हामी अरूको सपनाका पात्रमात्रै ! « Khabarhub
Logo
१२ जेठ २०७७, सोमबार

हामी अरूको सपनाका पात्रमात्रै !



एउटा अलग्गै प्रसङ्गमा पढ्दै लैजाँदा अस्ति एउटा घतलाग्दो कुरो भेटियो– हामी सबै कोही अरू नै व्यक्तिको सपनामा बाँचिरहेका छौँ ।

मैले भर्खर भेटेँ भन्दैमा नयाँ होला भन्न मिलेन । पाठकहरूले धेरै अगाडि थहा पाएको पनि हुन सक्छ तैपनि के पो कुरो नयाँ आउँछ र ! कुरो च्वास्स बिझ्यो ।

कहिलेकाहीँ कुनै कुरो यस्तो गहिरो बिझ्छ कि साह्रै बिझ्छ । शंकर लामिछानेले भनेको जस्तो, मन जस्तो पस्छ त्यस्तै निस्किँदैन । यो कहिल्यै सम्भव हुँदैन जहाँ मन जस्तो पसोस् त्यस्तै निस्कियोस् !

कुरो सपनाको होओस् अथवा बिपनाको ! मन पसेपछि अलग्गै भएर निस्किन्छ । सपनाको कथा राम्रो थियो । लेखकको परिचय लुकाएको हुनाले यहाँ उल्लेख गर्न सकिएन ।

कुरो गम्भीर छ । कसैको सपनामा हामी कसरी बाँच्न सक्छौँ त ! अझै अहिले त झनै मेरो शरीर मेरो अधिकार भन्ने नयाँ स्वतन्त्रताको लहर चलेका बेला ! स्मरण रहोस् अहिलेको लोकप्रिय स्वतन्त्रताको यो कुरा युनानी दार्शनिक सुकरातको सपना हो । पछि उनका शिष्य प्लेटोले यसै स्वतन्त्रतालाई युटोपियामा रामराज्यको परिकल्पनामा अझ विस्तार गरे ।

निक्कै घोच्यो ! अर्को व्यक्तिको सपना ! कुरो दुहुँदै, पगार्दै लैजाँदा डरलाग्दो ठाउँमा पुगियो : आगे खाई पिछे आग !

चाल्र्स डार्विनको कुरो पत्याउने हो भने रामापिथेकसका बाबु गोरिल्लापिथेकस र आमा सुन्दरीपिथेकसले एक दिन मान्छे भएको सपना देखे । बिहान हत्तेरिका ! के सपना देखियो यस्तो अचम्म भनेर एक आपसमा कुरा गर्नलाई भाषा पनि छैन ! बूढाबूढी मुखामुख गरे, मुसुमुसु हाँसे ! धन्न, हाँस्न चाहिँ जानेका थिए ।

समय गुज्रिन कति बेर लाग्दो रहेछ र ! अर्को वर्ष रामापिथेकस जन्मिए । भाषा भएको भए अर्कै नाम राख्दा हुन्, थिएन । त्यसैको सुविधाको लाभ लियौँ हामीले ! धन्न त्यति भए पनि हामीलाई छाडिदिए ! नत्र सबै काम आफैँ भ्याउँथे ! बाबुआमाको सपना अगाडि बढाउनु नै सन्ततिको कर्म हो भनेर रामापिथेकसले त्यही सपनालाई निरन्तरता दिँदा भए । कालान्तरमा अहिले हामी भयौँ रे !

संस्कृतको सनक चढेका मान्छेले कुनै पनि कुरो संस्कृतभन्दा अलिक पर चाइनिज, अरबी अथवा रोमन इत्यादिमा विकास भयो भन्दा पत्याउँदैनन्, मरे काटे कालत्रै । इति, आदि, इत्यादि भनेर संस्कृत जोडेपछि कुरो सक्किगो !

रोमनको रन्काले राँकिएकाको कुरो फेरि अचम्मै हुन्छ ! अहिलेको पुस्ता संस्कृतको सनक र रोमनको रापमा परेर आँखा मिच्दैछ ! हुन पनि यो सनक र राप अचम्मै लाग्दो हुँदोरहेछ । सनक चढ्दा रापले नपोल्ने, देउता चढेका बेला धामी आगामा नाचे जस्तो !

हाम्रो संस्कृतको सनक चढेको सम्प्रदायको कथा पनि त्यस्तै छ । अंशुमानले गङ्गा धर्तीमा ल्याउने तपस्या थाले रे, दिलीपले अलिक पर ठेले, अनि भगीरथले त भत्काएरै छाडे ! यो हो सपनाको तोड !

