मेलम्चीलाई छिट्टै पर्यटन 'हव'का रुपमा देख्न पाउनुहुन्छ : डम्बर अर्याल, नगर प्रमुख | Khabarhub Khabarhub

मेलम्चीलाई छिट्टै पर्यटन ‘हव’का रुपमा देख्न पाउनुहुन्छ : डम्बर अर्याल, नगर प्रमुख


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची नगर समृद्धिको आधारः कृषि, पर्यटन, उद्योग र जलाधार’ भन्ने मूलनाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले काम गरिरहेको छ । अहिलेसम्म नगरपालिकाका के के काम सम्पन्न भए, विकास निर्माणको अवस्था कस्तो छ र मेलम्चीलाई समृद्ध बनाउन के के काम भइरहेको छ भन्ने विषयमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालसँग लिइएको अन्तर्वार्ताको सारसंक्षेपः

आजभोलि केमा व्यस्त हुनुहुन्छ प्रमुखज्यू ?

अर्यालः आजभोलि नगरपालिकाकै काममा व्यस्त छु । हिँउद लागिरहेको छ । मेलम्ची नगरपालिकाले गर्ने कामहरु भइरहेको छ । टेण्डरको काम भइरहेको छ । टेण्डरका लागि आएका निवेदनहरु स्वीकृत गर्ने कामहरु गरिरहेका छौँ । असारसम्म गर्ने कामहरु हेरिरहेका छौँ र ती कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनका लागि हामी निरन्तर जुटिरहेका छौँ ।

नगरपालिकाका विकासनिर्माणको काम चाहिँ कसरी अगाडि बढ्दै छ ?

अर्यालः नगरपालिकाको नगरसभाद्वारा बनेका जति पनि हाम्रा योजनाहरु छन्, ती हामीले अगाडि बढाइरहेका छौँ । ती योजना अगाडि बढाउने क्रममा कार्यपालिकाले पनि केही थप निर्णयहरु गरेको छ । रु १० लाखसम्मको काम उपभोक्ता समितिमार्फत गर्ने र १० लाखभन्दा माथिको काम इबिडिङको माध्यमबाट गर्ने र १० लाखभन्दा तल अर्थात् ५ लाखसम्मको कामको योजना बनाउने, सम्झौता गर्ने काम वडाबाटै भइरहेको छ । जति पनि उपभोक्ता समितिमार्फत कामहरु हुन्छन्, ती चाहिँ हामी नगरपालिकाकै माध्यमबाट अगाडि बढाउछौँ ।

यसरी हेर्दा यसभित्र कृषि,पर्यटन, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम पर्छन् । जनताको जीवनसँग जोडिने अरु सबै किसिमका कामलाई क्रमिकरुपमा अगाडि बढाइरहेका छौँ र यो करीबकरीब अन्तिम चरणमा छन् । यस सालको बर्खायाममा वर्षा धेरै भयो । यसले गर्दा विपद्हरु धेरै निम्तिएका छन् । त्यसैले यससँग सम्बन्धित काम पनि सँगसँगै अगाडि बढिरहेको छ । बर्खाबाट बिग्रिएका मोटरबाटोहरु निर्माणको चरणमा छ । खानेपानी, सिँचाइका कामहरु निर्माण चरणमा छन् । भूकम्पपछि निर्माण भएका घरहरु पनि भत्किने अवस्थामा पुगिसकेका छन् ।

त्यसैले प्राविधिक अध्ययनको काम पनि शुरु भइसकेको छ । त्यसलाई नै संरक्षण गरेर हुन्छ या संरचना नै नया बनाउनुपर्ने हो, प्राविधिक रिपोर्टका आधारमा काम अगाडि बढिरहेका छन् । त्यसैले विपद्का निम्ति नगरसभाद्वारा छुट्याइएका बजेटले पुग्ने अवस्था छैन तर काम भने अगाडि बढिनैरहन्छ । हामी कम्तीमा आगामी पुसभित्र हिउँदे नगरसभा गरिसक्छौँ र नगरसभाद्वारा बजेट अनुमोदन गर्ने गरी विपद्का कामहरु अगाडि बढाइरहेका छौँ ।

विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस गर्दा विकासनिर्माणको काम रोकियो कि रोकिएन ?

