शिक्षक दरबन्दीका लागि यसरी भयो सेटिङ | Khabarhub Khabarhub

शिक्षक दरबन्दीका लागि यसरी भयो सेटिङ



नवलपरासीपूर्व कावासोती नगरपालिका ९ की सुमित्रा रिजाल राहत शिक्षक दरबन्दी माग भएको सुनेर विद्यालय धाउन थालेको एक साताभन्दा बढी भयो ।

उनी विद्यालय पुग्थिन्, सुचना पार्टी हेर्थिन्, अनि शिक्षकहरुलाई सोध्थिन् तर शिक्षक माग नभएको सुनेपछि फर्किन्थिन् ।

शुक्रबार विहान १० नबज्दै विद्यालय पुग्दा सूचना पार्टीमा राहत शिक्षक माग गरिएको बारे सूचना टाँसिएको थियो ।

सूचना पढ्दै जाँदा बिहीबार नै म्याद गुज्रिसकेको रहेछ । शुक्रबार टाँसिएको विज्ञापन साउन ८ गतेको मितिको थियो । उनले विद्यालयका प्रधानअध्यापक डा. गोपाल लम्साललाई भेट्न खोजिन् तर उनी विद्यालयमा थिएनन् । न त विद्यालयका लेखापाल खेमनारायण चापागाईँ नै भेटिए । अरु शिक्षकहरुलाई सोबारे अनिभिज्ञता प्रकट गरे ।

उनलाई थाहा थियो– विद्यालयले विज्ञापन गरी १५ दिनअघि नै सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ । त्यसैले उनी कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत छत्र भण्डारीलाई सूचना लुकाएर शिक्षक नियुक्ति गर्न खोजिएको भन्दै लिखित उजुरी दिइन् ।

स्थानीय दैनिक पत्रिकाका विज्ञापन निस्किएको शिक्षा अधिकृत भण्डारीले सुनाएपछि उनी जिल्ल परिन् । उनले विज्ञापन छापिएको पत्रिका खोज्दै जाँदा साउन १० गतेको स्थानीय दैनिक पत्रिकामा फेला पारिन् । तर त्यो दिनको सबै पत्रिकाको मुठो एक पसलमा भेटिन् ।

पत्रिकामा छापिएको विज्ञापनअनुसार साउन २५ गतेसम्म आवेदन दिन सकिने भेटिन् । त्यसपछि फेरि विद्यालय पुगिन्, तर विद्यालयले आवेदन बुझ्नै मानेन् । उनी पत्रिका बोकेर फेरि नगर शिक्षा अधिकृत भण्डारी समक्ष पुगिन् ।

पत्रिकाको विज्ञापनअनुसार भण्डारीले प्रधानअध्यापक लम्साललाई फोन घुमाए । अरुको पनि आवेदन बुझ्ने निर्देशन दिए ।

अब चाँही आवेदन दिएर प्रतिष्पर्धामा भाग लिन पाइनेमा रिजाल ढुक्क भइन् तर विद्यालयमा उनको आवेदन बुझ्ने कोही भएन । उनी विद्यालयका प्रधानअध्यापक लम्सालकै घर पुगेर पत्रिका देखाउँदै आवेदन बुझ्न आग्रह गरिन् । तर लम्सालले उल्टै उल्टै हप्काए– ‘आवेदन दिने मिति सकिएपछि बुझ्न मिल्दैन, सक्छौ भने मुद्दा हाल्न जाउ, ऊ त्यहाँ छ अदालत ।’

सूचना लुकाएर छनोट गरे ‘अस्वीकृत’

कावासोती नगरपालिकाका शिक्षा अधिकृत भण्डारीले सूचना लुकाएर शिक्षक छनोट गर्न नमिल्ने बताउँछन् । उनले त्यसरी गरिएको छनोट अस्वीकृत गरिने पनि स्पष्ट गरे ।

उनले राहत शिक्षकको माग भएकोले छनोट गर्न आफूले स्वीकृति दिएको बताए । तर सबै प्रक्रिया पुर्याएर छनोट गर्नुपर्ने कानूनी प्रावधान सुनाए ।

कावासोती नगरपालिका १० मगरकोटमा रहेको जनता माविले नगर शिक्षा शाखाको स्वीकृतिमा मावि र निमावि तहको राहत दरबन्दीको शिक्षक छनोट गर्ने प्रक्रिया अघि बढाएको थियो ।

यसरी गरियो सेटिङ्

सोही विद्यालयकी निमावि तहमा राहत दरबन्दीकी शिक्षिका लक्ष्मी सिग्देल र मावि तहमा हरिप्रसाद पंगेनीले राजीनामा दिएपछि राहत दरबन्दी गरेपछि दुई राहत दरबन्दी रिक्त भयो ।

निमावि तहको रिक्त कोटामा सोही विद्यालयकै निजी स्रोतका शिक्षक होमराज पोखरेललाई नियुक्त गर्ने सेटिङ बन्यो ।

साउन ८ गते बसेको विद्यालय व्यवस्थापन समिति बैठकबाटै प्रक्रिया मिलाएर पोखरेललाई नियुक्ती दिने आन्तरिक सहमति बन्यो । एक शिक्षककाअनुसार लामो समयदेखि अध्यापन गर्दै आएकाले पोखरेललाई राहत दरबन्दी दिलाउने प्रधानअध्यापक लम्सालले प्रस्ताव अघि सारेका थिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नारायण तिमिल्सिनाले भने सार्वजनिक सूचना निकालेर प्रक्रियागत रुपमा नै छनोट प्रक्रिया अगाडि बढाइएको तर्क गरे ।

विद्यालयमा यसअघि नै टाँसिएका सूचना कसैले च्यातेको हुनसक्ने उनको भनाइ थियो । तर विद्यालयको सूचना पाटी भने कसैले च्यात्नै नसक्ने तारजालीले बुनिएको मजबुत देखिन्छ ।

मावि तहका लागि शिक्षक माग भएको सूचना सार्वजनिक गरिए पनि निमावि तहको कोटामा सार्वजनिक सूचना प्रकाशित भएको बारेमा आफूहरुलाई थाहा नभएको सोही विद्यालयका शिक्षकहरु बताउँछन् ।

यो त एउटा प्रतिनिधि उदाहण मात्र हो । राहत शिक्षक होस् वा निजी स्रोतको शिक्षक छनोटमा अधिकांश विद्यालयका प्रधानाध्यापकदेखि व्यवस्थापन समिति हुँदै शिक्षा अधिकारीसम्म नै यसैगरी सेटिङ मिलाउने काम हुँदै आएको छ ।

त्यसैले हरेक विद्यालयमा व्यवस्थापन समितिको नेतृत्व लिन दलीय भिडन्त हुने गरेको छ । जसलाई शिक्षासेवीहरु लोकतन्त्रको संज्ञा दिन्छन्।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : २८ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक