लकडाउनमा साहित्यकार: मुड छैन तैपनि चल्दै छ लेखपढ | Khabarhub Khabarhub

लकडाउनमा साहित्यकार: मुड छैन तैपनि चल्दै छ लेखपढ



काठमाडौं– देशमा दुई सातादेखि लकडाउन छ । अर्को एकसाता थपिएको छ । कोरोना भाइरससँग जोगिनु छ ।

लेखक तथा साहित्यकार नयनराज पाण्डे दिनभरि घरमै बस्छन् । समाचार हेर्छन् । फाटफुट पुस्तक पढ्छन् । ‘लकडाउन’ ले उनको दिनचर्यामा खासै प्रभाव पारेको छैन ।

प्रायः साहित्यकारहरू पहिले पनि घरमै रहन्थे । अहिले त झन् लकडाउनका कारण घरमै सीमित हुनुपरेको छ ।

‘अहिलेसम्मको लकडाउनले दैनिकीमा खासै फरक पारेको छैन, पहिले जस्तो थियो, त्यस्तै छ । त्यही हो, बाहिर कतै जान पाइएको छैन,’ नयनराज भन्छन् ।

लकडाउन अवधिमा भनेर कुनै पुस्तक लेखनको योजना पनि छैन । उनले भने, ‘अहिलेसम्म केही गरेको छैन, लकडाउन लम्बिएछ भने सोच्नुपर्ला ।’

नयनराज पाण्डे । तस्वीर– पाण्डेको फेसबूकबाट ।

अर्का लेखक सुविन भट्टराई पनि घरमै रमाइरहेका छन् । परिवारलाई समय दिएका छन् । घरको काम सघाइरहेका छन् । सुविन भन्छन्, ‘कोरोना त्रासका कारण लेख्ने मुड नै बनिरहेको छैन, कहिलेकाहीँ मुड बन्दा उपन्यासको पुनर्लेखन गरिरहेको छु ।’

उनका अनुुसार कोरोना त्रासले खडा गरेको यो माहोलले सिर्जनात्मक काममा असर पारेको छ । मुड बन्दा पहिलो ड्राफ्ट सकिएको उपन्यास बेलाबेला पुनर्लेखन गर्दैछन् ।

‘जो अरूबेला व्यस्त हुन्छ, उनीहरूलाई लकडाउनका बेला यस्तो पनि संसार रहेछ भन्ने लाग्न सक्छ, हामी त सधैँ घरमै बस्ने हो,’ सुविन भन्छन्, ‘साहित्यकारलाई पहिले पनि लकडाउन नै थियो, यो लकडाउनले थप लकडाउन गर्‍यो ।’

लकडाउनले आफ्नो दैनिकीमा खासै प्रभाव नपरेको सुविनको भनाइ छ । उनले घरमा फिल्म हेर्ने र पुस्तक पढ्ने गरेका छन् । घरमा दुई वर्षको छोरो छ, बढी समय छोरासँग बिताइरहेको उनले बताए ।

सुबिन भट्टराई। तस्वीर– भट्टराईको फेसबूकबाट ।

उनले भने, ‘सानो छोराले हरेक दिनजस्तो नयाँ वाक्य बनाउँछ, मलाई त पुस्तक र फिल्मभन्दा पनि बढी रमाइलो त त्यसले पो दिएको छ ।’

लकडाउनका बेला अरूले गाह्रो भयो भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखिरहेको तर आफू भने घरमा सजिलै समय कटाइरहेको सुविनले बताए । उनले भने, ‘मान्छेहरू लकडाउनमा गाह्रो भयो भन्छन्, मेरो त आरामले समय बितिरहेको छ, अलिअलि कोरोनाको भय छ ।’

कोरोनाका कारण लेख्ने मुड खासै नबने पनि मन लाग्दा लेख्दैछन् सुविन । उनले भने, ‘एउटा उपन्यासको ड्राफ्ट सकिएको छ, त्यसैमा काम गरेको छु, फुटकर लेखहरू पनि लेखिरहेको छु ।’

लेखक बुद्धिसागर भने यो लकडाउनको समयले आफ्नो दैनिकी नै परिवर्तन हुने अनुमान गर्दैछन् । उनी भन्छन्, ‘यो लकडाउनले त मेरो लाइफस्टाइल नै चेन्ज होला जस्तो छ ।’

लकडाउनमा बुद्धिसागर पनि घरमै छन् । सानी छोरीसँग रमाउँछन् । उनकी ६ वर्षकी छोरी छन् । अरू बेला लेख्नकै लागि बाहिर जाने बुद्धिसागर अहिले घरमै थन्किएका छन् ।

छोरीका साथ बुद्धिसागर । तस्वीर– बुद्धिसागरको फेसबूकबाट ।

‘लकडाउन हुँदा शुरुमा त के गर्ने, के नगर्ने जस्तो लागेको थियो, अहिले बानी परिसक्यो, घरभित्रै पनि रमाइलो लाग्न थालेको छ,’ उनी भन्छन्, ‘लकडाउन हुनुभन्दा पहिले घरबाहिर निस्केर लेख्थेँ, दुई दिन घर बस्दा पनि आत्तिन्थेँ, अहिले घरमै बसेर लेख्ने बानी परेको छ ।’