अर्यालः काममा असर त पुर्यायो नै, हाम्रा कतिपय विकास निमार्णको कामहरु रोकिएका छन् । ती रोकिएका कामहरु सम्पन्न गर्नका लागि हामीले चार महिना म्याद थपेका थियौँ साउन,भदौ, असोज र कात्तिक । अब कात्तिक मसान्तसम्म ती काम सम्पन्न हुन्छ । गत सालको जिम्मेवारी जति सबै हाीिलाइ सरेको छ र यस महिनाको मसान्तसम्ममा ती कामहरु सम्पन्न हुन्छ । जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो गतिमा चाहिँ हुन सकेन । वर्षा र कोभिड हाम्रो विकासका लागि बाधक बनेका छन् । हामीले विभिन्न समस्यासँग जुध्दै काम अगाडि बढाइरहेकै छौँ ।

अनि चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन् ? गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए ?

अर्यालः अब यो वर्ष सम्पन्न हुँदा तीन वार्षिक योजना सम्पन्न गर्छौ । त्यसैले हामीले भनेका जति पनि प्रतिबद्धता थिए, त्यसको ७० प्रतिशत काम सम्पन्न भइसकेका छन् । हामीले बोलेका कुरा मात्र हैन, जनताको आवश्यकता र चाहनालाई समेत बुझेर काम अगाडि बढाइरहेका छौँ । बाँकी रहेका ३० प्रतिशत काम पनि अगाडि बढिरहेको छ र झण्डै शतप्रतिशतको हाराहारीमा पुग्न सकौँला भन्ने अनुमान गरेका छौँ । यदि प्राकृतिक प्रकोपको कारण हामीले बनाएका संरचना वा विकासनिर्माणको काममा क्षति पुग्छ भने त्यो बेग्लै कुरा हो नत्र हामी हाम्रो लक्ष्यमा पुग्नै लागिसक्यौँ । मेलम्ची नगरपालिका र वडा कार्यालयसम्मको बाटालाई बाह्रै महिना चल्ने बनाउनका लागि काम भइरहेको छ ।

बसपार्क, फोहोर व्यवस्थापन, ग्रिनसिटी पार्क निर्माणको काम अन्तिम चरणमा छ र अब छिट्टै यो सम्पन्न हुन्छ । यस सँगसँगै मठमन्दिर र गुम्बा निर्माणको काम र मेलम्ची नगरपालिकालाई काठमाडौँसम्म जोड्ने सडकहरु हाम्रै प्रयत्नबाट पीच हुँदै छन् । मेलम्ची –जिरोकिलो, साँखु –मेलम्चीसम्मको सडकपिचको काम पनि लगभग शुरु भइसकेको छ । क्रमशः मेलम्चीदेखि नगरपालिकाकै वडा नम्बर ७ जाने दुई वटा सडक पिच हुँदै छन् । त्यसैले यस वर्षसम्म हामीले मुख्य काम ग¥र्यौँ । अबको वर्षदेखि हामीले गरेका काम देखिन थाल्छ र जनताले स्थानीय सरकार सँगसँगै विकास भएको महसुस गर्न थाल्नेछन् ।

पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले के गर्दै छ ?

अर्यालः पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माणको काम धमाधम छ । त्यसमा जिपिएस हाल्ने काम पनि भइरहेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४,५,६ तीन वटै वडालाई छोएको धौलेलाई प्रवद्र्धन गर्ने हिसाबले योजना बनाएका छौँ । जनैपूर्णिमाको दिन मेला लाग्ने धौले प्रचारप्रसारको हिसाबले ओझेलमा परेको महसुस भइरहेको छ । त्यसैले यसलाई पर्यटकीय गन्तव्य बनाउन लागिपरेका छौँ । पोखरी निर्माणको काम भइसक्यो र अब एउटा मन्दिर र एउटा स्तूप बनाउने योजना छ । त्यस्तै जलवायु सम्मेलन भएको वडा नम्बर ९ मा रहेको गुफाडाँडालाई पनि पर्यटकीय क्षेत्र बनाउने काम भइरहेको छ । पर्यटकहरुका लागि सहज होस् भन्नका लागि सिँढीं निर्माण भइरहेको छ । त्यस्तै मेलम्चीदेखि धौले र गुफाडाँडा जाने सडक मर्मत तथा व्यवस्थित बनाउनका लागि बजेट विनियोजन गरेर काम भइरहेको छ ।

हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र अर्थात् मुख्य बजार नै मेलम्ची हो । यसलाई व्यवस्थित बनाउन केके काम भइरहेको छ ?

