बाबुछोराको अव्यक्त प्रेमको कथा ‘सेल्फी किङ’ « Khabarhub
Logo
१९ चैत्र २०७६, बुधबार

बाबुछोराको अव्यक्त प्रेमको कथा ‘सेल्फी किङ’



काठमाडौं – कलाकारको जीवन कस्तो हुन्छ ? बाहिरबाट हेर्दा दुनियाँलाई हँसाउने कमेडियनहरु के सधै हाँस्छन् ? कमेडियनहरूले जे कुरालाई पनि मजाकका रुपमा लिने सामर्थ्य राख्छन् ? चर्चित अनुहार सार्वजनिक रुपमा हिँड्दा कति सहज होला ? यस्तै प्रश्न वरिपरि घुमेको ‘सेल्फी किङ’ को कथा ।

एक कमेडियनको जीवनमा आएको तीन दिनको उतारचढावलाई चलचित्र ‘सेल्फी किङ’ मा देखाइएको छ । चलचित्रमा बुबाले भनेको नटेर्ने एक अटेर छोराको कथा छ । चलचित्रमार्फत बाबुछोराको भावनात्मक सम्बन्ध पनि प्रस्तुत गरिएको छ ।

वास्तविक जीवनको नजिक रहेर नेपालमा निकै कम चलचित्र बन्छन् । धेरैजसो चलचित्रमा एक्सन, रोमान्स, धरपकड र दर्शकलाई मन पर्ने मसालेदार स्वाद हुनुपर्छ भन्ने निर्देशक तथा निर्माताको बुझाइ छ । चलचित्र निर्माण गर्दा पनि त्यस्तै खाले कथामा लगानी गरिन्छ ।

‘सेल्फी किङ’ भने यस्तो धारणाभन्दा केही फरक छ ।

मन राज्यको रहर पूरा गर्न कलाकार बनेको गोपाल दाहाल (विपिन कार्की) परिवारप्रति जिम्मेवार छैन । टेलिभिजनका दर्शकमाझ लोकप्रिय गोपाल सेल्फी किङका रुपमा चर्चित छ । उसको काम दर्शक हँसाउने हुन्छ । तर, ऊ युवती र अल्कोहलको नशामा फसेको हुन्छ । परिवारप्रतिको जिम्मेवारी कहिल्यै निभाउँदैन । बरु, बिहानैदेखि मदिरा पिउँछ ।

उसलाई न मान्छेसँग बोल्न मन लाग्छ । न त, परिवारसँग नै खुलेर कुराकानी गर्छ । नशाले मातेको बेलामा भने उसले मनको सबै आक्रोश ओकल्छ ।

घरमा बिग्रेको एउटा पानी तान्ने मोटर पनि फेर्न नसकेको गोपालको जीवनमा एउटा एउटा यस्तो घटना घटिदिन्छ, जुन घटनाले उसलाई पश्चातापको भूमरीमा पुर्‍याउँछ । बुबा (लोकमणि सापकोटा) ले भनेको नमान्ने गोपालले बुबाप्रति माया दर्शाउन थाल्छ । त्यस्तो घटना कसरी घट्छ भन्ने बुझ्नका लागि भने चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

चलचित्रको पर्दामा हँसाउने एक कलाकारको जीवन कतिसम्म दयनीय हुनसक्छ भन्ने विषयलाई निर्देशक विशाल सापकोटाले सुक्ष्म रुपमा केलाउने प्रयास गरेका छन् । यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका विशालको काम राम्रै छ । अभिनेता विपिन कार्कीको अभिनय अब्बल लाग्छ । शीर्ष भूमिकामा देखिएका विपिनको चरित्र वरिपरि नै कथा घुम्छ ।

चलचित्रमा लक्ष्मी बर्देवाले सानो भूमिका निभाए पनि राम्रो अभिनय गरेकी छिन् । उनी चलचित्रमा गोपालकी पत्नीको भूमिकामा छिन् । यस्तै भुवन चन्द, अभय बराल र जीवन भट्टराईको अभिनय पनि स्वभाविक लाग्छ । बरु बाबुको भूमिका निभाएका लोकमणि सापकोटाको अभिनय त्यति ‘पफ्रेक्ट’ लाग्दैन ।