फेरि मुद्दामै फर्किऊँ । सपनाको कुरो । संस्कृतमा एकछिन बोलूँ । ब्रह्म आफैँ एक्लै आफैँमा सुतेका बेला आफैंले सपना देखेछ ‘एकोऽहं बहुस्याम्’ भनेर ! किन देख्नु पर्‍याथ्यो ! सुत्नु नि खुरुखुरु ! सपना देखिगो । सपना देखेपछि अब त्यसलाई अघि बढाउनु परिगो !

अनि, सारा सृष्टिको रचना गर्‍यो । नारायणका नाभिबाट कमल टुसायो । कमलका टुप्पामा ब्रह्मा पलाए । ब्रह्माले कुनै कुराको छेउटुप्पो पत्ता पाउन सकेनन् । नारायणले ध्यानमै भन्दिए, ‘सृष्टि गर ब्रह्मा !’

सृष्टि त सृष्टि खै के खै के ! कहिल्यै गरेको भए पो अनुभव पनि हुन्छ । निकै बेर ट्वाँ परेर के गर्ने–गर्ने भनेर बाबै अलमलमा परे । नारायणको नाटक उति बेलादेखि नै चर्को ! ज्ञान बनेर ब्रह्माभित्र पसे । अब के गर्ने भन्ने पत्तो लाग्यो ! हेर यो झन्झट !

यो संस्कृत साहित्य साह्रै रमाइलो र काइदाको छ । अनि ब्रह्माले सृष्टि गरे । प्रजा उत्पन्न गरे । मान्छे उत्पन्न गर्ने अनुभव थिएन । फ्याट्टै मान्छे निकाले । अब भो कि ! मान्छे भन्ने जात कस्तो फटाहा त ! लाजसरम केही छैन । मान्छे हुन पाएको छैन, मैथुनका लागि ब्रह्मातिरै फर्किए !

मान्छेको कामले कामित ब्रह्माले फेरि त्यो सृष्टि डिलिट गर्नु पर्‍यो ! आफैँलाई डिलिट गरेर फेरि पछि प्रजापति बनाएर लफडा गरेर मान्छे बनाउनु पर्‍यो ! यो मान्छेले सृष्टिको सुरुदेखि नै भगवानलाई हैरान खेलाएर ठेगान लगाएको !

रोमनमा भन्दा पनि त्यस्तै । परमपितालाई सृष्टि गर्ने सपना आयो । ट्याक–ट्याक–ढ्याक गरेर ६ दिनमा सृष्टि सके, सातौँ दिन छुिट्ट बसेका बूढाको अहिलेसम्म अत्तोपत्तो छैन ।

आडम र हब्बाले उताबाट सुरु गरे, यताबाट प्रजापतिले ! तर खेल जताबाट सुरु भए पनि सपनाकै खेल ! सृष्टि त भयो तर भाषा नभएर मान्छेको काम चलेन । शंकरले डमरु बजाइदिए । भाषा त्यै भैगो ! पाणिनीले व्याकरण बनाइदिए ! अब भाषा र भाकाको तालमेल मिल्यो ।

घरबार थिएन । ब्रह्मा बूढाको कमलको बास । मान्छेलाई त्यसले कहाँ हुन्थ्यो र ! काँ बस्ने ? काँ बस्ने ? भनेर ब्रह्मालाई किचकिच गर्दा गर्दा विश्वकर्मा निकाले । विश्वकर्माको सपना संसारका सबै महल !

शटक हिँड्दा हिँड्दा थाके । सपना देखे, हिँड्नुको सट्टा गुड्किन पाए कस्तो हुन्थ्यो होला ! विश्वकर्मासँग सल्लाह गरेर चक्का बनाएर रथ बनाए अनि जोते घोडा ! शटकको सपना आजका सबै गाडी !

हेर्नुस् न ! पृथ्वीनारायणले सपना देखे, नेपाल ठोके । कार्ल माक्र्सले एउटा सपना देखे । लेनिनदेखि प्रचण्डसम्मले त्यही सपना बोक्न र ठोक्न पाए । सपनाभित्र सपना ! सपनाभित्रको सपनामा सपनाको गोटी तपाईं हामी !