अर्यालः मेलम्ची बजारलाई व्यवस्थित बनाउनका लागि बजार पिच हुँदै छ । बजारकै छेउमा बसपार्क निर्माण भइरहेको छ । बजारमा भएका सबै सवारी साधन बसपार्कमा बस्नेबित्तिकै अव्यवस्थित पार्किङको अहिलेको समस्या हल हुन्छ । त्यस्तै सुरक्षित बजार बनाउनका लागि सिसिटिभी जडानका काम सकिएका छन् । शान्तिसुरक्षाको हिसाबले पनि उपयुक्त हुने खाले काम गर्दैछौँ । बजारमा पुराना शैलीका मन्दिर निर्माणकोे काम भइरहेको छ । त्यहाँ पनि नगरपालिकाले सहयोग गरेको छ । बजार व्यवस्थापन समिति गठन गरेर बजारलाई सुन्दर र सफा राख्न काम तीव्र गतिमा भएको छ ।

नगरवासीले नगरपालिकालाई स्थानीय सरकारको रुपमा लिएका छन् त ?

अर्यालः पक्कै पनि नगरपालिकाले आफ्नो काम तीव्र गतिमा गरिरहेकै छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जिम्मेवारी पाएपछि सरकार हुने हो । सरकार आफैँले मात्र केही गर्ने हैन, यो कुरा सबैले बुझ्नुपर्छ र बुझेका पनि छन् । मलाई लाग्छ, कोही पनि व्यक्ति नगरपालिकाको कामप्रति असन्तुष्ट छैन । कुनै बेला कसैलाई चित्त बुझेन भने पनि नगरपालिकामा आएर गुनासो गर्न पाइन्छ । त्यो गुनासोको सम्बोधन गर्न हामी तयार छौँ । हाम्रो काम भनेकै जनतालाई सुखी र खुशी बनाउँदै नगरपालिकाको विकास गर्ने त हो नि ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंँ पठाइसकेपछि यहाँका प्रभावित क्षेत्रका जनताले के आश गर्ने त ?

अर्यालः मेलम्ची नदीको पानी काठमाडौँ गइसकेपछि हामीले लेबी माग गरेका छौँ । मेलम्ची मात्र हैन, माथि हेलम्बु तल इन्द्रावती पनि छ । त्यसैले लेभी निर्धारणका लागि हामीले एउटा समिति बनाएका छौँ । त्यो समितिका संयोजक यस क्षेत्रका सांसद शेरबहादुर तामाङ हुनुहुन्छ । त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ सदस्य हुनुहुन्छ । स्थानीय तहका प्रमुखहरु सदस्य रहेर बनेको समितिले लेभी निर्धारण सँगसँगै अन्य विकासनिर्माणको काम गर्नका लागि पहल गरिरहेको छ ।

स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कस्तो योजनाका साथ नगरपालिकाले काम गरिरहेको छ ?

अर्यालः हामिले नगरपालिकाको कृषि क्षेत्रको कामलाई अगाडि बढाइरहेका छौँ, चाहे त्यो उत्पादनका क्षेत्रमा होस् या व्यापारको काममा होस् । तरकारी उत्पादन गर्नका लागि अनुदानको व्यवस्था गरिरहेका छौँ । पशुपालनका लागि बीमाको काम भइरहेको छ । मेलम्ची नगरपालिकाका शतप्रतिशत पशुको बीमा गर्ने योजनामा नगरपालिका लागिपरेको छ । विशेषगरी यस वर्ष गाई र भैँसीको बीमा गर्ने काम भइरहेको छ र आगामी दिनमा सबै पशुको बीमा हुन्छ । साथै गाईभैँसी ब्याइसकेपछि उनीहरुलाइ पोषणका निम्ति पैसा दिने काम भइरहेको छ । पाडापाडी या बाच्छाबाच्छीको फोटो लिएर वडा कार्यालय गएमा अनुदान पाइनेछ ।

तपाईँले देख्नुभएको मेलम्चीको भविष्यको मुहार कस्तो छ ?

अर्यालः यसैबाट मध्यपहाडी लोकमार्ग आउँदैछ । सडक निर्माण र व्यवस्थापनको काम सकिन्छ । इन्द्रावती नदी किनारमा मेलम्ची स्वप्न सरोवर बनाउनका लागि डिपिआरको काम हुँदै छ । यस हिसाबले मेलम्ची अब सम्झिरहने खालको हुन्छ भन्नेमा म विश्वस्त छु । छिमेकी पालिकाहरुसँग मिलेर पर्यटक भित्र्याउनका लागि काम गर्ने छौँ । त्यसको हब चाहिँ मेलम्ची हुन्छ भन्नेमा म ढुक्क छु ।

रासस 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : २६ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले