडकमा ५५ प्रतिशत प्रगती हासिल गरेको छ ।

यो सडकमा अहिले कतै कालोपत्रेको काम भइरहेको पनि छ भने कतै घरहरु भत्काउने काम भइरहेको छ ।

अन्तिम खण्डअन्तर्गत सलम्बुटारदेखी साँखु बसपार्कसम्म यो सडकमा करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले भनेजस्तो प्रगती भने अनुगमनका क्रममा देखिदैनन् । जसकारण यो वर्षपनि शालीनदी मेलामा जाने लाखौं दशनार्थीहरुले खाल्डाखुल्डीकै बाटो पार गर्दै पुग्नु पर्ने अवस्था छ ।

आगामी वर्षहरुमा शालीनदी आउने दर्शनार्थीहरुले यो समस्या झेल्नु नपर्ने बताउँदै उनी भन्छन्, ‘सडकको कारण शालीनदी आउने लाखौं दर्शनार्थीहरुले सास्ती पाएका छन् तर अर्को वर्ष यही समस्या दोहोरिदैंन ।’

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ४६ बजे

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।