आरुणीको छोरो स्वेतकेतु सानै थियो । पाँच वर्षको हुँदो हो । आमाले भात ख्वाउँदै थिइन् । उताबाट एक जना अपरिचित ऋषि रन्किएर आए । उति बेला रिसाउँदामात्रै नभएर खुसाउँदा पनि ऋषि नै हुन्थे । पछि दुर्वासाले सपना देखेपछि मात्रै रिसाउँदा मात्रै ऋषि हुने चलन बसेको रे !

ऋषिले इशारा गरे, स्वेतकेतुकी आमा जुरुक्क उठिन्, खुरुखुरु ऋषिका पछि लागिन् । कस्तो अचम्म ! स्वेतकेतुका मनमा नानाथरी कुरा चल्यो । भरे आरुणी आउँदा घर बेहाल छ ! स्वेतकेतुले सपना देखे यदि कुनै आमाले आफ्ना सन्तान छाडेर जान नपाउने भएको भए अहिले मेरी आमा पनि मसँगै हुन्थिन् होला !
स्वेतकेतु किन हार मान्थे र ! विवाह र गृहस्थको फन्दा फिटे ! आजको सारा पारिवारिक संसार स्वेतकेतुको सपना !

जुन विषय पनि कुनै न कुनै ढङ्गले कसैको सपनाको उपज भएको प्रमाण फेला पर्छ । बेन्जामिन फ्य्राङकलिनको सपना बिजुली, मर्कोनिको रेडियो, जेम्स वाटको वाष्पइञ्जिन, डेम्लरको इन्जिन गाडीमा ! हो इन्जिन गाडीमा !

अनि आविष्कार कसले गरेको अथवा यो सपना कसले देखेको भन्ने पत्तो लागेन भने त्यसलाई थोमस अल्भा एडिसन भन्दियो भने झन्डै ७० प्रतिसत उत्तर सही हुन्छ रे !

अहिले हामी चाइनाको छालाको पैसाको सपनामाथि हात्तीछाप अथवा डलरछाप सपनाको बैंकमा सपनाकै नम्बर गनेर सपनाकै महल बनाउन चाल्र्स ब्याबेजको सपनाको कम्प्युटरको सहारा लिँदै छौँ । स्मरण रहोस् अहिले तपाईं यो सपनामा लेखिएको सपनाको लेख सपनामै पढ्दै हुनुहुन्छ ! क्या खत्रा !

हेर्नुस् न ! पृथ्वीनारायणले सपना देखे, नेपाल ठोके । कार्ल माक्र्सले एउटा सपना देखे । लेनिनदेखि प्रचण्डसम्मले त्यही सपना बोक्न र ठोक्न पाए । सपनाभित्र सपना ! सपनाभित्रको सपनामा सपनाको गोटी तपाईं हामी !

अनि हामी भन्छौँ रियालिटी ! कहाँको रियालिटी ? के को रियालिटी ? बेलुका सुत्ने खाट, राति सु–आची गर्ने ट्वाइलेट, बिहान उठ्ने चप्पल, दाँत बाझ्ने बुरुस, कोट, टोपी, कलकत्ते काइँयो केस मेरो बाङ्गो सबै सपनै सपना ! त्यो पनि आफ्नो भए त हुन्थ्यो नि ! अरू कसैको ! कस्तो अचम्म !

सन् २०१० ताका क्रिष्टोफर नोलानले बनाएको अंग्रेजी फिल्म इन्सेप्सन हेर्नु भयो होला, सपनाभित्र सपनाका परतहरू । मुख्य भूमिका बाहेकका सहपात्रहरूलाई सपना भन्ने हेक्का हुँदैन । अहिले हामीलाई पनि यो सपना हो भन्ने कुराको हेक्का छैन । त्यहाँ केही परत अथवा लेयरको कुरो गरिएको छ ।

सामान्यतया हामी सपना देख्छौँ । सपनामा पात्रहरू पनि देख्छौँ । पात्रहरू कहिले ठिकै आफूले नियन्त्रण गर्न सकिने हुन्छन् । कहिले चाहिँ पात्रले अरर्‍याएर ऐठन गराउँछन् । निक्कै कठिन भएर उठ्नुपर्छ । उठेपछि अचम्म लाग्छ । धन्न सपना रहेछ भनेर ढुक्क होइन्छ । त्यो सपनामा आफूलाई आफ्नोपनाको आभास नभए पनि ‘मेरो सपना हो, सपनै नाथे त हो नि’ भन्ने कुराले चित्त बुझाउन मिल्छ, सकिन्छ ।

यहाँ रियालिटीमा गाई सदाउने, घोडा सदाउनेदेखि अहिले फरारे सदाउने समय सम्म आइपुग्दा सपनाहरूको कति बाक्लो परत अथवा लेयर थपियो होला ! कल्पना गर्दा पनि आङ नै सिरिङ्ग हुने ! फेरि आफ्नै सपना भए पनि अलग्गै कुरा, कुनै अर्कै व्यक्तिको सपना !

