जीवनको नविन यात्रामा भन्दै अभिनेत्री खड्काले लेखिन् मार्मिक पत्र (पत्रसहित) | Khabarhub Khabarhub

जीवनको नविन यात्रामा भन्दै अभिनेत्री खड्काले लेखिन् मार्मिक पत्र (पत्रसहित)


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

उनले आफ्नो विवाहलाई लिएर सामाजिक सञ्जालमा लामो पत्र समेत लेखेकी छिन । पत्रमा जीवन भोगाइका पीडाहरुलाई समेटेकी छिन् । यस्तो छ उनको पत्र-

म जीवनको नविन यात्रामा 🙏🙏

जीवनका विभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठूलाठूला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नुपर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।

मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पीडालाई महशुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पीडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसँग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैसीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथि पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ?” म मेरा हितैसीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्वीकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन ।

अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”

मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचार जना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रति साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी सधैँ मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सद्भाव र सुभेक्षाले म प्रति रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सीमित ब्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
उही तपाईंकी छोरी/चेली
श्वेता खड्का

उनले फेसबुकमा यस्तो लेखेकी छिन्

म: जीवनको नविन यात्रामा 🙏🙏

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै…

Posted by Shweta Khadka on Sunday, 6 December 2020

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : १० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन