भारतमा अलपत्रको पीडा : रोगभन्दा पहिले भोकले नै मरिन्छ होला ! | Khabarhub Khabarhub

भारतमा अलपत्रको पीडा : रोगभन्दा पहिले भोकले नै मरिन्छ होला !


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर– कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् ।

बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए । ‘एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौं ।’ उनले भने, ‘साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।’

उहाँले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोख्नुभयो । ‘नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्‍यौं ।’ भण्डारीले दुखेसो पोख्दै भने, ‘दूतावासको फोन उठ्दैन ।’ त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए ।

‘हुलिएर बसेका छौं । बाहिर कोरोनाको संत्रास धेरै छ ।’ उनले भने, ‘अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।’ उहाँले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।

‘यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ,’ उनले भने, ‘हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौं ।’ त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए ।

‘एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौं,’ उनले भने, ‘यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।’ उहाँले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरे ।

‘नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौं ।’ चन्दले भने, ‘हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौं ।’ सुदूरपश्चिममेली नागरिकको सदियौंदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ ।

नेपाल–भारत सीमामा करिब एक हजार ५०० को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए ।

‘हाम्रो भारतीय पक्षसित सधैँ सम्पर्क र समन्वय हुँदैछ,’ उनले भने, ‘त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।’ सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताए ।

‘सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।’ उनले भने, ‘जो जहाँ छौं, त्यही सुरक्षित बसौं भन्ने सोच राख्नुपर्छ ।’

बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिए । ‘छानविन गर्दैछौं,’ उनले भने, ‘दोषी भेटिए ऐनअनुसार कारवाही हुन्छ ।’

बझाङको छविसपाथिभेरा गाउँपालिकामा लकडाउनको बेवास्ता गरी बान्नीकी चैतेली नामक विशाल धार्मिक मेला सम्पन्न भएको थियो । सोही मेला सञ्चालनको आरोपमा छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अन्य पक्राउ पर्नेमा बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी फसलपाते पण्डित डम्बरबहादुर धामी र पूजारी जयकृष्ण जोशी, स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह रहेका छन् ।


शेरबहादुर सिंह/रासस 

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ५ : ४७ बजे

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।

राजनीतिक स्थितिको प्रभाव कानून निर्माणमा छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानून

इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जाकर्ता– खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया– सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक