पुष्प व्यवसायीलाई लाग्यो तिहार, उत्पादनले बजार पाउने आशा | Khabarhub Khabarhub

पुष्प व्यवसायीलाई लाग्यो तिहार, उत्पादनले बजार पाउने आशा

कोभिडका कारण फूलको खपत हट्ने, स्वदेशी उत्पादनले धान्ने


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । हरेक वर्ष तिहारमा मात्र २० देखि २५ लाख मालाको खपत हुने गर्छ ।

विशेषगरी तिहारमा घरलाई सिगार्न मानिसहरुले घर आगन बगैँचभरि सयपत्री र मखमली रोप्ने गरेका छन् । तिहार नजिकिँदै गर्दा धेरैका घर आगन र बगैँचा फूलले ढकमक्क पनि भएका छन् ।

काठमाडौँ उपत्यकामा तिहारका लागि नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, धादिङ लगायतका जिल्लाबाट मखमली र सयपत्री फूल भित्रन्छन् ।

व्यवसायिक रुपमा नै फूल खेती थालिएपनि तिहारको समयमा मागअनुसार स्वदेशमै फूल उत्पादन भने हुन सकेको छैन । उत्पादन कम र खपत बढी भएसँगै हरेक वर्ष भारतबाट फूल आयत हुने गरेको छ ।

तर यस वर्ष कोभिड १९ कारण फूलको खपत कम हुने भएकाले स्वदेशी फूलले नै माग धान्न सक्ने फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का अध्यक्ष कुमारकसजु श्रेष्ठले बताएका छन् ।

‘कोभिडका कारण यो वर्ष तिहार खासै रौनक हुने देखिदैन त्यसैले बजारमा १२ लाख सयपत्री, ३ लाख मखमली र गोदावरी गरी १५ लाख मालाको माग छ’ श्रेष्ठले खबरहबसँग भने, ‘त्यति माला स्वदेशभित्रै उत्पादन छन् आयत गर्नुपर्दैन ।’

त्यसो त विगतका वर्षहरुमा पनि तिहारको मुखैमा बजारमा आयतित माला देखिने र स्वदेशी मालाले बजार नपाउने गुनासोहरु थुप्रै आएका थिए ।

यस विषयमा श्रेष्ठ भन्छन्, ‘आयतित माला केही सस्तोमा पाउने र स्वदेशी मालालाई केही बढी रकम तिर्नुपर्ने भन्ने गुनासोहरु पनि नआएका होइनन् । अहिले किसानले एउटा मालाको ३० देखि ४० रुपैयाँ पाउनुपर्छ र उपभोक्ताले त्यो मालाको गुणस्तर हेरेर ६० देखि ७० सम्म तिर्नुपर्छ भनेका छौं ।’

कहिले बन्ला आत्मनिर्भर ?

नेपालमा वि.स. २०११ सालबाट पुष्प व्यवसाय सुरु भएको थियो । पछिल्ला समय पुष्प व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएकाले स्वदेशका विभिन्न जिल्लाहरुमा यी फूलको उत्पादन हुन थालेका छन् । स्थानीय स्तरमा उत्पादन भएका फूलले केही मात्रामा भएपनि स्थानीय क्षेत्रका माग पुरा हुने गरेको छ ।

नेपालभर १ सय ५७ हेक्टर क्षेत्रफलमा ४३ जिल्लामा अहिले पुष्प खेती सञ्चालन भइरहेको छ । श्रेष्ठकाअनुसार हाल ७ हजारभन्दा बढी व्यवसायीहरुले पुष्प व्यवसाय गरिरहेका छन् भने ४४ हजारभन्दा बढीले रोजगारी पाएका छन् । फूलको महत्व बुझ्दै गएपनि फूलको आयत भने प्रत्येक वर्ष बढिरहेको छ ।

फूलको उत्पादन भएपनि समयमै नफूलनु, स्थानीय तैथाने जातका फूलहरु बढी उत्पादन हुनुजस्ता समस्याका कारण फूलको आयत गर्नुपरेको बताउँछन् फ्यानका अध्यक्ष श्रेष्ठ ।

उत्पादन प्रशस्त मात्रामा भएपनि आयत नरोकिएकाले आत्मनिर्भर नदेखिएको उनको भनाइ छ ।

तिहार ढिला हुँदा राम्रो फुलेन

व्यावसायिक रुपमा फूल उत्पादन गर्ने किसानहरुले तिहार कहिले परेको छ कहिले बीउ राख्दा तिहारमा फूल फुलाउन सकिन्छ भन्नेबारे जानकार लिइसकेका हुन्छन् । सोही अनुरुप उनीहरुले व्यवसाय गर्ने गर्छन् ।

तर वातावरण र समयानुकुल भएन भने फूल राम्रोसँग नफूलने बताउँछिन् कोहलपुरकी विष्णु चौधरी ।

गत वर्षबाट व्यावसायिक रुपम पुष्प खेतीमा लागेकी विष्णुले यस वर्ष पनि १० कठ्ठा जमीनमा सयपत्री फूल लगाएकी छिन् । अहिले उनको बारीभरी सयपत्री फूलेका छन् । तर, गत वर्षको जस्तो फूलको उत्पादन नभएको बताउँछिन् उनी ।

‘यसपाली तिहार केही दिन पर धकेलिएकाले गत वर्षको जस्तो फूलको उत्पादन छैन’ उनले खबरहबसँगको कुराकानीमा भनिन्, ‘फूलका लागि समयानुकुल वातावरण र मौसम पनि चाहिने रहेछ ।’

‘सयपत्रीको विरुवा गर्मी मौसममा ४५ दिनमा र जाडो मौसममा ६० दिनमा फूलछ’ उनले भनिन् ।

‘तिहार ढिला परेकाले भदौको अन्तिमतिर लगाएँ वर्षाका कारण झनै असर पुग्यो सही समयमा नगर्दा जति मलजल हाल्दा पनि राम्रो उत्पादन भने नहुने रहेछ’ विष्णुले खबरहबसँग भनिन् ।

उनकाअनुसार अहिले बगैँचामा सयपत्रीका गुच्छाहरु फक्रनै लागेका छन् । ‘लक्ष्मी पूजाको अघिल्लो दिनबाट टिप्ने र माला गासेँर बजारमा पठाउन सुरु हुन्छ’ उनले भनिन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १२ : १९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन