चुनाव जिते पनि राष्ट्रपति बन्न बाइडेनलाई अढाइ महिना लाग्ने, यस्तो छ प्रक्रिया « Khabarhub
Logo
२३ मंसिर २०७८, बिहीबार

चुनाव जिते पनि राष्ट्रपति बन्न बाइडेनलाई अढाइ महिना लाग्ने, यस्तो छ प्रक्रिया



काठमाडौं – अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । अमेरिकामा हालै भएको चुनावमा राष्ट्रपतिका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोल भोटको संख्या पार गरेपछि उनी राष्ट्रपति निर्वाचित भएका हुन् ।

डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाका राष्ट्रपति बन्न सफल भएका जो बाइडेन सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गरेपछि ह्वाइट हाउस प्रवेश गर्नेछन् । अमेरिकामा अझै पनि मतगणना जारी छ । मतगणना जारी रहेका बाँकी सबै स्टेटमा डोनाल्ड ट्रम्पले जिते पनि उनले निर्धारित २७० इलेक्ट्रोल मत पुर्‍याउन सक्ने छैनन् । ट्रम्पले हालसम्म २ सय १४ इलेक्ट्रोल भोट ल्याएका छन् ।

ट्रम्पले बाँकी राज्य जिते पनि बाइडेनको सहजै जीत हुने भएकाले बाइडेललाई निर्वाचित राष्ट्रपति घोषणा गरिएको हो । बाइडेन राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरिए पनि उनी राष्ट्रपति बन्न केही समय लाग्ने भएको छ । बाइडेनले यसका लागि अझै अढाइ महिना कुर्नुपर्नेछ ।

बाइडेनले पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि उनको औपचारिक रुपमा ह्वाइट हाउसमा प्रवेश हुनेछ । हरेक चार वर्षमा हुने निर्वाचनमा यसरी नै समय तालिका बनाइएको हुन्छ ।

अमेरिकी राष्ट्रपति पदको लागि उम्मेदवार बन्न नै निश्चित मापदण्ड पूरा गर्नुपर्छ । संविधानको अनुच्छेद २ को खण्ड (१) मा अमेरिकी राष्ट्रपति पदमा उम्मेदवार बन्न चाहने व्यक्ति अमेरिकामा जन्मिएको र अमेरिकी नागरिक हुनुपर्ने उल्लेख छ । उम्मेदवार बन्न चाहनेको उमेर कम्तीमा ३५ वर्ष पुगेको हुनुपर्छ । चुनाव लड्ने व्यक्ति कम्तीमा १४ वर्षदेखि अमेरिकामा स्थायी रुपमा बसेको हुनुपर्छ ।

अमेरिकामा मुख्य रुपमा २ पार्टीबीच चुनाव हुने गर्छ, रिपब्लिकन र डेमोक्रेट पार्टी ।

यी दुवैले आ–आफ्ना उम्मेदवार उठाउँछन् । उम्मेदवार बन्नुपूर्ण उनीहरुले लामो प्रक्रिया पार गर्नुपर्ने नियम छ । पार्टीको उम्मेदवार को हुन्छ भन्ने चयन पार्टीका समर्थक वा जनताले गर्छन् । उम्मेदवार छनोटमा प्राइमरी र ककस प्रक्रिया प्रमुख हुन् । पार्टीको कुनै पनि कार्यकर्ता चुनावमा उठ्न सक्छन् तर उठ्न चाहने जो कोहीले प्राइमरी र ककस प्रक्रिया पार गर्नुपर्ने व्यवस्था छ ।

उम्मेदवार बन्नका लागि सबैभन्दा पहिले अमेरिकी राज्यमा प्राइमरी चुनाव जित्नुपर्छ । यो चुनाब राज्यहरुमा हुन्छ । यसमा पार्टीका समर्थकका साथसाथै आम जनताले पनि चुनावमा भाग लिन सक्छन् । अर्को प्रक्रिया ककस हो । यसका उम्मेदवार बन्न चाहनेहरुको लागि पार्टीको तर्फबाट चुनाब करार गराइन्छ । यसमा पार्टीका समर्थकहरु एक ठाउँ जम्मा भएर विभिन्न विषयमा चर्चा गर्छन् । उम्मेदवार बन्न चाहनेहरुको कुरा सुनेपछि पार्टी समर्थकले हात उठाएर आफ्नो समर्थन दिन्छन् ।

ककस र प्राइमरी चुनावको प्रक्रियापछि पार्टीले राष्ट्रपति पदका उम्मेदवारको नाम तय गर्छन् । तर, उम्मेदवारको नामको औपचारिक घोषणा नेशनल कन्भेन्सनमा गरिन्छ । रिपब्लिकन पार्टीले अगष्ट महिनामा नेशनल कन्भेन्सनको आयोजना गर्छ ।
डेमोक्रेटिक पार्टीले भने जुलाइमा नेशनल कन्भेन्सन आयोजना गर्छ । नेशनल कन्भेन्सनमा दुवै पार्टीका सर्वोच्च नेताले राष्ट्रपतिको उम्मेदवारको घोषणा गर्छन् । घोषणापछि राष्ट्रपति पदका उम्मेदवारले समर्थकलाई सम्बोधन गर्छन् । यही समय उपराष्ट्रपतिको उम्मेदवारको पनि घोषणा गरिन्छ । यससँगै अमेरिकी राष्ट्रपति निर्वाचनको वास्तविक प्रक्रिया सुरु हुन्छ ।

अमेरिकामा हरेक ४ वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार राष्ट्रपति पदको लागि मतदान हुन्छ । यो मतदानमा जनता प्रत्यक्ष रुपमा मतदानमा भाग लिँदैनन् । अमेरिकी जनताले सुरुमा स्थानीय स्तरमा इलेक्टोरलको चुनाव गर्छन् । यी अमेरिकी राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधि हुन्छन् । यो समूहलाई इलेक्टोरल कलेज भनिन्छ । इलेक्टोरल कलेजमा कूल ५३८ सदस्य हुन्छन् । यी सदस्य फरक फरक राज्यबाट फरक फरक संख्यामा आउँछन् ।

जनताले सिधै भोट दिएर यिनै ५३८ सदस्य चुन्छन् । यी सदस्यले राष्ट्रपति चुन्छन् । राष्ट्रपतिका लागि उम्मेदवारलाई २७० वा सोभन्दा बढी इलेक्टोरल कलेज सदस्यको समर्थन चाहिन्छ ।

अब बाइडेनले आगामी डिसेम्बर १४ मा कंग्रेस (संसद) समक्ष आफ्ना समर्थकहरुको विवरण पेश गर्नेछन् । जनवरी ६ मा कंग्रेसले इलेक्टोरल कलेज भोटको गणना गर्नेछ र त्यसलाई प्रमाणीकरण गर्नेछ ।

कंग्रेसको प्रमाणीकरणपछि आगामी जनवरी २० मा बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पदको शपथ ग्रहण गर्नेछन् र औपचारिक रुपमा राष्ट्रपति र उपराष्ट्रपति पदको पदभार ग्रहण गर्नेछन् । त्यतिबेलासम्म हालका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति रहनेछन् ।


भर्खर

0