प्रसिद्ध लेखक मार्क ट्वेनले लेख्ने क्रममा पात्र जीवित भएर आफूसँग उपयुक्त भूमिकाका लागि ‘बार्गेन’ गरेको ‘ह्यालुसिनेटिभ रियालिटी’ भन्दा अचम्म लाग्थ्यो । पात्र त पात्र मात्रै हो नि ! होइन र ! फेरि कहाँको भूमिका, कताको डिमाण्ड !

उड्ति उड्ति सुनेको, सेक्सपियरले ओथेल्लो भन्ने नाटकलाई संयोगान्त अथवा कमेडी बनाउन सुरु गरे रे । ओथेल्लो र इयागोले ‘रोल डिमाण्ड’ गरेर वियोगान्त अथवा ट्र्याजेडीमा टुंगियो रे ! यति कथा पढेपछि तपाईं एकै छिन छक्क पर्दिनुहोस् ! नत्र यत्रो सपनाको कथा गर्दा तपाईंको भूमिकाले लेखकको लेखलाई न्याय गर्दैन ।

छक्क पर्नुभो ? सिरियसली ?

सामान्यतया हामी सपना देख्छौँ । सपनामा पात्रहरू पनि देख्छौँ । पात्रहरू कहिले ठिकै आफूले नियन्त्रण गर्न सकिने हुन्छन् । कहिले चाहिँ पात्रले अरर्‍याएर ऐठन गराउँछन् । निक्कै कठिन भएर उठ्नुपर्छ । उठेपछि अचम्म लाग्छ । धन्न सपना रहेछ भनेर ढुक्क होइन्छ । त्यो सपनामा आफूलाई आफ्नोपनाको आभास नभए पनि ‘मेरो सपना हो, सपनै नाथे त हो नि’ भन्ने कुराले चित्त बुझाउन मिल्छ, सकिन्छ ।

यो महास्वप्नमा कसरी उठ्ने ? यहाँ त मेरै सपना भनेर चित्त बुझाउने ठाउँ पनि छैन ! कस्तो विडम्बना ! हामी सबै कसैको सपनाको काल्पनिक पात्रको भूमिका निर्वाह गर्दैछौँ । तपाईं जहाँ काम गर्नुहुन्छ, त्यो ठाउँ कसैको सपना हो । त्यो व्यक्तिले सपनामा तपाईंजस्तै इमानदार अथवा इमानलाई दारेर इमानदारी निर्वाह गर्नसक्ने व्यक्तिलाई जागिरमा राखेको हुनुपर्छ ।

म अहिले एउटा आर्ट ग्यालरीमा काम गर्छु । अब सक्किगो नि ! आर्टमा बिपना भयो भने त्यसको कुनै मूल्य नै हुँदैन । जति गहिरो सपना उति अमूल्य ! कहिलेकाहीँ सपना बुन्छु, राईट ब्रदरर्सको सपना चढेर पृथ्वीनारायणको सपनामा ओर्लिएर ओलीको पटकथामा नाटक मञ्चन गरौँ । फेरि सम्झन्छु त्यो सपना देख्ने मान्छेले उसको सपनाभित्र मेरो के भूमिका लेखेको होला !

यति कथा पढेपछि यति कुरा त पक्का भयो कि हामी सबै सपनामै छौँ । निद्रामै छौँ । हामी सपनामै छौँ भने जीवन किन यति सिरियसली लिने ! किन गम्भीर हुने ! किन यो सपनामा नखेल्ने ! सपनाले तबसम्म मात्रै सताउँछ जबसम्म हामीलाई त्यो सपना हो भन्ने कुराको हेक्का हुन्न । अब बिस्तारै हेक्का पुर्‍याउन थाल्यौँ भने स्वप्नवत व्यवहार गर्दा भइहाल्छ ।

सपनाबाट उठ्नेबारे योजना बनाउँदैछु । हेरौँ, त्यो कता पुग्छ । एउटा सपनाबाट उठाउँछ अथवा अर्को सपनामा धकेल्छ ।


भर्खर

0