भित्रभित्रै मौलाउँदो गुण्डाराज, २५० बढी प्रहरीको निगरानीमा | Khabarhub Khabarhub

भित्रभित्रै मौलाउँदो गुण्डाराज, २५० बढी प्रहरीको निगरानीमा

एक सातामा दुई पक्राउ, एकलाई सम्पत्ति शुद्धीकरण मुद्दा



काठमाडौँ– केही वर्षयता प्रहरीले गुण्डागर्दीविरुद्ध सक्रियता बढाएको छ । समाजमा आतंक फैलाएर स्वार्थ पूरा गर्ने केही गुण्डा नाइके प्रहरी इन्काउन्टरमा मारिए । गुण्डाराज भने अझे कायमै छ ।

इन्काउन्टरका घटनामा चर्चा कमाएका नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दका अनुसार प्रहरीको निरन्तरको सक्रियताले गुण्डागिरीमा केही कमी आए पनि रोकिएको छैन । राजनीतिक संरक्षण पाउनाले पनि उनीहरूको धन्दा चलिरहेको छ ।

पछिल्लो साताका तीवटा घटनाले नेपालमा गुण्डाहरूको गतिविधि भित्रभित्रै मौलाएको पुष्टि हुन्छ ।

१. धम्कीमा ‘राधे’ पक्राउ

बिहीबार धादिङबेँसीबाट राधे उपनामले चिनिने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गर्‍यो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार राधे जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा पक्राउ परेका हुन् ।

एसपी खड्काले खबरहबसँग भने, ‘राधेको समूहलाई धादिङमा अवैधरूपमा बालुवा निकाल्न जनप्रतिनिधिले रोकेपछि उनले धम्की दिएको उजुर परेकोले पक्राउ गरेका हौँ ।’ जनप्रतिनिधिमाथि धम्की दिएको आरोपमा राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो ।

राधेलाई गत वर्ष जेठमा पनि प्रहरीले खुँडा र चक्कु देखाउँदै स्थानीय बासिन्दालाई कुटपिट गदै गरेको अवस्थामा पक्राउ गरेको थियो । राधे नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल धादिङका उपसभापति हुन् ।

प्रहरी रेकर्डअनुसार, राधे खोलानालाबाट अवैध असुली, धम्की, कुटपिटलगायतमा संलग्न छन् । धादिङमा हुने ठेक्कापट्टा, अवैध बालुवा खानीलगायतबाट राधेले धम्क्याएर कमिसन लिने गरेको स्थानीयबासी बताउँछन् ।

२. ‘बले’ विरुद्ध १७ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

केही दिनअघि बले भनिने गुण्डा नाइके बलराम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गर्‍यो । उनीसँग १७ करोड ५२ लाख ७७ हजार २६० रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध समेत मुद्दा दायर भएको छ । उनीसँ दुई करोड ५८ लाख ६४ हजार ७४४ रुपैयाँ बिगो दाबी गरिएको छ । जुवा र गुण्डागर्दीबाट बलले उक्त सम्पत्ति जोडेको विभागको हठर छ ।

३. बन्धक बनाई १६ लाख असुल्ने डेभिड पक्राउ

यही असोज २० गते प्रहरीले गुण्डा नाइके डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गर्‍यो । मलेसियामा एक जना नेपाली नागरिकलाई बन्धक बनाएर रकम असुलेको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो ।

सिआइबीका प्रमुख डीआइजी सहकुल थापाका अनुसार मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिडमाथि दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी १५ लाखरुपैयाँ भन्दा बढी रकम फिरौती असुलेको आरोप छ । डेभिडले मलेसियामा काम गर्न गएका अन्य नेपालीलाई समेत कुटपिट गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

नेपालमा मुख्यगरी गुण्डाहरूको बढी गतिविधि राजधानी काठमाडौँमा देखिने गरेको छ । प्रहरीले वर्षौंदेखि राजधानीलगायत देशभरका गुण्डाहरूको सूची तयार गरेर निगरानी गरिरहेको छ । प्रहरीको सूचीमा मिटरब्याजी र लुटेरालगायतका गुण्डा नाइके छन् ।

महानगरीय प्रहरी परिसर कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेलका अनुसार अहिले पनि प्रहरीले गुण्डाको ग्रेड छुट्याएर निगरानी बढाएको छ । पोखरेल भन्छन् ‘कानूनलाई मुठ्ठीमा लिएर समाजमा आतंक फैलाउने कसैले पनि उन्मुक्ति पाउँदैन । त्यस्ता व्यक्ति ढिलो चाँडो कानूनी दायरामा आउँछन् ।’