घरबाहिर कुनै शान्त ठाउँमा वा रेस्टुरेन्टमा बसेर लेख्ने बुद्धिसागरको बानी छ । घरमा हुँदा सानातिना काममा अल्झिएला भनेर उनी यसो गर्थे ।

‘घरमा हुँदा केही न केही काम पर्ने, कि त सबै सुतिसकेपछि लेख्नुपर्‍यो, त्यसो गर्दा पनि थकाइ लागेको हुने,’ बुद्धिसागर भन्छन्, ‘म खास घरबाहिर निस्केर चिया कफी खाँदै कतै रेस्टुरेन्टमा बसेर लेख्ने गर्थें, अब त्यो बानी हट्लाजस्तो लाग्या छ ।’

उनी यतिबेला घरमै बसेर पुस्तकहरू अध्ययन गरेको र साँझपख लेखिरहेको बताउँछन् । अहिले उनी एउटा उपन्यासमाथि काम गरिरहेका छन् । उनले भने, ‘अहिले त आनन्द छ, बाहिर बोलाएर अल्झाउने पनि कोही छैन, लकडाउन लम्बियो भने के हुन्छ, अहिलेसम्म चाहिँ ठीकै छ ।’

कुमार नगरकोटी । तस्वीर– नगरकोटीको फेसबूकबाट ।

आख्यानकार कुमार नगरकोटी चाहिँ यतिबेला पोखरामा छन् । सरकारले लकडाउन घोषणा गरेको अघिल्लो दिन उनी अर्का लेखक गनेस पौडेललाई भेट्न पोखरा पुगेका थिए । त्यसयता उतै छन् । दुवै लेखक पोखरामा सँगै लकडाउन कटाउँदै छ ।

‘हामी फिल्म हेरेर यो लकडाउन कटाइरहेका छौँ, केही लेख्न सक्ने त माहोल नै छैन, फिल्म हेर्ने र फाटफुट पुस्तक पढ्ने काम मात्र भएको छ,’ गनेसले खबरहबसँग भने ।

गनेस पौडेल ।

अर्का लेखक अमर न्यौपाने पनि लकडाउनमा पुस्तक पढेर बसेको बताउँछन् । किनेर पढ्न नभ्याएका पुस्तकहरू पढ्दैछन् । यतिबेला नेपालको संस्कृतिसम्बन्धी पुस्तक अध्ययन गरिरहेको उनले बताए ।

अमर न्यौपाने । तस्वीर– फाइनप्रिन्ट ।

‘किराँत संस्कृति, कर्णाली संस्कृति र अरू नेपाली संकृतिका बारेमा पुस्तकहरू पढिरहेको छु, त्योबाहेक फाटफुट लेख्ने काम पनि भइरहेको छ,’ अमरले खबरहबसँग भने, ‘कोरोनाका कारण यति मान्छे मरे, यति आइसोलेसनमा छन् जस्ता समाचारले लेखनमा डिस्टर्व गरिरहेको छ ।’

लकडाउनको पहिलो हप्ताका तुलनामा अहिले भने बिस्तारै सामान्य लाग्दै गएको उनले बताए ।

साहित्यकार कृष्ण धरावासी आफ्नो दैनिकीमा खासै परिवर्तन नआएको बताउँछन् । जागिर छाडेयता उनी धेरैजसो घरमै हुन्थे । काम पर्दामात्र घरबाहिर निस्किन्थे । धरावासी पढ्न नभ्याएका पुस्तकहरू लकडाउनको समयमा पढिरहेको बताउँछन् । भन्छन्, ‘जागिर हुन्जेल त जागिरमा गइन्थ्यो, त्यसपछि त अरू बेला पनि लकडाउनजस्तै छ ।’

यतिबेला उनी फुर्सद मिलाएर कथा, निबन्ध र आलेख लेखिरहेका छन् । मोटा पुस्तकमा भने कलम नचलाएको उनले बताए ।

‘मलाई त अरू बेला र अहिलेमा खासै फरक लागेको छैन तर लकडाउनका बेला सामान पाउन अलि गाह्रो छ, भनेको बेला फलफूल किन्न पाइँदैन,’ धरावासी भन्छन्, ‘लकडाउन यस्तै लम्बिएर जाने हो भने स्वास्थ्यमा चाहिँ असर पर्छ कि भन्ने डर भो ।’

कृष्ण धरावासी । तस्वीर– धरावासीको फेसबूकबाट ।

उनलाई परिवारका केही सदस्य देशबाहिर भएको कुराले थोरै चिन्ता गराएको छ । ‘किताबको काम त शुरु गरेको छैन, लेख्नका लागि स्थिर दिमाग चाहिन्छ, केटाकेटी बाहिर (विदेश) छन्, मान्छेको जातलाई एकखाले तनाव त हुन्छ नै,’ धरावासी भन्छन्, ‘म सकारात्मक सोचको मान्छे हुँ, फिल्म हेर्ने, गीत सुन्ने पनि गरिरहेको छु ।’

घरमा रहँदा पनि आफ्नै कोठामा बस्ने र अध्ययनमा लाग्ने गरेको उनले बताए । कोरोना भाइरसको त्रासले थोरै डर पैदा गरे पनि सधैँ घर बस्ने बानीले लकडाउनको त्यति प्रभाव नपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ९ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०