चलचित्रको कथा एकनासले अगाडि बढिरहेको छ । बाबुछोराको सम्बन्धबाट शुरु भएको कथा बाबुछोराकै सम्बन्धमा पुगेर टुङ्गिएको छ । भलै, यो बीचमा अरु कुरा पनि निर्देशकले जोड्न खोजेका छन् । सेलिब्रेटीको पर्दापछाडिको जीवन देखाउन उनले थप मेहनत गरेका छन् ।

तर, फिल्मको प्रस्तुतीकरणमा भने निर्देशक चुकेका छन् । कथाको ‘फ्लो’ एकनासले अगाडि बढ्दा कति त्यस्ता प्लट छन्, जसमा थप मेहनत गर्नुपर्ने देखिन्छ । विपिन बाटोमा हुँदा फोनमा कुराकानी गर्ने दृश्यमा कहिल्यै अर्कोतर्फको दृश्य देखाइँदैन । विपिनले ‘बेबी’ भन्दै कोसँग बोलिरहेका हुन्छन् भन्ने पनि खुलाइँदैन । यस्ता कैयन् कुरामा निर्देशक चुकेका छन् ।

हुनसक्छ, निर्देशकले वास्तविक घटनालाई चलचित्रमा धेरै तोडमोड गर्न नचाहेका हुन् । किनकि, चलचित्रको मुख्य कथालाई वास्तविक घटनामा आधारित भनिएको छ ।

एक हिसाबले यो चलचित्र नाटक मञ्चनजस्तो देखिएको छ । मुख्य पात्र जता पुग्छ, त्यही दृश्यमात्र चलचित्रको पर्दामा देखाइन्छ । बरू चलचित्रमा समावेश संगीत र पार्श्वध्वनिले भने दर्शकलाई राहत दिन्छन् ।

पार्श्वध्वनिले दर्शकलाई मोनोटोनस हुनबाट बेलाबेलामा जोगाउँछ । गीत पनि कथाअनुसार नै राखिएको छ । मसालेदार चलचित्रमा जस्तो गीत एकातिर र कथा अर्कोतिर यो चलचित्रमा छैन । निर्देशक तथा लेखक विशाल सापकोटाले यस्ता कुरामा भने केही ख्याल गरेका छन् ।

चलचित्रलाई औसत बनाउन थुप्रै फ्याक्टरले काम गरेको छ । उही परिवेश र उही दृश्य बारम्बार देखिन्छ । धेरैजसो दृश्यमा छायांकन कलात्मक देखिन्न । सिङ्गल शट लिइएका कतिपय दृश्यहरु चाहिनेभन्दा बढी लामा लाग्छन् ।

जस्तो कि, यात्राका क्रममा लिइएका धेरैजस्तो दृश्य लामा र भद्दा लाग्छन् । ती दृश्यलाई आकर्षक ढंगले क्यामरामा कैद गर्न छायांकन सुसन प्रजापति चुकेका छन् ।

चलचित्रका केही दृश्य भने साँच्चिकै गज्जब छन् । टेलिभिजनमा छोराले हँसाइरहँदा बुबा हाँस्दाहाँस्दै ढलेको दृश्य र छोराले टेलिभिजनमा अझै हँसाइरहेको दृश्यले मन छुन्छ । बिहानैदेखि मदिरा पिउने गोपाल दाहालले बाबुका बारे दु:खद् खबर सुनेपछि मदिरा पिउन नखोज्नु, बरु बाबुलाई अन्तिमपटक भेट्न सक्दो कोशिश गर्नुले बाबुप्रतिको भावनात्मक सम्बन्ध देखाउँछ ।

चलचित्रले बाबुछोराको सम्बन्ध र एकअर्काको अव्यक्त प्रेमलाई केलाउने कोशिश गरेको छ ।

निर्देशक विशाल सापकोटाले कलाकारको कथालाई लिएर निर्देशन गरेको यो चलचित्र हेरेर कलाकारको जीवन कस्तोसम्म हुन्छ भन्ने दर्शकले बुझ्ने मौका पाउँछन् । चलचित्रमा कमजोरी र दिक्क लाग्दा दृश्य छन् । तर, फरक स्वादका चलचित्र रुचाउने दर्शकलाई यो चलचित्र खुराक बन्न सक्छ ।

चलचित्रको क्लाइमेक्सले भने दर्शकलाई सोच्न बाध्य बनाउँछ – अब सेल्फी किङ पहिलेको जस्तै गैरजिम्मेवार नै रहला कि सुध्रिएला ?


भर्खर

0