प्रहरी स्रोतका अनुसार, अहिले राजधानीलगायत आसपासका जिल्लाहरूमा मात्र २५० जनाको हाराहारीमा गुण्डाहरू सक्रिय छन् । उनीहरूको पेशा, दैनिक गतिविधि, सम्पर्क, सम्बन्ध, उजुरीलगायतका आधारमा प्रहरीले सूची तयार गरेको छ ।

समूह–समूहमा गुण्डागिरी

गुण्डागर्दीको अनुसन्धानमा खटिएको प्रहरी स्रोतका अनुसार, हत्या अभियोगमा दुई वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खाली मातहत तीन दर्जन गुण्डा सङ्गठित छन् । राजु गोर्खाली भने अहिले सक्रिय छैनन् ।

विजयकुमार गच्छदारको राजनीतिक संरक्षण पाएका गणेश लामाको नेतृत्वमा पनि करिब तीन दर्जन गुण्डा सक्रिय छन् । चक्रे भनिने मिलन गुरुङको समूहमा करिब ३५ जना सक्रिय छन् । बाघे लामाको समूहमा ११ जना छन् । अर्का गुण्डा नाइके प्रवीण प्रधानको समूहमा १० जना छन् ।

अन्य केहीले पनि ससानो गिरोह बनाएर धन्दा चलाइरहेको प्रहरी स्रोतको भनाइ छ ।

राजधानी बाहिर पनि अहिले सिन्धुपाल्चोकमा केही नेताको आडमा सगुन श्रेष्ठ र लागुऔषध मुद्दामा जेल बसेर हालै छुटेका सुमन श्रेष्ठ (ज्यापु) को समूहमा प्रहरीले निगरानी बढाएको छ । उनीहरू मध्ये केही व्यक्ति कारागारमा छन् तर भित्रैबाट धन्दा चलाउने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

गुण्डालाई प्रहरी र नेताको संरक्षण !

जानकाहरूका काठमाडौँमा गुण्डाहरूमार्फत हुने ८५ प्रतिशत काममा कुनै न कुनै प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग हुने गरेको छ । पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘कुनै कुनै घटनामा प्रहरीको संलग्नता अवश्य भेटिएको छ । संलग्नलाई कारबाही पनि भएको छ । सङ्गठनको केही विभागीय स्वार्थ रहन्छ । उनीहरूसँग सूचना हुन्छ, त्यसका लागि प्रयोग गरिन्छ ।’

पूर्वडिआइजी मल्लका अनुसार नाम कहलिएका गुण्डा तथा गुण्डा नाइकेहरूलाई कुनै न कुनै रूपमा राजनीतिक संरक्षण छ । कुनै पनि राजनीतिक दल यसबाट अलग छैन । आपराधिक मुद्दामा थुनामा परे पनि कतिपय गुण्डाहरूको कनेक्सनबारे दलका नेताहरू मात्र होइन प्रहरीका उच्च अधिकृतसमेत बोल्न चाहँदैनन् ।

स्रोतका अनुसार छहारी दिने दलका नेता मात्र होइन प्रहरी र मुद्दामा आफ्नो तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई समेत गुण्डाहरूले आर्थिक सहयोग गरेका छन् ।

प्रहरी प्रवक्ता कुवेर कडायत भन्छन्, ‘गुण्डागर्दीमा संलग्न व्यक्तिले कहीँ न कही संरक्षण खोज्छ । त्यसमध्ये केही राजनीतिक व्यक्तिको संरक्षणमा पुगेको पाइएको छ तर संरक्षणको आडमा कुनै पनि गुण्डाले उन्मुक्ति पाउँदैन । कानूनको दायरामा ल्याइन्छ ।’

प्रहरी अनुसन्धानअनुसार अहिले राजधानी काठमाडौँ र जिल्लाहरूमा हुने ठेक्कापट्टाको कमिसन नै गुण्डानाइके र आसेपासेहरूको मुख्य आयस्रोत हो । यस अतिरिक्त अवैधरूपले सञ्चालन भएका बालुवा खानी, क्रसर उद्योग, ढुङ्गाखानी, निर्माणाधीन हाइड्रो पावरलगायतमा सुरक्षाका नाममा गुण्डाहरूले हप्ता असुली गर्दै आएका छन् ।

मिटर व्याजमा पैसा लगाउने, उठाउने, कागज गराउने, चेक कटाउने जस्ता काममा समेत गुण्डागर्दी देखिएको छ ।

पूर्वएआइजी चन्द भन्छन्, ‘कानूनी राजमा गुण्डाराज हुनु ठीक होइन, गुण्डागर्दीले न यसमा लाग्नेहरूको भलो गर्छ न अरूको । गुण्डागर्दी नियन्त्रणका लागि नियमनकारी निकाय निर्मम बन्नै पर्छ ।’

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : ०१ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले