आईसीसी विश्वकप लिग २ मा नेपालको डेब्यू जीत | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग २ मा नेपालको डेब्यू जीत



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा पहिलो जीत हात पारेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जित हात पारेको हो । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै अंक तालिकामा खाता खोलेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ औं ओभरमा सबै विकेट गुमाएर १५५ रनमा समेटिएपछि नेपालले पहिलो जीत हात पारेको हो ।

नेपालले दिएको लक्ष्य सानो भएपनि अमेरिकाले ब्याटिङमा राम्रो शुरुवात गर्न सकेन । यद्यपी अमेरिकाका लागि इआन होल्यान्डले अर्धशतकीय पारी खेले । उनले १ सय ११ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ७५ रन बनाए ।

नेपालमा जारी शृङ्खलामा व्यक्तिगततर्फ एकै इनिङमा सबैभन्दा धेरै ७५ रन बनाउने उनी एक्ला खेलाडी बनेका छन् । तर, पनि उनले अमेरिकालाई जिताउन भने सकेनन् ।

यस्तै, अमेरिकाका लागि क्यामेरोन स्टेभेन्सनले १९ रन बनाउँदा करिम गोरेले १० रन बनाएका थिए ।
नेपालको जीतमा कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्ध बनाएको बलिङ रणनीति सफल भएको छ । कप्तान मल्लले पाहुना टोलीविरुद्ध बलिङ ओपनिङमा करण केसी र सन्दीप लामिछानेको जोडिलाई पठाएका थिए ।

उनको उक्त रणनीति सफल हुँदा दोस्रो ओभरमा बलिङमा आएका सन्दीप अमेरिकाका आरोन जोन्सलाई पवेलियन फर्काउँदै नेपालका लागि पहिलो विकेट लिएका थिए भने तेस्रो ओभरमा करण केसीले २ विकेट लिँदा अमेरिका धरापमा परेको थियो ।

करणले जेभिएर मार्सल र स्टेभन टेलको विकेट लिएका थिए । चौथो ओभरमा बलिङमा आएका सन्दीपले मोनाङ्क पटेललाई ४ रनमा पवेलियन फर्काइ दिए ।

१३ रनमा ४ विकेट गुमाएको अमेरिकामाथि पछि सुशन भारी र कुशल मल्ल पनि हावी भए । जसमा सुशनले अक्ष होमराजलाई ५ रन र करिमा गोरेलाई १० रनमा आउट गर्दा कुशलले एल्मोर हचिङ्सनको विकेट लिएका थिए ।

१सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २६ ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो । तर, इआन होल्यान्ड जमेर खेल्दा उनले अमेरिकालाई जीत नजिक पुर्याएका थिए । तर, ४१ औं ओभरमा ८ विकेट गुमाएको अमेरिका १सय४४ रनमा हुँदा करण केसीले ७५ रनमा खेलिरहेका होल्यान्डलाई विकेट किपर ब्याट्सम्यान विनोद भणडरीमार्फत क्याच आउट गराएका थिए ।

योसँगै अमेरिकाविरुद्ध करणले ७ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए । यता सुशन भारीले ३ विकेट लिँदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिएका थिए ।

फर्म्याट अनुसार लक्ष्य ठूलो नभएपनि अमेरिकाको ब्याटिङ अर्डर सस्तैमा आउट हुँदा नेपालले ३५ रनको जित हात पारेको हो ।
अमेरिकाविरद्ध ४ विकेट लिएका करण केसी त्रिकोणात्मक शृङ्खलामा विकेट संख्या ८ पुगेको छ भने ३ विकेट लिएका भारीको विकेट संख्या ६ पुगेको छ ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १सय९० रन बनाएको हो ।

नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए ।

जसमा कुशल र विनोद नेपालका लागि अर्धशतक पुरा गर्ने क्रमश : सातौं र आठौं खेलाडी बने ।

कमजोर ब्याटिङ शुरुवात गरेको नेपाल ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । तर, नेपालका लागि एकदिवसिय क्रिकेटमा डेब्यु अवसर पाएका कुसल मल्ल र विनोद भण्डारीको जोडिले उत्कृष्ट ब्याटिङ साझेदारी गरे । भण्डारी र कुशलबीच ८४ रनको साझेदारी पारी खेलेका थिए ।

जसमा भण्डारीले ७९ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाएका थिए । एकदिवसिय क्रिकेटमा उनको अहिलेसम्मकै धेरै रन अमेरिकाविरुद्ध बनाएको ५९ रन नै हो ।

नेपालका लागि एकदिवसिय क्रिकेटमा राष्ट्रिय टोलीबाट डेब्यु गरेरका कुशलले किर्तिमानी अर्धशतकसहित ५१ रन बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाउँदै एकदिवसिय क्रिकेटमा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बने । उनले १५ बर्ष ३सय४० दिनमा अर्धशतक बनाएका थिए ।

यस्तै, कप्तान ज्ञानेन्द्र्र मल्लले २१, पारस खड्काले १९, करण केसीले १२ रन, सुशन भारी ७ रन बनाएका थिए ।

नेपालविरुद्ध अमेरिकाका क्यामेरन स्टेभेन्सनले तीन विकेट लिँदै नेपाली ब्याटिङ कमजोर बनाए भने सौरभ नेत्रभाल्कर र र रस्टी थेरनले समान दुई–दुई विकेट लिए । करिमा गोरे र एल्मोर हचिन्सन र इआन होल्यान्डले समान एक–एक विकेट लिए ।

करण केसी म्यान अफ दी म्याच बनेका छन् ।

जीत हात पारेको नेपाल २ अंकसहित अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । अब आइतबार नेपालले ओमानसँग शृङ्खलाको तेस्रो खेल खेल्दैछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ५ : ०५ बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा